कोभिड-१९ ले बढायो मानसिक समस्या
बागलुङ । कोभिड-१९ को प्रकोपपछि मानिसमा मानसिक समस्या बढेको छ । दैनिकी खल्बलिनु, रोजगारी/कमाइ गुम्नु, महामारीको सन्त्रासजस्ता कारणले मानसिक समस्या बढेको हो । धवलागिरि अस्पतालका मानसिक रोग विशेषज्ञ डा धीरेन्द्र पौडेलका अनुसार कोभिड-१९ अघि मानसिक समस्या लिएर अस्पताल आउने फाटफुट्ट हुन्थे । अहिले दैनिक ६/७ जना बिरामी अस्पताल आउँछन् । “प्यानिक अट्याक भएर आउने बढी हुनुहुन्छ, छाती दुख्यो, मलाई हृदयघात भयो की ? भन्दै आउनुहुन्छ”, उनले भने । एक्कासि उत्पन्न हुने अत्यधिक त्रासले ‘प्यानिक अट्याक’ निम्त्याउने गर्छ । तनाव, डर, चिन्ता, एक्लोपना आदि कारणले ‘प्यानिक अट्याक’ हुने डा पौडेलको भनाइ छ । दिग्दारीपन, आत्तिने/डराउने (एन्जाइटी)लगायतका मनोरोग पनि बढीरहेको उनले बताए । “छ वर्षको बच्चालाई पनि एन्जाइटी भएर म कहाँ लिएर आउनुभएको थियो”, डा पौडेलले भने, “नियमित पढाइ रोकिँदा, घरमै बसिरहँदा बालबालिकामा पनि मानसिक समस्या बढिरहेको छ ।” उहाँले बालबालिकालाई घरमै मायालु वातावरणसहित सिकाइ र सिर्जनशील काममा व्यस्त राख्नुपर्ने बताए । बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले मानसिक समस्या समाजमा लुकेर बसेको बताए । “अस्पताल आउने झण्डै एक तिहाइमा कुनै न कुनै खाले मानसिक समस्या देखिन्छ”, उनले भने, “कोभिड-१९ पछि यो सङ्ख्या अझ बढ्दो छ, यो अवधिमा आत्महत्याका घटना पनि धेरै भए ।” नेपाल प्रहरीको आँकडा अनुसार गत चैतदेखि साउनसम्ममा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् । जनस्वास्थ्य अधिकृत खनालले सामाजिक, मानसिक र जैविक कारणले मानसिक रोग निम्तने गरेको बताए । मानसिक समस्याबाट गुज्रेका मानिसको पहिचान र उपचारका लागि पहुँच तथा लगानी बढाउनुपर्ने उनको भनाइ छ । बागलुङ नगरपालिका-३ का अध्यक्ष लक्ष्मी बाँस्कोटाले कोरोना जाँचका लागि स्वाब दिएपछि नतिजा नआउञ्जेलसम्म पनि मानिस ठूलो पीडा र अत्यासमा बस्नुपरेको अनुभव सुनाए । उनले मानसिक समस्या लुकाउने र स्वीकार्न नसक्ने स्थितिले रोग न्यूनीकरणमा चुनौती थपेको उल्लेख गरे। वडाध्यक्ष बाँस्कोटाले समुदायस्तरमा मानसिक स्वास्थ्यबारे जनचेतना बढाउनुपर्ने बताए । स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले योग र ध्यानबाट पनि कतिपय मानसिक समस्याबाट मुक्ति मिल्ने बताए । “योग, ध्यानलाई अहिले विज्ञानले पनि प्रमाणित गरेको छ, यसले शारीरिक र मानसिक स्वास्थ्य चुस्त राख्न सघाउँछ”, उनले भने । डा पौडेलले मानसिक समस्या भएका बिरामीलाई मनोपरामर्श, थेरापी र औषधिबाट उपचार गरिने बताए। “शरीररमा रासायनको गडबडीजस्ता जैविक कारणले भएको समस्यामा औषधि नै चलाउनुपर्छ, कतिपय बिरामी मनोपरामर्श, थेरापीबाट पनि ठिक हुन्छन्”, उनले भने। अधिकांश मानसिक रोग छ देखि दुई वर्षसम्म नियमित औषधि खाँदा निको हुन्छन् । गम्भीर मनोविकृतिको अवस्थामा भने लामो समयसम्म औषधि लिनुपर्ने हुन्छ । मानसिक समस्याबाट छुटकारा पाउन जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने चिकित्सक बताउँछन् । बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बाहिर