बिहिबार तीन हजार ७४९ काेराेना संक्रमित थपिए, ३५६४ जना निकाे भए
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप तीन हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा नेपालमा थप तीन हजार ७४९ जना र उपत्यकामा मात्र १९३५ जनामा काेराेना भेटिएकाे जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९ सय ९६ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ३६ हजार ५ सय ३३ पुगेकाे छ । नेपालमा आजसम्म १२ लाख ३७ हजार ६३६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ३५६४ जना निकाे भएसँगैं हालसम्म ८४ हजार ५१८ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १९ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ६९४ पुगेकाे छ ।
पीसीआरको नतिजाः मन्त्रीको एक दिनमै, जनताको ७ दिनमा
काठमाडौं । वीर अस्पतालको फिमेल युरो सर्जरीको बेड नम्बर ३२ मा २६ दिनदेखि बसिरहेका ४५ वर्षीय एक विरामीको हिजो (२८ असोजमा) मृत्यू भयो । उनको ५ दिनअघि संकलन गरिएको स्वावको रिपोर्ट आएको थिएन । अस्पतालले उनलाई कोभिड–१९ को संक्रमित भनेर व्यवहार गरिरहेको थियो । तर, हिजो (असोज २८ गते) राती ९ बजेतिर उनको पीसीआर रिपोर्ट आयो । रिपोर्टले उनमा कोरोना भाइरस नेगेटिभ देखायो । जबकि उनको हिजो नै साढे ४ बजेतिर निधन भइसकेको थियो । उनको निधन भएको करिब १५ मिनेटपछि डाक्टर आए, अनि उनको ‘डेथ सर्टिफिकेट’मा हस्ताक्षर गरेर गए । समयमै डाक्टर आएर हेरिदिएको भए उनको मृत्यू नहुने परिवारले दाबी गरिरहेका छन् । उदाहरण अर्काे पनि छ । वीर अस्पतालको बेड नंम्बर ८ मा बसिरहेका नारायण पौडेलमा असोज १२ गते कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका थिए । पौडेल अस्पताल भर्ना भएको ठ्याक्कै १७ दिन पुगेको छ । सुरुसुरुमा निकै गाह्रो भएको उनलाई हाल त्यस्ता कुनै पनि प्रकारको समस्या छैन । तर पनि उनी अस्पतालकै बेडमा बसिरहेका थिए । कारण हो, पीसीआर परीक्षणको नतिजा । पौडेल चार दिनदेखि पीसीआर परीक्षणको नतिजा कुरेर बसिरहेका छन् । नतिजा समयमा आएर घर जान पाए आफूलाई पनि सजिलो हुने र अस्पतालमा कसैले बेड पनि पाउने उनी बताउँछन् । ‘मेरो स्वाब संकलन भएको ४ दिन कट्यो, अझै यसअघि म नजिकै बस्ने एकजना मान्छेको ७ दिनपछि मात्र नतिजा आएर बल्ल डिस्चार्ज भए, ममा अहिले कुनै लक्षण छैन, सम्भवतः मेरो नेगेटिभ रिपोर्ट आउँछ होला, रिपोर्ट आए म घर जान्थे, यो बेड अर्काे कुनै गम्भीर अवस्थाको विरामीले प्रयोग गर्न पाउँथ्यो,’ पत्रकार पौडेलले बुधबार साँझ भनेका थिए । नभन्दै उनकै अनुमान जस्तो रिपोर्ट आयो । बुधबार राती १० बजेतिर न्याम्सको वेबसाइटमा राखिएको विवरणमा आफ्नो नतिजा नेगेटिभ रहेको जानकारी पाएको उनले बिहीबार अपरान्ह सुनाए । ‘बेड नम्बर २८ मा पत्रकार कमल बस्नेत