जापानले नर्सिङ केयर गिभरमा नेपाली कामदार लैजाने, कात्तिकमा परीक्षा
काठमाडौं । जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो । पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको हो । जापानमा रोजगारीका लागि योग्य हुन जापानी भाषा तथा सीप परीक्षा उतीर्ण गर्नुपर्ने छ । ‘स्पेसिफाइड स्किल्ड वर्कश’ अन्तर्गत जापानमा नर्सिङ केयर गिभरमा जान चाहनेले नर्सिङ केयर र जापानी भाषा परीक्षा उतीर्ण गर्नुपर्ने जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । नर्सिङ केयर गिभरमा जापान जान चाहनेले ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ अन्तर्गत ६० मिनेटमा ४५ वटा प्रश्नको लिखित उत्तर दिनुपर्नेछ । जसमा ‘फन्डामेल्टल अफ केयर’को १०, ‘मेकानिज्म अफ द माइन्ड एण्ड बडी’ को ६, ‘कम्युनिकेशन स्किल’ को ४, ‘फिजिकल केयर’ को २० र प्रयोगात्मक अभ्यास अन्तर्गत पाँच वटा प्रश्नको उत्तर दिनुपर्नेछ । प्रयोगात्मक परीक्षा कम्प्युटर प्रणाली (सिबिटी) माध्यमबाट दिनुपर्नेछ । यसैगरी परीक्षार्थीले ‘नर्सिङ केयर जापानीज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’ अन्तर्गत ३० मिनेटमा १५ वटा प्रश्नको उत्तर दिनुपर्नेछ । जसमा ‘टेक्निकल टम्र्स अफ केयर’ ५, ‘कम्युनिकेशन अफ केयर’ ५ र ‘डकुमेन्ट अफ केयर’को ५ गरी १५ अङ्कको भाषा परीक्षा दिनुपर्नेछ । भाषा र सीप परीक्षाका लागि एक हजार जापानी येन दस्तुर बुझाउनुपर्ने उल्लेख गरिएको छ । परीक्षा सम्पन्न भएको एक महिनापछि नतिजा सार्वजनिक हुनेछ । कम्तीमा ६० प्रतिशत अङ्क प्राप्त गर्ने परीक्षामा उतीर्ण हुने जापानी श्रम मन्त्रालयले जनाएको हो । कात्तिक १० देखि १२, १९ देखि २१ र २६ देखि २८ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षाका लागि कसरी आवेदन गर्ने भन्ने बारेमा आगामी असोज १५ गतेभित्र जानकारी दिइने बताइएको छ । नेपाल सरकार र जापान सरकारबीच गत चैत ११ गते नेपाली श्रमिक पठाउने सम्बन्धी ‘सहयोग समझदारी’ (एमओसी)मा हस्ताक्षर भएको थियो । जापानले १४ वटा कार्यक्षेत्रमा विदेशी श्रमिक भित्र्याउने नीति अख्तियार गरेको छ । जापानले कृषि, नर्सिङ केयर, सवारी साधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिक लिने जनाएको छ । नेपाली श्रमिकलाई १४ वटै कार्यक्षेत्रमा खुला गरिएको भए तापनि कुन कुन क्षेत्रमा के कति सङ्ख्यामा नेपाली श्रमिकको माग हुने हो भन्ने विषय निश्चत हुनु बाँकी रहेको श्रम मन्त्रालयले जनाएको छ । रासस
महालक्ष्मी विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता
काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवाप्रदान गर्ने हेतुले नेपालक्यान्सर अस्पताल तथा रिसर्च सेन्टर प्रा. लि.सँग मिति २०७६/०५/१० गते एक सम्झौता गरेको छ। उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गरेका हुन्। उक्त सम्झौता पत्र एक कार्यक्रमकाबीच अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक/सेयरधनीहरुले नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन्। सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी साथै कर्मचारीका परिवारले रेडियोलोजी, .ल्यावरेटरी र बेड चार्जमा १०%, रेडियसन थेरापी र बीचथेरापीमा ५% तथा क्यान्सर स्क्रिनिङ प्याकेजमा १०% आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। देशका ९९ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।
रिलायबल इन्स्योरेन्स तेश्रो वर्षमा, नयाँ योजनाहरु ल्याउने लक्ष्यः सीईओ लोहनी
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले दोश्रो वर्ष पूरा गरी तेश्रो वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ । उक्त रक्तदान कार्यक्रममा कम्पनीका संस्थापक, सञ्चालक, कर्मचारी, अभिकर्ता र सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो । कम्पनीले आगामी दिनहरुमा हरेक नेपालीलाई सुहाउँदो नयाँ नयाँ योजनाहरु ल्याउने लक्ष्य राखेको प्रमुख कार्यकारी अधिकृत(सीईओ) नारायणबाबु लोहनीले जनाएका छन् ।