कर्णालीका २ सय १४ सङ्क्रमितले जिते कोरोना

काठमाडौं । कर्णाली प्रदेशका २ सय १४ जना सङ्क्रमित कोरोना जितेर घर फेर्केका छन् । यसमा दैलेखबाट मात्रै २ सय ५ जनाले कोरोनामाथि विजय गरेका छन् । कोरोना जितेर फर्कनेहरुमा २ सय १ पुरुष र १३ महिला रहेका छन् । यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १ सय २९ पुरुषगरी १ सय ३२ जनाले एकैदिन कोरोना जितेर घर फर्केको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । त्यस्तै, दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट दुई महिला सात पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट एक महिला, सात पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट एकरएक जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको महाशाखाका प्रमुख डा.तिवारीले बताए । उनका अनुसार शनिबार २ सय १४ ले कोरोना जितेसँगै हालसम्म कर्णालीमा यो सङ्क्रमणबाट निको भएर घर फर्कनेको सङ्ख्या ९ सय ३४ पुगेको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा शनिबार गरिएको पिसिआर परीक्षणमा सुर्खेत पञ्चपुरीका १५ महिनाका बच्चासहित सात जनामा कोरोना पुष्टि भएको बताउँदै महाशाखा प्रमुख डा तिवारीले कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय ४० पुगेको बताए ।

संसारभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो, ५ लाख बढिको मृत्यु

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ७४ हजार ६ सय ३० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ५ लाख ६ सय २५ जनाको मृत्यु भइसकेको छ भने ५४ लाख ५३ हजार २ सय ४७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २८ हजार १ सय ५२ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २५ लाख ९६ हजार ४ सय ३ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५ लाख २९ हजार ५ सय ७७ पुगेको छ भने अहिलेसम्म १६ हजार १ सय ३ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १२ हजार ३ सय ९ जना संक्रमित भएका छन् भने २८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ हजार ८ सय ३४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)

होम क्वारेन्टाइनमा मृत्यु भएकी बालिकाको रिपोर्ट नेगेटिभ

काठमाडौं । प्युठानको झिमरुक गाउँपालिका वडा नं २ स्थित होम क्वारेन्टाइनमा मृत्यु भएकी बालिकाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना जाँच गर्दा ११ वर्षीया बालिकाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड –१९ का फोकल पर्सन पुष्कल श्रेष्ठले बताए । गत जेठ २१ गते भारतबाट आई वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा १४ दिन बसेपछि यही असार ३ गते उनको आरडिटी गरिएको थियो । आरडिटी रिपोर्ट नेगेटिभ देखिएपछि होम क्वारेन्टाइनमै बसेकी बालिकाको असार ६ गते मृत्यु भएको हो । उनको मृत्युपछि पिसिआर जाँचका लागि स्वाब पठाइएको थियो । बालिका मिर्गौला र रक्त अर्बुदरोगको बिरामी थिइन् । रासस