पीसीआर परीक्षण सरकारकाे कालाेबजारी, निजी क्षेत्र प्रवेशसँगै ४० हजार पर्ने पीसीआर टेष्ट ४ हजारमा झर्याे
काठमाडौं । पीसीआर अर्थात पोलिमिरेस चेन रियाक्सन अहिले बजारमा सबैभन्दा धेरै चर्चित शब्द हो । कोरोना भाइरस (कोभिड–१९) पत्ता लगाउन प्रयोग गरिने यस विधिलाई ३७ वर्ष अगाडि वैज्ञानिक क्यारी मुलसले पत्ता लगाएका थिए । कोरोनाभाइरस संक्रमण पत्ता लगाउनको लागि धेरै विश्वासिलो मानिएको यो प्रविधिमार्फत मासिनको शरीरमा भाइरसको जीन छ कि छैन भनेर पहिचान गर्न सकिन्छ । भाइरोलोजिष्ट विमलेस झाकाअनुसार पीसीआर परीक्षण गर्नको लागि सबैभन्दा पहिला मानिसको मुखबाट स्वाब संकलन गरी त्यसलाई भिटिएममा राखिन्छ र त्यहाँबाट आरएनएन निकालपछि पीसीआर किटमा राखेर त्यसलाई परीक्षण गरिन्छ । नेपालमा माघ १० गते बिहीबार कोभिड–१९ को पहिलो संक्रमित भेटिएको थियो । सरकारले नतिजा आएको एक दिनपछि माघ ११ गते पत्रकार सम्मलेन मार्फत नेपालमा कोरोनाको पहिलो संक्रमण पुष्टि भएको जनाएको थियो । नेपालमा त्यस समयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ वटाबाहेक धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय र केही प्राइभेट संस्थाहरुमा पीसीआर मेसिन थिए । तर ती सबै कोभिड परीक्षणको लागि नभएर अनुसन्धानको लागि राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारी बताउँछन् । पहिलो परीक्षणको खर्च ३५ हजार नेपालमा पहिलो पीसीआर परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा माघ ६ गते भएको सहप्रवक्ता अधिकारी बताउँछन् । नेपालमा प्रारम्भिक जाँच गरी थप निदानका लागि सो नमुना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा पठाइएको थियो । सेन्टरले माघ १० गते बिहीबार प्रयोगशाला परीक्षणको रिपोर्ट पठाएपछि स्वास्थ्य मन्त्रालयले माघ ११ गते शुक्रबार पत्रकार सम्मेलन गरी संक्रमण पुष्टी भएको जानकारी दिएको थियो । सो परीक्षणको लागि ३५ देखि ४० हजार खर्च भएको अधिकारीले बताए । उक्त परीक्षण गर्ने समयमा जाँच गर्ने व्यक्तिले लगाउने फुल पिपिई, प्रयोग हुने रिएजेन्ट, एक्स्ट्रयाक्सन मेसिनदेखि सबैको मुल्य आकाशिनुको साथसाथै एक जनाको मात्र परीक्षण भएको कारण पनि त्यस समयमा परीक्षण शुल्क निकै नै लागेको उनको भनाई छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुणा झाका अनुसार पनि एउटा मात्र व्यक्तिको पीसीआर परीक्षण गर्दा लाग्ने खर्चभन्दा धेरै जनाको एकैपटक गर्दा लाग्ने खर्च निकै सस्तो हुन्छ । पहिलो पटक तोकियो ६ हजार ५० रुपैैयाँ परीक्षण शुल्क सरकारले पीसीआर परीक्षण शुल्कको विषयमा धेरै बहस भएपछि प्रथम पटक परीक्षण शुल्क ५ हजार ५ सय तोकेको थियो । त्यसमा १० प्रतिशत सेवा शुल्क जोडेर पीसीआर परीक्षण शुल्क ६ हजार ५० रुपैयाँ तोकेको थियो । सरकारले ६ हजार ५० रुपैयाँ शुल्क तोरिहँदा ६ लाख ६९ हजार ६ सय २६ पीसीआर परीक्षण गरेको थियो । यसरी हेर्दा सरकारले पीसीआर परीक्षणमा मात्र आइतबारसम्म ४ अर्ब ५ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । यसमा निजी ल्याबहरुले हालसम्म गरेको पीसीआर परीक्षणको संख्या ५० हजारभन्दा केही बढि रहेको छ, जुन कुल परीक्षणको ०.