भारतबाट लुकिछिपी प्रवेश गरेका १५ भारतीय किशोरको रिपोर्ट नेगेटिभ

काठमाडाैं । लकडाउनका अवस्थामा गत चैत २२ गते राति लुकिछिपी भारतबाट महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ५ बहेडा गाउँमा प्रवेश गरेका १५ भारतीय मुसलमान किशोरको कोरोना परीक्षण नेगेटिभ आएको छ । करीब १५ दिनसम्म साथीका घरमा लुकिछिपी बसेका ती किशोरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा र्यापिड डायग्नोष्टिक टेष्ट गरिएको थियो । भारत, उत्तर प्रदेश राज्यको एक मदरसामा पढ्दै गरेका तिनीहरु बहेडा गाउँका एक साथीसँग आआफ्ना घर फर्किने क्रममा भारत बिहारको सीतामढीमा लकडाउनका कारण घर जान नसकेपछि साथीसँगै महोत्तरीको बहेडामा आएर बसेका थिए । चैत २२ गते राति आएर बसेका ती किशोरलाई महोत्तरी जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको सहयोग एवं समन्वयमा छुट्टै घरमा क्वारेन्टाइन बनाई राखिएको थियो । उनीहरुको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका ल्याब टेक्निसियन शम्भु कुशवाहाले बताए । टेक्निसियन कुशवाहाका अनुसार १३ देखि १८ वर्ष उमेरका ती किशोरको अवस्था सामान्य छ । रासस

कोरोना भाइरस संक्रमणः मान्छेले मासु खान छोड्नै पर्ने हो ?

