चीनबाट ल्याइएका नेपालीमा देखिएन कोरोना भाइरस संक्रमण, आजै रिपोर्ट सार्वजनिक गरिँदै

काठमाडौं । चीनबाट उद्धार गरी नेपाल ल्याइएका नेपालीमा कोरोना भाइरस(कोभिड १९) संक्रमण नदेखिएको पुष्टि भएको छ । परीक्षण गरिएका सबैको रिर्पोटको नतिजा नेगेटिभ देखिएसँगै उनीहरुमा उक्त भाइरसको संक्रमण नभएको परिक्षणकर्मीले बताएका हुन् । उनीहरुको नमुना संकलन गरी रिपोर्ट परीक्षण गरिएको थियो । जसमा मंगलबार(हिजाे) बेलुकासम्म परिक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएकाले उनीहरुमा उक्त संक्रमण नभएको पुष्टि भएको हो । साथै, परिक्षण गरिएका सबै रिपोर्टको नतिजा बुधबार(आज) सार्वजनिक गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । जनस्वास्थ्य प्रयोगशालाका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक पत्रकार सम्मेलन मार्फत उक्त नतिजा सार्वजनिक गर्नेछ । चीनबाट मंगलबार उद्धार गरी ल्याइएका १ सय ७५ जनालाई भक्तपुरको खरीपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा राखिएको थियो । जसमध्ये १ सय ३५ जना पुरुष र ४० जना महिला छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका रञ्जित शाहको नेतृत्वमा गएको टोलीले गत आइतबार नमुना संकलन गरेको थियो ।

प्रसुुति गृहमा जागेश्वरको जागरणः ३० लाख खर्चेर व्यवस्थापन गरिने फोहोर बेचेर लाखौं कमाई

काठमाडौं । कुनै पनि वस्तु आफैमा फोहोर हुँदैन । जुन वस्तुलाई जहाँ राख्नु पर्ने हो त्यहाँ नराखेर अन्यत्र राखेमा त्यो वस्तु फोहोरमा परिणत हुने हो । पुनः प्रयोग गर्न सकिने वस्तु तथा सामानलाई व्यवस्थित र मिलाएर राखियोे भने त्यो फोहोर हुन सक्दैन । फोहोरलाई व्यवस्थित गरियो भने त्यसलाई कुनै विधी वा पद्धतीबाट पुनः प्रयोग गर्न सकिन्छ । तर, हामी भने फोहोरलाई फोहोरकै रुपमा लिएर जथाभावी रुपमा फ्याँक्छौं । जसको असर व्यक्ति आफै र समाजलाई पर्छ । फोहोर व्यवस्थापन गर्न नत धेरै समय चाहिँन्छ नत कुनै ठूलो खर्च नै । त्यसको लागि चाहिँन्छ त केवल आइडिया । कुरा चार वर्ष अगाडिको मात्र हो । काठमाडौंको प्रसुति गृह तथा स्त्री रोग अस्पताललाई आफ्नो अस्पताल परिसरमा भएको फोहोर व्यवस्थापन गर्न हम्मेहम्मे पर्थ्याे । अस्पतालमा भएको फोहोर र दुर्गन्धले अस्पताल मात्र होइन, अस्पतालका कर्मचारीलेसमेत बदनामी हुनु र पटक–पटक वाक्क–दिक्कका कुरा सुन्नु पर्ने अवस्था थियो । त्यति मात्र होइन, अस्पतालले अस्पतालमा भएको फोहोर व्यवस्थापन गर्नका लागि वार्षिक ३० लाख रुपैयाँ खर्चिनु पर्ने बाध्यता थियो । त्यसपछि प्रसुति गृहको प्रमुख भएर आए जागेश्वर गौतम । उनले अस्पतालको दुर्गन्ध र वार्षिक ३० लाख रुपैयाँ तिर्नु परेको परिस्थितीलाई अन्त्य गर्ने सोच बनाए । अस्पताल परिसर सफा सुग्घर मात्र होइन चार वर्ष अगाडि खर्चनु परेको ३० लाख रुपैयाँ घटाएर अहिले वार्षिक ३७ लाख रुपैयाँ नाफामा छ । अस्पतालको फोहोर व्यवस्थापन गर्ने उनकै आइडियाले अहिले परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पताल सफा सुग्घर र