थप ३ सय ३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ६ सय नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको बताएका छन् । नेपालमा काेराेनाबाट २२ जनाको मृत्यु भइसकेकाे छ भने १ हजार ५ सय ७८ जना उपचार पछि निकाे भइ डिस्चार्ज भएका छन्  ।

कोरोना संक्रमणः यस्तो छ आज विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८७ लाख ५० हजार ३ सय ४६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ६१ हजार ८ सय १३ जनाको मृत्यु भइसकेको छ भने ४६ लाख २० हजार २ सय ८३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २१ हजार ४ सय २ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २२ लाख ९६ हजार ७ सय १८ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख ९५ हजार ८ सय १२ पुगेको छ भने अहिलेसम्म १२ हजार ९ सय ७० जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ८ हजार २ सय ७४ जना संक्रमित भएका छन् भने २२ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार ४ सय २ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक सहित ४ जनामा कोरोना, सेवा दुई दिन बन्द

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार चिकित्सकमा आज कोरोना संङ्क्रमण पुष्टि भएपछि दुई दिन सेवा बन्द हुने भएको छ । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार प्रतिष्ठानका चार चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संङ्क्रमण पुष्टि भएसंँगै अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि अस्पताल बन्द गरिने भएको हो । त्यसका लागि अस्पताल परिसर बन्द गर्नुपर्ने भएकाले शनिबार र आइतबार आकस्मिकबाहेकका सेवा बन्द हुनेछन् । अस्पतालका करीब दुई सय कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्न लागिएको उनले बताए । अस्पतालले सेवा नदिने भएपछि उपचारका लागि प्रतिष्ठानमा आएका बिरामीलाई अन्य अस्पतालमा सिफारिश गरिने जनाइएको छ । बिरामीलाई प्रभावकारी सेवा प्रदान गर्न अन्य अस्पताललाई अनुरोधसमेत गरिएको छ । सङ्क्रमित चिकित्सकको सामान्यावस्था छ । अहिले प्रतिष्ठानमा कोरोनाको स्वाब परीक्षण पनि भइरहेकाले यो सेवा भने नियमित चल्नेछ ।