प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ७ सयको हाराहारीमा

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६९५ पुगेको छ । पछिल्लो २४ घण्टामा ८२ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या ६९५ पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । सो अवसरमा दिइएको जानकारी अनुसार सप्तरीमा १२ जना, महोत्तरीमा दुई जना, सिरहामा पाँच जना, सर्लाहीमा ३८ जना, धनुषामा सात जना र रौतहटमा १८ जना गरी ८२ जना थपिएको हो । यस अवधिमा थपिएका सबै जना केही दिनअघि भारतबाट आएका थिए । यस प्रदेशमा आजसम्ममा १५ हजार ७७४ जनाको स्वाबको नमूना सङ्कलन गरिएकामा १० हजार ३५१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ७२८ जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव डा घिमिरेले जानकारी गराउनुभयो । यस प्रदेशमा अहिलेसम्म ६ हजार ६८२ जना आरडिटी परीक्षण गरिएकामा ५० जना रिपोर्ट पोजिटिभ आएको छ । यस प्रदेशमा भारतबाट भित्रिनेको चाप बढ्दै गएपछि क्वारेटाइनको सङ्ख्या पनि थपिएको छ । क्वारेन्टिनमा अहिले २२ हजार ९१८, होम क्वारेन्टिनमा पाँच हजार २०५ र आइसोलेशनमा ३९५ जना बसेका छन् ।

थप १३ जनामा कोरोना पुष्टि, एकैदिन २३९ जनामा देखियो, संक्रमितको संख्या १८ सय नाघ्यो

काठमाडौं । सोमबार थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा थप १३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । जसमध्ये पाल्पाका १७ र ३६ वर्षीय पुरुष रहेका छन् । नवलपरासीका ६ वर्षीय बालक, गुल्मीका २६ वर्षीय पुरुष, रुपन्देहीका ३ वर्षीय बालिका र ५४ वर्षीय पुरुष रहेका छन् । त्यस्तै, कपिलवस्तुका १९, २१, २६, २६, २७, ३५ र ४० वर्षको पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले पुष्टि गरेको छ । यससँगै सोमबार मात्रै थप २३९ जनामा कोरोना संक्रमण देखिएको छ । साथै, नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ८ सय ११ पुगेको छ ।

काठमाडौं महानगरले रेडियोमार्फत विद्यार्थीलाई पढाउने, शिक्षक खोजिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले यही हप्ताबाट रेडियोमार्फत कक्षा १ देखि १० को कक्षा संचालन गर्ने भएको छ । महानगरपालिकाले रेडियोमार्फत कक्षा संचालन गर्न तयारी गरिरहेकाे काठमाडौं शिक्षा विभागका शिक्षा अधिकारी तारापति खरेलले जानकारी दिए । हाललाई अवधाराणा पत्र बनिरहेको र यसमा शिक्षा समितीलगायत सबैको सहमति भएको पनि उनले जानकारी दिए । अबको लगभग एकहप्तामा कक्षाहरु संचालन हुने उनले जानकारी दिए । उक्त कार्यक्रमलाई फेसबुकमार्फत पनि लाईभ गरिने र पछि  युट्युबहरुमा पनि राखिने उनले बताए । गणित पढाउन केही समस्या हुने हुनाले अहिलेको लागि अंग्रेजी, नेपाली, विज्ञान, सामाजिक  र स्वास्थ्य तथा जनसंख्या गरेर पाँच विषय पढाइने उनकाे भनाई छ । कक्षा ७ देखि १० को कक्षा शिक्षकहरु व्यवस्थापन गर्ने जिम्मा पाएका विश्व निकेतन मावि त्रिपुरेश्वरका प्रधानध्यापक हेरम्बराज कडेँलले बताए । महानगरले कक्षा १ देखि ६ कक्षाको शिक्षकको व्यवस्थापनको जिम्मा सरस्वती निकेतन मावि ब्रम्हटोलकी प्रधानाध्यापक रविना महर्जनलाई दिइएको छ ।