फेरी देखिँदैछन् कोरोना संक्रमणको मामला, बढ्दै छ चिन्ता

काठमाडौं । कोरोना भाइरसका कारण लगाइएको लकडाउनले अर्थ व्यवस्थामा पारेको गम्भिर असरको चिन्ता हुँदाहुँदै पनि अहिले धेरै राष्ट्रहरु कोरोना महामारीको दोस्रो लहरलाई लिएर चिन्तित भइरहेका छन् । विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक डा. माइकल रायनले भनेका छन् कि “यूरोप, दक्षिण पूर्व एशिया, उत्तर अमेरिका लगायतका देश हाल यस महामारीको दोस्रो लहरसँग जुझिरहेका छन् भने केही देशहरुमा संक्रमणको दोस्रो लहर देखिन थालेको छ ।” लकडाउन खुकुलो बनाएको तथा सामाजिक दूरीको नियमलाई कडाइका साथ पालना नगरेकोले विभिन्न देशहरुमा कोरोनाको दोस्रो लहर देखिन थालेको उनको तर्क छ । महानिर्देशक टेड्रोस एडहोनम गेब्रिएससका अनुसार मानवको कोरोनासँगको लडाईं सकिएको छैन । बरु यो भाइरसले फेरी पनि हमला गर्ने ठूलो सम्भावना छ । चीनको बेइजिंगमा लगातार दोस्रो दिन पनि कोरोना संक्रमणको मामला देखिएपछि स्थानीय प्रशासनले ६ ओटा तरकारीका होलसेलहरुलाई बन्द गरेको छ । दुईजना कोरोना संक्रमित सो होलसेलहरुमा पुगेको आधारमा ती होलसेलहरुलाई बन्द गरिएको हो । त्यसैगरी दक्षिण कोरियाको राजधानी सोलका केहि स्थानमा संक्रमणका नयाँ मामलाहरु देखा परेसँगै त्यहाँको सरकारले इन्टेन्सिव प्रिवेन्शन तथा स्यानिटेशनको कामलाई बढाएको छ । सरकारको भनाइ छ कि जबसम्म कोरोनाको मामला एक दिनमा १० भन्दा कम हुँदैन तबसम्म यो कार्यक्रम जारी रहनेछ । अमेरिकाका विभिन्न राज्यमा संक्रमणको मामला तीव्र गतिमा बढिरहेको छ भने अस्पतालका बेडहरु पनि भरिँदै गएका छन् । टेक्सस तथा एरिजोनाका अस्पतालहरु तीव्र गतिमा भरिँदै गएका छन् भने अलावामा, फ्लोरिडा, नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, ओरेगन तथा नेब्रास्कामा गत बिहीवार कोरोना संक्रमणका मामलाहरुले रेकर्ड राखेका थिए । यता छिमेकी मुलुक भारतले केही दिन अघि लकडाउनलाई खुकुलो बनाएसँगै त्यहाँ संक्रमणको मामलाहरु बढ्न थालेका छन् भने भारत अहिले कोरोनाबाट सवैभन्दा बढि प्रभावित मुलुकको चौथो स्थानमा पुगिसकेको छ । विज्ञहरुका अनुसार भारतमा हालसम्म कोरोनाको पिक आइसकेको छैन । कोरोनाका कारण लगाइएको लकडाउनले दुनियाँभरका देशहरुको अर्थव्यवस्थामा नराम्रो असर परेको छ । युरोपिय संघकी स्वास्थ्यमन्त्री स्टेला किर्याकिड्सले संघका सवै २७ सदस्यहरुसँग निवेदन गरेकी छिन् कि उनीहरुले स्कूल तथा कारोवारलाई फेरी खोल्ने योजनामा ब्यापक टेस्टिङलाई सामेल गरुन् । “उनको भनाइ छ कि, आवश्यकता पर्यो भने लकडाउनलाई फेरी पनि कडा पार्नका लागि हामीले तयार रहनु पर्छ ।” श्रोतः बीबीसी

जटिल अवस्थामा अस्पताल भर्ना भएका युवक कोरोना जितेर घर फर्किए

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षको भेन्टिलेटरमा यही जेठ १४ गते जटिल अवस्थामा भर्ना भएका कोरोना सङ्क्रमित एक युवा निको भएर आज घर फर्किएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको स्थानीय धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा भर्ना भएका कपिलवस्तुस्थित कपिलवस्तु नगरपालिका–१२ बिठुवाका २२ वर्षे युवा बालगोपाल कोहारलाई आज डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए । भारतको मुम्बईमा