निर्माणाधीन गेटा मेडिकल कलेजको काम ८० प्रतिशत सम्पन्न

घोडाघोडी । सुदूरपश्चिम प्रदेशको कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज निर्धारित समयमै निर्माण सम्पन्न हुने भएको छ । गोदावरी नगरपालिका–५ गेटामा निर्माणाधीन उक्त कलेजको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ । भौतिक पूर्वाधार निर्माणको काम भइरहेको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले जानकारी दिएका छन् । आर्थिक वर्ष २०७३÷७४ देखि सात प्याकेजमा कलेज निर्माणको काम शुरु भएको हो । “भवनको भित्री सबै काम पूरा भइसकेको छ”, साउदले भने । छ सय श्यया रहने सो कलेज निर्मणको काम कुमार श्रेष्ठ निर्माण सेवाले गरिरहेको छ । दुई प्याकेजमा भवन निर्माण गरिरहेको साउदले बताएका छन्। कलेजमा हाल सानाठूला गरी २७ वटा भौतिक संरचना निर्माण भइरहेका छन् । कलेजको छात्रवास निर्माणको जिम्मा पाएको लुम्बिनी रमण केएस जेभीले ७० प्रतिशत काम सम्पन्न गरेको छ । “एक वर्षपछि चिकित्सा शिक्षाको पढाइ शुरु हुनेछ”, साउदले भने । सुदूरपश्चिम प्रदेशको समृद्धिसँग जोडिएको उक्त कलेज निर्माणको घोषणा आव २०६६ र ०६७ मा भएको हो । कलेज सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको छ । “आवश्यकताअनुसार थप पूर्वाधार निर्माण गर्दै जानेछौँ”, उनले भने । प्रदेशमा हालसम्म एउटा पनि मेडिकल कलेज छैन । रासस

लामखुट्टेको लार्भा नष्ट नगरेसम्म डेंगुबाट बच्ने कुनै पनि उपाय छैन: डा. अनुप बास्तोला

