थप ५ सय ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९५ सय नाघ्यो
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ५ सय ३५ जनामा कोराेना भाइरस देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ९ हजार ५ सय ६१ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या २१ सय ४२ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २३ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ८१ हजार ३ सय ७२ काे पिसिआर विधि र २ लाख ६८ हजारकाे १ सय ३ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन क्वारेन्टिनमा र आईसाेलेसनमा कति छन् ? हाल देशभर ९७ सय ३० जना क्वारेन्टिनमा रहेका छन् भने ७ हजार ७ सय ८९ जना आईसाेलेसनमा रहेका छन् ।
सङ्क्रमितको आँकलन गरेर भेन्टिलेटर र आइसियुको व्यवस्था गर्दै स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट हुने सम्भावित बिरामीको प्रक्षेपण गरेर उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सङ्क्रमणबाट हुने गम्भीर बिरामीको प्रक्षेपण गरेर मुलुकभरि एक हजार भेन्टिलेटर र एक हजार ८०० सघन उपचार कक्ष (आइसियु) तयारी अवस्थामा राखेको छ । मन्त्रालयका नीति तथा योजना प्रमुख डा गुणराज लोहनीले कोभिड–१९ सङ्क्रमणबाट गम्भीर हुने दुई हजारलाई लक्षित गरेर भेन्टिलेटर र आइसियु बनाइएको बताए । ‘‘अहिले सङ्क्रमण बढदै गए भदौ २ गतेसम्म ४० हजार सङ्क्रमण हुने र तिमध्ये पाँच प्रतिशत बिरामी गम्भीर हुँदा दुई हजार र दुई प्रतिशत भए ८०० बिरामी हुन्छन् भनेर हामीले आँकलन गरेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘त्यही अनुसार हामीले भेन्टिलेटर र आइसियु श्यया तयार पारेका छौँ ।’’ सङ्क्रमण बढदै गएपछि मन्त्रालयले प्रति प्रदेश दुई÷दुई वटा अस्पतालका दरले पाँच÷पाँच वटा आइसियु र दुई दुई वटा भेन्टिलेर बनाउन निर्देशन दिएको थियो । यसअघि मन्त्रालयले ८९० भेन्टिलेटर र एक हजार ६०० आइसियु श्यया बनाएकोमा त्यो सङ्क्रमित बढ्दै गएपछि भेन्टिलेर र आइसियु शैय्या थप गरेको हो । मन्त्रालयले कोभिड –१९ सङ्क्रमितमध्ये अधिकांश गम्भीर प्रकारको बिरामी नहुने भएकोले अहिले बनाइएका भेन्टिलेटर र आइसियु श्ययाले पुग्ने आँकलन गरेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले ९८ प्रतिशत सङ्क्रमित कोभिड–१९ सँग सम्बन्धित कुनै लक्षण नदेखिएको बताउनुभयो । उहाँले सङ्क्रमण नदेखिएका बिरामीलाई भेन्टिलेटर र आइसियुको आवश्यकता नपर्ने बताउनुभयो । उहाँका अनुसार अहिले काठमाडाैँ तीन, बुटवलमा ६ र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना आइसियुमा राखेर उपचार भइरहेको छ । मन्त्रालयले सम्भावित बिरामीको प्रक्षेपण गरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल र त्रिवि शिक्षण अस्पताललाई २०/२० श्ययाको आइसियु बनाउने निर्देशन भए बमोजिम तयार पारेको जनाइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अस्पतालमा रहेका १० मध्ये तीन सङ्क्रमितलाई आइसियुमा राखेर उपचार गरिरहेको बताए । अन्य सात जनालाई आइसोलेशनमा राखेर उपचार गरिएको छ । उनले ति सङ्क्रमितलाई सास फेर्न गाह्रो हुने र क्लिनिकल्ली रुपमा ठिक नभएका सङ्क्रमितलाई आइसियुमा राखेर उपचार गरिरहेको बताए । निर्देशक डा राजभण्डारीले आइसियुमा रहेको बिरामी पनि त्यति गम्भीर खालका नभएको बताए । अहिले दैनिक तीनदेखि ४०० को दरले सङ्क्रमित देखा परेका छन् । नेपालमा पहिलो पटक चीनको वुहान शहरबाट आएका व्यक्तिमा गत माघ ९ गते सङ्क्रमण देखिएको थियो । अहिलेसम्म कूल नौ हजार २६ जना सङ्क्रमण देखिएका छन् । तिमध्ये एक हजार ५७८ जना डिस्चार्ज भएका छन् भने २३ जनाको कोभिड–१९ को कारणले निधन भएको छ । यसैगरी अहिलेसम्म सात हजार २३१ सङ्क्रमित आइसोलेशनमा छन् । एक लाख ७५ हजार १७३ जनाको पीसीआर र दुई लाख ६२ हजार १७४ को आरडीटी परीक्षण गरिएको छ । अहिले मुलुकभर २२ प्रयोगशालाबाट पीसीआर परीक्षण गरिन्छ ।
