सुदूरपश्चिममा घट्यो कोरोना सङ्क्रमण, जनजीवन सहज बन्दै

डोटी । दुई महिनाअघिसम्म कोरोना विस्फोटक रुपमा कोरोना सङ्क्रमणमा वृद्धि भएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय सङ्क्रमित छिट्टै निको पनि भएका छन् । यहाँका नौवटै जिल्लामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार पछिल्लो समय यो प्रदेशमा कोरोना निको हुनेको सङ्ख्या पाँच हजार ९२९ पुगेको छ । कोरोनाकै कारण सुदूरपश्चिम प्रदेशमा ११ जनाको मृत्यु भएको छ । तर पछिल्लो समय निको हुने दरमा उल्लेख्यमात्रामा वृद्धि भएको निर्देशनालयले जनाएको छ । सो स्वास्थ्य निर्देशनालयका अनुसार यहाँ एक समय करिब सात हजार सङ्क्रमित पुगेका थिए । तर अहिले भने सक्रिय सङ्क्रमितको सङ्ख्या बढीमा एक हजार मात्र रहेको छ । उनीह? पनि निको हुने क्रममा रहेका चिकित्सकहरु बताउँछन् । यहाँका कतिपय गाउँपालिका पछिल्लो समय कोरोनामुक्त गाउँपालिका भनेर घोषणा पनि गरेका छन् । डोटीको बडिकेदार गाउँपालिका अहिले कोरोनामुक्त गाउँपालिका भएको छ । कोरोना सङ्क्रमित निको हुने दर बढेसँगै यहाँका गाउँघरको जनजीवन पुनःसामान्य बन्दै गएको पनि स्थानीयवासीह? बताउन थालेका छन् । केही समयअघि यो गाविसमा एकैपटक १३ जना सङ्क्रमित थिए । भारतबाट आएका उनीहरुसँगै अरु पनि निको भएर घर फर्किएका बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक डा गुणराज अवस्थीका अनुसार हालसम्म कैलालीबाट एक हजार ३३१, डोटीका ९५२, अछामका ७९५, कञ्चनपुरका ६१६, बाजुराका ४४२, बैतडीका ३२२, डडेल्धुराका २९९, बझाङका २८० र दार्चुलाका ४१ जना कोरोना सङ्क्रमणबाट मुक्त भई घर फर्किएका छन् । यहाँका नौवटै जिल्लाका करिब एक हजार जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् । बाँकीको विभिन्न अस्पताल तथा आइसोलेशन राखेर उपचार हुँदै गरेको निर्देशक डा अवस्थीको भनाइ छ । सुदूरपश्चिममा पहिलो पटक गएको विसं २०७६ चैत १४ गते धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण देखिएको थियो । विदेशबाट आएका उनी सेती प्रादेशिक अस्पतालमा ३० दिनको उपचारपछि निको भएका थिए । यहाँका जिल्लामा भारतबाट रोजगारी गरी फर्किएका नागरिकसँगै उनीह?का परिवारमा पनि कोरोना सङ्क्रमण देखिएको स्वास्थ्यकर्मी बताउँछन् । सङ्क्रमितभन्दा पनि डिस्चार्ज हुनेको सङ्ख्या बढ्दै गएकाले कोरोनाको त्रासले खासै आत्तिइ हाल्नुपर्ने अवस्था नरहेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य प्रशासन महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । उनले भने, “सङ्क्रमित हुनेभन्दा निको हुने अर्थात् डिस्चार्ज हुने दर बढी छ, कोरोना लागिहाले पनि अत्तिइ हाल्नुपर्ने अवस्था छैन, सावधानी भने अपनाउनुपर्छ ।” सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीलगायतमा पनि सङ्क्रमण देखिएको थियो । कोरोनो नियन्त्रण तथा सावधानीका लागि प्रदेश सरकारसहित यहाँका सबै ८८ वटा स्थानीय तहले सावधानी अपनाएका कारण समुदायमा सङ्क्रमण फैलिन नपाएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरको दाबी छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार शु? गरिएको