पनि हुनुहुन्छ, उहाँ र म एकैदिन अस्पताल आएका हौं भने एकै दिन संकलन गरिएको स्वाबमा उहाँमा पनि कोरोना पोजेटिभ देखिएको थियो, हिजो (बुधबार) राती १० बजेतिर हामी दुबै जनाएको रिपोर्ट नेगेटिभ आएको न्याम्सको वेबसाइटबाट थाहा पायौं, अस्पताल प्रशासनले हामीलाई अझै जानकारी गराएको छैन, तर डाक्टर आएपछि डिस्चार्ज हुनको लागि हामी सामानहरु प्याक गरिरहेका छौं,’ अस्पतालमै रहेका पत्रकार पौडेलले बिहीबार अपरान्ह भने । सरकारले अस्पताल भर्ना भएको १० दिनपछि पिसिआर परीक्षण गरी नेगेटिभ आए तत्काल डिस्चार्ज गर्न र पोजेटिभ आए थप ४ दिन राखेर बिनापरीक्षण डिस्चार्ज गर्न नियम बनाएको छ । तर, यो पनि नियममा मात्रै सिमित भएको देखियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई गत शनिबार पाटन अस्पतालमा पीसीआर परीक्षण गर्दा आईतबार कोरोना संक्रमण पुष्टि भयो । लक्षण देखिएका पोखरेल तत्काल अस्पताल भर्ना भए । तर, शनिबार राति ९ बजे कोरोना परीक्षण गराएका उनका स्वकीय सचिव पुरन केसीको भने अहिलेसम्म नतिजा आइपुगेको छैन । किन ढिलो आइरहेको छ नतिजा ? राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुणा झाले उपत्यकाका सरकारी ल्याबहरुको दैनिक परीक्षण गर्ने क्षमता २ सयदेखि ३ सय रहेका बताइन् । उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको भने दैनिक १८ सय देखि २ हजार परीक्षण क्षमता भएको बताइन् । ल्याबहरुले ७ दिनसम्म पनि नतिजा नदिने कारण बारे सोध्दा डा. झाले जनशक्तिको कमी नै मुख्य समस्या रहेको बताइन् । ‘कोभिडको लागि भनेर छुटै नयाँ कर्मचारीहरु थपिएका छैनन्, भएका जनशक्तिहरुलाई नै मिलाएर राखिएको हो, जसले गर्दा कामहरु समयमा हुन सकिरहेका छैनन्, प्राईभेट ल्याबहरुसँग दाँजेर हेरिदिनु भएन, सामान्यतः नतिजाहरुका ३ दिनमा आउँछन्,’ डा झाले भनिन् । झाले बिहान संकलन भएको स्वाबहरु ल्याबमा साँझमात्र आइपुग्ने बताइन् । वीर अस्पतालको ल्याबमा कार्यरत कर्मचारीका अनुसार पछिल्लो हप्ता नयाँ चाइनिज किट आएको कारण त्यसलाई जान्न र प्रभावकारी बनाउन नै समय लागेको कारण पनि नतिजा आउन ढिलो भएको हो । कहिल्यै नाम नसुनेको किट आएपछि यस्तो समस्या आएको ती कर्मचारीले बताए । सामान्यतः नतिजा सही दिन खोज्दा पनि ढिलो हुने गरेको अर्का एक कर्मचारीले बताए । ‘हामीले सकेसम्म सही नतिजा आओस भनेर दोहोर्याएर परीक्षण गर्छौं, धेरै ल्याबहरुमा यस्तो हुँदैन, मलिकुलर ल्याब संचालन गर्ने देशकै पहिलो ल्याब भएको कारण हामीलाई हाम्रो विश्वसनीयता कायम गर्नुछ, जसको कारण पनि नतिजा केही ढिलो आउँछन्, तर सही आउँछन् तर, यो ८ महिनाको अवधिमा पछिल्लो हप्ता मात्र यति लामो समय लागेको हो, हामी हिजोबाट फेरि पनि पहिलाकै अवस्थामा आइसक्यौं,’ वीर अस्पतालको ल्यावमा काम गर्ने एक कर्मचारीले