डोटीका पहिलो सङ्क्रमितले जिते काेराेना, १५ दिनमा फर्किए घर
डोटी । जिल्लाको पहिलो कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् । भारतबाट फर्किएका जिल्लाको शिखर नगरपालिका वडा नं ३ का २५ वर्षीय युवक १५ दिन जिल्ला अस्पताल डोटीको आइसोलेशन वार्ड रही कोरोनालाई जितेर बिहीबार घर फर्किएको अस्पतालले जनाएको छ । अहिले ती युवकलाई कोरोनाको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख तथा निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा ज्योति पाण्डेले बताए । उनले भने, ‘सङ्क्रमित युवकलाई हामीले १५ दिन आइसोलेशन वार्डमा राखेका थियौँ, उहाँमा कोरोनाको थप कुनै लक्षण नदेखिएपछि ‘आइसोलेशन व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका’ अनुसार डिस्चार्ज गरेका छौँ ।’ सङ्क्रमित युवकलाई यही जेठ १९ गते कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । त्यसअघि उनका छोरामा स्वास्थ्य समस्या देखिएपछि श्रीमती र छोरासहित जिल्ला अस्पताल डोटीको आइसोलेशनमा राखेर ‘थ्रोट स्वाब’ लिएर पिसिआर परीक्षण गरिएको थियो । दुवैको नतिजा नेगेटिभ देखिएको थियो । डोटीका थप पाँचजना अन्य सङ्क्रमित आइसोलेशनमा राखिएको छ । रासस
पिसिआर परीक्षण गर्न २० निजी प्रयोगशाला इच्छुक देखिए- डा. रुना झा
काठमाडाैं । कोरोना भाइरस (कोभिड-१९)को पिसिआर परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छुक देखाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका लागि इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेकामा ती मध्ये पिसिआर मेसिन भएका नौवटा प्रयोगशालाले आशयसहितको पत्र पठाएका प्रयोगशालाकी निर्देशक डा. रुना झाले जानकारी दिए । प्रस्ताव पेश गरेका अन्य ११ प्रयोगशाला र अस्पताल पनि रहेका छन् । उनीहरुले आफूसँग अहिल्यै पिसिआर मेसिन नभए पनि परीक्षणको अनुमति पाए, एक महिनाभित्र पिसिआर मेसिन किन्ने र दुई महिनाभित्र परीक्षण शुरु गर्ने प्रस्ताव पेश गरेको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए । प्रयोगशालाका निर्देशक डा झाका अनुसार नौ प्रयोगशालामध्ये तीन प्रयोगशालाले आफूसँग परीक्षणका लागि आवश्यक किटसमेत रहेकाले अहिले नै परीक्षण गर्न सक्ने जनाएका छन् भने अन्य ६ वटा प्रयोगशालाले परीक्षण गर्न पाउने भए आफूले किट खरिद गर्ने प्रस्तावमा पेश गरेको उनले बताए । प्रयोगशालाले गत जेठ २२ गते सूचना प्रकाशित गरी सात दिनभित्र कोभिड-१९ परीक्षणका लागि इच्छुक दर्तावाला प्रयोगशालालाई आफूसँग भएको क्षमता खुलाई प्रस्ताव आह्वान गरेको थियो । बिहीबार जेठ २९ गतेभित्र प्रस्ताव आह्वानअनुसार निजी प्रयोगशालाले प्रस्ताव पेश गरेका थिए । ‘हामीले प्रस्ताव गरेअनुसारको प्रयोगशालाले कोभिड-१९ परीक्षणका लागि इच्छुक देखाएका छन्’ निर्देशक डा झाले भने, ‘हामीले प्रस्ताव हेरेर ती प्रयोगशालालाई चाँडै नै परीक्षणको अनुमति दिन्छौँ ।’ प्रयोगशालामा प्रस्ताव पेश गरेका प्रयोगशालालाई परीक्षणको अनुमति दिएपछि कोभिड-१९ को परीक्षण गराउन चाहनेले सर्वसाधारणले आफैँ शुल्क तिरेर परीक्षण गराउन सक्ने छन् । अहिले सरकार मातहतका प्रयोगशालाले मात्र निःशुल्क परीक्षण गरिरहेका छन् । कोभिड-१९ को परीक्षणको दायरा बढाउन मन्त्रालयले निजीलाई समेत कोभिड-१९ को पिसिआर विधिबाट परीक्षण दिने निर्णय गरेको थियो । प्रयोगशालालाई मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले यही जेठ २० गते कोभिड-१९ को परीक्षणको क्षमता बढाउन निजी क्षेत्रसँगको सहकार्यलाई अगाडि बढाउने सन्दर्भमा थप छलफल गरी यथाशीघ्र मोलाडिटी तयार गर्ने भनेर निर्देशनसमेत दिएको थियो । अहिले मुलुकभरि २१ वटा प्रयोगशालाबाट पिसिआर प्रविधिबाट परीक्षण हुँदै आएको छ । प्रयोगशालाकी निर्देशक डा झाले मन्त्रालयले मापदण्ड बनाएपछि ती प्रयोगशालाले परीक्षण गर्ने अनुमति दिने बताए । अहिलेसम्म दैनिक एक लाख १५ हजार ९३७ पिसिआर र एक लाख ७८ हजार १४३ जनाको आरडिटी परीक्षण गरिएको छ । दैनिक २१ वटा ठाउँबाट करिब पाँच हजार परीक्षण हुँदै आएको छ । बिहीबार पाँच हजार १९३ जनाको पिसिआर परीक्षण गरिएको थियो । उपत्यकामा जनस्वास्थ्य प्रयोगशालासहित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट परीक्षण भइरहेको छ । मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले पिसिआर परीक्षणका लागि निजीलाई पनि दिइने सैद्धान्तिक निर्णय गरे तापनि के कसरी, कति शुल्कमा गर्ने भन्नेबारे मापदण्ड बनाइरहेको बताए । रासस
गण्डकी प्रदेशमा ३७ सङ्क्रमित थपिए
पाेखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमित ३७ जना थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार गण्डकीका स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र नवलपुरमा एक-एक जनामा सङ्क्रमण पुष्टि भएको छ । थपिएका तीन वर्षदेखि ६६ वर्षसम्मका पुरुष छन् । स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथामका लागि गठित उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माका अनुसार स्याङ्जाको गल्याङ नगरपाालिकाका ६६, ४४, १६, २०, १८, २९, ३५, २३, १५, ४५, २५, २०, ३१, २५, २०, २०, २४ र ३५ वर्ष उमेरका गरी १८ र वालिङ नगरपालिकाका ३३ र ३५ वर्ष तथा अर्जुन चौपारी गाउँपालिकाका तीन वर्षका एक र अर्को चार वर्षका एक जना छन् । त्यसैगरी पर्वतको कुस्मा नगरपालिका-१० मध्ये १९, २३, २९, ३७, ४५, २८, २० र २८ वर्षीय पुरुष र अर्का एक जनाको उमेर खुलेको छैन । ३५ वर्षका एक पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गरिहेको रहेको बताइन्छ । अन्य सङ्क्रमित पैँयु गाउँपालिकाका २० र विहादी गाउँपालिका ३५ वर्षका छन् । तनहुँको घिरिङ गाउँपालिकाको १९ वर्षका र नवलपरासीको मध्यविन्दु नगरपालिकाका १७ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशक शर्माले जानकारी दिए । सङ्क्रमितलाई सम्बन्धित जिल्लाको जिल्ला अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको बताइन्छ । हालसम्म गण्डकीका मनाङ र मुस्ताङबाहेक अन्य नौ जिल्लामा कोभिड-१९ सङ्क्रमित फेला परेका छन् । जम्मा सङ्क्रमित १८८ पुगेका छन् । स्याङ्जामा ६०, बागलुङमा ४०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ३८, गोरखामा १५, पर्वतमा २२, कास्कीमा पाँच, तनहुँमा चार, म्याग्दीमा तीन र लमजुङमा एक सङ्क्रमित छन् । गण्डकी प्रदेशका गत चैत १५ गते बाग्लुङका एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो । हालसम्म सङ्क्रमितमध्ये ११ जना उपचार गराएर निको भएपछि घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सङ्क्रमितमध्ये स्याङ्जाका एक जनाको मृत्यु भएको छ । रासस