‘सङ्क्रमण देखिएपछि डराउन र लुकाउन हुँदैन’

सप्तरी । ‘कोरोना सङ्क्रमण भएपनि डराउन र लुकाउन हुन्न ।’ राजविराजस्थित साइकृष्णा कलेज एण्ड हस्पिटलको आइसोलेसन सेन्टरबाट बुधबार बिदा भएका ३ युवकले आफ्नो अनुभव सुनाए । सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीका ३५ वर्षीय अमरनाथ मण्डल, डाकनेश्वरी नगरपालिका–४ पट्टी प्रवाहाका २२ वर्षीय रामकुमार मुखिया र डाकनेश्वरी नगरपालिका–८ भुतहीका ३५ वर्षीय जसोलाल रामको पिसीआर नेगेटिभ आएपछि उनीहरूलाई बुधबार बिदा गरिएको हो । राजविराजस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए । मण्डल भारतको हरियाणाबाट, मुखिया मुम्बइबाट र राम दिल्लीबाट फर्किएका हुन् । ३ जना फरक–फरक ट्रकमा भएर आएका थिए । कोरोना पोजिटिभ भएको जानकारीले शुरुमा निकै अत्तालिए पनि घरपरिवारका सदस्यले र आइसोलेसनमा ल्याएपछि स्वास्थ्यकर्मी, नर्सले निकै हौसला दिएको रामले बताए । आइसोलेसनमा ल्याएको पहिलो दिन पानी र चियानास्ता नपाए पनि त्यसपछि कुनै असुविधा नभएको उनले बताए । आत्मबल बलियो बनाउने काम भएमा कोरोनालाई सजिलै पछार्न सकिने अनुभव सुनाउँदै उनले अरुलाई पनि आवश्यक्ताभन्दा बढी नडराउन बरु सतर्क रहन आग्रह गरे। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दास, गणपति गुप्तबहादुर कुँवर, डा रणजितकुमार झा, सिनियर स्टाफ नर्स कृष्णा यादव, सिनियर अहेव शिवनारायाण चौधरीलगायतले ३ जनालाई टीका र खादा लगाइ फूलको गुच्छा दिएर बिदा गर्न। डा दासले कोरोनालाई आत्मबलले जित्नुपर्ने र सकारात्मक सोच राख्नुपर्ने बताए । यो समेत सप्तरीबाट सङ्क्रमण मुक्त हुने ४ जना पुगेका छन् । बुधबार तीन युवकको बिदाइपछि छिन्नमस्ता गाउँपालिका–२ स्थित रमपुरा क्वारेन्टिनमा होल्डिङ गरी राखिएका चार जनालाई राजविराजस्थित आइसोलेसन सेन्टर ल्याइने भएको छ । सप्तरीमा हालसम्म १ सय १२ सङ्क्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । आइसोलेसन सेन्टरमा १ सय ३ मात्र श्यया रहेको छ । बुधबार सङ्क्रमण पुष्टि भएका छिन्नमस्ता गाउँपालिकाका ६ जनालाई हाल सोही क्वारेन्टिनमा राखिने र आइसोलेसन श्ययाको व्यवस्था भएपछि सारिने डा झाले जानकारी दिए ।  रासस

वाग्मतीमा सङ्क्रमित १ सय ४४, चारको मृत्यु

काठमाडाैं । वाग्मती प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १ सय ४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ४ पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ३७ सङ्क्रमित कोरोनालाई जितेर घर फर्किएका छन् भने १ सय ३ जना अझै उपचाररत छन् । सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढाईँका अनुसार प्रदेशका १३ जिल्लामध्ये चितवनमा सबैभन्दा धेरै ३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसअघि कोरोना सङ्क्रमणमा पहिलो रहेको काठमाडौंलाई चितवनसहित धादिङले समेत उछिनेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या धादिङमा २९ र काठमाडौंमा २७ रहेको छ । रसुवामा भने हालसम्म एक जनामा पनि सङ्क्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । यसअघि सङ्क्रमण नदेखिएको दोलखा जिल्लामा बुधबार दुई जनामा सङ्क्रमण पुष्टि भएको । रासस

कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७४ लाख ४५ हजार २ सय ७० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख १८ हजार १ सय २६ जनाको मृत्यु भइसकेको छ भने ३७ लाख २२ हजार ६ सय १७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १५ हजार १ सय २९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २० लाख ६६ हजार २ सय ४ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ८७ हजार १ सय ५५ पुगेको छ भने अहिलेसम्म ८ हजार १ सय ७ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४ हजार ३ सय ६४ जना संक्रमित भएका छन् भने १५ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ६७४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)