हुम्लामा अज्ञात रोगले बिरामीको स‌ंख्या बढ्यो, स्वास्थ्य संस्थामा औषधि अभाव

सिमकोट । जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणका बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीय पुसे कार्कीले जानकारी दिए । गाउँमा हरेक दिन बिरामीको सङ्ख्या बढ्दै गएपछि अहिले १५ देखि २० जनामा त्यस्ता रोगाको लक्षणका बिरामी परेको छ । बिरामीको सङ्ख्या बढ्दै गएपछि उपचारका लागि स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा जाँदा औषधिको पनि अभाव भएपछि बिरामीलाई थप समस्या भएको कार्कीले गुनासो गरे । गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि नगएपछि बिरामीलाई थप समस्या भएको हो । थप उपचारका लागि एक बिरामीलाई गएको साता जिल्ला अस्पताल सिमकोट ल्याइएको भए पनि उनको ज्यान गएपछि त्रसित भएका स्थानीयवासीले स्वास्थ्यकर्मीको टोली खटाइ दिन आग्रह गरेका छन् । ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीहरुले समन्वय नगरेका कारण औषधि भए नभएको थाहा नहुने स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताए । उनापनीका बिरामी र स्वास्थ्य इकाइमा औषधिको अवस्था बुझेर जानकारी गराउने बताए । सर्केगाड गाउँपालिका स्वास्थ्य शाखामा औषधि अभाव भएका कारण स्वास्थ्य संस्थाहरुमा समेत अभाव देखिएको संयोजक सन्तोष धामीले बताए । केही दिनअघि गाउँपालिकामा पुगेको औषधि दाखिला गरिनसकेको उनले बताए। औषधिको मुचुल्का भएको र दाखिला गरी सबै वडाका स्वास्थ्य संस्थामा पठाउने तयारी भइरहेको धामीले बताए। रासस

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति सेवा बिहिबारसम्मकाे लागि बन्द

पाेखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ । अस्पतालको प्रसूति विभागमा भदौ २७ गते भर्ना भई सोही दिन आकस्मिक शल्यक्रिया गरिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका–१० की २४ वर्षीया महिलामा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि शल्यक्रिया विभाग तथा वार्डको निर्मलीकरणका लागि प्रसूति सेवा बन्द गरिएको अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । महिलाको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र उनीहरुको नतिजा नेगेटिभ नआएसम्मका लागि अत्यावश्यक शल्यक्रिया गर्नुपर्ने बाहेकका अन्य सेवाहरु बिहीबारसम्म सेवा बन्द गरिएको उनको भनाइ छ । अस्पतालले प्रसूति बाहेकका अस्पतालले प्रदान गर्दै आएको अन्य सम्पूर्ण सेवाहरु भने सञ्चालनमा रहेको सेवाग्राहीमा जानकारी गराएको छ । महिलामा कोभिड–१९ को आशङ्कामा २८ गते नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा नतिजा पोजिटिभ आएको अस्पतालले जनाएको छ । गण्डकी प्रदेशको सबैभन्दा ठूलो यस अस्पतालमा प्रदेशका ११ वटै जिल्लाबाट गरी दैनिक एक हजार ५०० को हाराहारीमा बिरामी आउने गर्दछन् । रासस

नेपालभर १४५९ जना काेराेना संक्रमित थपिए, ११ जनाकाे मृत्‍यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ५९  ना जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५६ हजार ७ सय ८८ जना पुगेको छ । हाल क्वारेन्टिनमा ७ हजार २ सय ५० जना रहेका छन् भने आजसम्म ८ लाख ६१ हजार ७ सय ८० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १०६२ जना निकाे भएसँगैं हालसम्म ४० हजार ६ सय ३८ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ११ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ३७१ पुगेकाे छ ।