सोलुखुम्बुमै थाइराइड परीक्षण सुरु, काठमाडाैं जानुपर्ने बाध्यताकाे अन्त्य

साेलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक थाइराइड परीक्षण शुरु भएपछि यस क्षेत्रका नागरिक हर्षित भएका छन् । सदरमुकाम सल्लेरीमा सञ्चालित सोलु हेल्थकेयर प्रालिले कोरोना महामारीकै बीचमा सेवा शुरु गरेपछि सहज हुने भन्दै यहाँका नागरिक हर्षित भएका हुन् । अब थाइराइड परीक्षणका लागि काठमाडौँलगायत जिल्लाबाहिरका अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको भन्दै स्थानीय उमा शाक्यले खुशी व्यक्त गरिन् । यसअघि थाइराइड परीक्षण गराउनकै लागि यहाँका नागरिक विराटनगर, धरान या काठमाडाैं जानुपर्ने बाध्यता थियो । लकडाउन तथा कोरोना महामारीका कारण पुनः जाँचका लागि अन्यत्र जान नपाएका बेला जिल्लामै सेवा शुरु हुनु सुखद् भएको तिङ्लाकी पूर्णमाया बस्नेतले बताइन् । “केही महिनाअघि विराटनगर गएर जाँच गराउँदा थाइराइड देखिएको थियो अनि फेरि जाँच गरेर औषधि थपघट गर्नुपर्छ भनेका थिए”, उनले भनिन्, “कोरोनाकै कारण जान सकिरहेका थिइन, अब यहीँ आयो ढुक्क भयो ।” काठमाडाैँ जानका लागि एकतर्फी जिप भाडा रु एक हजार ५०० तिर्नुपर्छ भने इटहरी जानका लागि एकतर्फी मात्रै रु एक हजार १८०० सम्म लाग्छ । स्थानीय धनमाया मगरले भनिन्, “जाने आउने र खाना खाने खर्चले जिल्लौ थाइराइड परीक्षण गराउन सकिन्छ भने समयको समेत बचत हुँदा हामी एकदमै खुशी छौँ ।” “खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्ने हर्मोनलाई थाइराइड हर्मोन भनिन्छ”, सोलु हेल्थकेयरका प्रबन्धक निर्देशक डा राजेन्द्र बस्नेतले भने, “हाम्रो घाँटीमा हुने यो ग्रन्थीको समस्या धेरै मानिसमा भए पनि परीक्षण नहुँदा अधिकांश रोग पालेर बस्न बाध्य छन् ।” हेल्थकेयरका अनुसार अहिले जिल्लामै सेवा शुरु भएपछि दैनिक २० जनाभन्दा बढीले परीक्षण गराउने गरेका छन् । थाइराइड हुँदा कपाल धेरै झर्ने, दुब्लाउने वा मोटाउने, शरीरमा पसिना बढी आउने वा कम आउने, निद्रा बढी लाग्ने वा कम लाग्ने, कब्जियत हुने वा झाडापखाला लाग्ने, महिलामा महिनावारी गडबडी हुने, मुटु जोडसँग ढुकढुक हुने, हात काँप्ने, गर्मी बढी हुने वा जाडो हुने, छाला खस्रो हुनेलगायतका लक्षण देखिने चिकित्सक बताउँछन् । हिमाली जिल्ला सोलुखुम्बुमा यस्ता बिरामीको सङ्ख्या अत्यधिक भएकै कारण परीक्षण शुरु गरिएको डा बस्नेतको भनाइ छ । “धेरै ‘केस’हरु ओखलढुङ्गाको मिसन अस्पतालमा ठीक हुन्छ तर थाइराइड परीक्षण गर्ने प्रविधि नहुँदा यस क्षेत्रका नागरिकलाई समस्या भइरहेको छ”, बस्नेतले भने, “म यही जिल्लावासी हुँ त्यसैले यहाँका नागरिकलाई स्वास्थ्य सेवामा सहज होस् भन्ने उद्देश्यले ऋण खोजेर नै सेवा सञ्चालन गरिएको हो ।” कोरियाली प्रविधिको उक्त मेसिनले विभिन्न ६० प्रकारका रोग पत्ता लगाउन सक्ने चिकित्सकको भनाइ छ । विगतका दिनमा थाइराइडको रिपोर्ट आउनका लागि २२ दिन पर्खनुपर्ने भए पनि अहिले १२ मिनेटमै रिपोर्ट आउने डा बस्नेतले बताए । सरकारी अस्पतालले यो सेवा सञ्चालन गर्नसक्ने भए पनि सामान्य रोगको उपचारमा समेत निजी अस्पतालमा जानुपर्ने बाध्यता रहेको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाको भनाइ छ । उनले सरकारी अस्पताललाई चुनौती दिँदै हेल्थकेयरले थाइराइड परीक्षणसमेत शुरु गरेकोमा खुशी व्यक्त गरे । आगामी दिनमा जिल्लावासीले सहज सेवा पाउने भन्दै नगर प्रमुख शेर्पाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । थाइराइड रोग सामान्यतया शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी हुँदा या वंशाणुगत पमा पनि लाग्ने भएको हुँदा समयमा नै उपचार गराउनुको विकल्प नभएको चिकित्सक बताउँछन् । रासस

