बारा पनि खुल्ला दिसामुक्त जिल्लामा, शाैचालय बनाउन मात्र १ अर्ब ३७ करोड खर्च

काठमाडौं । प्रदेश नम्बर २ अन्तर्गतको बारा जिल्ला खुल्ला दिसामुक्त घोषणा भएको छ । १ लाख ५ हजार घरधुरीमा शौचालय निर्माण गर्न १ अर्ब ३७ करोड बराबर रकम खर्च भएका जानकारी दिएका छन्। प्रदेश नम्बर २ का भौतिक यातायात मन्त्री जितेन्द्र सोनमको प्रमुख आतिथ्यतामा खुल्ला दिसामुक्त घोषणा गरिएको हो । कार्यक्रममा मन्त्री सोनमले प्रदेश नम्बर २ कै उच्च सफलता बारा जिल्लालाई लिन सकिने बताए । उनले भने, ‘गरेपछि हुन्छ भन्ने एउटा उदाहरण हो बारा । यो प्रदेश नम्बर २ मै उच्च सफलता हो ।’ त्यस्तै कार्यक्रममा संघीय सरकारका प्रतिनिधि खानेपानी तथा ढल व्यवस्थापन विभाग वातावरणीय सरसफाइ शाखा प्रमुख देवेन्द्र झाले बारा जिल्ला घोाषणा भएकोमा खुशी व्यक्त गरे । नेपाल खुल्ला दिसा मुक्त हुन अब १७ दिन बाँकी हुँदैमा बारा जिल्लाले घोषणा गरेको छ । सरकारले नेपाललाई प्राथमिक सरसफाइमा दक्षिण एशियामै अग्रस्थान बनाउने प्रयत्न स्वरुप आगामी असोज १३ गते खुल्ला दिसामुक्त घोषणा गर्न लागेको हो । यस अभियान अन्तर्गत आज शुक्रबार बारा जिल्ला खुला दिसामुक्त घोषणा भएको छ । यसपछि भोलि शनिबार २८ गते पर्सा, ३० गते सर्लाही र बाँकी सबै जिल्ला ३१ गते खुला दिसामुक्त घोषणा राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति सचिवालयले जानकारी दिएको छ ।

नर्भिकमा डेङ्गू बिरामीहरुको चाप बढेका कारण छुट्टै वार्डको व्यवस्था

काठमाडौँ । हालै मुलुकमा महामारीकै रुप लिनथालेको डेङ्गू रोगका विरामीहरु बढ्ने क्रममा रहेका कारण नर्भिक इन्टरनेशनल हस्पिटलले त्यसखाले रोगीहरुको विशेष व्यवस्थापन एवम् उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको छ । हाल नर्भिकमा १ दर्जन भन्दा बढी डेङ्गू ज्वरोका विरामीहरु उपचाररत रहेका छन् । विरामीको चाप बढ्दो क्रममा रहेका कारण त्यस्ताविरामीहरुकालागि छुट्टै क्लिनिकर छुट्टै वार्डको व्यवस्था गरिएको हो । सो वार्डमा हाललाई सुविधा सम्पन्न ६ वटा शैयाको व्यवस्था गरिएको छ । वार्डमा डेङ्गू हेल्प डेस्क र डेङ्गूका विरामीहरुको शीघ्र तथा उपयुक्त रेखदेख, व्यवस्थापनएवं उपचारका लागि छुटै हेल्पलाइनको समेत व्यवस्था गरिएको छ । सहुलियतपूर्ण दर/रेटमा उपलब्ध हुने उक्त क्लिनिक/वार्डमा चिकित्सकहरु तथा नर्सिङ्ग स्टाफहरु २४ सै घण्टा सेवारत रहने छन् भने विशेष सहुलियत दरमा डेङ्गू परिक्षण किट समेत उपलब्ध हुनेछ ।

सहकारीद्वारा सबै शेयर सदस्यको निःशुल्क उपचार

सुरुङगा । नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक लाख ४३ हजार ८५१ शेयर सदस्य पुर्याएको छ । यो सँगै देशकै सबैभन्दा धेरै शेयर सदस्य भएको सहकारीका रुपमा स्थापित भएको लिमिटेडले जनाएको छ । झापाको विर्तामोड नगरपालिका– २ चारपानेमा मुख्य कार्यालय रहेको सहकारीले अहिले ६५ वटा सेवा केन्द्रमार्फत पूर्वका छ जिल्लामा सेवा प्रदान गर्दै आएको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिएका छन् । गिरीका अनुसार सहकारीको संस्थागत पूँजी आठ प्रतिशतभन्दा माथि रहेको छ । आठ अर्ब ५६ करोड कूल पूँजी रहेको सहकारीको शेयर पूँजी मात्रै एक अर्ब २४ करोड रुपैयाँ रहेको सहकारीका कार्यकारी निर्देशक गिरीले बताए । चार अर्ब ६१ करोड रुपैयाँ बचत रहेको सहकारीले छ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेको बताइएको छ । एक अर्ब १५ करोड रुपैयाँ जगडा तथा अन्य कोषमा रहेको सहकारीमा बाह्य ऋण एक अर्ब ४४ करोड रुपैयाँ रहेको बताइएको छ । सहकारीले आर्थिक वर्ष २०७५/०७६ मा आयकरबापत एक करोड ५९ लाख ८३ हजार २ सय ८३ रुपैयाँ र अन्य विविध कर तीन करोड ६८ हजार ९६८ रुपैयाँ गरी चार करोड ६० लाख पाँच हजार २२५ रुपैयाँ कर तिरेको जनाएको छ । सहकारीले अहिले आफ्ना शेयर सदस्यलाई जटिल प्रकारको रोग लागेको खण्डमा निःशुल्क उपचार गर्दै आएको छ भने मधुमेह, ब्लडप्रेसर र थाइराइड जस्ता रोगीलाई जीवन बरदान कार्यक्रममा सहभागी गराई औषधिसमेत वितरण गर्दै आएको छ । विसं २०८० भित्र सबै शेयर सदस्यको निःशुल्क उपचार गर्ने लक्ष्य लिएको सहकारीले अहिले जीवन वरदान कार्यक्रम लागू गरेपछि धेरै शेयर सदस्यलाई राहत मिलेको सहकारीका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताएका छन् । उहाँले भने, “अहिले सहकारीका शेयर सदस्यलाई जटिल प्रकारको रोग लागेको पाइएपछि उसको उपचार निःशुल्क हुन्छ, तर, २०८० देखि जस्तोसुकै रोग लागे पनि शेयर सदस्यको निःशुल्क उपचार गर्ने तयारी गरिरहेका छौँ, यसका लागि विभिन्न अस्पतालसँग सहकार्य भइरहेको छ । ” रासस