पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि प्लाज्मा थेरापीबाट सङ्क्रमितको उपचार गर्ने
पाेखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापी विधिबाट कोभिड–१९ का सङ्क्रमितको उपचार गर्ने भएको छ । प्रतिष्ठानका निर्देशक सहप्राडा अर्जुन आचार्यले प्लाज्मा थेरापीबाट उपचारका लागि निको भएका सङ्क्रमितलाई रक्तदान गर्न आग्रह गरेका छन् । रक्तदान गर्न इच्छुकले प्रतिष्ठान परिसरभित्र रहेको रक्त सञ्चार केन्द्रमा उपस्थित भएर रक्तदान गर्न सक्नेछन् । डा. आचार्यका अनुसार यो विधिको लागि सङ्क्रमितले आफ्नो रिर्पोट नेगेटिभ आएको दुई हप्तामा रक्तदान गर्न सक्नेछन् । यस विधिबाट उपचार गर्दा सङ्क्रमित छिटो निको हुन्छन् । त्यसैगरी कोरोना सङ्क्रमितका लागि बनेको रेम्डिसिभर भ्याक्सिन पनि प्रयोग गरीएको डा. आचार्यले जानकारी दिए । “हामीले दुई सङ्क्रमितमा यो भ्याक्सिन प्रयोग गरिसकेका छौँ, अरु भ्याक्सिन पनि मगाएका छौँ”, आचार्यले भने । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशममा हालसम्म दुई हजार ७४७ पुगेको छ । शुक्रबार १७ जना नयाँ सङ्क्रमित थपिएका छन् । एकहजार ८१४ जना निको भइसकेका छन् । यस प्रदेशमा ९११ जना सक्रिय सङ्क्रमित छन् । कोरोनाका कारण प्रदेशमा हालसम्म २२ जनाको मृत्यु भएको छ ।
गण्डकीमा १७ सङ्क्रमित थप
गण्डकी । गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमित दुई हजार ७४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । थपिएकामध्ये पोखरा महानगरपालिकाका दुई, तनहुँको शुक्ला गण्डकीका एक, स्याङ्जा पुतलीबजार नगरपालिकाका दुई, नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोटका ११ र कावासोतीका एक जना छन् । प्रदेशमा हालसम्म ५४ हजार ८८९ को पिसिआर परीक्षण गरिएकामा ५२ हजार १४२ जनामा सङ्क्रमण देखिएन । हालसम्म एक हजार ८१४ जना उपचारपछि निको भएको र सक्रिय सङ्क्रमित ९११ रहेको निर्देशनालयले जनाएको छ । कोरोनाका कारण प्रदेशमा हालसम्म २२ जनाको मृत्यु भएको छ ।
संसदीय उपसमितिद्वारा खरिपाटीको आइसोलेसन र थिमिको अस्पताल अनुगमन
भक्तपुर। सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित कोरोना सङ्क्रमितलाई राखेको आइसोलेसन सेन्टर र मध्यपुरथिमिको नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालको अनुगमन गरेको छ । उपसमितिका संयोजक जीवनराम श्रेष्ठको नेतृत्वमा आएको टोलीले चाँगुनारायण नगरपालिका–७ स्थित विद्युत प्राधिकरणमा रहेको आइसोलेसनको बिहिबार अनुगमन गरेको हो । कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामको प्रभावकारिता अनुगमन गर्न गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित आइसोलेसनको अनुगमन गर्दै यहाँ रहेका कोरोना सङ्क्रमितको अवस्था, खानपान, सरसफाइ र उपचारबारे जानकारी लिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताए । खरिपाटीको आइसोलेसनमा बिरामीको हेरचाह तथा सेवा सरकारले तोकेको मापदण्ड अनुरूपनै भइरहेको पाइएको अनुगमन उपसमितिका संयोजक श्रेष्ठले बताए । अनुगमन टोलीलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा प्रेमराज ज्ञवालीले कोरोना ‘हब’को रूपमा भक्तपुर अस्पताल सञ्चालन भइरहेको जानकारी गराउँदै अस्पताललाई पिसीआर मेसिन उपलब्ध गराइदिन अनुरोध गरे । अनुगमन टोलीलाई भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले यहाँको आइसोलेसनमा भइरहेको गतिविधि र व्यवस्थापनबारे जानकारी दिएका थिए । उनले खरिपाटीमा आइसोलेसन सेन्टरको उचित व्यवस्थापन भए पनि कोरोना भाइरस परीक्षणका लागि पिसीआर मेसिन नहुँदा नतिजाका लागि धेरै कुर्नु पर्ने भएकाले उक्त मेसिनको व्यवस्था गरिदिन टोलीलाई आग्रह गरे । टोलीले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले तयार पारेको आइसोलेसन, भेन्टिलेटरसहितको आइसियु र पिसीआर परीक्षण गर्ने ल्याबको अनुगमन गरेको थियो । टोलीलाई नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना सङ्क्रमण रोक्न र सङ्क्रमितको उपचारका लागि नगरपालिकाले गरेको तयारीका बारेमा जानकारी गराएका थिए । रासस