टेकुको जनस्वास्थ्य प्रयोगशालाले पायाे अन्तर्राष्ट्रिय मापदण्डको मान्यता
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका आधारमा ‘आइएसओ १५१८९ः २०१२’ को प्रमाणपत्र प्रदान गरेको हो । नेपालस्थित सङ्गठनका प्रतिनिधि डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा रुना झालाई मंगलबार यहाँ आयोजित कार्यक्रममा उक्त प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । प्रयोगशालाबाट एकपटक परीक्षण भएपछि त्यसले अन्तर्राष्ट्रियस्तर मान्यता पाउने गर्छ । यसअघि अन्तर्राष्ट्रिय मापदण्डको मान्यता पाउने चारवटा निजी क्षेत्रका प्रयोगशाला रहेका छन् । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड-१९)को लडाइँ लडिरहेका बेला सरकारी प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाउनु खुशीको कुरा भएको बताए । उनले पहिले दैनिक सयमात्र गरिने कोभिड-१९ को परीक्षणलाई हजारको सङ्ख्यामा प्रयोगशालाले पुर्याएको समेत बताए । मन्त्री ढकालले कोभिड-१९ बाट मुलुक आक्रान्त नभएको भए यतिबेला स्वास्थ्य सेवामा सुधार आएको अनुभूति नागरिकलाई दिलाउने सकिने बताए । उनले अहिले मन्त्रालय विशिष्ट श्रेणीका कर्मचारीका सरुवा सहमतिकै आधारमा गरिएकाले अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरे । प्रमाणपत्र बुझ्दै प्रयोगशालाकी निर्देशक डा झाले प्रयोगशालाका कर्मचारीको अथक प्रयासले अन्तर्राष्ट्रियस्तरको मान्यता पाएको बताए । उनले पाँच वर्षदेखि नै प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कोशिस गरे तापनि औपचारिकरुपमा एक वर्षअघिदेखि काम गरिएको उल्लेख गरे । ‘अन्तर्राष्ट्रिय मान्यता पाएसँगै अब हाम्रो सेवा पनि गुणस्तरीय, विश्वसनीय रहेको छ’, उनले भने, ‘अब हामीले कुनै पनि नमूना परीक्षण गर्नका लागि बाहिर पठाउनु पर्दैन ।’ उनका अनुसार प्रयोगशालाले उक्त मान्यता पाउनका लागि सयभन्दा बढी प्रमाण आइएसओलाई बुझाउनुपरेको समेत बताए । प्रमाणपत्र दिनुभन्दा अगाडि भारत, दुवई र न्यूजिल्याण्डबाट आएका विज्ञहरुको टोलीले प्रयोगशालामा भएका विविध कुराको अध्ययन अनुसन्धान गरेका थिए । गुणस्तर तथा तालिम शाखा प्रमुख लिली श्रेष्ठले गत साउनदेखि मान्यता पाउनका लागि आफूहरुले प्रक्रिया शुरु गरेको बताए । ‘हामीले साउनदेखि प्रक्रिया शुरु गर्दा आइएसओका विज्ञ टोली आएर हाम्रो प्रयोगशालाका बारेमा अध्ययन गर्नुभयो’, उनले भने, ‘त्यही विज्ञ टोलीको सिफारिसमा हामीले मान्यता पाएका हौँ ।’ उनका अनुसार नेपालले ६४ वटा परीक्षणमा मान्यता पाएको हो । अहिले प्रयोगशालाले १०० भन्दा बढी परीक्षण गर्दै आइरहेको छ । यसअघि कोभिड-१९ का पहिलो सङ्क्रमित युवाको स्बावको नमूना परीक्षण गर्नका लागि हङ्कङ पठाइएको थियो । प्रयोगशालाका निर्देशक डा झाले प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाए पनि भौतिक पूर्वाधारमा कमजोर रहेकाले नयाँ भवन बनाएर व्यवस्थित बनाइने बताए । कार्यक्रममा आइएसओका प्रतिनिधि डा जोशीले विभिन्न अध्ययन अनुसन्धान गरेर नै प्रयोगशालाको अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता दिएको बताए । उनले अब यही प्रयोगशालाले परीक्षणको रिपोर्ट दिएपछि अन्तर्राष्ट्रियस्तरमा मान्यता पाउने बताए । मन्त्रालयको प्रमुख जनस्वास्थ्य विशेषज्ञ डा रोशन पोखरेलले सरकारी प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मान्यता पाउने खुशीको कुरा भएको बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले कोभिड-१९ रोकथाम र नियन्त्रणमा सफलता प्राप्त गरिने बताए । प्रयोगशालामा वर्षेनी करिब एक लाखभन्दा बढी परीक्षण गरिँदै आइरहेको छ । रासस
नेपालमा कोरोना संक्रमितकाे संख्या ४ हजार नाघ्याे, ईलाममा पनि देखियाे संक्रमण
काठमाडौं । नेपालमा कोरोना संक्रमितकाे संख्या ४ हजार नाघेकाे छ । मंगलबार थप तीन सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४ हजार नाघेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले थप तीन सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । यस्तै ईलाममा पहिलाेपल्ट एकजना पुरुषमा संक्रमण देखिएकाे छ । याेसँगै संक्रमित जिल्लाकाे संख्या ७२ पुगेकाे छ । याेसँगै नेपालमा कोरोना संक्रमितकाे संख्या ४ हजार ८५ पुगेकाे छ जसमा ५ सय ८४ जना निकाे भएर घर गएका छन् भने १४ जनाले ज्यान गुमाईसकेका छन् ।
कोभिड–१९ नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप
काठामाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेससहित विपक्षी दलका सदस्यले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाउँदै सरकारसँग जवाफ माग गरेका छन् । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि काँग्रेसका गगनकुमार थापाले कोरोना नियन्त्रणका लागि बनाइएको क्वारेन्टिन व्यवस्थित नभएको र त्यहाँ मानिसको मृत्यु हुन थालेकाले यसको जिम्मा कसले लिने भनी प्रश्न गरे । पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री थापाले अहिलेसम्म कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्नसमेत माग गरे । निर्दाेष कर्मचारीलाई सरुवा गरेर दोषबाट उम्कन नपाइने बताउँदै थापाले प्रश्न गरे, “मृत्यु भइसकेका व्यक्तिको स्वाब परीक्षण नगर्ने भनेर कसले भन्यो ?” उनले विदशेमा रहेका नेपालीलाई तत्काल स्वदेश ल्याउन पनि सरकारको ध्यानाकर्षण गरे । विदेशमा बसेका नेपालीलाई ल्याइने निर्णय भएको तर कुन विमानबाट ल्याउने भन्ने विवाद भएको जिकिर गर्दै उनले त्यस विषयमा सरकारले सदनलाई जवाफ नदिए आगामी बैठक सञ्चालनमा सहज नहुने चेतावनी दिए । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समतिका संयोजक ईश्वर पोखरेलसँग यसबारे सदनमा जवाफ दिनुपर्ने मागसमेत उनले गरे ।