विगत पाँच वर्षदेखि पेन्टरको काम गर्दै आएका कोहार जेठको पहिलोसाता स्वदेश फर्किएका थिए । उनी विगत लामो समयदेखि मधुमेहको बिरामी हुनुहुन्छ । घर आएको केही दिनमै स्वास्थ्यमा समस्या देखिएपछि जिल्लास्थित तौलिहवा अस्पतालमा स्वास्थ्य जाचका लागि यही जेठ ७ गते पुगकामा अर्को दिन कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । जेठ १२ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीय क्वारेन्टिनमै राख्दा स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याइएको हो । “अस्पतालमा ल्याउँदा त सुगरको मात्रा उच्च रहेको र अवस्था सारै जटित थियो, हाम्रो स्वास्थ्यकर्मीको टिमले ठूलै प्रयास गरेर भेन्टिलेटरमा राखेर बचाउन सफल भयौँ”, डा खनालले भने, “कोरोना सङ्क्रमितको यति जटिल अवस्थाको बिरामी निको भएको सायदै नेपालमा पहिलो हो ।” कोरोना विशेष अस्पतालका फोकल पर्सन वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले उनमा मधुमेहको मात्रा उच्च रहेको अवस्थामा कोरोना पोजेटिभ हुँदा स्वासप्रस्वासमै जटिल समस्या देखिएपछि दुई दिनसम्म भेन्टिलेटरमै राखेर उपचार गर्नुपरेको बताए । स्वास्थ्यमा केही सुधार आएपछि मात्र आइसियूमा सारिएको थियो । अस्पतालमा १६ दिनसम्मको उपचारमा सुगरको मात्रा स्थिर भएपछि लगातार दुई पटकको पिसिआर परीक्षणमा कोरोना नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको मेसु खनालले बताए । अस्पतालबाट निको भएर बिदाइ हुँदा बिरामी कोहारले आफूले नयाँ जीवन पाएको भन्दै स्वास्थ्यकर्मीलाई आभार व्यक्त गरे । उनलाई अस्पतालका मेसु खनाल, फोकल पर्सन डा थापालगायत उपचारमा संलग्न स्वास्थ्यकर्मीले फूलका गुच्छा र खादा लगाएर बिदाइ गर्नुभएको थियो । त्यस अवसरमा स्वास्थ्यकर्मीले अझै पनि स्वास्थ्य अवस्थामा ख्याल राख्न सुझाव दिए । कोरोना नेगेटिभ भएपछि मधुमेहका बिरामीलाई अरुबाट पुनः सङ्क्रमणको खतरा हुनसक्ने भएकाले स्वास्थ्यमा ध्यान दिन सुझाव दिएका थिए । रासस

स्वास्थ्यकर्मीको सुरक्षा खोइ ? उल्टै सरकारी धाकधम्की ?

सन् २०१९ को अन्तिमतिर चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट अहिले नेपालसहित विश्वभरका प्रायः सबैजसो मुलुक आक्रान्त छन् । स्वास्थ्य प्रणाली तुलनात्मकरूपमा राम्रा भएका अमेरिका र युरोपका इटाली र स्पेनमा यो रोगका कारण ज्यान गुमाउनेको संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा बढी भइसकेको छ । इटली र स्पेनको स्वास्थ्य प्रणालीले धान्न नसक्ने स्थिति उत्पन्न भएको छ भने अमेरिका त्यस्तै अफ्ठेरो स्थितिबाट गुज्रिरहेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न चीनले गरेको अथक र योजनाबद्ध प्रयासको विश्वभरि नै प्रशंसा भएको छ । कतिपय मुलुकका विज्ञ, राजनीतिज्ञ र सञ्चारमाध्यमले चीनले संक्रमणको जानकारी धेरै समय लुकाएकाले विश्वभरि फैलिएर असीमित धनजनको क्षति भएको भनी आलोचना पनि गर्दै आइरहेका छन् । आफैँ पनि कोरोनाको ठूलो महामारी झेलेर भर्खरै केही त्राण पाउँदै गरेको चीनले नेपाललगायत विश्वभरका करिब एक सयभन्दा बढी मुलुकलाई रोग नियन्त्रणमा गरेको भौतिकलगायत स्वास्थ्य क्षेत्रको सहयोग सराहनीय छ । विश्वभर सहयोग गर्न उसले देखाएको तत्परताले उसले जानाजान सूचना नलुकाएको