टिचिङ अस्पतालकाे कार्यकारी निर्देशकमा प्राडा. दिनेश काफ्ले नियुक्त

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)को कार्यकारी निर्देशकमा प्राडा. दिनेश काफ्ले नियुक्त भएका छन् । प्राडा. काफ्ले मंगलबार कार्यकारी  निर्देशक पदमा नियुक्त भएका हुन् । यसअघिका निर्देशक प्राडा प्रेम कृष्ण खडगाले अनिवार्य अवकाश पाएपछि त्रिविले तीन महिनाका लागि प्राडा रोहितकुमार पोखरेललाई निमित्त निर्देशक बनाएको थियो । उनकाे कार्यकाल ४ वर्षकाे रहनेछ ।

मनाङमा अस्पताल पनि एउटै र चिकित्सक पनि एक जना मात्र

मनाङ । हिमालपारिको जिल्ला मनाङमा करारका एक चिकित्सकको भरमा स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । जिल्ला अस्पताल मनाङमा जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । एक चिकित्सकले जिल्लाका बिरामीलाई स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने अवस्था छ । मनाङमा कोभिड–१९ को सङ्क्रमणले अझ समस्या थपिएको छ । सुगम क्षेत्रमा धेरै चिकित्सक रहने भए पनि ग्रामीण क्षेत्रमा भने चिकित्सकको अभाव हुने गरेको छ । कोरोना सङ्क्रमणको सङ्ख्या र बिरामीको अवस्था हेर्दा स्वास्थ्य क्षेत्रमा धेरै जनशक्ति हुनुपर्ने हो तर कतिपय सामग्री जनशक्तिको अभावमा चलाउनसमेत सकिएको छैन । जिल्ला अस्पताल मनाङमा मेडिकल अधिकृत एवं कोरोना फोकल पर्सन डा सन्तोष अधिकारी मात्रै छन् । मनाङमा भएका दक्ष जनशक्तिका रूपमा एक चिकित्सकलाई पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सरुवा गरी पोखरा तानेपछि सेवा प्रवाहमा समस्या भएको हो । मनाङ जिल्लाभरको स्वास्थ्य सेवाका लागि अस्पताल पनि एउटै र अस्पतालमा कार्यरत चिकित्सक पनि एक जना मात्र रहेको प्रमुख जिल्ला अधिकारी धुर्व गिरीले जानकारी दिए । “कोभिडका बिरामीका लागि उपचार गराउन कस्तो बिरामी हुन्छ, सोअनुसार उपचार गर्नुपर्ने हुन्छ तर यहाँको अस्पतालमा एक जना मात्रै चिकित्सक हुनुहुन्छ, जिल्लावासीको उपचारका लागि एक जनाले मात्रै गर्दा समस्या र चुनौती छ”, प्रजिअ गिरी भने, “जिल्लाको एक मात्र चिकित्सक बिदामा बस्नुपर्ने वा बिरामी परे अझ बढी समस्या हुन्छ, यो समस्या समाधानका लागि छलफल भइरहेको छ ।” अहिले एक मात्र डा अधिकारी दैनिक बिरामी र कोरोना सङ्क्रमितको सेवामा व्यस्त छन् । दुई जना चिकित्सकको दरबन्दी भए पनि जिल्ला अस्पताल मनाङमा दरबन्दीका चिकित्सक एक जना पनि छैनन् । अहिले जिल्लाको अस्पतालबाट सेवा करारका एक चिकित्सकले मात्रै दिँदै आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए । उनका अनुसार अस्पतालमा कार्यरत चार कर्मचारी करारका छन् । जिल्लामा दुई चिकित्सक, दुई स्टाफ नर्स, अहेव, सहयोगी गरी ११ जनाको दरबन्दी भए पनि अहिलेसम्म अस्पतालमा करारका चिकित्सकले मात्रै स्वास्थ्य सेवा दिइरहेका छन्। स्वास्थ्यका प्राय धेरैजसो कर्मचारी करारका छन् । उनका अनुसार हाल जिल्ला अस्पतालमा डा अधिकारी, नर्स बिना पौडेल, सिनियर अहेव रहमत अन्सारी र ल्याब टेक्निसियन प्रकाश रोक्का छन् । रासस