७ प्रतिशत छ । निजी अस्पताल र ल्याबहरुले हालसम्म पीसीआर परीक्षणबाट मात्रै करिब ३० करोड रुपैयाँ आम्दानी गरेको देखिन्छ । भदौ १४ गतेदेखि परीक्षण शुल्क ४ हजार सरकारले गएको आइतबार अर्थात भदौ १४ गतेदेखि लागू हुने गरी पीसीआरको नयाँ शुल्क तोकेको छ । सरकारले सेवा शुल्कसहित ४ हजार रुपैयाँभन्दा बढि लिन नपाउने र यदि आफ्नोमा परीक्षण नभएको र स्वाब संकलन गरेर पठाउनु परेको अवस्थामा ४ हजार ४ सय शुल्क तोकेको छ । यसरी हेर्दा पीसीआर परीक्षण शुल्क अहिले आएर २ हजार ५० रुपैंयाले कम भएको देखिन्छ । कसरी घट्यो शुल्क ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले महामारीको सुरुवात चरणमा आकाशिएको मूल्यहरु सबै बिस्तारै सामान्य हुँदै गएपछि शुल्कहरु घट्दै गएको बताए । ‘बजारमा विस्तारै सामानहरु सजिलैसँग र सस्तो मूल्यमा उपलब्ध हुन थाले र हामीले पनि त्यसै अनुसार सबै खर्चको औषत निकालेर परीक्षणको मुल्य तोकेका हौं,’ उनले भने । ‘पहिला २० हजार पर्ने पीपीई अहिले ८ हजार र अझै सस्तोमा पनि आउँछ, सबै शुल्कहरु यसरी कम भएकै कारण हामीले पनि शुल्कलाई कम गर्दै लगेका हौं,’ उनले थपे । तर, स्टार हस्पिटलका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन पीसीआरको मुल्य घट्नुको पछाडि निजी ल्याबहरुको हात भएको बताउँछन् । ‘सरकारले सामानहरु मुल्य घटेर गएको कारण मुल्य घटाएका हौं भन्दै गर्दा यसमा निजी ल्याबको संलग्नता भएको हामीलाई लागेको छ । प्राइभेट ल्याबहरु कर्पोरेट व्यक्तिहरुलाई तार्गेट गर्ने नाममा शुल्कहरु कम गरे, ती कर्पोरेट क्लाइन्टहरु निजी अस्पतालमै मात्र सिमित भए । यसरी उनीहरुले कर्पोरेट क्लाइन्टहरु तान्न नसक्दा सरकार तर्फ उनीहरुको शुल्क कम गर्ने एक किसिमको सन्देश गयो जसकारण अन्तत सरकारले पीसीआर शुल्क घटाएर लगेको हो,’ महर्जनले भने । यसरी घटाएको शुल्कले आफुहरु जस्ता ठूलो लगानी गरेर ल्याब संचालनमा ल्याएका अस्पतालहरुको लागि भने त्यति राम्रो समाचार नभएको महर्जन बताउँछन् । ‘एउटा घर लिएर ल्याब संचालन गर्ने ल्याबहरुको दाँजोमा हामीहरुलाई धेरै गाह्रो छ । परीक्षण विश्वासनीय बनाउनको लागि हामीले एउटा नमुनाको लागि एउटा मात्रै रिएजेन्ट प्रयोग गर्छौं, जसको मुल्य १५ सय देखि १८ सम्म रहेको छ । यहाँ यस्ता ल्याबहरु पनि छन्, जसले एउटै रिएजेन्टले ५ देखि ६ वटा परीक्षण गरिरहेका छन्, जसले गर्दा उनीहरुले कम शुल्कमा पीसीआर गराइरहेका छन्,’ महर्जनले भने ।
मदिरा खाए काेरोना निको हुन्छ भन्ने अफवा फैलिएपछि…