छ । कैलालीमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले प्लाज्मा थेरापीबाट उपचार गर्न अनुमति पाएसँगै यहाँका कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट अनुसन्धानात्मक उपचार शुरु गरिएको श्रेष्ठले बताए । कोरोना सङ्क्रमितलाई प्लाज्मा थेरापी विधिको आवश्यकता परेमा सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकले कोरोनामुक्त भएकालाई आह्वान गर्छन् । त्यसपछि रक्तदाता सम्पर्कमा आएपछि रेडक्रसका माध्यमबाट रगत सङ्कलन गरी त्यसबाट प्लाज्मा छुट्याएर सङ्क्रमितलाई उपचार गरिने व्यवस्था मिलाइएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । यसरी निको भएका छन् सङ्क्रमित जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश ठकुल्लाका अनुसार नेपाल सरकारले तोकेको जनस्वास्थ्यको मापदण्डअनुसार यहाँका कोरोना सङ्क्रमणको नियन्त्रण र रोकथामका उपाय अपनाइएको छ । सङ्क्रमण भएको व्यक्तिलाई १४ दिन क्वारेन्टिनमा राखिन्छ र त्यहाँ जाँच गर्दा कोरोना लक्षण नदेखिएको खण्डमा डिस्चार्ज गर्ने गरिन्छ । उहाँका अनुसार स्वाब परीक्षणबाट पोजेटिभ देखिएका ९६ प्रतिसत कोरोना सङ्क्रमितलाई आइसोलेशनमा राखेर जाँच गर्दा लक्षण नै नदेखिने गरेको छ । खासगरी यहाँका नागरिकमा रोगप्रतिरोधात्मक क्षमता बढी भएका कारण कोरोनाको सङ्क्रमण छिट्टै निको हुने गरेको पाइएको डा ठकुल्लाको अनुभव छ । पछिल्लो समय भारतबाट पनि पहिला जस्तो भद्रगोल?पमा र ठूलो सङ्ख्यामा नेपाली आउनेक्रम कम भएको छ । यहाँका विभिन्न जिल्लाका स्थानीय तहमा पर्याप्तमात्रामा आइसोलेशन श्यया तथा कोरोना सङ्क्रमितले नियमपूर्वक घरैमा बसेका कारण कोरोना निको हुनुका साथै समुदायमा सर्न नपाएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, “कोरोना सङ्क्रमितले नियमपूर्वक घरैमा बस्नुका साथै बेसार पानीलगायत स्थानीय जडीबुटी खाएर निको भए र अन्यत्र नघुमेका कारण जिल्लामा कोरोना समुदायमा सर्न पाएन ।” कोरोना सङ्क्रमितले उच्च मनोबलका साथ रहने, नआत्तिइ बस्ने, नियमित व्यायाम गर्ने, स्वास्थ्यकर्मीको सम्पर्कमा रहेर सजकता अपनाउने, तातो र झोलिलो पदार्थ पिउने गर्नाले कोरोना भाइरसलाई परास्त गर्न सकिने उनको सुझाव दिएका छ । निको भएकाको अनुभव केही महिनाअघि नै सङ्क्रमित भएर निको हुनुभएकी यहाँको राष्ट्रिय वाणिज्य बैंककी एक जना कर्मचारीले कोरोना सङ्क्रमणले आफूलाई खासै कुनै अप्ठ्यारो अवस्था नआएको अनुभव सुनाउँछन् । उनले यो सङ्क्रमणबाट खासै डराउनु नपर्ने बताउँछन् । उनले भने, “यो कोरोना भाइरसको सङ्क्रमण बजारमा चल्दै आएको हल्लाजस्तो त्रास होइन, आफूले सतर्कता र सजगता अपनाउँदा नै निको भएर जान्छ । “म पनि सङ्क्रमित भएकी थिएँ, घरमै बसेर तातो पानी, बेसार, गुर्जो तथा अरु स्थानीय जडीबुटी र घरायसी उपचार पद्दति पनि अपनाएँ सायद यसै कारणले होला मलाइ चाँडै नै निको भयो”, उनले सुनाए । आफू १५ दिनभन्दा बढी सङ्क्रमित भएर बस्नु नपरेको उनले बताए । कोरोना लागेपछि मरिहालिन्छ भनेर कसैले पनि सोच्नु हुँदैन, सङ्क्रमण भयो भने आफूले पनि सजगता अपनाउने र परिवार तथा समुदायका मानिसमा नजाओस् भनेर आफैँ अलग्गै र सुरक्षित