भक्तपुरमा काेराेना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबोट परिचालन गर्ने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । आफ्नो नगर क्षेत्रमा कोरोना सङ्क्रमण रोक्न पिसीआर परीक्षणलाई तीव्र बनाएको, क्वारेन्टिनदेखि आइसोलेसन, भेन्टिलेटरसहितको आईसीयु तयारी अवस्थामा राखेको उनले जानकारी दिए । अस्पतालमा रोबोटको परीक्षण सम्पन्न गरिसकेको जानकारी दिँदै उनले असोजको पहिलो सातादेखि नै नर्सिङ रोबोट सञ्चालनमा ल्याउने र बिरामीलाई औषधि र खानेकुरा रोबोटले दिने गरी तयारी गरेको जानकारी दिए । राबोटमार्फत सेवा दिने यो नेपाल कै पहिलो अस्पताल हुने जानकारी दिँदै उनले नेपालका युवाले निर्माण गरेको तीनवटा रोबोटका लागि करिब रु १५ लाख बजेट खर्च हुने जानकारी दिए । नगरपालिकाले आफ्नै पिसीआर ल्याबमा चैतदेखि हालसम्म नौ हजारको परीक्षण गरिसकेको छ । भदौ महिनाको २४ गतेसम्ममा दुई हजार ११२ को परीक्षण गरेको जानकारी दिँदै नगर प्रमुख श्रेष्ठले हालसम्म ३२७ जनालाई सङ्क्रमण भएको, ९० जना निको भएर घर फर्किएको, ९० जना सामुदायिक आइसोलेसनमा र १७१ जना होम आइसोलेसनमा रहेको जानकारी दिए । नगरपालिकाले भयावह अवस्था आउन नदिन कन्ट्याक्ट टे«सिङलाई व्यापक बनाएको उल्लेख गर्दै उनले भने, “परीक्षणको दायरा बढाएकाले यहाँ बढी सङ्क्रमित देखिएको हो, हामीले सङ्क्रमितको सहज व्यवस्थापन गरेका छौँ, हामी जनप्रतिनिधिसहितको टोली सङ्क्रमित परिवारको घरघरमा पुगेर बाहिर बसेर उनीहरुको समस्या बुझ्ने, समस्या भए समाधान गर्ने तथा मनोपरामर्श दिएर हौसला प्रदान गरेका छौँ ।” नगरपालिकाले ८५ शय्याको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजनसहितको ३० शय्याको आइसोलेसन, आठ वटा भेन्टिलेटरसहितको ११ शय्याको आईसीयू तयारी अवस्थामा राखेको जानकारी दिँदै उहाँले मिर्र्गौलाका बिरामीलाई लक्ष्य गर्दै एक शय्याको डायलाइसिस र मेसिन तयारी अवस्थामा राखेको बताउनुभयो । नगरपालिकाले अस्पताल नजिकैको एक गेस्टहाउसमा बनाएको क्वारेन्टिनमा गत चैतदेखि १०० भन्दा बढी शङ्कास्पदलाई राखिसकेको छ । नगरपालिकाले अहिलेसम्म सरकारसँग पिसीआर परीक्षणको किट लिएको छैन भने नगरपालिका आफैँले खरिद एवं व्यवस्थापन गरेको छ । हालै मात्र पाँच लाख बराबरको पाँच हजार थान पिसीआर किट किनेर परीक्षणलाई अझ तीव्रता दिएको छ । नगरपालिकाभित्रका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको परीक्षणलाई उच्च प्राथमिकतामा राखेको नगरपालिकाले हिजो २४ गते मात्रै मध्यपुरथिमि प्रहरी वृत्तका १३० प्रहरीको निःशुल्क पिसीआर परीक्षण गरेको थियो । नगर प्रमुख श्रेष्ठले भने, “बोडेको कृषि विकास बैंकको तालीम केन्द्रमा रहेको ५० शय्या क्षमताको भवनलाई आइसोलेसन बनाउने निर्णय भएको छ, यसमा मध्यपुरका बासिन्दालाई प्राथमिकता दिएर सङ्क्रमित राख्ने भएका छौँ, यसको खर्च नगरपालिका आफैँले व्यहोर्ने छ ।” उनले मध्यपुरथिमिका जोखिमयुक्त क्षेत्रका बासिन्दा, कोरोना सङ्क्रमितका परिवार, उनीहरुको कन्ट्याक्ट टे«सिङमा आएकाहरुको पहिचान गरी स्वाब सङ्कलन र परीक्षणलाई तीव्र पारेको छ । नगरपालिकाले आफ्नै ल्याबमा स्वाब सङ्कलन गरेपछि आपत्कालीन अवस्थाको १२ घण्टाभित्र र अरूको २४ घण्टाभित्र पिसीआरको रिपोर्ट दिने गरेको छ । रासस