काठमाडौं । सन् २००२ को सार्स रोग र त्यसैगरी २०१३ मा पश्चिमी अफ्रिकामा फैलिएको इबोलाको समय पनि यस्तै नै भयो, जुन हाल कोभिड–१९ को महामारीमा भइरहेको छ । यस्तो परिस्थिति कुनैपनि महामारीमा हुन सक्छ । यी सवै जनावरबाट मानवमा फैलिएको भाइरसवाला महामारीका उदाहरणहरु हुन् । एउटा नयाँ अध्ययन अनुसार केवल मानव मात्र यी महामारीहरुको शिकार भएका होइनन् । प्रकृतिको साथ जुन प्रकारको छेडछाड भइरहेको छ, त्यसले यी महामारीहरुलाई प्रोत्साहन दिएको छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाको भेटनरी स्कुलकी रिसर्चर क्रिस्टीन जोनसन भन्छिन्, ‘मानवले नै विषाणुहरुलाई जनावरबाट आफूहरुसम्मको बाटो देखाइरहेको छ । चुप लागेर आगामी महामारीलाई पर्खनुभन्दा अघि नै हामीले जरुरी कदम उठाउनै पर्छ ।’ साइन्स जर्नल ‘प्रोसिडिंग्स अफ द रोयल सोसाइटी बीः बायोलोजिकल साइन्सेज’मा हालै मात्र यस सिलसिलामा एउटा रिसर्च पेपर प्रकाशन भएको छ । लुप्तप्राय: प्रजाति यस रिसर्च पेपरकी लिड राइटर क्रिस्टीन जोनसन भन्छिन्, ‘वन्य जीवहरु र तिनका आवाससँग हामी जुन प्रकारले छेडखानी गरिरहेका छौं, त्यसको सीधा नतिजा बमोजिम यी भाइरस जनावरबाट बाहिर निस्केर हाम्रो दुनियाँमा आइपुगे । प्रकृतिको साथ छेडछाडको यो नतिजा हो कि अब यी जनावरहरु आफ्ना विषाणु हामीसँग सेयर गरिरहेका छन् ।’ ‘मानवका गतिविधिले कतिपय प्रजातिहरुलाई विलुप्त हुने अवस्थासम्म पुर्याइदिएका छन् । यतिमात्र होइन जनावरको दुनियाँको परिस्थितिहरु हाम्रो दुनियाँमा उपस्थिति जनाइरहेका छन् । यो दुर्भाग्यपूर्ण कुरा हो कि हाम्रो अनावश्यक हस्तक्षेपले संकटको परिस्थिति ल्याइदिएको छ जस्तो कि हामी हाल कोभिड–१९ को महामारीबाट गुज्रिरहेका छौं ।’ क्रिस्टीन जोनसन र उनका सहयोगीहरुले यस्तै १ सय ४२ ज्ञात ‘केस’हरुको अध्ययन गरेका छन् जहाँ केही रोग जनावरबाट निस्केर मानवसम्म पुगे । क्रिस्टीनका टिमले यो जानकारीलाई विलुप्त हुने अवस्थामा पुगेका जनावरहरुको रेड लिस्टसँग मिलाएर हेरे । यो रेड लिस्ट इन्टरनेशनल यूनियन अफ कन्जर्वेशन फर नेचर (आईयूसीएन) ले तयार गरेको हो । मानव हस्तक्षेपको असर क्रिस्टीन भन्छिन्, ‘हामीसँग जुन तथ्यांक छ, त्यसले यो बताउँछ कि लुप्तप्राय प्रजातिहरुबाट भाइरसको संक्रमण हुने दुई प्रक्रियाहरु हुन्छन् । एउटा त शिकार र तस्करीबाट वन्य जीवहरुलाई मार्ने गरिएको छ । यसबाट मानव जनावरहरुको सम्पर्कमा आइरहेको छ ।’ ‘जनावरहरुको रगत, मलमूत्र अथवा जनावरबाट निस्कने अन्य चीजहरुको सम्पर्कमा मानव आइरहेको छ र यसले मानवमा संक्रमणको खतरा बढेर गएको छ । यी जनावर बजारमा बेचिन्छन् । मानवले ती जनावरहरुलाई अन्य जनावरसँग थुनेर राख्छन् । यसो हुँदा विषाणुहरुलाई एउटा जनावरबाट अर्को जनावरसम्म पुग्न सजिलो भएको छ ।’ ‘यदी ती वन्य जीवहरु आफ्नो प्राकृतिक आवासमै रहन्थे भने यस्तो कहिल्यै पनि हुँदैनथ्यो । दोस्रो पक्रियामा इकोसिस्टमसँग मानवको छेडछाड हो । जुन प्रकारले मानवको आवादी बढ्दै गइरहेको छ र बढ्दो आवश्यकता पूर्तिका लागि जमीनको प्रयोग गरिरहेको छ । त्यसबाट आउने समयमा नयाँ विषाणुहरु बारम्बार देखापर्ने आशंका बढ्दै गएको छ ।’ भाइरसबाट हुने महामारीहरु सन् २०१२ मा प्रतिष्ठित अमेरिकी विज्ञान पत्रकार डेभिड क्वाम्मेनले आफ्नो किताब ‘स्पिलोवरः एनिमल इन्फेक्शन एण्ड द नेक्स्ट ह्यूमन पेण्डामिक’मा यस वारेमा चेतावनी दिएका थिए । डेभिड क्वाम्मेनले आफ्नो कितावमा जनावरहरुबाट मानवसम्म पुग्ने भाइरसजनित महामारीहरुको लामो लिस्ट बताएका छन् । यी महामारीहरु हुन्, मारबर्ग (सन् १९६७), लास्सा (सन् १९६९), निपाह (सन् १९९८), एचआईभी (सन् १९८१), हेंड्रा (सन् १९९४), एवियन इन्फ्लुएन्जा भाइरस (सन् १९९७) र स्वाइन फ्लू भाइरस (सन् २००९) । त्यसैगरी सन् २००२ मा फैलिएको सार्स महामारीको शुरुवात चमेराबाट भएको थियो । कोरोना भाइरसको वारेमा पनि यही अनुमान गरिएको छ कि यो चमेराहरुबाट शुरु भयो । तर मानव र चमेराहरुको बीचमा कुन जनावर विचौलिया बन्यो, त्यो वारेमा प्रष्ट हुन सकेको छैन । अमेरिकाको मोन्टानाबाट डेविड क्वाम्मेनले बीबीसी मुन्डोलाई बताए कि, ‘मानव सधैं जंगली जनावरहरुको सम्पर्कमा रहँदै आएको छ । यसैले विषाणुहरु जनावरबाट मानवसम्म आइपुग्नु कुनै नौलो कुरा होइन । १४औं शताब्दिमा फैलिएको बुबोनिक प्लेग जसलाई ब्ल्याक डेथ पनि भनिन्छ, यसको एउटा अर्को उदाहरण हो कि मानवले कति धेरै नोक्सान व्यहोर्नु परेको थियो ।’ महामारीहरुबाट शिक्षा तर डेविड क्वाम्मेन याद दिलाउँछन् कि जनावरहरुबाट मानवलाई हुने संक्रमणको अवस्था लगातार बढ्दै गइरहेको छ । र, यसको कारण पनि छ । उनी भन्छन्, ‘मानवको आवादी यति धेरै पहिले कहिल्यै थिएन । त्यसैले हामी प्रकृतीसँग लगातार छेडछाड गरिरहेका छौं । धेरै मानिसहरु जंगली जनावरको सम्पर्कमा आइरहेका छन् किनकि उनीहरु शिकार गर्छन् र त्यसलाई खान्छन् ।’ ‘भाइरस जनावरबाट मानवसम्म पुग्नका लागि यो एकदम अनुकूल परिस्थिति हो । यसको साथै हामीसँग तीव्र गतिका यातायातका साधन छन् । मानौं एउटा भाइरसले कुनै एकजना मानिसलाई संक्रमित गर्छ र करिव २० घण्टा भित्र ऊ आधा दुनियाँको यात्रा तय गर्छ । हामी कंगो, बोर्नियाँ र अमेजन जस्ता स्थानसम्म पुगेका छौं र त्यहाँ हामीले उद्योग लगाएका छौं । वन्य जीवहरुको जिन्दगीमा दखल दिएका छौं । हामी आफ्नो पाल्तु जनावरहरुको साथ तीनका बीचमा गएर बसेका छौं ।’ कोरोना भाइरसबाट फैलिएको महामारीबाट के शिक्षा पाइन्छ त ? यस सम्वन्धमा डेविड क्वाम्मेन भन्छन्, ‘मेरो नजरमा यस महामारीबाट दुईओटा शिक्षा पाइन्छ । यदि हामी भविष्यमा यस्तो स्थितिबाट बच्न चाहन्छौं भने हामीले आफ्नो खानपानमा क्रान्तिकारी परिवर्तन ल्याउनु पर्ने हुन्छ, ताकि जंगली जनावरहरुको प्राकृतिक आवासको विध्वंस रोक्न वा कम गर्न सकियोस् ।’ ‘दोस्रो यो हो कि यदि हामी भविष्यमा आउनेवाला महामारीहरुबाट बच्न चाहन्छौं भने हामीले आफ्नो सार्वजनिक स्वास्थ्यको व्यवस्थालाई दुरुस्त राख्नु पर्छ । हामीलाई प्रशिक्षित मानिसहरुको आवश्यकता पर्छ । पर्सनल प्रोटेक्टिव इक्विपमेन्ट, किट्स, जाँचको व्यवस्था र भ्याक्सिनको व्यवस्थामा हामीले ढिलो गर्न हुँदैन । राजनेताहरुले यो बुझ्नुपर्छ कि महामारीहरु वास्तवमै खतरा हुन् ।’ (बीबीसी हिन्दीबाट भावानुवाद)