चिटिक्क छ । अस्पताल परिसर सफा सुग्घर मात्र होइन चार वर्ष अगाडि खर्चनु परेको ३० लाख रुपैयाँ घटाएर अस्पताल अहिले वार्षिक ३७ लाख रुपैयाँ नाफामा छ । हाल अस्पतालले अस्पतालबाट निस्केको फोहोरलाई व्यवस्थापन तथा विक्री गरेर ७ लाख रुपैयाँ कमाउने गरेको प्रमुख गौतमले बताए । अस्पतालले महिनाभरि गरेको जोखिमरहित र जोखिमयुक्त फोहोर व्यवस्थापन गरेर बेच्ने गौतमको भनाइ छ । ‘महिनाको अन्तिमतिर फोहोर विक्रीको लागि टेण्डर गर्छौं, फोहोरलाई पुनः प्रयोग गर्ने कम्पनीका मानिस आएर लैजाने गरेका छन्,’ उनले भने । फोहोर बेचेरै मासिक ६० हजार रुपैयाँ आम्दानी हुने गौतमले बताए । ‘अस्पतालको फोहोर व्यवस्थापन संसारभरमै चुनौतीको विषय रहेको उनको भनाइ छ । ‘अस्पतालले फोहोरहरु छुटाईसकेपछि त्यसलाई फोहोर व्यवस्थापन कक्षमा पठाउँछ, फोहोर व्यवस्थापनकै लागि हामीले पूर्णकालिन रुपमा ६ जना कर्मचारी खटाएका छौं, उनले भने । जोखिमरहितलाई स्टोर गरेर राखिन्छ र जोखिम युक्त फोहोरलाई अस्पतालले अटोकेल्भले आफै निर्मलीकरण गर्दछ। उपचारका लागि अस्पतालमा आउने मानिसहरु अस्पतालकै फोहोरले झन बढी समस्यामा पर्ने गरेका उदाहरण धेरै छन् । विशेष गरेर फोहोरले सरुवा रोग फैलिने गर्छ । यसरी फोहोर व्यवस्थापन गरेर विक्रि गर्नु आफुहरुको कला भएको गौतम बताउँछन् । अप्रेसन गर्दा एक पटक प्रयोग भएको सामाग्री दोस्रो पटक प्रयोग गर्नुहुँदैन । यसलाई पुन: प्रयोग गर्नको लागि उक्त जोखिमयुक्त सामाग्रीलाई सफा गरेर, सुख्खा पारेर, १ सय २१ डिग्रि सेन्टीग्रेड तापक्रम आधा घण्टा पकाएर त्यसलाई जोखिमरहित सामाग्री बनाएर पुनः गर्न सकिने उनको भनाइ छ । हाल परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालसँग दुई अटोक्लेभ (सरसफाई गर्ने मेसिन) छन् । अस्पतालले अटोक्लेभ प्रयोग गरेर मात्र जोखिमयुक्त सामानलाई डिस्पोज गर्दै आएको छ । कागज पुनः प्रयोगमा आउँदा हजारौं रुखहरु काटिनबाट बच्ने उनले बताए । यसले हरियाली पनि कायम राख्ने र वातवरणलाई पनि प्रभाव कम पर्दछ । त्यसैले पनि फोहोर व्यवस्थापन सबैका लागि आवश्यक रहेको गौतमको भनाइ छ । हिक्याप, विश्व स्वास्थ्य संगठन र कर्मचारीलाई १ वर्षको तालिम पछि मात्र अस्पतालले आफै फोहोर व्यवस्थापन गर्न सकेको गौतमले बताए । जोखिमरहित फोहोर भन्नाले कागज, पाल्स्टिक, सलाईनका बोटलहरु हुन् । यस्तै, जोखिमयुक्त फोहोर भन्नाले रगत, रगत लागेका कपडा, शरीरबाट बग्ने पानी, मासु, दिसा–पिसाब हुन् ।

किन हुन्छ पुरुष र महिलामा बाँझोपन ? यसरी सम्भव हुन्छ उपचार

काठमाडौं । प्रत्येक ६ जोडीमध्ये १ जनामा बाँझोपनको समस्या हुने गर्दछ । कुनै पनि जोडीको एक वर्षसम्म गर्भधारण गर्ने प्रयास विफल हुन्छ भने उनीहरु एक वा दुवैमा बाँझोपना भएको बुझिन्छ । बाँझोपन भन्ने बित्तिकै मानिसहरुले सामान्य रुपमा महिलालाई हुने समस्याको रुपमा बुझ्छन् । तर, बाँझोपनको समस्या महिलालाई मात्र हुँदैन । महिला र पुरुष दुबै बाँझोपनको समान रुपमा सिकार हुन्छन् । सय जना दम्पतीमा चाहेको बेला १५ जनामा गर्भ नबस्ने समस्या हुन्छ । चाहेको बेला भन्नाले १ वर्षसम्म परिवार नियोजनको कुनै पनि साधन प्रयोग नगरी यौन सम्बन्ध राख्दा पनि गर्भ नबस्नु हो । यसलाई निःसन्तानपन भनिन्छ । यो दुई प्रकारको हुन्छ । एउटा रहेको छ प्राइमरी इनफर्टिलिटी जो कहिले पनि बच्चा नपाएकालाई भनिन्छ । दोस्रो, सेकेण्डरी इनफर्टिलिटी जो एक पटक बच्चा भइसकेर पनि दोस्रो पटक बच्चा हुँदैन । साधरणतय महिलाको कारणले गर्भ नबस्ने समस्या ४० प्रतिशत जति हुन्छ भने पुरुषको कारणले ३० प्रतिशत जति हुन्छ । र, दुवै जनाको कारण वा बिनाकारण बच्चा नबस्ने समस्या ३० प्रतिशत हुन्छ । पुरुषलाई किन हुन्छ बाँझोपन ? गर्भ बस्नलाई लाखौं सुक्रकिट बन्नु पर्छ । त्यसैले सुक्रकिट धेरै नबन्नु पुरुषमा बाँझोपन हुनुको एक कारण हो । राम्रोसँग विकास नभएको टेसटिसका कारण पनि पुरुषमा बाँझोपनको समस्या हुन्छ । टेसटिसहरु पेटमा विकास हुन्छ । पुरुष बच्चा जन्मँदा नौं महिना पुगेर जन्मेपछि टेसटिस अण्डकोषमा आएर बाहिर निस्केर बस्छ । कतिको भित्रै अड्केर बसेको पनि हुन्छ । त्यस्तो अवस्थामा पनि सुक्रकिट बन्दैन र बाँझोपन हुने गर्दछ । टेस्टिस (अण्डकोष) को वरिपरि भेरिकोसिल (रगतको नशाहरु फुल्ने समस्या) को कारण पनि शुक्रकिट नबन्ने हुन्छ । शुक्रकिट बन्ने तापक्रम भनेको ३३–३४ डिग्रि सेन्टीगे्रड हो । शरीरको तापक्रम ३७ डिग्रि सेन्टीगे्रड हुन्छ । यसै कारण टेसटिस शरीरभन्दा केही टाढा रहेको हुन्छ । जसले गर्दा तापक्रम नियन्त्रण भएर शुक्रकिट बन्छ । तर, केही मानिसहरु एकदमै तापक्रम भएको ठाउँमा काम गर्छन्, एकदमै टाईट लुगा लगाउँछन्, तातो पानीमा धेरै नुहाउँछन् भने उनीहरुमा पनि शुक्रकिटको संख्या कम हुन्छ । अर्काे कारण भनेको संक्रमणले हो । सिफिलिस, गोनोरिया जस्ता यौन रोगले शुक्रकिट आउने बाटो बन्द गरिदिन्छ । सेतो पदार्थ आउँछ तर त्यसभित्र शुक्रकिटहरु हुँदैनन् । अर्काे कारण हो एन्टीक्यान्सर औषधी र साईटोटक्सिक औषधी । त्यसले पनि शुक्रकिट नबन्ने हुन्छ । कसैले रेडियोथेरापी दिएको छ वा शरीरमा विकिरणको प्रयोग धेरै भएको छ भने पनि शुक्रकिट उत्पादनमा समस्या हुन्छ । यस्तै, सर्जिकल अपरेसन गरेर टेस्टिस निकालिएको छ वा हर्नियाको अपरेसन गर्दा टेसटिसको तापक्रम गडबड भएको छ भने पनि पुरुषमा बाँझोपनको समस्या हुन्छ । महिलालाई किन हुन्छ बाँझोपन ? डिम्बा अण्डा नबन्नु महिलामा बाँझोपन हुनुको मुख्य कारण हो । यो नबन्ने अवस्थालाई पोलिसिस्टिक ओभरियन डिजिज भनिन्छ । केमोथेरपी, रेडियोथेरापी, ओषधीको प्रयोग र अन्य धेरै कारणले अण्डा बन्दैनन् । फ्यालोपिन ट्युब बन्द भएर पनि समस्या उत्पन्न हुन्छ । यस्तो समस्या भएको अवस्थामा अण्डा बन्ने तर पाठेघरसम्म नपुग्ने अवस्था रहन्छ । यस्तै, पाठेघर नै खराब भएर पनि महिलामा बाँझोपनको समस्या देखिन्छ । उपचारहरु के के छन् ? सबैभन्दा पहिला के कारण बाँझोपन भएको भन्ने पत्ता लगाउन जरुरी छ । किनभने हरेक समस्याको भिन्नाभिन्नै उपचार विधि छ । जस्तै शुक्रकिट कम भएको छ भने त्यो किन कम भयो भन्ने पत्ता लगाउन पर्छ । अण्डा नबन्ने