कीर्तिपुरका चार जनाको आरडिटी पोजेटिभ
काठमाडाैं । कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीको आरडिटी परीक्षणमा चार जना पोजेटिभ देखिएको छ । फ्रन्टलाइनमा कार्यरत १ सय ३६ जनप्रतिनिधि तथा कर्मचारीको सोमबार र मंगलबार आरडिटीबाट कोरोना परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । बाँकी स्वास्थ्यकर्मी, कर्मचारी तथा पत्रकारको समेत परीक्षण गरिने नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिए । उनका अनुसार नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) र पिसिआर दुवै विधिबाट स्वास्थ्य परीक्षण गरिएको हो । आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर विधिबाट परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पठाइएको नगरपालिकाले जनाएको छ । हाल उनीहरु सबैलाई नगरपालिकाले स्थापना गरेको क्वारेन्टिनमा राखिएको छ । यसअघि विदेश तथा अन्य स्थानबाट कीर्तिपुरमा आएर बसेका ११० जनाको आरडिटी विधिबाट स्वास्थ्य परीक्षण गरिएको थियो । रासस
काठमाडौंमा ड्युटीमा खटिएका २ जना प्रहरीमा कोरोना पुष्टि
काठमाडौं । काठमाडौंमा कार्यरत २ प्रहरीमा कोरोन भाइरस संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत २ जना प्रहरीमा कोरोना संक्रमण भएको देखिएको हो । प्रहरी नायव निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको नेपाल प्रहरीको स्रोतले जानकारी दिएको छ । उनीहरु दुवैजना लकडाउनको समयमा फिल्डमा नै खटिएका थिए महानगरीय प्रहरी परिसरले जनाएको छ । ब्यारेकमा नै बस्दै आएका उनीहरूमा मंगलबार कोरोना देखिएको हो । यस अघि २ जना प्रहरीमा काेराेना पुष्टि भइसकेकाे छ ।
अब प्रदेश सीमानाकामै सबैको आरडिटी हुन्छ : मन्त्री रावल
काठमाडौं । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश सरकारले सीमानाकामै आरडिटी परीक्षण गर्ने बताएका छन । एक विज्ञप्ति जारी गर्दै मन्त्री रावलले स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट यस प्रदेशमा भित्रिने नागरिकको प्रदेश सीमानाकामै अनिवार्यरूपमा दर्ता, यात्रा इतिहासको अभिलेखीकरण र आरडिटी परीक्षण गरिने बताए । आरडिटीपश्चात स्थानीय तहले अनिवार्यरूपमा क्वारेन्टिनमा राख्ने, क्वारेन्टिन अवधि पूरा भएपछि अनिवार्य पिसीआर विधिद्वारा स्वाब परीक्षण गर्ने र परीक्षण रिपोर्ट प्राप्त भएपश्चात सङ्क्रमण नदेखिएका नागरिकलाई तोकिएको समयसम्म अनिवार्य होम क्वारेन्टिनमा रहने गरी घर पठाउने व्यवस्था मिलाइएको उनले जनाए । । कोरोना भाइरसले विश्व मानव समुदायमा शताब्दीकै ठूलो सङ्कट सिर्जना गरेको बताउँदै उनले यो सङ्कटबाट हाम्रो देश र प्रदेश पनि अछुतो नरहेकाले सरकार उच्च सतर्कता र गम्भीरताका साथ लागिरहेको उनले विश्वास दिलाए । जारी सो विज्ञप्तिमार्फत भनिएको छ, “कोरोनाको रोकथाम, नियन्त्रण तथा जोखिम व्यवस्थापनका लागि शुरुदेखि नै कर्णाली प्रदेश सरकार आफ्ना सबै स्रोत साधनको परिचालनसहित लागिरहेको छ । प्रदेशलाई कोरोना सङ्क्रमणबाट बचाउन खोज्दा पनि दैलेख आठबीस नगरपालिका–१ साततलाका ३५ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टिको घटनाले सरकारलाई दुखित् तुल्याएको छ ।” यो घटनाले दुःखी बनाएको भन्दै मन्त्री रावलले छिमेकी मुलुक भारतबाट आई क्वारेन्टिनमा राखिएका व्यक्तिमा सङ्क्रमण देखिएको तर ती व्यक्ति समुदायमा प्रवेश गरी नसकेकाले यस घटनाबाट भयभित एवं त्रसित नहुन, थप सङ्क्रमण हुन नदिन उच्च सतर्कता र सावधानीका उपाय अवलम्बन गर्न सङ्क्रमित व्यक्ति, परिवारसहित समग्र कर्णालीवासीमा अनुरोध गरेका हुन् । कोरोना परीक्षण लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पिसीआर मेसिनसहितको प्रयोगशाला स्थापना गरी दक्ष जनशक्तिद्वारा विश्वसनीयरूपमा परीक्षण कार्यसमेत भइरहेको उनले बताए । पुनःपुष्टिका लागि रिफरेन्स ल्याबमा पठाउनुपर्ने प्रयोगशालाको प्राविधिक प्रावधानबमोजिम यस प्रदेशमा गरिएको पिसीआर परीक्षणको १० प्रतिशत नेगेटिभसहित सबैै पोजेटिभ नमूना पुनःपुष्टि गर्न नेपालगञ्ज÷राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने गरेको र यो नियमित प्रक्रिया भएको हुँदा यस प्रदेशमा स्थापना गरिएका प्रयोगशालाको गुणस्तर तथा विश्वसनीयताका सम्बन्धमा कुनै पनि भ्रममा नरहन उनले अनुरोध गरे । पछिल्लो समयमा विदेशका जोखिमयुक्त क्षेत्रबाट कर्णालीमा प्रदेश भित्रिने नागरिकको सङ्ख्या वृद्धि भएसँगै हरेक स्थानीय तहको वडास्तरसम्म परीक्षणको दायरालाई बढाउने प्रदेश सरकारको निर्णयबमोजिम परीक्षणकार्य तीव्रताका साथ अगाडि बढाइएको जनाउँदै उहाँले यो सङ्कटपूर्ण घडीमा सरकारले गरेका निर्णयको कार्यान्वयनमा अहोरात्र खटिरहेका चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी, पत्रकार, नागरिकलाई सम्मान र विशेष आभार प्रकट गर्दै परिस्थिति सामान्य नहुँदासम्म धैर्य गर्न र सङ्क्रमणबाट जोगिन उच्च सतर्कता एवं स्वास्थ्य सावधानी अपनाउन सबैमा अपिल गरेक छन । रासस