विदेशमा हालसम्म कोरोनाका कारण २४३ नेपालीको मृत्यु, साउदीमा ६० शव अलपत्र
काठमाडाैं । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताए । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले उल्लेख गरेको छ । यो सँगै साउदी अरबमा मात्रै सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ५२ पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिंह राजपुतले जानकारी दिए । यो साता कतारमा पनि थप दुई नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरबलगायतका मुलुकमा कोरोना सङ्क्रमणदर सामान्यरूपमा वृद्धि भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोना–१९ बाट सङ्क्रमित छन् । कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् । यस्तै नेपालमा शनिबारसम्म ५३ हजार १२० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये ३७ हजार ५२४ कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ७० दशमलव छ प्रतिशत हो । हालसम्म नेपालमा ३३६ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । कोरोना सङ्क्रमणका कारण नेपालसहित विश्वभर जम्मा ५७९ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । यस्तै विश्वभर ९० हजार ७६७ जनामा नेपालीमा सङ्क्रमण देखिएको छ भने तीमध्ये ७१ हजार ७१७ जना कोरोनामुक्त भएका छन् । नेपालसहित कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या औसत ७८ दशमलव सात प्रतिशत रहेको छ । ६१ हजार ७१० को उद्धार कोरोना भाइरसको सङ्क्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धारकार्य जारी छ । हालसम्म गैरआवासीय नेपाली सङ्घ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार ७१० नेपालीको उद्धार गरिएको छ । साउदीमा ६० शव अलपत्र साउदीस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले निधन भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी छ । साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेका छन् । हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३०० नेपालीहरुको शव नेपाल ल्याइएको छ । गैरआवासीय नेपाली सङ्घको अनुरोध गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सापकोटाले विदेशबाट नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टिन बस्न अनुरोध गर्नुभएको छ । विदेशमा पिसीआर परीक्षण गराएर नै स्वदेश जाने भए पनि स्वास्थ्य सावधानीका लागि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टिनमा बस्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन डा सापकोटाले आग्रह गर्नुभएको हो । सङ्क्रमण जुनसुकै बेला पनि हुनसक्ने जोखिम रहेकाले यात्रापछि पनि ज्वरो आउने, सास फेर्न गाह्रो हुने, निरन्तर खोकी लाग्नेजस्ता समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा जचाउन पनि उहाँले अनुरोध गर्नुभयो । यसका साथै स्वदेश फर्कन चाहने नेपालीलाई पनि संयमित भएर आफ्नो उडानको प्रतीक्षा गर्न र त्यसका लागि आवश्यक पिसीआर परीक्षण समयमै गर्न समेत डा सापकोटाले आग्रह गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकामा सङ्क्रमित सङ्ख्या चार हजार ८८६ पुग्याे
काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ रहेको छ । हाल सङ्क्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन् भने तीन हजार १६८ जना उपचाररत रहेको कामपाले जनाएको छ । कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार ४७१ जना अस्पतालमा उपचार गराइराखेका छन् भने एक हजार ५२४ होम आइसोलेसनमा र एक हजार २२७ जना संस्थागत आइसोलेसनमा छन् । उहाँका अनुसार हालसम्म कामपाको ३२ वटै वडामा गरी दश हजार ५२९ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ र ३१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । हालसम्म परीक्षणमा सबैभन्दा बढी वडा नं १५ मा ४६९ जनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी वडा १६ मा ३६६, वडा ३ मा ३१५ जनामा सङ्क्रमण देखिएको छ । यसैगरी वडा ४, ७, ८, ९, १०, ११, १३, १४, २६, २७, २८, २९, ३१ र ३२ वडामा एक सयभन्दा बढी सङ्क्रमित रहेका छन् । सबैभन्दा बढी वडा २७ मा चार जनाको मृत्यु भएको छ । कामपाले परीक्षणको दायरा बढाउनका लागि अहिले हरेक वडामा स्वास्थ्यकर्मीसहित स्वयम्सेवक परिचालन गरेको छ । रासस
थप १२ सय १ जनामा देखियो कोरोना
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १२ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १२ सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५१ हजार ९१९ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा थप ८ सय ५२ जनाले कोरोना जितेका छन् ।