काठमाडौं। देशभर डेंगुले मानिसहरुको जीवन प्रभावित भएको छ। जाडोमा केही समय लुकेर बस्ने र गर्मी महिनाको आगमनसँगै सकृय हुने डेंगुले यसपटक भने महामारीको रुप लिएको हो। धरानबाट सुरु भएको डेंगु हालै देशको ४८ जिल्लामा फैलिसकेको छ। गत सालहरुमा काठमाडौंमा फाट्टफुट्ट देखिएको डेंगुका बिरामीको संख्या यसपटक भने असामान्य तरिकाले बढेको छ। काठमाडौंका अस्पतालहरु डेंगु परीक्षण गर्ने मानिसको चाप बढेको बढ्यै छ। अझै स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल अस्पतालमा डेंगु जाँच निशुल्क गराएपछि अस्पताललाई बिरामीको चाप थेग्न गार्हो भएको हो। बिरामीको चाप अत्याधिक बढेका कारण वीर अस्पतालमा पनि शुक्रबारदेखि डेंगु परीक्षण थालिएको छ। सरकारी तथ्यांकले ३ हजार ८ सय ९९को हाराहारीमा डेंगुको बिरामी देखाए पनि बिरामीहरु यसको दोब्बर भएको डाक्टरहरु बताउँछन्। शुक्रराज ट्रपिकल अस्पतालमा मात्रै दैनिक १५० जना भन्दा बढी व्यक्तिहरुमा डेंगु देखिएको छ। यसबाहेक देशका अन्य निजी अस्पतालहरुमा पनि बिरामीको चाप बढेको बताउँछन्। टेकुस्थित राष्ट्रिय प्रयोगशालामा मात्रै सेप्टेम्बर १ देखि ४ तारिखको अवधिमा मात्रै ३८४ जना व्यक्तिले डेंगु परीक्षण गराएका छन्। ४ दिनको अवधिमा परीक्षण गराएका ३८४ मध्ये १४४ जनामा डेंगु पोजिटिभ देखिएको छ। जबकी सरकारी तथ्यांकले २ महिनाको अवधिमा काठमाडौंमा २५४ मा डेंगु देखिएको बताउँछ। मानिसहरुको बिच अहिले त्रासको रुपमा रहिरहेको डेंगुलाई यदी हामीले थोरै मात्र पनि ध्यान दियौं भने सजिलै रुपमा यसबाट बच्न सक्छौं। टेकु अस्पतालका डा. अनुप भन्छन्,’जब मानिसहरुले लामखुट्टेको लार्भा नै कस्तो हुन्छ भनेर चिन्दैनन् त कसरी डेंगुको नियन्त्रण हुन्छ।’ मानिसहरुले सरसफाइलाई ध्यान दिएर घर अगाडिका पानी जमेका ठाउँहरु पुरिदिने, खाली भाँडामा जम्मा भएका पानी फ्याँकिदिने र घर बाहिर निस्कँदा लामो बाहुला भएका लुगा लगाउने हो भने डेंगुबाट डराउनु पर्ने कुरै छैन।’ उनी भन्छन्, लार्भा नस्ट नगरेसम्म डेंगुबाट बच्ने कुनै उपाय नै छैन।’ कसरी लाग्छ डेंगु ? कुनै पनि क्षेत्रमा डेंगु देखिनको लागि उक्त क्षेत्रमा संक्रमित लामखुट्टे हुन जरुरी छ। जब ती संक्रमित लामखुट्टेले फुल पार्छ त्यसमा भएको डेंगुको संक्रमण बच्चामा सर्न गई मानिसलाई टोकेको खण्डमा सर्न जान्छ। साथै यदी कोही संक्रमित मानिस आवातजावत गर्छ र उसलाई आवतजावतको क्रममा कुनै लामखुट्टेले टोकेको अवस्थामा उक्त लामखुट्टे संक्रमित भई अन्तत अन्य लामखुट्टेमा उनको संक्रमण सर्न जान्छ। लामखुट्टेको लार्भा एडिज इजीप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा यो लामखुट्टेले अण्डा पार्दछ। यो प्रजातिका लामखुट्टेले मुख्यतः सफा जमेको पानीमा अण्डा पार्दछ र दिउँसोको समयमा मानिसहरुलाइ टोक्ने गर्दछ। यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ​, जुन अरु प्रजातिका लामखुट्टेमा पाइदैन। कुन समयमा लामखुट्टे बढी सकृय हुन्छन् ? लामखुट्टेहरु विशेष गरेर दिउँसोको समयमा सकृय हुन्छन्। अझै दसैंको समयमा यो बढी सकृय हुने गर्दछ। उक्त समयमा लामखुट्टेको अण्डाहरु पानीसँग बगेर ठाउँठाउमा पुग्ने, मानिसहरु अत्याधिक आवतजावत गर्ने समय भएको कारण मानिसहरुबाट सर्ने गर्दछ। लक्षण डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ । – असाध्यै टाउको दुख्ने – आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने – ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने – शरीरमा बिमिरा आउने – वाकवाकी लाग्ने – पेट दुख्ने – नाक वा गिजाबाट रगत बग्ने – रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ । कसरी बच्ने ? – पानी जमेको ठाँउमा लामखुट्टेले बढी प्रजनन गर्ने भएकाले खाल्डाखुल्डी पुर्ने – ढल र पानी जम्ने ठाउँ हप्तैपिच्छे सफा गर्नुका साथै पानीलाई जम्न नदिई बग्ने बगाउने। यसले लामखुट्टेको प्रजननमा बाधा पुर्याई नियन्त्रण गर्न सजिलो बनाउँछ। – जुनै समयमा पनि सुत्दा अनिवार्य झुल प्रयोग गर्ने, बजारमा अहिले झुलमा पर्नेबितिकै लामखुट्टे मर्ने झुल पाइन्छ, यसको प्रयोग गर्ने – घरका झ्याल–ढोकामा लामखुट्टे भित्र जान नदिन जाली प्रयोग गर्न – लामखुट्टेको टोकाइबाट बच्न पाइने क्रिमको प्रयोग गर्ने, सुत्ने वेलामा जिउमा क्रिम लगाएर बिहान नुहाउने – घर बाहिर जाँदा लामो बाहुला भएको कपडाको प्रयोग गर्ने विश्वव्यापी अवस्थाहरु विगत केही दशक देखि विश्व भरी नै डेंगु रोगको संक्रमण अत्याधिक रुपमा बढ्दै गइरहेको छ । बितेको ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइन्छ । विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका छन् : १२८ भन्दा बढी मुलुकका ३.९ अर्ब मानिसहरु यस रोगको जोखिमको क्षेत्रमा बसोबास गर्दछन् । प्रत्येक वर्ष झन्डै ३९ करोड डेंगु रोगको संक्रमण हुने गर्दछ भने २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गर्दछ । मृत्‍युदर सामान्य डेँगुमा मृत्यु हुने सम्भावना ज्यादै न्यून हुन्छ। २००४ देखी २०१९ सम्मा आउँदा नेपालमा डेंगुको कारण १५ जनाको मात्रा मृत्‍यु भएको छ। Dengue Haemorrhagic Fever (DHF) and Dengue Shock Syndrome (DSS): कुनै उपचार नगरेको खण्डमा ५० प्रतिशतसम्म बिरामीको मृत्यु हुन सक्छ। समयमा राम्रो उपचार पाएको खण्डमा मृत्युदरलाई १-२% सम्म झार्न सकिन्छ। (सरुवा रोग बिशेषज्ञ अनुप बास्तोलासँगको कुराकानीमा आधारित)

