काठमाडौं उपत्यका कोरोनाको संक्रमणकाे उच्च जोखिममा
काठमाडौं । तराईका केही जिल्लासँगै काठमाडौं उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ । त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो । विगतभन्दा अहिले मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउँछन् । उनका अनुसार व्यावसायिक प्रतिष्ठानले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको छ । भौतिक दूरी कायम गर्ने कुरामा समेत ध्यान कम छ । भीडभाड बढ्दो छ । यातायातमा समेत मापदण्ड प्रयोग गर्न सकिएको छैन । खुलम्खुला मानिस भित्रिरहेका छन् । यी विभिन्न कारणले उपत्यकामा कोभिड–१९ फैलाउन मद्दत गरेको स्वास्थ्यविज्ञहरु बताउँछन् । उपत्यकाको नाकाबाट सहजरूपमा मानिस आवतजावत हुँदा सङ्क्रमण फैलिन सहयोग गरेको हो । जसरी सङ्क्रमणदर बढ्दो छ, त्यसरी नै परीक्षणको दायरा बढाउनु आवश्यक हुने उनीहरुको भनाइ छ । शुरुआती चरणमा भारतीय सीमा क्षेत्रमा बढीे सङ्क्रमण देखिएको थियो । अहिले भारतबाट आउने क्रम न्यून भएपछि नेपालभित्रै सङ्क्रमण फैलिसकेको स्पष्ट भएको छ । आपतकालीन उद्धारमा गएका सुरक्षाकर्मीबाट पनि कोभिड–१९ सङ्क्रमण त्रित्रिएको आशङ्का गरिएको छ । दुई दिनअघि काठमाडौंको हाँडीगाउँस्थित कोटालमा बस्ने एक सुरक्षाकर्मीमा कोभिड–१९ पुष्टि भयो । परीक्षणका क्रममा उहाँका परिवारसहित पाँच जनाका सङ्क्रमण देखियो । उहाँका घरबेटीलाई समेत सङ्क्रमण भएको पाइयो । सोही टोलमा २५ जनाको परीक्षण गर्दा थप छ जनामा सङ्क्रमण भेटिएको काठमाडौं महानगरपालिका–५ का वडाध्यक्ष रमेश डङ्गोल बताउनुहुन्छ । उहाँका अनुसार अहिले उक्त टोललाई सिल गरिएको छ । उपत्यकाका अन्य १२० भन्दा बढी स्थानमा सङ्क्रमण देखिइसकेको छ । यस्तो अवस्थामा स्वयं सावधानी अपनाइएन भने नियन्त्रणका कुनै पनि उपायले काम नगर्ने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । नेपालमा गत माघ ९ गते पहिलो सङ्क्रमण देखिएको थियो । त्यसपछि चैतमा फाट्टफुट्ट देखियो । वैशाख अन्तिम सातापछि ह्वात्तै बढेको थियो । त्यो बेला क्वारेन्टिनमा बसेका मानिसमा बढी थियो भने अहिले समुदायमै देखिन थालेकाले थप जोखिम छ । सङ्क्रमण बढेपछि विभिन्न जिल्ला र स्थानीय तहले आ–आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेर नियन्त्रण प्रयास गरिरहेका छन् । समुदायले आफैँ सचेत भएन भने नियन्त्रण गर्न कठिन हुने चिकित्सकले बताएका छन् । रासस
यी मापदण्ड पालना गरेर बस्न सकिन्छ घरकै आइसोलेसनमा
काठमाडौं । कोरोनाको सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । कोरोनाको उपचारका लागि तोकिएका अस्पतालमा श्यया पाउनसमेत मुस्किल भइसकेको छ । सङ्क्रमणको मात्रा अझै कति बढ्ने हो, त्यसको कुनै ठेगान छैन । सरकारले आफ्नोतर्फबाट सकेसम्म सङ्क्रमण फैलन नपाओस् भनेर केही सावधानीका उपाय भने अपनाएको छ । नागरिकले नै स्वास्थ्य मापदण्ड पूरा नगर्दा तथा व्यक्तिगत दूरी कायम नराख्दा सङ्क्रमणको जोखिम बढेर गएको छ । भीडभाड नगर्न, मास्क प्रयोग गर्न तथा काम नभएका व्यक्तिलाई घर बाहिर ननिस्कन आग्रह गरिए पनि नागरिकले बढी मात्रामा हेलचेक्रयाइँ गरिरहेका छन् । यसले जोखिम बढाएको छ । सङ्क्रमणको मात्रा बढ्दै जाने, अस्पतालमा श्ययासमेत नपाउने अवस्थालाई ध्यानमा दिएर सरकारले घरमै आइसोलेसनमा बस्न चाहनेलाई केही मापदण्ड तयार पारेको छ । सरकारले विश्व स्वास्थ्य सङ्गठन, अन्तर्राष्ट्रिय मापदण्डका आधारमा तयार पारेको मापदण्डलाई व्यवहारिकरूपमा कार्यान्वयन गरेको खण्डमा कोरोना सङ्क्रमित भएका व्यक्ति अस्पतालमा नै जानुपर्छ भन्ने अवस्था पनि नआउन सक्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कुनै सङ्क्रमित व्यक्ति आफू घरमै आइसोलेसनमा बस्न चाहेको खण्डमा उसले र सम्बन्धित परिवारका सदस्यले समेत पालन गर्नुपर्ने मापदण्ड तयार पारिएको हो । शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा गौतमले भने, “सामान्यभन्दा सामान्य सावधानी अपनाउँदासमेत सङ्क्रमति व्यक्ति छिट्टै निको हुन सक्छ, तर सरकारले तय गरेको मापदण्डलाई अक्षरशः कार्यान्वयन