कोरोना रोकथाम र उपचारका लागि चन्द्रागिरिको दुई करोड २७ लाख खर्च

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख खर्च गरेको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ का कारण नेपाल सरकारले बन्दाबन्दी गरेपछि क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामाग्री खरीद, राहत वितरणलगायतका शीर्षकमा हालसम्म उक्त रकम खर्च गरेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोभिड–१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि दुई करोड २७ लाख १६ हजार ९५९ खर्च भएको जानकारी दिए । नगरपालिकाले विभिन्न वडाका गरिब, विपन्न परिवारलाई राहत वितरणका लागि रु एक करोड ६४ लाख ३१ हजार, स्वाव परीक्षण, औषधि खरिद, स्प्रे, प्रचार–प्रसार, एम्बुलेन्स सञ्चालनका लागि ४० लाख ८१ हजार, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनका लागि २२ लाख तीन हजार खर्च गरेको छ । चन्द्रागिरिले नगरपालिकाभित्रका विभिन्न विद्यालयमा क्वारेन्टाइन कक्ष निर्माण गरेर कोरोना सङ्क्रमितलाई राख्दै आएको छ । चन्द्रागिरिलाई कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि वाग्मती प्रदेशले १२ लाख र नगरस्तरीय विपद् व्यवस्थापन कोषमा ११ लाख ७४ हजार सहयोग भएको थियो । बाँकी रकम नगरपालिकाले आफ्नै कोषबाट खर्च गरेको हो । नगरपालिकामा सोमबार छ कोरोना सङ्क्रमित थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३९० पुगेको छ । तीमध्ये २७६ जना डिस्चार्ज भइसकेका छन् । बाँकी सक्रिय सङ्क्रमितमध्ये २५ जना अस्पताल आइसोलेसन र ८५ जनाको होम आइसोलेसनमा राखेर उपचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । हालसम्म चन्द्रागिरिमा कोरोना सङ्क्रमणबाट चारजनाको मृत्यु भइसकेको छ । चन्द्रागिरिले कोरोना सङ्क्रमणबाट सिकिस्त भएका बिरामीलाई सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र मनमोहन अस्पताल दहचोकमा राखेर उपचार गराउँदै आएको छ । चन्द्रागिरि वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् । उपत्यकाका अरु नगरपालिकाको तुलनामा चन्द्रागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या कम रहेको छ । रासस

नेपालभर १३५१ जना काेराेना संक्रमित थपिए, ७४२ जना निकाे भए

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७४ हजार ७ सय ४५ जना पुगेको छ भने  सक्रिय स‌ंक्रमितकाे संख्या १९ हजार ६ सय २४ पुगेकाे छ । हाल क्वारेन्टिनमा ६ हजार ३ सय १० जना रहेका छन् भने आजसम्म ९ लाख ९८ हजार ४ सय ७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ७४२ जना निकाे भएसँगैं हालसम्म ५४ हजार ६ सय ४० जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ४ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ४८१ पुगेकाे छ ।

इलाम बन्यो कोरोना शून्य जिल्ला

इलाम । कोरोना सङ्क्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना शून्य जिल्ला भएको छ । कोरोनाका सक्रिय सङ्क्रमितहरु घर फर्किएपछि इलाम कोरोना सङ्क्रमणमुक्त भएको हो । गत जेठ २७ गते जिल्लामा पहिलो सङ्क्रमित फेला परेकामा तीन महिनापछि कोरोना पोजिटिभको सङ्ख्या शून्य भएको हो । जिल्लामा अहिलेसम्म ९३ व्यक्ति सङ्क्रमित भएकामा सबैजना उपचारपछि घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लोपटक चुलाचुली गाउँपालिकाका एक युवकमा कोरोना पोजिटिभ देखिएकामा उनको रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्लामा चार हजार ९७७ जनाको पिसिआर परीक्षण गरिएकामा चार हजार ८६१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । जिल्लामा गत जेठमा दुई, असारमा १४, साउनमा ६६ र भदौमा ११ जनामा कोरोना पोजिटिभ देखिएको थियो । जिल्लामा सबैभन्दा बढी इलाम नगरपालिका ५७, सूर्याेदय नगर १५, सन्दकपुर गाउँपालिका आठ, माई नगर पाँच, देउमाई नगर चार, चुलाचुली तीन र रोङ गाउँपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको थियो ।