बस्ने गर्नुपर्ने उनले सुझाव दिए । हाल घर फर्किएकालाई घरमै क्वारेन्टिन सुदूरपश्चिमबाट भारत जानेको सङ्ख्या दिनहुँ बढे पनि भारतबाट दशैँ तिहारका लागि यहाँका स्थानीयवासी घर फर्किनेक्रम पनि जारी नै छ । विगतमा यहाँका सामुदायिक विद्यालयममा क्वारेन्टिन निर्माण गरिए पनि अहिले ती विद्यालमा पढाइ सञ्चालन गर्ने भन्दै क्वारेन्टिन हटाइएको छ । भारतबाट फर्किएका स्थानीय तहको निर्देशनमा पछिल्लो समय आफ्नै घरको होम क्वारेन्टिनमा बस्ने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार कम्तीमा पनि १४ दिन सबैलाई क्वारेन्टिनमा नै राख्ने गरिएको छ । तर हाल विद्यालयमा क्वारेन्टिन नभएकाले घरैमा सुरक्षित?पमा आइसोलेशनमा बस्ने गरी हाल भारतबाट आएका यहाँका नागरिकलाई स्थानीय तहले नै घर पठाइदिएका छन् । उनीहरुलाई आफ्नै घरमा परिवारसँगै नभई कम्तीमा १४ दिन अनिवार्य?पमा अलग्गै बस्ने गरी घर पठाउने गरिएको हो । तर यसरी बसेका व्यक्तिमा स्वास्थ्य समस्या आयो भने स्थानीय निकायको समन्वयमा स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने गरिन्छ । दशैँको मुखमा भारत पस्दै सुदूरपश्चिमेलीहरु सुदूरपश्चिममा कोरोना सङ्क्रमित निको हुँदै गए पनि भारतमा भने यसको अवस्था निकै भयावह छ । त्यहाँ हरेक दिन करिब एक लाख मानिस सङ्क्रमित थपिने गरेका समाचार नेपाली सञ्चारमाध्यमहरुबाट थाहा हुन्छ । यहाँका स्थानीयहरुलाई पनि यो थाहा नभएको होइन । तर पनि आफ्नो रोजीरोटीका लागि यहाँका स्थानीयवासीहरु दैनिक भारत पस्न थालेका छन् । गाउँमा रोजगारी तथा कमाइ खाने पेशा नभएका कारण गुजारा चलाउन समस्या भएपछि पछिल्लो समय उनीहरु पुनः भारत फर्किन थालेका हुन् । यहाँको त्रिनगर तथा गड्डाचौकी भन्सारबाट दैनिक सयौँको सङ्ख्यामा सुदूरपश्चिमेली नागरिक रोजगारी अर्थात् पेट पाल्नकै लागि भारत जान थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले भारतबाट कोरोनाका कारण रोजगारी गुमाएर आएका स्थानीय नागरिकका लागि गाउँमै रोजगारीको व्यवस्था गर्ने बताए पनि अहिलेसम्म गाउँमा रोजगारीको कुनै पनि व्यवस्था नगरेका कारण स्थानीयवासी पेट पाल्नकै लागि भारत पस्न बाध्य भएको सायल गाउँपालिकाका स्थानीयवासी तथा नेकपाका युवा नेता तेजबहादुर डुम्रेलले बताए । उनले भने, “गाउँमा युवा सबै बेरोजगार भए कमाउने ठाउँ छैन, एक छाक खानलाई भए पनि भारत पस्नु पर्ने विडम्बना छ ।” विगतका दशैँ तिहारका समयमा भारतबाट घर फर्किने लर्को लाग्ने यहाँका सीमानाकामा अहिले काम खोज्न भारत पस्नेको लर्को लाग्न थालेको छ । आउँदै गरेको दशैँ तथा तिहार जस्तो चाडपर्वको कुनै वास्ता नगरी दिनहुँ लालाबाला बोकेर पेट पाल्नकै लागि नागरिक भारत पस्दासमेत यहाँको प्रदेश सरकारसँग कुनै कार्यक्रम नरहेको दिपायल पिपल्लाका स्थानीयवासी कैलाश विकले बताए । उनले भने, “दशैँ तिहारमा कमाएर घर आउने बेला हामी भारत पस्दैछौँ, सरकार भारत पस्नेको तस्वीर हेर्दै छ, सुदूरपश्चिमेली रहरले होइन पेट पाल्नकै लागि भारत जादैछन्, भारत पस्नेका पीडा कस्ले देख्ने ।” गाउँमा सामान्य खालका काम तथा रोजगारीसम्म पाएको भए यहाँका नागरिक कामकै लागि भारत नजाने उनको भनाइ छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार त्रिनगर–गौरीफन्टा नाका भएर एक हप्ताको अवधिमा सुदूरपश्चिमका चार हजार १७३ जनाभन्दा बढी नेपाली नागरिक भारत पसेका छन् । सीमा क्षेत्रमा तथ्याङ्क राख्दै आएको नेपाल प्रहरीले पछिल्लो एक हप्तामा चार हजार १७३ जना नेपाली भारत पसेको जनाएको छ । त्रिनगर क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बल बोर्डर आउट डोकेबजार पोष्टको तथ्याङ्कअनुसार सो हप्ता ४६ जना मात्रै भारतीय नागरिक स्वदेश फर्किएका हुन् । भारतबाट नेपाल फर्किनेको सङ्ख्या भने भारत जानेको भन्दा तीनगुणा कम रहेको सुरक्षा पोष्टमा खटिएका प्रहरीले जनाएको छ । बेरोजगार बस्दा छाक टार्नसमेत गाह्रो भएपछि महामारीबीच पनि भारत फर्कनुपर्ने बाध्यता आएको रोजगारी खोज्न भारत पस्ने नागरिकको भनाइ छ । गाउँमा केही काम नपाएर जन्मथलो छाडेर जान लागेको उनीहरु बताउँछन् । कोरोना भाइरसको महामारीका कारण रोजगारी छोडी गाउँ आएका नागरिकले भरिभराउ भएका यहाँका गाउँघरहरु पुनः खाली हुँदै गएका छन् । गाउँमा आएका नागरिक कोही भारत तथा कोही जिल्ला बाहिर कामका लागि जानेक्रम बढेसँगै यहाँका गाउँघरहरु फेरि पहिलेको जस्तै खाली हुँदै गएको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीयवासी तथा नेपाली काँग्रेसका स्थानीय नेता खडकबहादुर बोहराले बताए । उनले भने, “कोरोनाले गाउँ बाहिर गएका सबै घर फर्किएर रमाइलो भएको थियो, गाउँमा रोजगारी नपाएपछि गाउँले फर्किन थाले, गाउँ फेरि सुनसान हुन थालेका छन् ।” यहाँका पहाडी जिल्लाबाट तराई जाने गाडी भरिभराउ देखिने गरेका र तराईबाट पहाड आउने गाडी भने प्रायः खाली देखिने गरेको ट्राफिक प्रहरी पोष्ट बुडरका प्रमुख प्रहरी सहायक निरीक्षक राजेन्द्रबहादुर विष्टले जानकारी दिए । रासस

न्युन गुणस्तर भएकाे कारण दुई ब्याचका स्यानिटाइजर बेच्न प्रतिबन्ध

काठमाडाैं । औषधि व्यवस्था विभागले न्युन गुणस्तर भएकाे कारण २ ब्याचका दुई  स्यानिटाइजरलाई प्रतिबन्ध लगाएकाे छ । विभागले प्राईम फार्मस्युटिकल्सकाे ब्याच नं GSH 001 काे २०० मिलिलिटरकाे सेफ ह्यान्डस स्यानिटाइजर र हिमालयन शेर्पा हर्बसकाे ब्याच नं B.N.001 काे ह्यान्ड रब ईन्स्ट्यान्ट स्यानिटाइजरलाई प्रतिबन्ध लगाएकाे हाे । विभागले बजारमा यस ब्याचका यि दुई स्यनिटाइजरलाई बिक्री वितरण नगर्ने अनुराेध गरेकाे छ । यद्यपी यही स्यानिटाइजरकाे अन्य ब्याचहरु भने किन्नबेच्न पाइनेछ । 

दैनिक ३ लाखकाे स्यनिटाइजर बेच्दै औषधि व्यवस्था लिमिटेड

काठमाडाैं । औषधि व्यवस्था लिमिडेडद्वारा उत्पादित स्यानिटाइजरको माग बढ्न थालेको छ । बजारमा पाइने विभिन्न कम्पनीले उत्पादन गरेकामा कैफियत देखिएपछि यहाँ उत्पादित स्यानिटाइजरको माग ह्वात्तै बढेको हो । विभागका निमित्त महानिर्देशक विजयश्री रत्न बज्राचार्यले अहिले दैनिक झण्डै तीन लाख हाराहारीको स्यानिटाइजर बिक्री भइरहेको जानकारी दिए । लिमिटेडले एलोपेथिक औषधि उत्पादन गर्दै आएको छ । मुख्यगरी सिटामोल, सिटाप्लस, दुई प्रकारको जीवनजल, स्यानिटाइजर, ग्लिसिरिन, डिस्टिल्ड वाटर यहाँ उत्पादन हुन्छ । स्यानिटाइजर भने गत चैतबाट बजारको आवश्यकतालाई ध्यानमा