सर्वगुणी बेसारः महिमा अपार

चितवन । जानेर वा नजानेर नेपालीको घरघरमा प्रयोग हुने बेसार बहुउपयोगी भएको ज्ञान कमैलाई छ । कतिपयले रङका लागि मात्रै प्रयोग गरेको भए पनि यसले औषधिको काम गरिरहेको कमैलाई थाहा होला । नेपालीको भान्सामा मसलाका रुपमा प्रयोग हुने बेसार दर्जनौँ रोगको औषधि हुने विज्ञले बताएका छन् । मुख्य रुपमा रोगप्रतिरोधी क्षमता विकास गर्न सर्वगुणी बेसारले महत्वपूर्ण भूमिका खेल्ने उनीहरुको भनाइ छ । पतञ्जलि आयुर्वेद मेडिकल कलेज धुलिखेलका प्राचार्य, द्रव्यगुणविज्ञ प्रा डा श्याममणि अधिकारी बेसार रोगविरुद्ध लड्नका लागि उपयोगी हुने बताउँछन् । उनले भने, “बेसारले शरीरको शक्ति बढाउन मद्दत गर्छ ।” कोरोना जस्ता हजारौँ भाइरस प्रकृतिमा रहेको जनाउँदै उनले बेसारले भाइरसविरुद्ध लड्न केही न केही सहयोग पु¥याउने बताए । बेसारमा पाइने गुणकारी तत्वले शरीरमा भाइरसले जन्माउने अरू भाइरस(प्रतिकृति) रोक्न मद्दत गर्ने तथा भाइरसको सङ्ख्या कम गर्ने विज्ञ बताउँछन् । प्रा डा अधिकारी बेसार मधुमेह, सुन्निनु, दुखाइ, घाउखटिरा, छालाका रोगको उपचारका साथै शरीरमा बोसो एवं चिल्लोको मात्रा घटाउन तथा आमाको दूधमा खराबी भएमा र दमखोकीमा पनि उपयोगी हुने बताउँछन् । यस्तै अप्राकृतिक रुपमा बढ्ने शरीरका कोष रोक्न यसले मद्दत गर्ने उनको भनाइ छ । उनले भने, “शरीरभित्रै पनि विष बन्छ, त्यो विष नाश गर्न वा पचाएर स्वस्थ राख्न बेसार उपयोगी छ ।” शरीरमा बाहिरबाट आएको एलर्जी नाशका लागि पनि बेसार प्रयोग गरिने उनले बताए । जीवाणु मार्न, रगत सफा गर्न तथा खाएको कुरा पचाउन बेसारले काम गर्ने अधिकारीको भनाइ छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा कोपिला अधिकारी आयुर्वेदका प्राचीन र अर्वाचीन( आधुनिक) ग्रन्थमा बेसारको प्रशस्त महिमा उल्लेख भएको बताउँछन् । विशेषतः व्याधिक्षमत्व(रोग प्रतिरोधात्मक क्षमता वृद्धि), प्रतिश्याय(रुघा),प्रमेह(मधुमेह), पाण्डु(रक्तअल्पता), व्रण(घाउखटिरा), कृमी(जुका)नाश र सौन्दर्य वृद्धिमा यसको प्रयोग गरिने उनको भनाइ छ । मस्तिष्कको ट्युमर रोकथामका लागि बेसारलाई तातो दूधमा फिटेर खानु उत्तम हुने उहाँ सुझाव दिन्छन् । डा अधिकारी भन्छन्, “वैज्ञानिक शोधहरुमा प्रकाशित तथ्याङ्कअनुसार बेसारमा भएका रासायनिक तत्वहरुमा नाकको एलर्जी, घाँटीको सङ्क्रमण, नेत्राभिष्यं(आँखासम्बन्धी रोग) जीर्ण व्रण(घाउखटिरा), ढुसीजन्य सङ्क्रमण र क्यान्सरविरुद्ध लड्ने क्षमता हुन्छ ।” कोरोना सङ्क्रमितको प्रयोगशाला परीक्षणबाट सङ्क्रमणको पहिलो हप्तामा सेतो एवं रातो रक्तकोशिका र हेमोग्लोबिनको सङ्ख्या घटेको पाइएको छ । यसले गर्दा सङ्क्रमितमा खतराका लक्षण देखिन सक्छ । साथै रोगसँग लड्ने क्षमता राम्रो भएको व्यक्तिमा दोस्रो हप्तादेखि सो सङ्ख्यामा वृद्धि भएको र खतराका चिह्न पनि नदेखिएको पाइएको उहाँ बताउनुहुन्छ । उनले भने, “कोरोनासँग लड्ने क्षमता वृद्धि गर्नु जरुरी छ ।” छिमेकी मुलुक भारतले आयुर्वेद र योग तथा चीनले परम्परागत चिनियाँ उपचार पद्धतिको प्रयोगबाट कोरोना भाइरस एक्टिभ केस सङ्ख्यामा उल्लेखनीय गिरावट ल्याउन सफल भएको अधिकारी बताउँछन् । उनले भने, “हामीले पनि नेपालमा उपलब्ध हरिद्रार(बेसार), तुलसीलगायत भाइरसविरुद्ध सक्रिय औषधीय गुण भएका एवं गुर्जो, अश्वगन्धालगायत रोगसँग लड्ने क्षमता बढाउने खालका जडीबुटीको नियमित सेवन, योग, प्राणायामको नियमित अभ्यास, स्वस्थ आहार एवं जीवनशैलीको अवलम्बन गर्नुपर्छ ।” जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाका प्रमुख डा प्रशान्त पण्डित बेसार कोरोना रोगसँग लड्न सहयोगी हुने जिकिर गर्छन् । मानिसमा रोगप्रतिरोधी क्षमता बढाउन बेसार उपयोगी हुने उनको भनाइ छ । छाला र रुघाखोकीको समस्या हटाउन तथा रोगप्रतिरोधी क्षमता बढाउन बेसारको उपयोगिता बढी भएको डा पण्डितको भनाइ छ । परापूर्वकालमा मसलाका रुपमा भान्सामा प्रयोग हुने बेसार शरीरको सौन्दर्यका लागि हुँदै आयुर्वेद औषधिका रुपमा प्रयोग हुन थालेको उनको भनाइ छ । भरतपुर अस्पतालका फिजिसियन डा महेन्द्र अग्रहरि पनि बेसारले सङ्क्रमणलाई कम गर्न सहयोग पुग्ने जिकिर गर्नुहुन्छ । यसले चिसोबाट हुने सङ्क्रमण रोक्ने काममा भूमिका खेल्ने उनको भनाइ छ ।

कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि

काठमाडाैं । कोरोना सङ्क्रमणबाट भारतको नयाँ दिल्लीमा निधन भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ । नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको कोरोना सङ्क्रमणबाट गत जेठ २५ गते निधन भए पनि १३ दिनपछि शनिबार नेपाली जनसम्पर्क समिति भारतको सहयोगमा दिल्लीमा अन्तिम संस्कार गरिएको हो । जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले कोरोना सङ्क्रमणबाट निधन भएका बस्नेतको शवलाई नेपाल पठाउन समस्या भएपछि दिल्लीमै अन्त्येष्टि गरिएको जानकारी दिए । ‘दिल्लीमा शव बुझ्ने व्यक्ति नभएपछि ग्रिनतारा सोसाइटीको पहलमा नेपाली जनसम्पर्क समिति भारतले शव बुझेर अन्तिम संस्कार गरेको हो’, अध्यक्ष पाण्डेले भने । शव बुझ्ने व्यक्ति नेपालमा भएपछि परिवारलाई पत्राचार गरेर शव व्यवस्थापन गरिएको थियो । जेठ २२ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लेडिहार्डिङ अस्पतालमा लगिएका बस्नेतको कोरोना पुष्टि भएको थियो । रासस

२६ हजार नेपालीलाई काेराेना संक्रमण, ४० वटा शव विदेशबाट नेपाल ल्याइयाे

काठमाडाैं । देश विदेशमा गरी कुल २६ हजार ३९७ जना नेपालीलाई काेराेना संक्रमण भएकाे छ । गैर आवासीय नेपाली संघका अनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमिक भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालभित्र ८ हजार ६०५ जना नेपाली संक्रमित भएका छन् । काेराेना संक्रमणका कारण नेपालमा २२ जनाकाे निधन भएकाे मन्त्रालयले जनाएकाे छ भने गैर आवासीय नेपाली संघका अनुसार विदेशमा १ सय ३० जना नेपालीकाे निधन भएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमित मध्ये १ हजार ५ सय ७८ जना उपचार पछि निकाे भइ डिस्चार्ज भएका छन्  । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १० हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।  संयोजक डा. सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका ४ जना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।  हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको संयोजक सापकोटाले जानकारी दिए ।   विदेशमा अलपत्र ३ हजार १ सय ८ जनाको उद्दार कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ । सरकारले गत  ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो । गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कुटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा ३ हजार १  सय ८ जना नेपाली घर फर्किसकेका छन् ।  मलेसियाबाट १ सय १८, युएई ३ सय १७ जना, कुवेतबाट  ८ सय ९८ जना नेपालीहरु फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८ जना र हङकङबाट ७ जना, म्यानमारबाट २६ जना र  अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो । यस्तै बंगलादेशबाट २५८  जना, ओमानबाट ३ सय १३ जना, माल्दिभ्सबाट ३ सय ५ जना,  कम्बोडियोबाट र सिंगापुरबाट १ सय ४६ जना र थाइल्यान्डबाट २ सय ४८ जना  नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ४४ जना, श्रीलंकाबाट ५ जना, साउदी अरबबाट १ सय ५३ जना नेपाली फर्किएका छन् भने दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका छन् ।   ४० जना नेपालीको शव नेपाल फिर्ता यसैबीच यही साता विदेशमा निधन भएका नेपालीहरुको शव समेत नेपाल ल्याउने क्रम सुरु भएको छ ।  लकडाउनको अवधिमा विदेशमा बिभिन्न कारणले मृत्यु भएका मध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ती शवहरु नेपाल ल्याइएको हो । अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एक एक जनाको शव नेपाल ल्याइएको छ । मृत्यु भएका ३१८ जनामा ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको पनि छ । यस बाहेक अझै १६४ शवको व्यवस्थापन बाँकी रहेको छ ।  ती शव कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि विदेशमा रोकिएका थिए । उनीहरुको अन्त्येष्टि र व्यवस्थापनको लागि गैरआवासीय नेपाली संघले सम्बन्धीत राष्ट्रिय समितिलाई निर्देशन दिईसकेको छ ।