समस्यो हो भने अण्डा बनाउने औषधीको प्रयोग गर्नुपर्छ । यस्तै, फ्यालोपिन ट्युब बन्द छ भने नली खोल्ने अप्रेसन गर्नुपर्छ । पाठेघरमा मासु पलाएर वा पाठेघरकै अन्य समस्याले बच्चा नबसेको हो भने त्यो निकाल्न सकिन्छ । त्यसैले पहिला कारण पत्ता लागउनु पर्छ । जस्तै अण्डा बनेको छ कि छैन भनेर अल्टा«साउण्डबाट हेर्न सकिन्छ । शुक्रकिट ठिक छ कि छैन भनेर ल्याबमा जाँच्न सकिन्छ । यस्तै, नली खुला छ कि छैन भनेर हिस्टेरोसाल्पिङ्गोग्राम, सानोस्टेरोग्राम अथवा ल्याप्रोस्कोपी गरेर हेर्न सकिन्छ । के कारणले बच्चा नभएको हो भनेर पत्ता लगाउने विधिहरु छन् । यसरी कारण पत्ता लागेपछि सोही अनुसार उपचार गर्नुपर्छ । आईभिएफ र आईयुआई उपचार विधि यदि पुरुषको सुक्रकिट नै छैन र भित्र टेसटिसमा मात्र त्यो छ भने त्यसलाई लिएर टेस्ट्युब बेबी बनाउन सकिन्छ । यदि पुरुषको भित्र शुक्रकिट पनि छैन र बाहिर पनि छैन भने उसले आफ्नो पार्टनरलाई दोस्रो पुरुषको शुक्रकिट राखेर प्रसोधन गरेर पाठेघरमा राख्न सकिन्छ । यसलाई कृत्रिम गर्भाधान भनिन्छ । कृत्रिम गर्भाधान दोस्रो व्यक्तिको सुक्रकिट लिएर पनि गर्न सकिन्छ र आफ्नै श्रीमानको पनि लिएर गर्न सकिन्छ । यसलाई आईयुआई भनिन्छ । यसमा महिलाको डिम्बा भित्रै बन्छ र शुक्रकिटलाई मात्र भित्र पठाइन्छ । यो गर्नको लागि १० देखि १५ हजार खर्च लाग्दछ । यस्तै महिलाको लागि भने आईभिएफ विधि पनि छ । बच्चा बसाउने यो अर्को विधि हो । यसले महिलाको अण्ड बनाउने काम गर्छ । साधारणतः महिलालमा एक महिनामा एउटा अण्डा बन्छ । औषधीहरु दिएर महिनामा ५–७ वटा अण्डा बनाउन सकिन्छ । त्यो बनेको अण्डा वा डिम्बलाई अल्ट्रासाउण्डको माध्यमबाट योनीबाट सुईको माध्यमले सबै निकाल्न्छि । यसरी निकालिएको अण्डामा पुरुषको शुक्रकिट मिसाइन्छ । अनि ४८ घण्टापछि कुन कुनमा गर्भधान भएको छ भनेर हेरिन्छ । त्यसपछि त्यसमध्येको बनेको दुई भु्रण योनीबाट सुइको माध्यमबाट पठाईन्छ । यो दुईटा नली काटेको महिलामा पनि गर्न सकिन्छ । यो विधिको उपचार गर्नको लागि औषिधी उपचारसहित २ लाख रुपैयाँसम्म खर्च लाग्ने गर्दछ । निसन्तान पनबाट बच्ने उपायहरु –तौल बढी र कम पनि हुनुहुँदैन –नियमित व्ययाम र तागतिलो खाना खाने –पुरुषहरुले धेरै गर्मी ठाउँमा काम नर्गने, टाईट कपडा नलगाउने उमेरले बाँझोपनमा प्रभाव पार्छ उमेरले बाँझोपन प्रभाव पार्छ । सानो उमेरले बाँझोपनमा खासै प्रभाव नपारेपनि ३५ वर्षपछि महिलाहरुमा बच्चा बस्ने सम्भावना कम भएर जान्छ । एक महिलामा डिम्ब उत्पादन हुन फोलिकलको आवश्यकता पर्छ । उमेरको बृद्धिसँगै फोलिकल उत्पादनमा कमी हुँदै जान्छ । एक जना महिलामा जीबनभर ५ सय फोलिकल मात्रै बन्छ र उमेर बढेसँगै घट्दै जान्छ । तर यसको मतलब ३५ वर्षपछि बच्चा हुनै सक्दैन भन्ने भने होइन । एउटा महिला र पुरुषको लागि बच्चा पाउन उपयुक्त उमेर २० वर्षदेखि ३० वर्ष रहेको छ । (परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीका निर्देशक जागेश्वर गौतमसँग विकासन्युजका लागि डोमी शेर्पाले गरेको कुराकानीमा आधारित)