राखेर उत्पादन शुरु गरिएको बज्राचार्यले जानकारी दिए । चैतमा स्यानिटाइजर र मास्कको हाहाकार थियो । सरकारले कोभिड–१९ सङ्क्रमण देखिन थालेपछि चैत ११ बाट बन्दाबन्दीको आदेश जारी गरेको थियो । “हामीले बन्दाबन्दी हुनुभन्दा केही अघि नै बजारको आवश्यकतालाई ध्यान दिएर उत्पादन थालेका थियौँ, अहिले दैनिक २० हजार लिटरसम्म उत्पादन गर्न सक्छौँ”, उनले भने, “बजारको मापदण्डविपरीत पाइएकाले उपभोक्तामा अहिले हाम्रो उत्पादनको माग बढी छ ।” उनका अनुसार अहिले ६०, १००, २०० एमएल र आधा लिटरको बोतलमा स्यानिटाइजर उप्पादन हुँदै आएको छ । यसको औषधि व्यवस्था विभागले तोकेको बजार मूल्य ६० एमएलको रु ७८, १०० एमएलको रु १२५, २०० एमएलको २५० र आधा लिटरको ४५० रहेको छ । मागअनुसार पाँच लिटरको पनि बिक्री हुँदै आएको छ । त्यसको भने तीन हजार मूल्य तोकिएको छ । बजारमा पाइने कतिपय स्यानिटाइजरको अल्कोहल ७० प्रतिशतको हाराहारीमा हुने भए पनि यहाँ भने ८० प्रतिशत नै राख्ने गरिएकाले केही उडेर गए पनि किटाणु मार्न पर्याप्त हुने जनाइएको छ । मापदण्डअनुसार ७० देखि ८० प्रतिशत अल्कोहल हुनुपर्ने हुन्छ । शुरुमा १००, २०० एमएलको माग बढी भए पनि अहिले भने पाँच लिटरको माग बढिरहेको र सोहीअनुसार उत्पादन भइरहेको उनले बताए । “अहिले बन्दाबन्दी र निशेषाज्ञा खुलेपछि अझै माग बढ्दो छ, हामीले अहिलेसम्म माग धानिरहेका छौँ”, बज्राचार्यले भने । उनका अनुसार एक दिनमा २० हजार लिटरसम्म बिक्री भएको छ । कोभिड–१९ को महामारी शुरु भएपछि शुरुमा घरेलु उद्योगका स्यानिटाइजर आउन थालेको थियो । त्यसमा झण्डै ६५ प्रतिशत मात्रै अल्कोहल रहेकाले किटाणु मार्न पर्याप्त थिएन । त्यसैले औषधि व्यवस्था लिमिटेडले अनुमतिप्राप्त गर्नुअघिबाटै उत्पादनको प्रक्रिया थालेको थियो । औषधि व्यवस्था विभागले अनुमति लिनका लागि सूचना जारी गर्ने बित्तिकै कागजात बुझाई लाइसेन्स लिएर तत्कालै काम थालेको हो । विभागले पछिल्लोपटक गरेको अनुगमनमा काठमाडौँ र भक्तपुरका विभिन्न कम्पनीले उत्पादन गरेको स्यानिटाइजरमा मापदण्डविपरीत विषाक्त रसायन (मिथानोल) पाइएको समाचार सार्वजनिक भएपछि माग अझै बढेको औषधि व्यवस्था लिमिटेडले जनाएको छ । उक्त स्यानिटाइजरको प्रयोगले मानव स्वास्थ्यमा असर गर्न सक्ने भन्दै औषधि व्यवस्था विभागले प्रयोग नगर्न सर्वसाधारणसँग अपिल गरिसकेको छ । काठमाडौंको हाइजनिक सोप एण्ड केमिकल प्रालिद्वारा उत्पादित इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल एण्ड फुड इण्डष्ट्री प्रालिको एड्भान्स ह्याण्ड स्यानिटाइजर, सर्च केमकम हर्वल प्रोडक्टको इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसमेन्ट जेल, सूर्यमुखी हर्वल प्रोडक्ट कम्पनीद्वारा उत्पादित सूर्यमुखी ह्याण्ड स्यानिटाइजरलगायतमा मापदण्डविपरीत विषाक्त रसायन भेटिएको हो । यस्तै भक्तपुरको नेपाल कायाकल्प उद्योगद्वारा उत्पादित इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा समेत विषाक्त रसायन (मिथानोल) भेटिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिनुभयो । पछि अन्य केही कम्पनीले उत्पादन गरेको स्यानिटाइजरसमेत कैफियत भएको पाइएको थियो । रासस