कोभिड–१९ को जोखिम मूल्याङ्कन गर्ने विधि सार्वजनिक
काठमाडाैं । कोभिड–१९ को व्यक्तिगत तथा स्थानीय जोखिम मूल्याङ्कन गर्न सकिने विधि (कोभिरा) सार्वजनिक गरिएको छ । विभिन्न विषय विज्ञको सहभागितामा साइन्स हब नेपालले निर्माण गरेको यो विधि नेपाल इन्जिनियर्स एशोसिएशनले आइतबार एक कार्यक्रममार्फत सार्वजनिक गरेको हो । सो विधि प्रयोग गर्न डब्लुडब्लुडट कोभिरा डट इन्फो वेबसाइटमा जानुपर्नेछ । वेबसाइटमा आफ्नो तथा आफ्ना परिवारको व्यक्तिगत मूल्याङ्कन गर्न सकिन्छ भने नेपालभित्रका जुनसुकै ठाउँको स्थानीय जोखिम पनि हेर्न सकिन्छ । एशोसिएशनका महासचिव छवि पोखरेलले यस्तो अनुसन्धानमुलक विधिले नेपाल र नेपालीलाई यो महामारीको समयमा जोखिम व्यवस्थापनमा धेरै सहयोग पुग्ने बताए । बेलायतको हडस्र्फिल्ड विश्वविद्यालयका प्राध्यापक पदम सिङ्खडाले यस किसिमको जोखिम मूल्याङ्कन विधिले सरकार, समुदाय तथा व्यक्ति स्वयंलाई धेरै उपयोगी हुने बताए ।अनुसन्धानमा आधारित, वैज्ञानिक तथ्य, विधि र प्रमाणका आधारमा तथ्याङ्क विश्लेषण गरी क्षेत्रीय तथा स्थानीय अवस्थासमेतलाई समेटेर बहुआयामिक वैज्ञानिक तथा विशेषज्ञ मिलेर बनाइएको यो नै पहिलो ‘एप्लिकेशन’ भएको दाबी गरिएको छ । बेलायतको ब्रिस्टोल युनिभर्सिटिमा कार्यरत डा ऋषिराम पराजुलीले यसको आधार कसरी तयार गरिएको छ भन्नेबारे प्रस्तुति दिएका थिए । यस विधिले कोभिड सङ्क्रमण भएमा पनि उमेर, लिङ्ग, दीर्घरोगको अवस्थाले आफ्नो जोखिम कति छ, साथै आफ्नो अन्य विविध दैनिक कार्यका आधारमा आफूलाई कोभिड सर्नसक्ने जोखिम कति छ भन्नेबारे आँकलन गर्नेछ । साइन्स हबका अनुसन्धानकर्ता तथा नेपाल खुल्ला विश्वविद्यालयका डा.भोजराज घिमिरेले यसमा प्रयोग भएको प्रविधि, ‘डाटा’ को गोपनीयता तथा सुरक्षालगायत निकट भविष्यमा हुने परिमार्जनसम्बन्धी विषयमा जानकारी दिए। साइन्स हबले यसलाई थप व्यवस्थित गर्दै लैजाने, स्थानीय तहका विविध तथ्याङ्क समुदायस्तरबाटै समेत लिन सकिने तथा बहुभाषामा यो ‘एप्लिकेशन’ निर्माण गर्ने जनाइएको छ । कोभिरा के हो र यसको प्रयोग कसरी गर्ने ? कोभिरा, हाल चलिरहेको कोभिड–१९ महामारीको जोखिम मूल्याङ्कन गर्ने विधि हो । यसमा कुनै पनि व्यक्तिले आफ्ना बारेमा सोधिएका केही प्रश्नको उत्तर दिएर आफ्नो व्यक्तिगत जोखिम मूल्याङ्कन गर्न सकिनेछ । यसका साथै आफू बसिरहेको क्षेत्रमा कोरोना सर्नसक्ने जोखिमको अवस्था के छ र आफूलाई सर्न सक्ने जोखिम कति छ भन्नेबारे पनि मूल्याङ्कन गर्नेछ । यससँगै नेपालका विभिन्न ठाउँमा विविध कारण हुनसक्ने जोखिम मूल्याङ्कन नक्सा पनि राखिएको छ । सामाजिक, आर्थिक, जनस्वास्थ्य, साथै कोरोना फैलनसक्ने जोखिमका हिसाबले कुन क्षेत्र धेरै जोखिममा छ भन्ने पनि देखाइएको छ । यसमा रहेको ‘टोटल रिस्क’ बटनमा ‘क्लिक’ गर्दा नेपालको क्षेत्रगत संयुक्त जोखिम देखाउने छ । कोभिड–१९ को दैनिक अपडेटपश्चात क्षेत्रगत जोखिम परिवर्तन हुनेछन् । यसबाट दैनिकरुपमा जोखिम नक्सा हेर्न सकिनेछ । व्यक्तिगत जोखिम मूल्याङ्कन विधि चीन, इटाली, जर्मनी, स्पेन, बेलायत तथा अमेरिकाका मृत्यु भएका करिब ६० हजार व्यक्तिको तथ्याङ्कलाई केलाएर बनाइएको हो । व्यक्तिगत जोखिम व्यक्तिको उमेर तथा दीर्घ रोगमा आधारित छ भने सर्नसक्ने जोखिम, स्थानीयस्तरमा कोरोना सर्ने जोखिम तथा व्यक्तिको आफ्ना क्रियाकलापमा निर्भर गर्दछ । यसले जोखिमलाई पाँच तहमा देखाउँछ, अति न्यून, न्यून, मध्यम, उच्च र अति उच्च । बीचमा रहेको सुईले जुन भागमा देखाउँछ, त्यो नै जोखिमको स्तर हुनेछ । कुन अवस्थामा के गर्ने भन्ने सुझाव पनि यसले देखाउनेछ । नेपाल इञ्जिनियर्स एशोसिएशनका अध्यक्ष त्रिरत्न बज्राचार्यले वेवनारमार्फत सो ‘एप्लिकेसन’ सार्वजनिक गरे । रासस