निजीको हस्तक्षेपपछि पीसीआर परीक्षणको शुल्क घट्यो, सरकारको कालोबजारी कायमै

काठमाडौं । बजारमा हुन सक्ने कार्टेलिङ, कालोबजारी जस्ता उपभोक्त हित विपरितका कार्य रोक्ने र त्यस्तो गर्नेलाई कानुनी कारवाही गर्ने सरकारी निकाय आफै कालोबजारीमा लागेका छन् । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै सर्वसाधारणलाई लकडाउन र निषेधाज्ञाको रुपमा घरभित्रै नजरबन्दमा राखेर कालोबजार मच्चाएको पुष्टी भएको हो । सरकारले खरिद गर्ने स्वास्थ्य सामग्री सप्लायरसँगको अस्वभाविक मिलेमतोमा महंगो किन्ने गरिएको तथ्य सार्वजनिक भएपनि अहिले पनि पीसीआर परीक्षणमा पनि सरकारले कालोबजारी गरेको पाइएको छ । गएका आइतबार सरकारले कोरोना भाइरस (कोभिड १९) पहिचानका लागि पीसीआर परीक्षणको शुल्क घटाएर ४ हजार रुपैयाँ बनाएको छ । यसअघि पीसीआर परीक्षण शुल्क ५ हजार ५ सय रहेको थियो । यस्तो शुल्कमा पनि १० प्रतिशत सेवा शुल्क थपेर ६ हजार ५० रुपैंयाँ तिर्नुपर्ने सरकारी भनाइ थियो । महामारीको बेलामा मौकाछोपी सरकारले कालोबजारी गरेको अहिले पुष्टी भएको छ । सुरुमा एउटै परीक्षणको लागि ४० हजार रुपैयाँ खर्च सरकारले देखाएको देखाएको थियो । तर, अहिले त्यही परीक्षण निजी ल्यावले २ हजार ५ सय रुपैयाँमा गर्न थालेका छन् । नेपालमा पहिलो पीसीआर परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा माघ ६ गते भएको थियो । नेपालमा प्रारम्भिक जाँच गरी थप निदानका लागि सो नमुना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा पठाइएको थियो । सेन्टरले माघ १० गते बिहीबार प्रयोगशाला परीक्षणको रिपोर्ट पठाएपछि स्वास्थ्य मन्त्रालयले माघ ११ गते शुक्रबार पत्रकार सम्मेलन गरी संक्रमण पुष्टी भएको जानकारी दिएको थियो । सो परीक्षणको लागि ३५ देखि ४० हजार खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ । पहिलो पटक तोकियो ६ हजार ५० रुपैैयाँ सरकारले पीसीआर परीक्षण शुल्कको विषयमा धेरै बहस भएपछि प्रथम पटक गत जेठमा निजी ल्यावलाई परीक्षण गर्न दिने गरी ५ हजार ५ सय रुपैयाँ शुल्क तोक्यो । त्यसमा १० प्रतिशत सेवा शुल्क जोडेर पीसीआर परीक्षण शुल्क ६ हजार ५० रुपैयाँ तोकेको थियो । भदौ १४ गतेदेखि परीक्षण शुल्क ४ हजार भदौ १४ गतेदेखि लागू हुने गरी पीसीआरको नयाँ शुल्क तोकिएको छ । सरकारले सेवा शुल्कसहित ४ हजार रुपैयाँ लिन पाउँने र आफ्नोमा परीक्षण नभएको र स्वाब संकलन गरेर पठाउनु परेको अवस्थामा ४ हजार ४ सय रुपैयाँ शुल्क तोकेको छ । सरकारलाई निजी क्षेत्रले लगाम लगायो सरकारले जेठमा निजी ल्यावहरुलाई पनि पीसीआर परीक्षणको अनुमति दिदै शुल्क ६ हजार ५० रुपैयाँ तोकेको थियो । तर, निजी ल्यावहरुले सरकारले तोकेकोभन्दा सस्तो अर्थात ४ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्न थालेपछि सरकार शुल्क घटाउन