घरभित्रै बसेकी बालिकालाई कसरी लाग्यो कोरोना ?
काठमाडाैं । कपिलवस्तुकी एक घरभित्रै रहेकी बालिकामा काेराेना संक्रमण देखिएकाे छ। कोरोना संक्रमित ६ वर्षीया बालिका वाणगंगा नगरपालिका ४ ठाकुरापुर की रहेको खुलेको हाे। घरमै बसिरहेकी ती बालिकामा कसरी काेराेना संक्रमण देखियो स्थानीय आश्चर्यमा परेका छन् । ‘बालिकाको परिवारमा कोही पनि विदेशबाट आएका छैनन् र उनी पनि घर बाहिर टाढा कतै नगएको उनका अभिभावकले बताएका छन्,’ वडा अध्यक्ष गणेश क्षेत्रीले भने, ‘घरमै बसेकी बालिकालाई कसरी कोरोना देखियो हामी सबै अचम्ममा परेका छौं ।’ स्वास प्रश्वाससम्बन्धी समस्या देखिएपछि वडा कार्यालयको सिफारिस लिएर ती बालिकालाई मंगलबार काठमाडौंमा उपचार गराउन पठाइएको वडा अध्यक्ष क्षेत्रीले बताए । अस्पतालले उनको स्वाब परीक्षण गराउँदा संक्रमण देखिएको उनले बताए । बालिकामा संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आएकाहरूको खोजी गरी परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएकाे छ ।
काठमाडौंमा थप एकलाई काेराेना संक्रमण, नेपालभर संक्रमित हुनेकाे संख्या २ सय ४५
काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षिया बालिकामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हाल नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४४ लाख २५ हजार ४ सय ५१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ९७ हजार ७ सय ३९ जनाको मृत्यु भइसकेको छ भने १६ लाख ५५ हजार ९ सय ९३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ८५ हजार १ सय ९२ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १४ लाख ३० हजार २ सय ४३ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ७८ हजार ५५ पुगेको छ भने अहिलेसम्म २ हजार ५ सय ५१ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म २ सय ४३ जना संक्रमित भएका छन् भने ३५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)