स्पष्ट भइरहेको छ । नयाँ महामारीको विरुद्धमा चीन सरकार र चिनियाँ स्वास्थ्यकर्मीको कडा मेहनतले न्यूनतम क्षतिमा ठूलो ज्ञान र अनुभव प्राप्त गरेको हो । नेपालको सन्दर्भमा भने ‘दिन दुइगुना र रात चौगुना’का दरले प्रतिदिन बढिरहेको संक्रमण नियन्त्रणमा ‘कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ अहिले पनि कानमा तेल हालेर प्रभावकारी सुरक्षाका उपाय अवलम्बन गराउनतर्फ खासै अग्रसर नभएको पाइएको छ । आम नागरिकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सजकता र धैर्यता अपनाउनु आवश्यकता हुँदाहुँदै कोरोना महामारी फैलन नदिन लागु गरिएको लकडाउनलाई सफल बनाउन खटिएका सुरक्षाकर्मीलाई पनि गुणस्तरीय माक्स र सुरक्षा उपकरणको व्यवस्था गरिनुपर्ने अर्को पाटो छँदैछ । यसमा केन्द्रीय सरकारले प्रदेश सरकार र स्थानीय निकायहरुलाई समन्वयात्मकरुपमा अझै गतिशील बनाएर परिचालन गर्न आवश्यक रहेको छ भने सातै प्रदेशमा कोरोना भाइरस परीक्षण प्रयोगशाला यथाशीघ्र सञ्चालन गनुपर्ने आम चासो पाइएको छ । यसैगरी सामाजिक र निजी संघ/संस्थाले चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको व्यवस्थाका लागि गरिरहेको पहललाई सकारात्मक रुपमा लिई सरकारले प्रोत्साहन गर्न र सहयोग पुर्याउन नितान्त आवश्यक छ । लकडाउनका कारणले दैनिक ज्यालादारी गर्दै जीवनयापन गरिरहेका श्रमिक, कृषि मजदूरलाई खाद्यान्नको व्यवस्था गर्न स्थानीय निकाय, व्यावसायिक र सामाजिक संघसंस्था तथा राजनीतिकर्मीले समन्वय गरी गतिशील भूमिका निर्वाह गर्न अत्यावश्यक छ । लेखक विश्वभर रहेका नेपालीको स्वास्थ्य र सुरक्षाको लागि कूटनीतिक निकायले सक्रियता बढाउनुपर्ने, लकडाउनका समयमा नेपालभर दीर्घरोगी तथा नियमितरुपमा चिकित्सकको परामर्शमा औषधि सेवन गरिरहेका विरामी तथा अन्य रोगका किरामीलाई उपचारको आवश्यक प्रबन्ध गर्न आवश्यक छ । दैनिक उपभोग्य खाद्य पदार्थ आपूर्तिको व्यवस्था गर्न एवं फोहर व्यवस्थापन गर्न ध्यान पुर्याउनुपर्ने अर्को टड्कारो आवश्यकता बनिसकेको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारलाई आम जनताको पूर्ण साथ एवं सहयोग भइरहेको अवस्थामा समेत सरकारले तत्काल उपरोक्त विषयमा गम्भीरतापूर्वक ध्यान नदिनु उसको अकर्मण्यता हुन्छ । अत्यन्त धेरै होसियारी गर्दा पनि चीन, इटलीलगायत मुलुकमा धेरै स्वास्थ्यकर्मीहरूले ज्यान गुमाएका छन् । नेपालमा पनि निदानुदिन संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहने स्वास्थ्यकर्मीका लागि पर्याप्त सुरक्षाका खातिर आवश्यक स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको उचित व्यवस्था गरिनुपर्छ । कोरोना नियन्त्रण तथा उपचारका लागि आवश्यक चिकित्सा र स्वास्थ्य उपकरण विदेशबाट अबिलम्ब आयात गर्न अत्यावश्यक छ । स्वास्थ्यकर्मी र कोभिड– १९ संक्रमण भएकासँग प्रत्यक्ष संलग्न हुनुपर्ने (एम्बुलेन्सचालक)लाई स्तरीय पिपिईलगायतको सुरक्षा सामग्रीको व्यवस्था, ती सामग्री प्रयोगमा ल्याउन चाहिने राम्रो तालिम अपरिहार्य छ । स्तरीय पिपिईलगायत उपकरण व्यवस्था गरेपछि पनि स्वास्थ्यकर्मीले खुट्टा कमाएको खण्डमा बल्ल उनीहरूको आलोचना जायज हुन्छ । यतिबेला कोभिड– १९ को संक्रमण नियन्त्रणमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री