भने । पीसीआर ईमरजेन्सी टेष्ट हैन विभिन्न सरकारी अस्पतालका ल्याबमा काम गर्ने डाक्टरहरु पीसीआरलाई मानिसले सामान्य र सजिलो परीक्षणको रुपमा लिएर गलत धारणा बनाइरहेका बताउँछन् । करिब ६ देखि ७ घण्टासम्ममा नतिजा आउने यस परीक्षणको एक्युरेसी ७० प्रतिशत मात्र रहेको छ, जसको कारण फल्स रिर्पोट आउने सम्भावना पनि रहन्छ । पीसीआर परीक्षण ईमरजेन्सी परीक्षण होइन, यसमा काम गर्ने दक्ष्य जनशक्ति चाहिन्छ, स्याम्पल प्रोसेस गर्न नै २ देखि ३ घण्टा लाग्छ, स्वाब संकलन हुने बित्तिकै ल्याबमा आइपुग्दैन, ल्याबमा स्वाब आएपनि कहिले फर्म आउँदैन, जसले झन् ढिलो हुन्छ, ८ महिनादेखि हामी ७ जना कर्मचारीहरु शनिबार पनि बिदा नलिई काम गरिरहेका छौं, डाक्टारहरुले त बुझ्दैनन् हाम्रो कुरा, अन्य सामान्य व्यक्तिहरुले गुनासो गरे भनेर के भन्नु ?’ वीरको ल्यावमा काम गर्ने अर्का एक कर्मचारीले भने । दैनिक कति जनाको हुदैछ पीसीआर ? पछिल्लो एकहप्ताको तथ्यांक हेर्ने हो भने नेपालमा दैनिक १० देखि १३ हजार जनाको पीसीआर परीक्षण भइरेहेको छ । देशभर हाल ६१ वटा प्रयोगशालामा पीसीआर परीक्षण हुने गर्दछ ।
कोरोनाबाट ललितपुरमा मात्रै ४८ को मृत्यु, सक्रिय सङ्क्रमित साढे २ हजार बढी
ललितपुर । ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १५८ र अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६०३ पुगेको स्वास्थ्य कार्र्यालय प्रमुख डा खगेश्वर गेलालले बताए। उनले भने, “धेरै मानिसले कोरोनाको डर मान्न छाडिसकेकाले यहाँ दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढीरहेको देखिन्छ, सार्वजनिक यातायातमा हिँड्ने आधाजसो मानिसले मास्कको उचित प्रयोग नगर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि हेलचक्र्याइ गरिरहेका छन् ।” कोभिड सङ्क्रमित स्वयंले सजक भएर घरमा एकान्तबास बसिदिँदा यसको न्यूनीकरण चाँडै हुने गेलालले जानकारी गराए । लपु महानगरपालिकामा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ५८८ र मृतकको सङ्ख्या २७ पुगेको छ । ती मृतकको उमेर भने ५५ वर्षदेखि ६० वर्षमाथि रहेको प्रवक्ता राजु महर्जनले बताए । उनले भने, “यहाँ जम्मा सङ्क्रमित सङ्ख्या तीन हजार ३४६ र डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ७३१ रहेको छ ।” कोरोना महामारी बढ्दै गइरहेकाले जनता स्वयं आफैँ जिम्मेवार हुनुपर्ने महर्जनले बताए । “यहाँ होम आइसोलेसनमा मृत्यु हुनेको शव व्यवस्थापन गर्न ग्राहो भइरहेको छ”, उनले भने । यसैगरी महानगरपालिकामा पुरुषभन्दा महिला सङ्क्रमित सङ्ख्या बढी छ । जसमा एक हजार ४८३ महिला र एक हजार ४०२ पुरुषले कोरोनाको प्रभाव झेलिरहेका र्यापीड रेसपोन्स टिमकी संयोजक देवी गुरुङ्ले बताए । गोदावरी नगरपालिकामा सक्रिय सङ्क्रमित सङ्ख्या १९४ र