डोटी । कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ । मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ । मदिरा खाए काेरोना निको हुन्छ भन्ने अफवा फैलिएका कारण पनि चुनौती बढेको हो । यहाँ फैलिएको भ्रम र अन्धविश्वासका कारण गाउँघरमा मदिरा खपत बढेको स्थानीयवासी बताउँछन् । कोरोनाबाट जोगिन भन्दै मदिरा नपिउनेहरुले पनि हिजोआज मदिरा पिउन थालेको केआइसिंह गाउँपालिका–६ सेलेनाका स्थानीयवासी रमेशबहादुर बलायरले बताए । उनले भने, “मदिरा पिए कोरोना लाग्दैन भन्ने भ्रम चलाएका कारण गाउँमा मदिरा पिउने बढेका छन्, जसले गर्दा समाजमा अन्य घटनासमेत घट्न थालेका छन् ।” मदिरा नियन्त्रणका लागि यहाँको स्थानीय प्रहरी प्रशासनले थुप्रै प्रयास गरेपनि सफल हुन सकेको छैन । मदिराकै कारण जिल्लामा यो आर्थिक वर्षमा मात्रै एक दजर्न बढी घटना भएको प्रहरीको तथ्याङ्कमा छ । यहाँको स्थानीय प्रहरी प्रशासनले गाउँमा मदिराको बिक्रीवितरण तथा ओसारपसारलाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेपनि त्यो कागजमा मात्रै सिमित भएको छ भने गाउँमा झनै समस्या उत्पन्न हुन थालेको छ । गाउँघरमा हुने अधिकांश घटनाको प्रमुख कारण मदिरा भएपनि यहाँका गाउँमा बिक्रीवितरण हुने मदिरा रोक्न खासै कसैले पहल नगरेको स्थानीयको आरोप छ । मदिरा नियन्त्रणका लागि गाउँगाउँमा आमा समूह गठन भएपनि लुकी छिपी तथा कोरोनाबाट बच्न भन्दै मदिरा पिउनेहरु बढेका कारण रोक्न र नियन्त्रण गर्न नसकिएको ती समूहमा आबद्ध महिला बताउँछन् । जिल्ला सदरमुकामलगायत यहाँका ग्रामीण क्षेत्रमा बिना इजाजत खुलेआम रुपमा नियम बिपरित मदिरा बिक्रीवितरण भई रहेको दिपायलका स्थानीयवासी उत्तम द्धारीयाले बताए । उनले भने, “बजारदेखि गाउँसम्म बिना इजाजत खुलेआम मदिरा बिक्रीवितरण भइरहेको छ, रोक्नको साटो नेता नै पक्राउ परेका छुटाउन खोज्नछन्, त्यसले झनै चुनौती थपिएको छ ।” मदिरा सेवनका कारण ठूलै घटना नभएपनि सामान्य घटनाहरु दैनिक जसो गाउँमा घट्न थालेको आदर्श गाउँपालिकाका स्थानीय योगेन्द्रबहादुर बोहराले बताए । उनले भने, “प्रहरीको सामुन्ने कसैले पनि मदिरा बेच्दैनन, प्रहरी नभएको बेला मदिरा बिक्री भइरहेको छ ।” यहाँका ग्रामीण क्षेत्रमा राजनैतिक दलका नेताको आडमा खुलेआम रुपमा मदिरा ओसारपसार हुने तथा बिक्रीवितरण हुने गरेको स्थानीयवासीको आरोप छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार यो आर्थिक वर्षमा मदिरा सेवनसँग सम्बन्धित एक दर्जन बढी उजुरी परेका छन् । डोटीमा स्थानीय प्रशासनले मदिरा बिक्री गर्न इजाजत प्राप्त व्यापारीलाई बेलुकी ४ बजेदेखि ७ बजेसम्म मात्र मदिरा बिक्रीवितरण गर्न पाइने नियम लागु गरेपनि यहाँ अन्य समयमा समेत मदिरा कारोबार भइरहेको पाईएको छ । जिल्ला सदरमुकाममा मदिरा व्यवस्थित हुन नसकेपछि