भने गर्नुपर्छ ।” उनका अनुसार होम–आइसोलेसनमा रहँदा सङ्क्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभरि आवश्यक पर्ने सामानहरु परिवारका सदस्यसँग मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खानु पर्नेछ । सङ्क्रमित व्यक्तिले प्रयोग गरेका भाँडावर्तन सुरक्षितरूपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयोग गर्नु पर्नेछ । यस्तै स्नान घर वा शौचालयको छुट्टै व्यवस्था मिलाउनु पर्नेछ । राजधानी तथा शहरी क्षेत्रमा बस्नेहरुको एउटै स्नान घर वा शौचालय हुने तथा सामूहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्था रहेकाले सङ्क्रमित भएका व्यक्तिले प्रयोग गरेपछि राम्रोसँग निसङ्क्रमति गरेर मात्रै अरुले प्रयोग गर्नुपर्ने छ । सरकारले तय गरेको मापदण्डअनुसार दाँत माझ्ने ब्रसलगायतका सामान बेसिनबाहेक अन्य स्थानमा छुट्टै राखेर प्रयोग गर्नुपर्नेछ । किनकि त्यस्ता स्थानमा सङ्क्रमण फैलने जोखिम बढी रहन्छ । यस्तै घरका ढोका, टेबललगायत धेरै व्यक्तिले चलाउने सम्भावना रहेका सामानमा समेत सङ्क्रमणको जोखिम बढी रहने गर्दछ । त्यस्ता सामान चलाउँदा वा छोइसकेपछि राम्रोसँग हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने मन्त्रालयले तयार पारेको मापदण्डमा उल्लेख छ । सरकारले तय गरेको मापदण्डअनुसार भाँडा र कपडा धुँदा पञ्जा लगाएर धुने र राम्रोसँग सुकाएर मात्र प्रयोग गर्नु पर्नेछ । कोरोना सङ्क्रमित भएका व्यक्तिको हेरचाहमा रहने व्यक्तिले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नु पर्नेछ । यस्तै दीर्घरोगी, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, सुत्केरी तथा बालबालिका सङ्क्रमणको बढी जोखिममा रहन्छन् । उनीहरुलाई सङ्क्रमित व्यक्तिभन्दा टाढा राख्नुपर्ने विषयलाई मापदण्डले समेटेको छ । सङ्क्रमित व्यक्तिको दैनिक तीनपटक ज्वरो जाँच गरी रेकर्ड राख्नुपर्नेछ । रेकर्ड गरिएको ज्वरोको जानकारी भने सम्बन्धित स्वास्थ्यकर्मीलाई गराउनुपर्ने प्रवक्ता डा गौतमले उल्लेख गरे । त्यस्तै सङ्क्रमितलाई स्वास–प्रस्वासमा कठिनाइ भएमा, छाती दुखेमा, ओठ अनुहार निलो भएमा, होस हराएमा तथा अन्य कुनै जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने प्रवक्ता डा गौमतको भनाइ छ । मन्त्रालयले सङ्क्रमितलाई मात्रै नभई स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले समेत पालन गर्नुपर्ने केही मापदण्ड तय गरेको छ । स्वास्थ्यकर्मीले हरेक दिन कम्तीमा दुईपटक सङ्क्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने र आवश्यक परामर्श गर्नु पर्नेछ । हरेक स्थानीय तहले ५० सङ्क्रमितका लागि एक स्वास्थ्यकर्मीको व्यवस्था गर्नैपर्ने अनिवार्य व्यवस्था गरेको छ । स्वास्थ्यकर्मीले एक बिरामी हेरेवापत दिनको रु २०० का दरले पारिश्रमिक पाउने व्यवस्था गरिएको छ । ती मापदण्डलाई पूर्णरूपमा पालना गरिएको अवस्थामा सङ्क्रमितलाई घरैमा सुरक्षितरूपमा उपचार गर्न सकिने र कोरोनाको नियन्त्रण गर्न सकिने सरकारको विश्वास छ । जटिल स्वास्थ्य समस्या देखिएको खण्डमा भने नजिकको अस्पतालमा लैजान सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
विदेशमा कोरोनाबाट १ सय ९१ नेपालीको निधन
काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको थियो । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले निधन भैसकेको छ । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप सङ्क्रमण देखिएको छ । गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । यस साता अष्ट्रेलिया रहेका १४६ नेपालीमा नयाँ सङ्क्रमण थपिएको समितिले जनाएको छ । समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपाली सङ्क्रमितहरु सङ्क्रमणमुक्त हुँदै गएका छन् । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रिकालगायतका देशमा रहेका नेपालीको निधन थियो । हालसम्म नेपालसहित विदेशमा रहेका ५५ हजार ९२५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती मध्ये ४७ हजार ४३७ कोरोना सङ्क्रमणबाट मुक्त भएका जनाइएको छ ।