मृतकको सङ्ख्या पाँच पुगिसकेको नगरपालिकाले जनाएको छ । गोदावरीमा कूल सङ्क्रमित सङ्ख्या ३८१ र निको भएर डिस्चार्ज हुने सङ्ख्या १९९ पुगेको छ । गोदावरीले वडा नं ६ टीकाभैरवको आनन्दवन अस्पताल तथा वडा नं ११ को बज्रबाराही चापागाउँ अस्पतालमा आइसोलेसनको व्यवस्था गर्नुका साथै वडा नं ४ बडिखेलको कोरियन होटलमा कवारेन्टाइनको पनि व्यवस्था गरिरहेको प्रवक्ता मिलन सिलवालले बताए । महालक्ष्मी नगरपालिकामा सक्रिय सङ्क्रमित ३४७ र हालसम्म तीन नगरवासीले मृत्युवरण गरिसकेका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताए । उनले भने, “तीमध्ये होम आइसोलेसनमा ३२५ र अस्पतालको आइसोलेसनमा २२ व्यक्ति रहेका छन् ।” महालक्ष्मीमा जम्मा सङ्क्रमित सङ्ख्या ६०६ र यसमा स्वास्थ्य लाभ गर्ने २५६ रहेका पोखरेलले जानकारी गराए । नगरपालिकाभित्र कोरोना सङ्क्रमित सङ्ख्या बढेसँगै आफूहरुले परीक्षणको दायरा बढाएको र निरिन्तर रुपमा सचेत पनि गराइरहेको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए । उनले भने, “सङ्क्रमितको अवस्थालाई मध्यनजर गरेर नगरपालिका विभिन्न वडामा ८० शय्याको क्वारेन्टिनको व्यवस्था गरिरहेका छौं ।” अक्सिजन अभावका कारण आइसोलेसनको भने व्यवस्था गर्न नसकेको श्रेष्ठले जानकारी गराए । महाङ्काल गाउँपालिकामा सक्रिय सङ्क्रमित पाँच र बाँकी नौ निको भएर डिस्चार्ज भइसकेका स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए । उनले भन्नुभयो, “यहाँ जम्मा सङ्क्रमित सङ्ख्या १४ रहेका छन् ।” कोरोनाको लक्षण देखिएकालाई महाङ्काल विद्यालयमा राख्ने गरेको र वडा नं ३ गोटिखेलमा पाँच शय्याको आइसोलेसन बनाउने तयारी भइरहेको चन्दले जानकारी गराए । वाग्मतीमा एक महिने शिशु सङ्क्रमित दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा एक महिने शिशुमा कोरोना पोजेटिभ देखिएको छ । आमा सुत्केरी हुन अस्पताल जाँदा आमा र शिशु दुवैमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताए । वाग्मतीका एक व्यक्ति अस्पतालमा, सातको डिस्चार्ज भइसकेको र यहाँ कूल सङ्क्रमित सङ्ख्या १५ मात्र रहेका तिमिल्सिनाले जानकारी गराए । कोञ्ज्योसोमका तीन दिनको शिशुमा कोरोना पोजेटिभ कोञ्ज्योसोम गाउँपालिकाका तीनदिने शिशुमा कोरोना पोजेटिभ देखिएको छ । २४ देखि २५ वर्षकी सुत्केरीसहित शिशुमा कोरोना देखिएको स्वास्थ्य संयोजक नवलकिशोर महत्वले बताए । उनले भने, “यी महिला, शिशु र घरका अन्य दुई परिवार गरेर चार जनामा कोरोना पोजेटिभ देखिएको छ, यहाँ पुरुषको तुलनामा सङ्क्रमित महिला सङ्ख्या बढी नै रहेको छ, भारदेउमा रहेको बैंकका एक कर्मचारीमा कोरोना देखिदा हिजोबाट एक हप्ताका लागि यो बैंक पनि बन्द भइसकेको छ ।” कोञ्ज्योसोममा सङ्क्रमित सङ्ख्या १३ रहेको महत्वले जानकारी गराए । रासस