वाध्य भएको हो । स्टार हस्पिटलका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन पीसीआरको मुल्य घट्नुको पछाडि निजी ल्याबहरुको भूमिका भएको बताउँछन् । ‘प्राइभेट ल्याबहरुले कर्पाेरेट व्यक्तिहरुलाई तार्गेट गरेर कम शुल्कमा पीसीआर परीक्षण गर्न थाले, यसमा प्रतिस्पर्धाले पनि काम गर्यो, सरकारले तोकेभन्दा सस्तो मूल्यमा निजी ल्यावहरुले पीसीआर परीक्षण गरेका छन्,’ महर्जनले भने । हाल नेपालमा ४७ वटा ल्याब तथा अस्पतालहरुले पिसिआर परीक्षण गरिरहेका छन् जसमा सरकारी ३४ वटा र १२ वटा निजि परीक्षण ल्याब रहेका छन् । सरकारले पीसीआर परीक्षण शुल्क ४ हजार तोकिरहँदा नेपालगंजस्थित भेरी अस्पतालले भने २२ सयमै पीसीआर परीक्षण गराइरहेको , जुन सरकारले तोकेको भन्दा १ हजार ८ सय रुपैयाँ सस्तो हो । काठमाडौं उपत्यकामा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालले भने प्रतिव्यक्ति २ हजार ५ सय ९९ रुपैैयाँ तोकेको छ जुन शुल्क सरकारले तोकेको शुल्कभन्दा १ हजार ४ सय १ रुपैयाँ सस्तो हो । अस्पतालले भदौ २२ गते सोमबारबाट लागू हुने गरी परीक्षण शुल्क कम गर्दै तोेकेको अस्पतालका प्रवक्ता दिपक बस्नेतले जानकारी दिए । शुल्क घटाउन छलफल गर्दै सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर परीक्षण शुल्क अझ घटाउने विषयमा छलफल भइरहेको बताए । शुल्क कति घट्ने तय नभएपनि शुल्क घट्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘पीसीआर परीक्षणको सामानहरु बजारमा पहिलाको भन्दा धेरै सस्तो भएर आएको छ, जसको कारण पनि परीक्षण शुल्कहरु घट्ने क्रममा छ । निजी अस्पतालहरुले पनि यही कारण शुल्क कम लिएको हुनुुपर्छ,’ प्रवक्ता गौतमले भने । महामारी सुरु हुने समयमा किनेका सामानहरु स्टकमा भएको कारण पनि सरकारी शुल्क एकैपटक घट्न नसकेको गौतमको भनाई छ । ‘सामानहरु स्टकमा हुनेले शुल्क छटाउन गाह्रो भइरहेको छ, नयाँ किन्नेहरुको लागि अहिले सामानहरु धेरै सस्तिएको छ,’ गौतमले भने । २२ सयमा परीक्षण गर्दै भेरी अस्पताल यस अगाडि सरकारले तोकेको मुल्यमा कोरोनाका लक्षण भएका तथा कन्ट्याक ट्रेसिङमा परेकाहरुको निःशुल्क पीसीआर संचालन गरिरहेको भेरी अस्पतालले रोग लागेको कारणभन्दा पनि व्यक्तिगत प्रयोजनको लागि मानिसहरु धेरै आउन थालेको कारण शुल्क घटाएको बताउँछ । व्यक्तिगत प्रयोजनको लागि शुल्क सस्तो भएपछि निशुल्क कोरोना परीक्षण गर्ने व्यक्तिहरुको चाप घटेको र मानिसहरु काम परेको अवस्थामा मात्र परीक्षणको लागि आउन थालेको अस्पतालका निर्देशक डा. प्रकाश थापाले जानकारी दिए । उनले २२ सयमा कोरोना परीक्षण गराउँदा आफुहरुको खर्च मात्र उठ्ने उनले बताए । त्यसमा पनि सरकारको तर्फबाट रिऐजेन्ट किट र आरएनए एक्सपान्सन किट आउने भएकोले अझ कम खर्च हुने उनको भनाइ छ । भेरी अस्पतालका निर्देशक डा. थापाको भनाइलाई आधार मान्ने हो भने पीसीआर परीक्षणमा सरकारी अधिकारीहरुले बढी मूल्य देखाएर सरकारी ढुकुटी दोहन गर्ने र सर्वसाधारणबाट शुल्क लिनुपर्दा बढी शुल्क लिएर उपभोक्ता ठगी गर्ने गरिएको पाइएको छ । सम्बन्धित सामग्री कोरोना परीक्षण शुल्क प्रतिव्यक्ति २००० रुपैयाँ घट्न सक्ने पीसीआर परीक्षण सरकारकाे कालाेबजारी, निजी क्षेत्र प्रवेशसँगै ४० हजार पर्ने पीसीआर टेष्ट ४ हजारमा झर्याे