जिल्लाको ग्रामीण भेगमा खुलेआम अवैध मदिरा कारोबार हुने गरेको छ । बजारका गोदामबाट दैनिक जसो मदिरा गाउँघरमा बिक्रिवितरणका लागि जाने गरेपनि यहाँको प्रहरी प्रशासनले रोक्नेभन्दा पनि व्यापारीसँगको मिलेमतोमा गाउँ जान दिने गरेको स्थानीयको आरोप छ । उता जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रहरी प्रमुख तथा डिएसपी इन्द्रबहादुर मल्लले गाउँमा मदिरा कारोवार तथा बेचबिखन बन्देज गरेको दाबी गरे । उनले भने, “अबैध मदिरा कारोवारीलाई कारवाही सुरु गरेका छौँ, बन्द भन्नाले पूर्णरुपमा निर्मूल पार्न सकेका छैनाैँ, पहिलेभन्दा अहिले मदिरा बेचबिखन नियन्त्रणमा आएको छ, अबैध मदिरा बन्द गर्नमा प्रहरी सक्रिय रुपमा लागेको छ ।” रासस
प्लाज्मा थेरापीका लागि काेराेना निकाे भएकाहरुलाई रक्तदान गर्न अपिल
भरतपुर । भरतपुर अस्पतालले प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल गरेको छ । कोरोना सङ्क्रमणबाट निको भएकाले गम्भीर सङ्क्रमितहरुका लागि रक्तदान गर्न अपिल गरिएको हो । कोभिड सङ्क्रमित भई आइसोलेसनबाट निको भएकाले १४ दिनपछि रगत दिन सक्छन् । अस्पतालले प्लाज्मा थेरापीबाट सङ्क्रमितको उपचारका लागि तयारी गरिसकेको छ । कोरोनाभाइरस सङ्क्रमित केही व्यक्ति उक्त विधिबाट उपचार गराई निको भएपछि यो विधिबाट उपचार गर्न देशका विभिन्न अस्पताललाई सरकारले अनुमती दिएको छ । भरतपुर अस्पतालका फिजिसियन डा. कल्याण सापकोटाले जटिल प्रकारका सङ्क्रमितको सङ्ख्या बढिरहेकाले उनीहरुको प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्ने भएकाले रक्तदानका लागि अनुरोध गरिएको बताए । निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ । यो विधिमार्फत कोरोनाभाइरसबाट हुने मृत्युदर कम हुने डा सापकोटाले बताए । प्यासिभ एन्टिबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टिबडी अर्को व्यक्तिलाई दिनु हो । अठार वर्ष उमेर माथिका व्यक्तिले रगतको प्लाज्मा दिन सक्छन् । कोरोना सङ्क्रमण मुक्त व्यक्तिले दिने रगत रक्तदान नै हो । रगतमा भएको सेतो कोष हटाएर बनेको झोल पदार्थ नै प्लाज्मा हो । छुट्याइएको प्लाज्मा सङ्क्रमितलाई दिने विधि प्लाज्मा थेरापी भएकाले प्लाज्मा थेरापीका लागि रगत दिँदा र लिँदा दुवैलाई कुनै असर नपर्ने बरु उपचारमा सहयोग पुग्ने डा. सापकोटा बताउँछन् । क्षेत्रीय रक्तसंचार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले दाताहरु रक्तदानका लागि इच्छुक रहेको बताए । उनले आज मात्रै माडीका ३ जनाले रक्तदान गर्ने जानकारी दिए । भरतपुर अस्पतालले डा सापकोटाको संयोजकत्वमा प्लाज्मा थेरापीका लागि समितिसमेत बनाएर काम गरिरहेको छ । आवश्यकता र रगतको मौज्दातको आधारमा रगत सङ्कलन गरिने अस्पतालमा प्लाज्मा थेरापीका लागि सम्पर्क व्यक्ति गोपालप्रसाद पौडेलले जानकारी दिए ।