एकै परिवारका १८ जनाले जिते कोरोनासँगको लडाइ
काठमाडौं । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट आइतबार राति एकै परिवारका १८ जना डिस्चार्ज भएका छन् । परिवारका सबैजनामा पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्यहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध छन् । गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवारका सदस्यहरुको परीक्षणका क्रममा १७ जना सदस्यको वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो । आइतबार राति १८ जना निको भएर घर फर्किएसँगै नारायणी र गण्डक कोभिड अस्पतालमा गरी ७२ जना संक्रमित उपचाररत छन् । पर्साका एक जना संक्रमित भने बाराको कलैया अस्पतालमा उपचाररत छन् । आइतबार तीन जना संक्रमित थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या ९४ पुगेको छ ।
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान साढे ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख ९४ हजार ४ सय ६४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ४६ हजार ४ सय ३४ जनाको मृत्यु भइसकेको छ भने २२ लाख ९९ हजार ३ सय ४५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९९ हजार ३ सय जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १६ लाख ८६ हजार ४ सय ४५ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ३८ हजार ५ सय ३६ पुगेको छ भने अहिलेसम्म ४ हजार २४ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ६ सय ३ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ८७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
वीर अस्पताल अगाडि सञ्चालित तीन औषधालयलाई कारवाही
काठमाडाैं । स्थानीय वीर अस्पताल अगाडि सञ्चालित तीन औषधि पसललाई कारवाही गरिएको छ । बजार अनुगमनका क्रममा सर्जिकल सामग्रीमा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहीस्वरुप जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार हनुमान फर्माले हाइ मास्कलाई बढी मूल्यमा बिक्री गरेको तथा मेगन फार्मेसी र पवित्र प्रोग्रेस फार्मेसीले केएन ९५ मास्क बढी मूल्यमा बिक्री गरेको पाइएकाले जरिवाना गरिएको हो । ती औषधालयले प्रतिमास्क १० रुपैयाँदेखि २३ रुपैयाँसम्म नाफा लिएको भेटिएपछि उक्त पसललाई जरिवाना गरिएको विभागले जनाएको छ । रासस