एलआरआई स्कूलले त्रिवि शिक्षण अस्पताललाई दियाे विभिन्न स्वास्थ्य सामाग्री

काठमाडाैं । कलङ्कीको एलआरआई स्कूलले कोभिड-१९ रोग नियन्त्रणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । सामाजिक उत्तरदात्यिवअन्तर्गत विद्यालयले माहामारी रोकथामका लागि अग्रस्थानमा खटिने स्वास्थ्यकर्मीका लागि करिब दुई लाख रूपैयाँ बराबरको सामग्री सहयोग गरेको हो । विभिन्न समयमा सामाजिक कार्यमा सहयोग गर्दै आएको विद्यालयले यसअगाडि स्थानीय तहका फोहरमैला, सरसफाइ तथा व्यवस्थापनमा सहभागी कर्मचारीका लागिसमेत यस किसिमका सामग्री उपलब्ध गराएको थियो । यहाँ शुक्रबार आयोजित कार्यक्रममा विद्यालयका संस्थापक गुठीयार यशोधरा पन्तले अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गालाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिआई) १७ थान, केएन–९५ मास्क ९२ थान, भाइजर १०७ थान, सर्जिकल मास्क ३०० थान, साधारण मास्क ९० थान, सेनिटाइजर १०० थानलगायत सामग्री हस्तान्तरण गरे । विद्यालयका अध्यक्ष शिवराज पन्तले परोपकारी कार्य निरन्तर गर्दै आएको आफ्नो संस्थाले विश्वमा महामारीका रूपमा फैलिइरहेको कोभिड-१९ ले नेपालमा पनि जोखिम बढाइरहेकाले अग्रस्थानमा निरन्तर कार्य गर्नुपर्ने स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहयोग गरेको बताए । अस्पतालका कार्यकारी निर्देशक खड्गाले करिब एक हजार ४०० कर्मचारी रहेको अस्पतालमा स्वास्थ्य सामग्रीको खपत हुने हुँदा त्यसको अत्यधिक माग बढेको अवस्थामा विद्यालयले गरेको सहयोगको सराहना गरे । उनले लकडाउनको अवधिमा सर्वसाधारणले जथाभावी हिँडडुल गर्न नहुनेमा जोड दिँदै अस्पतालमा एक जना कोरोना सङ्क्रमित बालिकाको उपचार भइरहेको र आवश्यकताअनुसार आइसोलेसन केन्द्रको विकास गरिने बताए । विद्यालयका कन्फुसियस कक्षाका निर्देशक तान पानले ट्रष्टद्वारा सञ्चालित यस संस्थाले सामाजिक सेवामा सधैँ समर्पित रहेको विचार व्यक्त गरेका छन् । यसअघि विद्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एक लाख रूपैयाँ सहयोग गरेको शिक्षक दीपक जोशीले जानकारी दिए । विद्यालयले कोरोनाबाट बढी प्रभावित सुदूरपश्चिम प्रदेशलाई १५ हजार थान सर्जिकल पञ्जा, कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइन स्थललाई ५० थान बेड, सोही सङ्ख्यामा म्याट्रेस, सिरानी, बेडसिट र कम्बल प्रदान गरेको छ । यसैगरी काठमाडौं महानगरपालिका–१४ र नागार्जुन नगरपालिका–१० अन्तर्गत तारकेश्वर युवा क्लब स्युचाटारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । रासस

नेपालमा काेराेना संक्रमितको संख्या ५ सय नाघ्याे

काठमाडौं । नेपालमा काेराेना संक्रमितको संख्या ५ सय नाघेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेना संक्रमितको संख्या ५ सय नाघेकाे जनाएकाे हाे । शुक्रबार साँझ  थप २० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमितको संख्या ५ सय नाघेकाे हाे । यी नयाँ संक्रमितहरु डडेल्धुरा, मोरङ, बैतडीका एक-एक जना पुरूष र कैलालीका तीन जना  र बाँकेका १४ जना पुरूष रहेकाे मन्त्रालय प्रवक्ता विकास देवकोटाले बताए। याेसँग नेपालमा काेराेना संक्रमितको संख्या ५ सय ७ पुगेकाे छ जसमा ७० जना निकाे भएर घर गएका छन् ।  

बूढानीलकण्ठमा २१ जनामा आरडिटी पोजेटिभ, पिसिआरकाे लागि टेकु पठाइयाे

काठमाडाैं । बूढानीलकण्ठ नगरपलिकामा २७६ जनामा गरिएको आरडिटीमा २१ जनाको कोरोना पोजेटिभ देखिएको छ । नगरपालिकाका १३ वडामा बन्दाबन्दीभर दिनरात अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मी, जनप्रतिनिधि र फोहोरमैला व्यवस्थापनमा संलग्नको पहिलो चरणमा आरडिटी गरिएको हो । आरडिटी पोजेटिभ देखिएका सबैलाई नगरपालिकाले व्यवस्था गरेको वडा नं ७ स्थित एकल महिला छहारी भवनको क्वारेन्टाइनमा राखिएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए । आरडिटी पोजेटिभ देखिएकामध्ये १५ जना पुरुष र छ महिला छन् । आरडिटी पोजेटिभ देखिएकामध्ये २० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइसकिएको नगरपालिकाले जनाएको छ । आरडिटीले नै पूर्ण कोरोना संक्रमण भएको यकिन गर्न नहुने र विश्वस्तताका लागि आरटीपिसिआर नै गर्नुपर्ने भएकाले आरडिटी गरी पोजेटिभ आएकालाई नआत्तिन, धैर्य गर्न र आत्मबल बलियो बनाउन नगर प्रमुख उद्धवप्रसाद खरेलले आग्रह गरे । रासस