जेठ १५देखि शैक्षिक संस्था खुल्ने, एसईई परीक्षाको यस्ताे छ तयारी

काठमाडाैं । लकडाउनका कारण बन्द रहेका शैक्षिक संस्थाहरु आगामी जेठ १५ देखि खुल्ने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एक सञ्चारमाध्यमकाे कुराकानीमा जेठ १५ देखि शैक्षिक संस्था खाेनल्ने तयारी भइरहेकाे बताएका हुन् । उनले काेराेना महामारीकाे संक्रमण कम हुने बित्तिकै र लकडाउन खुल्ने बित्तिकै सबै शैक्षिक संस्था खाेलिने स्पष्ट पारेका हुन् ।  अहिले महामारीका कारण विश्व विद्यालय तथा सिटिइभिटी अन्तर्गत परिक्षाहरु समेत रोकिएकाले लकडाउन खुलेको तेस्रो हप्तादेखि उक्त परिक्षाहरु समेत सञ्चालन हुने मन्त्री पोखरेले जानकारी गराएका छन् । यस्तै, लकडाउन खुलेकाे तीन हप्तापछि एसईईकाे परीक्षा गर्ने तयारी भइरहेकाे उनले बताए । लकडाउन खुलेको एक हप्ताभित्र कक्षा एक देखि नौ सम्मको नतिजासमेत सार्वजनिक हुने उनले बताए ।  मन्त्री पोखरेलले कक्षा १२को परिक्षा संघले, १० को प्रदेशले र आठ कक्षाको स्थानीय सरकारले गर्ने व्यवस्था रहेकाले तीनै तहका सरकारसंगको समन्वयमा रहेर एकदेखि नौ सम्मको नतिजा समेत लकडाउन खुलेको हप्ता दिन भित्रै सार्जजनिक हुने बताए ।अहिले देशभरका दुई सय ४३ शैक्षिक संस्थाहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग भइरहेको जनाउदै मन्त्री पोखरेलले यद्यपी संकट कति लामो समयसम्म जान्छ र कस्तो स्वरुप लिन्छ भन्ने कुराले पनि प्रभाव पर्न सक्ने जनाएका छन् ।