उपलब्ध गराई सबैको साथ र सहयोग जरुरी छ । भर्खरै संसदमा प्रस्तुत बजेटमा कोरोना तथा संक्रामक रोग नियन्त्रणमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पाँच लाखको निःशुल्क स्वास्थ्य बिमा गर्ने भनिएको छ । सरकारले कोरोना तथा अन्य संक्रामक रोगको उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई निःशुल्क स्वास्थ्य बीमा गरिने जानकारी दिएपनि त्यो कुन तह र तप्काकालाई भन्ने स्पष्ट छैन । स्वास्थ्य क्षेत्रका लागि विनियोजित ९० अर्ब ६९ करोड रुपैयाँ साँच्चिकै कोरोनाले महामारीको रुप लियो भने पर्याप्त छ ? यसअघि सरकारले जोखिम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीका लागि घोषणा गरेको शतप्रतिशत विशेषभत्ताको कार्यान्वयन अहिलेसम्म भएको छैन् । प्रत्यक्षरुपमा संक्रमितको उपचार र नियन्त्रणमा संलग्न स्वास्थ्यकर्मीलाई सरकारले आवश्यक भौतिक सुरक्षाको न्यूनतम मापदण्डसमेत पूरा गर्न सकेको छैन् । जसले जे भनेपनि ‘आगोको झिल्का’ जसरी विश्वभरी फैलिरहेको कोरोनाविरुद्धको युद्धमा फ्रन्टलाइनका योद्धा भनेका स्वास्थ्यकर्मी नै हुन् । उनीहरूको सुरक्षालाई ध्यान नदिने, उनीहरूको शारीरिक र पारिवारिक सुरक्षा नहुने हो भने उनीहरूलाई यो ‘अदृश्य दुस्मन’सँगको युद्धमा अगाडि बढ्ने आत्मवल नहुन सक्छ । कारबाहीको डर र धाकधम्कीले यस्तो वेलामा उनीहरूसँग राज्यले काम लिन सक्दैन् । यतिबेला कोरोना महामारीका कारण विश्व नै त्रसित बनिरहेको छ । पछिल्लो जानकारीअनुसार गत ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघेको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७४ लाख नाघेको छ । नेपालमा पनि १६ जनाको ज्यान लिइसकेको कोरोनाबाट संक्रमितको संख्या ५ हजार नाघिसकेको छ । जसले जे भनेपनि ‘आगोको झिल्का’ जसरी विश्वभरी फैलिरहेको कोरोनाविरुद्धको युद्धमा फ्रन्टलाइनका योद्धा भनेका स्वास्थ्यकर्मी नै हुन् । उनीहरूको सुरक्षालाई ध्यान नदिने, उनीहरूको शारीरिक र पारिवारिक सुरक्षा नहुने हो भने उनीहरूलाई यो ‘अदृश्य दुस्मन’सँगको युद्धमा अगाडि बढ्ने आत्मवल नहुन सक्छ । कारबाहीको डर र धाकधम्कीले यस्तो वेलामा उनीहरूसँग राज्यले काम लिन सक्दैन् । उनीहरूलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारका व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)समेत नदिएर कार्य क्षेत्रमा खटाउन नैतिक रूपले पनि कुनै मुलुकका लागि उचित हुँदैन् । अहिले पनि सरकार र मिडियाले मात्र नभई सामाजिक सञ्जालमासमेत कोरोना रोगको संक्रमणको आशंका गरिएका बिरामी जाँदा अस्पतालले भर्ना लिन नमानेका, चिकित्सक डराएका, निजी अस्पतालले लापरबाही गरेका भनी आलोचना सुन्दै आइरहेका छौँ । कोरोना महामारीका बेला फ्रन्टलाइनमा काम गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीको भूमिका त महत्वपूर्ण हुने नै भयो योसँगै अस्पताल व्यवस्थापनको पनि त्यत्तिकै महत्पूर्ण भूमिका हुने गर्छ । महामारीका बेला खटिने स्वास्थ्यकर्मीको व्यवस्थापन अस्पतालले गर्ने हो । कसलाई कसरी ड्युटीमा राख्ने उनीहरुलाई कसरी सुरक्षित बनाउने, के–कस्ता सेवासुविधा दिने भन्ने अस्पताल व्यवस्थापनभित्र नै पर्छ । चिकित्सक, स्वास्थ्यकर्मीका साथै कर्मचारीको पनि सुरक्षामा ध्यान दिँदै