कोरोनाको त्रासमा मनोवैज्ञानिक असरबाट बच्न विज्ञको सुझाव

चितवन । कोरोनाको सङ्क्रमण बढ्दै गर्दा सङ्क्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्दछ । समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन् । कोरोना सङ्क्रमणका कारण मन आत्तिने, डिप्रेसन (अवसाद) जस्ता समस्या देखिने गरेको चिकित्सकले जनाएका छन् । चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ प्रा डा सिपी सेढाइँका अनुसार कोरोना सङ्क्रमण बढ्दै गएपछि मुटु ढुकढुक गर्ने, डर लाग्ने, निसास्सिएको महसुस हुने, बढी पिसाब फेर्न मन लाग्ने, मनमा अनावश्यक चिन्ता लाग्ने, एक्लै बस्न मन लाग्ने, भित्री मन खुसी नरहने, निन्द्रा नपर्ने, हरेक कुरालाई नकारात्मक दृष्टिबाट हेर्ने जस्ता समस्या आएका छन् । यस्तै शरीर झमझमाउने, टाउको दुख्ने, घाँटीमा अड्किए जस्तो हुने, शरीर अप्ठ्यारो महसुस हुने, कोरोना भाइरस लागे जस्तो भान हुनेलगायतका समस्या लिएर मानिसहरु उपचारका लागि आउन थालेको उनले जनाकारी दिए । उनले भने, “एउटै कुरा दोहोर्याई तेहेर्याई सोच्ने, कन्भर्सन डिसअर्डर, पिटिएसडी जस्ता समस्या लिएर मानिसहरु आउन थालेका छन् ।” कतिपय मानिस मनमा तनाव हुनाले मदिरा सेवन गर्ने तथा दुव्र्यसनीमा फस्ने खतरा बढ्ने उनको भनाइ छ । मानसिक रोगबाट बच्न एउटै कुरामा गहिरिएर नसोच्ने, मनको कुरा अरुलाई भन्ने बानी गर्दा पनि तनावमुक्त भइने सेढाइँको सुझाव छ । अहिलेको समयमा जे छ त्यसैमा सन्तुष्ट बन्न सक्ने, आफूलाई अरुसँग तुलना गर्नुपर्ने, मोबाइल फोन, फेसबुक कम प्रयोग गर्ने गर्दा मन शान्त हुने उनी सुझाउँछन् । सेढाइँले भने, “बिहानदेखि बेलुकासम्म कामको विभाजन गर्ने, समयलाई उपयोग गर्ने, खाना पकाउने, तरकारी केलाउने, करेसाबारीमा काम गर्ने, किताब पढ्ने जस्ता कामहरु गर्नुपर्छ ।” खाना खाने, सुत्ने समय एकनासको बनाउने, अनावश्यक समाचारमा विश्वास नगर्ने, कुलतमा नफस्ने, मनोबल उच्च राख्ने र सन्तुलित भोजन खाने गर्नाले मानसिक समस्याबाट वञ्चित भइने सेढाइँले जानकारी दिए । पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै जाँदा आइसोलेसनमा बस्नेहरुमा मानसिक समस्या देखिन थालेको चिकित्सकहरुले बताएका छन् । उनीहरुलाई मानसिक समस्या नआउने गरी स्वास्थ्यमा ध्यान दिनुपर्ने चिकित्सकहको सुझाव छ । कोरोना सङ्क्रमणलाई त्रासको रूपमा नहेरेर सावधानी अपनाएर उच्च मनोबलका साथ बसेमा रोग जित्न र लाग्न नदिन सहयोग पुग्ने विज्ञहरुको सुझाव छ । रासस