थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ४४

काठमाडौं । धनकुटा, सुनसरी र झापा जिल्लामा थप १७ जना कोरोना भाइरस पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् । झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् । त्यस्तै धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय ४४ पुगेकाे छ ।

प्रदेश २ : प्रादेशिक क्वारेन्टिन १४ दिनका लागि सिल

धनुषा । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम नजीकै बनाइएको प्रादेशिक क्वारेन्टिनलाई बुधबारदेखि सिल गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका वडा नंं ५ गङ्गुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टिनलाई बन्द गरिएको हो । उक्त क्वारेन्टिनमा बसेका कोरोना शङ्कास्पदमध्ये पटकपटक गरेर पाँच व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेपछि १४ दिनका लागि बन्द गर्ने निर्णय जिल्ला सङ्कट व्यवस्थापन समितिले बुधबार गरेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । नेपाली सेनाको रेखदेख तथा प्रदेश नंं २ सरकारले सञ्चालन गरेको उक्त क्वारेन्टिनमा शुरुका दिनमा प्रदेश नंं २ का विभिन्न जिल्लाका कोरोनाका आशङ्कित व्यक्तिलाई राख्ने काम हुँदै आएको छ । अहिले पनि क्वारेन्टिमा ८१ नागरिक धनुषा, महोत्तरी तथा भारतीय रहेको क्वारेन्टिनका इञ्चार्ज सन्तोषकुमार ठाकुरले जानकारी दिए । अब क्वारेन्टिनमा भएका सबैको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरेर हालका सबैलाई खाली गरिने र पुनः स्यानिटाइज गरी नयाँ शिराबाट सञ्चालन गरिने इञ्चार्ज ठाकुरले बताए । खासगरी क्वारेन्टिनमा दूरी अपनाइए पनि चेतनाको अभावले खानामा कतै लसपस भयो कि भन्ने आशङ्का भएकाले सबैको परीक्षण नगरेसम्मका लागि सिल गरिएको छ । धनुुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बसेको व्यवस्थापन समिति धनुषाको बैठकले नगराइन नगरपालिकालाई अर्को क्वारेन्टिन सञ्चालन गर्न पत्राचारसमेत गरेको छ । रासस

कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख ८२ हजार २ सय ४४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख २९ हजार २ सय ६० जनाको मृत्यु भइसकेको छ भने २० लाख २० हजार १ सय ५१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९४ हजार ९ सय ६० जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १५ लाख ९१ हजार ५ सय ७५ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख १२ हजार २८ पुगेको छ भने अहिलेसम्म ३ हजार ४ सय ३४ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४ सय २७ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ४५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)