उनीहरुलाई ड्युटीमा लगाउने र यस्तो संकटका बेला कर्मचारीलाई व्यवस्थापन गर्ने काम अस्पताल प्रशासनले चुस्त दुरुस्त गर्नुपर्ने हुन्छ । तर, कतिपय अस्पतालमा चिकित्सकलाई मात्रै पिपिई दिएर बाँकी नर्स र अन्य स्वास्थ्यकर्मीलाई सुरक्षाका कुनै सामग्री उपलब्ध नगराइएको पाइएको छ । के कोरोनाले ति नर्स र स्वास्थ्यकर्मीलाई निरीह भनेर छोड्ने हो र ? होइन् भने कोरोना रोकथाममा चिकित्सकसँगै खटिने ती नर्स र स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) प्रदान गर्न किन हिच्किचाहट ? के यस्तो अवस्थामा ती नर्स र स्वास्थ्यकर्मीले दिलचस्पी लगाएर काम गर्ने वातावरण सिर्जना हुनसक्छ ? त्यसैले कोरोना संक्रमितका लागि खटिने सबै चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीलाई समान रुपमा व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराइनुपर्छ अनि मात्र उनीहरुले ढुक्ककासाथ काम गर्न सक्छन् । हरेक पेशाका आ-आफ्ना संगठन छन् । ती संगठनमा आवद्ध कर्मचारीहरुले यो महामारीका समयमा कसरी काम गरिरहेका छन् भन्ने हेक्कासमेत संगठन नेतृत्वलाई छैन् । निर्वाचनताका मिठा भाषण गर्ने र यो महामारीका समयमा झिङ्गो पनि नमार्ने भएपछि उनीहरुको राजनीतिमात्रै अभिष्ट हो भन्ने ज्वलन्त उदाहरण नर्सिङ पेशामा देखिएको छ । मुलुकभरका नर्सहरुको छाता संगठन नर्सिङ एसोसियशन नेपाल (नान)समेत यतिबेला नर्सहरुको रेखदेखका लागि आफ्नो सक्रिय सहभागिताबाट पन्छिन खोजेको स्पष्ट पाइएको छ । विपद्का बेला आफ्ना नर्सिङ सदस्यहरुको उचित सुरक्षा र उनीहरुको हकअधिकारका लागि प्रभावकारी भूमिकाबाट टाढा हुन खोजेको स्पष्ट छ । यस्तो महामारीमा पनि आफ्नो परिवार र आफ्नो सुरक्षाभन्दा पनि संक्रमितको सुरक्षामा कटिवद्ध नर्सहरुको उचित व्यवस्थापनमा कुनैपनि निकाय मौन रहनु हुँदैन् । कुनै अस्पतालमा ५०० भन्दा बढि नर्सिङ पेशामा रहेका नर्सहरुका लागि २०० सयको हाराहारीमा माक्स मात्रै बाडेर सुरक्षाको प्रत्याभूत खोज्नु नानको लागि महङ्गो सावित हुने देखिन्छ । मुलुकभरका सबै नर्सहरुको सुरक्षाका लागि आवश्यक रुपमा व्यक्तिगत सुरक्षा सामग्रीको पर्याप्तता छ/छैन भन्नेतिर ध्यान पुर्याउन आवश्यक छ । चिकित्सकभन्दा अग्रभागमा रहेर संक्रमितको सम्पर्कमा रहने नर्सहरुका लागि व्यक्तिगत सुरक्षा सामग्रीको भरपूर व्यवस्थापनमा नानजस्ता निकाय अग्रसर हुनैपर्छ । कोरोना महामारीको नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरूले निःसन्देह महत्वपूर्ण भूमिका खेल्दै आइरहेका छन् । देशभित्र यसको प्रकोप फैलिन नदिन स्वास्थ्यकर्मीहरूले मेरुदण्डकारुपमा सेवा प्रदान गरिरहेका छन् । स्वास्थ्यकर्मीहरूले कोरोनाको जोखिमको सामना गरी सम्भाव्य संक्रमणबाट समुदायलाई बचाउन महत्वपूर्ण प्रयास गरिरहेको अवस्थामा व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)को प्रयोगमा यस्ता असमानताका कारणहरुले स्वास्थ्यकर्मीहरूमा मानसिक तनाव, थकान, पेशागत कार्यदक्षतामा हतोत्साह र लाञ्छनाजस्ता जोखिममा पर्न सक्छन् । तसर्थ, हरेक अस्पताल व्यवस्थापनले कोरोना उपचार तथा संक्रमण नियन्त्रणमा खटिने चिकित्सकसहित सबै सुरक्षाकर्मीलाई भरपर्दो र गुणस्तरीय सुरक्षा सामग्री (पिपिई) प्रदान गरेर उनीहरुको आत्मवल बढाउन जरुरी छ ।