देखिएभन्दा ठूलो जनसङ्ख्यामा मानसिक समस्या रहेको बताए। उनले मानसिक स्वास्थ्यलाई स्थानीय तहले पनि प्राथमिकता दिनुपर्ने उल्लेख गरे । “अबदेखि मानसिक स्वास्थ्यलाई वार्षिक योजनामै समेट्छौँ”, उनले भने, “हरेक व्यक्ति शारीरिक मात्र होइन मानसिक रुपमा पनि उत्तिकै स्वस्थ हुनु जरुरी छ ।” यही साता नगरपालिकाको स्वास्थ्य शाखाले विश्व मानसिक स्वास्थ्य दिवससमेत मनाएको थियो । वर्षेनी अङ्ग्रेजी महिना अक्टुबर १० मा यो दिवस मनाइन्छ । रासस
बुधबार दुई हजार ६३८ काेराेना संक्रमित थपिए, १२ जनाकाे मृत्यु
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा नेपालमा थप दुई हजार ६३८ जना र उपत्यकामा मात्र १४०३ जनामा काेराेना भेटिएकाे जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९ सय ९६ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ३६ हजार ३ सय ५७ पुगेकाे छ । नेपालमा आजसम्म १२ लाख २१ हजार ३८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २१७४ जना निकाे भएसँगैं हालसम्म ८० हजार ९५४ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १२ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ६७५ पुगेकाे छ ।
संक्रमणको दर बढ्दै गएपछि कन्ट्याक ट्रेसिङमा परेकाहरुको स्वाव संकलन गर्दै कामपा
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दै गएको उपत्यकामा काठमाडौं महानगरपालिकाले कन्ट्याक ट्रेसिङमा परेकाहरुको स्वाव संकलनमा तिव्रता दिएको छ । महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँगको समन्वयमा संक्रमितको ट्रेसिङमा परेका व्यक्तिहरुको खोजी गरी स्वाव संकलन गरिरहेको हो । संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गरी महानगरका सम्पूर्ण वडाहरुले आफ्नो क्षेत्रभित्र पर्ने स्थानमा स्वाव संकलन गरिरहेका छन् । एक स्थानमा कम्तिमा २ सय जना ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाव संकलन भइरहेको वडा नम्बर १७ वडासचिव राजेश श्रेष्ठले बताए । परीक्षण रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु पनि वितरण गरिरहेको उनले बताए । सहरी स्वास्थ्य महाशाखाका हेल्थ असिसटेन्ट तथा स्वाव कलेक्सन टिमका संयोजक ऋषि भुसालले महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँग मिलेर स्वाव संकलनको काम गरिहेको बताए । सरकारी प्रोटोकल अनुसार १४ दिनमा सामान्यतया कोरोना निको भएको मानिने भएपनि कतिपय व्यक्तिहरुले दोहोर्याएर परीक्षण गर्दा कति लक्षण नदेखिए कति पटकसम्म परीक्षण गर्ने भन्ने कुरा चुनौतीका रुपमा रहेको उनले बताए । अहिले देशभरी नै कोरोना संक्रमितको संख्या बढीरहेको छ । काठमाडौं लगायतका उपत्यकाका तीन वटै जिल्लाहरुमा संक्रमणको दर देशका अन्य क्षेत्रभन्दा बढी छ । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सुरुक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न अनुरोध गरिहेको छ । भिडभाड भएको ठाउँमा नजाए, भौतिक दुरी कायम गरे, अनिवार्य रुपमा मास्क लगाएमा र बिना काम घर बाहिर ननिस्केमा संक्रमणको जोखिमबाट बच्न सकिन्छ ।