कर्मचारीमा काेराेना संक्रमण बढेपछि वीर अस्पतालमा दुई दिन ओपीडी सेवा बन्द
काठमाडाैं । अस्पतालका धेरै कर्मचारीमा काेराेना संक्रमण बढेपछि विर अस्पतालले दुई दिनकाे लागि ओपीडी सेवा बन्द गर्ने निर्णय गरेकाे छ । अस्पतालले बुधबार र बिहिबार अस्पताल निर्मलीकरण गर्ने उदेश्यले ओपीडी सेवा बन्द गर्ने निर्णय गरेकाे हाे । हालसम्म अस्पतालका ७९ कर्मचारीमा काेराेना कोरोना पुष्टि भएको र अझै धेरैकाे नतिजा आउन बाँकी रहेकाे अस्पतालका महामरी व्यवस्थापक डा. विधान निधी पाैडेलले बताए । पछिल्लाे समय धेरै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरुमा संक्रमण बढेकाे पाइएकाे छ ।
कोरोनाबाट भैरहवामा एक ६५ वर्षीय महिलाको मृत्यु
भरैहवा । कोरोना भाइरस सङ्क्रमित एक महिलाको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ । भीम अस्पताल अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलका अनुसार रामग्राम–५ नवलपरासी स्थायी घर भएकी ६५ वर्षीय महिलाको गए राति मृत्यु भएको हो । कोरोना पोजिटिभ देखिएपछि बुटवलमा उपचार गराइरहेकी ती महिलालाई आइसीयु आवश्यक रहेकाले तीन दिनअघि भीम अस्पतालमा भर्ना गरी उपचार भइरहेकामा गए राति मृत्यु भएको डा पोखरेलले जानकारी दिए । हाल भीम अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । डा पोखरेलका अनुसार आइसीयुमा चार र सामन्य वार्डमा १७ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।
कोरोना निकाे भएपछि मात्रै क्यान्सरको उपचार हुने
भरतपुर । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पिसीआर परीक्षण अनिवार्य गरेको हो । क्यान्सरका बिरामीको उपचारका क्रममा अन्य रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले कोरोना परीक्षणपछि मात्र उपचार गरिने अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले कोरोना सङ्क्रमितलाई अन्य बिरामीसँग राखेर उपचार गरेको खण्डमा सो बिरामीबाट अन्य बिरामी र कर्मचारीलाई सर्ने र अवस्था भयावह हुनसक्ने बताए । कोरोनाको उपचार दुई हप्तामा निको हुनसक्ने अवस्थामा निको भइसकेपछि मात्र क्यान्सरको उपचार शुरु गर्दा फरक नपर्ने गौतमले जानकारी दिए । “क्यान्सरका बिरामीलाई कोरोना सङ्क्रमितसँग उपचार गर्दा मृत्युदरमा २५ देखि ३५ प्रतिशतसम्म बढ्ने खतरा हुन्छ, त्यसकारण पनि क्यान्सर उपचारपूर्व कोरोना अनिवार्य परीक्षण गराउनुपर्छ”, उनले भने । कोरोना प्रमाणित भएका बिरामीलाई कोरोना निको भइसकेपछि मात्रै उपचार गरिने गौतमले बताए । अस्पतालले कोरोनाको सङ्क्रमणबाट जोगाउन एक बिरामी एक कुरुवाको नियम अनिवार्य गरेको छ । अस्पतालका आकस्मिक र बहिरङ्ग सेवा नियमित पूर्ववतरूपमा सञ्चालन भइरहेको निर्देशक गौतमले जानकारी दिए। उनले पिसीआर परीक्षण ल्याब केही दिनभित्र सञ्चालनमा ल्याइने तयारी भइरहेको बताए । क्यान्सर अस्पतालका मात्रै ४२ स्वास्थ्यकर्मी र कर्मचारीको कोभिड–१९ पुष्टि भएको छ । तीमध्ये सात जना निको भइसकेका छन् । सामान्य अवस्थामा दैनिक ७०० देखि ८०० बिरामीले उपचार गर्ने क्यान्सर अस्पतालमा अहिले एक चौथाइ बिरामी मात्र उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । रासस