अस्पतालमा ज्वरोका बिरामी हालसम्मकै उच्च

चितवन । भरतपुर अस्पतालमा आइतबार हालसम्मकै बढी बिरामीले बहिरङ्ग सेवामा टिकट काटेका छन् । उक्त दिन एक हजार ९२२ बिरामी अस्पताल आएकामा ९०० भन्दा बढी मेडिकल विभागका रहेका थिए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल विभागका लागि टिकट काटेकामध्ये अधिकांश ज्वरोका बिरामी थिए । तीमध्ये धेरैलाई डेङ्गु र केहीलाई इन्फ्लुएन्जा भएको पौडेलले जानकारी दिएका छन् । अस्पतालका मेडिकल विभाग प्रमुख डा. प्रकाश खतिवडाका अनुसार विभागमा पाँच जना मात्र विशेषज्ञ चिकित्सक रहेका छन् । नयाँ ९०० र पुराना ३०० भन्दा बढी बिरामी अस्पताल आएपछि चिकित्सकले सबै बिरामी हेर्न नसकेको उनले जानकारी दिए । बाँकी रहेका करिब १०० लाई आज पहिलो प्राथमिकतामा राखेर परीक्षण गरिएको उनले बताएका छन् । अहिलेको चिकित्सकको सङ्ख्याले यो चाप थेग्न नसक्ने खतिवडाको भनाइ छ । सामान्य समयमा ४५० हाराहारी नयाँ र १५० पुराना हेर्दै आएकामा एकाएक दोब्बरभन्दा बढी बिरामी थपिएको तर चिकित्सक उही भएपछि अस्पतालमा धान्न मुस्किल परेको खतिवडाको भनाइ छ । चाप निकै बढेका कारण अस्पतालभित्र ‘फिवर क्लिनिक’ सञ्चालन गर्ने विषयमा छलफल भइरहेको उनले बताए । खतिवडाका अनुसार अस्पतालभित्रका अन्तरङ्ग सेवाका मेडिकल वार्ड र क्याबिनहरु पनि ज्वरोका बिरामीले भरिएका छन् । करिब १२० ज्वरोका बिरामी अस्पतालमा भर्ना भएको बताइएको छ । जिल्लाका दुई मेडिकल कलेज र २० निजी अस्पताल पनि ज्वरोका बिरामीले भरिएका छन् । स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार साउन यता आइतबार साँझसम्म तीन हजार ४०० जनाको डेङ्गु परीक्षण गरिएकामा एक हजार २०६ जनामा सङ्क्रमण देखिएको छ । डेङ्गुकै कारण दुई जनाको मृत्यु भइसकेको छ । रासस