मकवानपुरमा सेनाद्वारा ९० श्ययाको आइसोलेशन कक्ष बनाइने
मकवानपुर । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बिहान बसेको बैठकले कोरोना सङ्क्रमण लक्षण देखापरेका व्यक्तिलाई तत्काल उपचार सेवा प्रदान गर्न नेपाली सेनाका विभिन्न ब्यारेकमा ९० श्याको आइसोलेशन कक्ष स्थापना गर्ने निर्णय गरेको छ । सङ्क्रमण भएका र लक्षण देखिएका बिरामीलाई भर्ना गरी उपचार सेवा पु¥याउने उद्देश्यले सो आइसोलेशन कक्ष स्थापना गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । सोही बैठकले मध्यपृतना मुख्य कार्यालय सुपारेटार, दलगण चित्लाङ, नं एक जगदलगण सुनाचुरी, काली इञ्जिनीयरिङ दलगण भैँसे, पुरानो गोरखगण सुपारेटार, नं ३ कुलेखानी, भीमफेदीस्थित प्लाष्टिक उद्योग र छतिवन ब्यारेकमा पनि छुट्टाछुट्टै आइसोलेशन कक्ष स्थापना गर्ने निर्णय गरेको छ । सोही बैठकले नेपाली सेनाद्वारा सञ्चालन गर्न लागिएको आइसोलेशन कक्षमा सङ्क्रमण देखिएका बिरामीलाई सेनाकै चिकित्सकबाट सेवा उपलब्ध गराउने र अति गम्भीर प्रकृतिका बिरामीलाई आवश्यकतानुसार चितवन वा वीरगञ्जतर्फको कोभिड अस्पतालमा उपचार गर्न पठाउने निर्णय गरेको सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए । बैठकमा जिल्लाका विभिन्न स्थानमा आगामी असोजको पहिलो हप्तादेखि यातायात सञ्चालन गर्न आवश्यक कार्यतालिका तयार गरी ल्याउन नारायणी यातायात व्यवसायी सङ्घलाई सुझाव दिइएको छ । रासस
भेरीमा प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमितकाे सफल उपचार
राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट सफल उपचार भएपछि उत्साह जागेको छ । प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना सङ्क्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारीमा उत्साह र थप हौसला थपिएको प्लाज्मा थेरापी उपचारका विज्ञ डा खगेन्द्रजङ्ग शाहले बताए । भेरी अस्पतालले प्लाज्मा थेरापी उपचारमा पहिलो बिरामीमै सफलता पाएको छ । प्लाज्मा विधि सफल भएपछि अस्पतालले अन्य सङ्क्रमितलाई पनि प्लाज्मा दान गर्न आग्रह गरेको छ । उच्च ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि भेरी अस्पतालमा भर्ना भएका शारदा नगरपालिका–६, सल्यानका २९ वर्षीय प्रवीण केसीमा प्लाज्मा थेरापी उपचार विधि सफल भएको हो । केसीलाई १२ भदौमा भेरी अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको लक्षण देखिएपछि उनको कोरोना जाँच गर्दा भदौ १३ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । निमोनिया भई स्वास्थ्य अवस्था झनझन बिग्रिँदै गएपछि उनको प्लाज्मा थेरापीबाट उपचार गरिएको हो ।केसी निको भएर आइतबार घर फर्किएका छन् । कोरोना भाइरस सङ्क्रमितका कारण मृत्यु नजिक पुगेका बिरामी प्लाज्मा थेरापी उपचार विधिबाट निको भएर घर फर्किँदा उपचारमा संलग्न चिकित्सकदेखि प्लाज्मा दिने दातासमेत उत्साहित र खुशी देखिएका थिए । उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको अथक प्रयास र लगनशीलताले जटिल अवस्थामा पुगेका कोरोना सङ्क्रमितलाई बचाउन सकिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले बताए । रासस
चिकित्सकको सल्लाह लिए जस्तै पोषण विज्ञको पनि परमर्श लिनुपर्छः विज्ञ शाह
काठमाडाैं । अहिलेको कोरोनाको विषम परिस्तिथिमा स्वास्थको रोग प्रतिरोघात्मक क्षमता बढाउने ‘डाइट फोर इम्युनिटि बुसटर फुडस’ को कार्यक्रम सम्पन्न भएकाे छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने पोषण सम्बन्धी उक्त कार्यक्रम रोटरी क्लब अफ भक्तपुर र इनर्हवील भक्तपुरको संयुक्त सहभागीतामा भर्च्युअल कार्यक्रम मार्फत सम्पन्न भएकाे हाे । पोषण विज्ञ मिरा शाहले करिब पचास वटा स्लाइडहरुमा विभिन्न रोगहरु जस्तै मधुमेह, उच्च रक्तचाप, मोटोपना, कम तौल, कुपोषण , उमेर समुह अनुसारको के कस्ता फरक फरक क्यालोरीहरुको समेत स्पष्ट पारेकी थिइन् । स्रोताहरुको जिज्ञासामा प्रकाश पार्दै पोषण विज्ञले समय समयमा चिकित्सकको परामर्श, नितमित स्वास्थ जाँच, सक्रिय जीवनशैली, आदिको बारेमा सुझाव तथा परामर्श दिइन् । ‘अहिले मात्रै हामी स्वस्थ हुने हो त ? किन हामी आफ्नो स्वास्थ्य प्रति गम्भिर छैनौं ? कामको होडबाजीमा हामी आफै स्वास्थको हेरचाह गरेको पाइएको छैनौं । काम काम भनेर हामी आफै बिरामी भएर बसेका छौं, जब अत्ति नै गार्हो भएमा मात्र अस्पताल दौडधुप गर्छौ । त्यो बेला बल्ल हामी स्वस्थ किन हुनु आवश्यक छ, थाहा पाउने गर्दछौं । हामी सन्तुलित आहार भोजनमा समाबेस गरे तापनि किन बिरामी हुन्छौ त ?’, पोषण विज्ञ मिरा शाहले बताइन् ।चिकित्सकको सल्लाह लिए जस्तै पोषण विज्ञको पनि परमर्श लिन उनले आग्रह गरिन् । सबैको एकै नासको क्यालोरी हुन्, काम्, उमेर समुह, रुचि, साकाहारी, मान्साहारी, तौल आदि व्यक्ति पिच्छे फरक हुने भएकोले परामर्श लिनुपर्नेमा उनले जोड दिइन् । यसमा रोटरि क्लब अफ भक्तपुरकी अध्यक्ष रोटरियन भवानी घिमिरे, प्रमुख अतिथि रोटरियन सञ्जय गिरी, अतिथि वक्ता कीर्तिपुर अस्पताल बर्न अस्पतालकी पोषण विज्ञ मिरा शाह, जिल्लाका गणमान्य व्यक्तिहरु, रोटरि तथा इनर्व्हील तथा अन्य सदस्यहरुको उपस्थिति थियो ।