अब पिसिआर रिपोर्ट सम्बन्धित व्यक्तिलाई दिन पाउने
काठमाडौं । सबै प्रयोगशालाले अब पिसिआर परीक्षणको रिपोर्ट सम्बधित व्यक्तिलाई दिन पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ वा पोजेटिभ जे भए पनि सम्बन्धित व्यक्तिलाई दिन प्रयोगशालालाई निर्देशन दिइएको बताए । यसअघि प्रयोगशालाले रिर्पोट नेगेटिभ आएको खण्डमा सम्बन्धित व्यक्तिलाई र पोजेटिभ आएमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई दिँदै आएका थिए । यसरी महाशाखालाई प्रयोगशालाले जानकारी गराएको आधारमा महाशाखाले पोजेटिभ देखिएका व्यक्तिलाई सङ्क्रमण भएको जानकारी दिने गर्दथ्यो । नेपालमा नौ लाख ८८ हजार ३२७ जनाको पिसिआर परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा ७३ हजार ३९४ जना सङ्क्रमित भएका छन् । ‘पहिलो पोजेटिभ आएका सङ्क्रमितलाई स्वास्थ्य संस्थामा राख्ने व्यवस्था गरेका थियौं । अहिले आएर होम आइसोलेसनमा पनि राख्न सकिने व्यवस्था गरेका छौँ,’ उनले भने, ‘धेरै सङ्क्रमित घरमै बसिरहेका छन् । त्यसैले अब घरमा आइसोलेसनमा बस्ने सबैलाई प्रयोगशालाले आफै जानकारी गराउने छन् ।’ मन्त्रालयले पोजेटिभ रिर्पोट आएकालाई उपचारका लागि महाशाखालाई जानकारी गराउन भनेको थियो । यस्तै काठमाडौं, मोरङ, चितवन र सुर्खेतमा सङ्क्रमणको दर उच्च देखिएको छ । ती स्थानमा ६० वर्ष उमेर पुगेका, दीर्घरोगीलाई घरबाट ननिस्कन मन्त्रालयका प्रवक्ता डा. गौतमले आग्रह गरे । रासस
नेपालभर १५७३ जना काेराेना संक्रमित थपिए, ८८५ जना निकाे भए
काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १५ सय ७३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७३ हजार ३ सय ९४ जना पुगेको छ । हाल क्वारेन्टिनमा ६ हजार २ सय ८१ जना रहेका छन् भने आजसम्म ९ लाख ८८ हजार ३ सय २७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ८८५ जना निकाे भएसँगैं हालसम्म ५३ हजार ८ सय ९८ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १० जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ४७७ पुगेकाे छ ।
कोरोनाबाट नेपालगञ्ज शिक्षण अस्पतालका कर्मचारीको मृत्यु
राँझा । कोरोना सङ्क्रणमबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँ निवासी ४७ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार मधुमेहको समस्या रहेका ती पुरुषको गत भदौ २९ गते स्वाब लिएर कोरोना परीक्षण गरिएको थियो । भदौ ३१ गते उनमा कोरोना पुष्टि भएको थियो । दुवैतिरको फोक्सोमा निमोनिया र मधुमेहको समस्या देखिएपछि उनीलाई भदौ ३१ गते शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ । मृतकको शव व्यवस्थापनका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले समन्वय र तयारी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।