एनआईसी एशियाका ग्राहकलाई विराटनगर अस्पतालमा विशेष छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र विराटनगर अस्पताल प्रालि मुनालपथ, विराटनगरबीच सम्झौता भएको छ । बैंकका कर्मचारीलाई विराटनगर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट र बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्णलाई विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं १ अन्तर्गत विराटनगर उपप्रादेशिक कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्य र विराटनगर अस्पतालको तर्फबाट अस्पतालका निर्देशक डा. सुशील परियारले हस्ताक्षर गरेका छन् ।

सांग्रिलाका ग्राहकलाई नेपालगञ्ज र कोहलपुर मेडिकल कलेजमा १० प्रतिशतसम्म छुट

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगञ्ज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेजबीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा साउन १ गतेबाट लागु हुने गरी १०% सम्मको छुट प्रदान गर्ने सहमति भएको छ । उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय, नेपालगञ्जका क्षेत्रीय प्रबन्धक जयन्द्रबहादुर खड्का र लर्ड बुद्घ एजुकेशनल एकेडेमी लि.का प्रबन्ध संचालक डाÞ. सुरेशकुमार कानोडियाले हस्ताक्षर गरेका छन् ।

वर्षात् शुरु भएसँगै झाडावान्ताका बिरामी बढे

चितवन । वर्षात् शुरु भएसँगै दुषित पानीका कारण रोग देखा पर्न थालेको छ । यहाँको सरकारी अस्पताल भरतपुरमा दैनिक झाडावान्ताका बिरामी आउन थालेका छन् । निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीका अनुसार एक सातायता दैनिक सात/आठ झाडावान्ताका बिरामी आउन थालेका छन् । प्रदुषित पानीसँगै भारतबाट आयातित आँपका कारण रोग देखापरेको डा. अग्रहरीले जानकारी दिए । यस्ता बिरामी युवा अवस्थाका छन् । निजी अस्पतालमा पनि झाडावान्ताका बिरामी आउन थालेका छन् । दुषित पानीका कारण झाडावान्ता हुने, पेट दुख्ने, ज्वरो आउने, दिसामा रगत देखिने गर्दछ । झाडावान्ताका कारण शरीरमा पानीको मात्रा कम भएपछि मिर्गौलामा समेत असर पर्ने उनले बताएका छन् । झाडावान्ताले शरीरमा हुने पौष्टिकतत्व र पानीको मात्रा घट्न गई मिर्गौलामा असर पर्दछ भने रक्तचाप कम हुने गर्दछ । सङ्क्रमित पानीमा टाइफाइडको किटाणु पनि हुने हुनाले त्यस्तो पानीले टाइफाइडको ज्वरो आउने अग्रहरी बताउँछन् । यस्तो ज्वरो आउँदा टाउको दुख्ने गर्दछ । अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार बहिरङ्ग सेवामा आएका बिरामीमध्ये १५ प्रतिशत मौसम परिवर्तनसँगै हुने रोगका बिरामी छन् । जसमध्ये सबैभन्दा बढी झाडावान्ताको रहेको उनको भनाइ छ । बाहिरको पानी प्रदुषित हुनसक्ने भएकाले उमालेर चिसो बनाएर पानी पिउन अधिकारीको सुझाव छ । नउमालेको फ्रिजमा राखेर चिसो बनाएको पानीमा किटाणु रहने उनको भनाइ छ । तीस सेकेण्डसम्म साबुन रहने गरी हात धोएर खाना ओसारपसार गरेमा खानेकुराबाट सर्ने ३३ प्रतिशत रोग कमी हुने भन्दै अधिकारीले यो मौसममा विशेष सावधानी अपनाउनुपर्ने बताए । पानीकै कारण जिल्लामा समय–समयमा रोगको महामारी हुने गरेको छ । २४सै घण्टा खानेपानी उपलब्ध नहुने हुँदा पाइप खाली हुँदा ढल वा प्रदुषित पानी पस्न सक्ने सम्भावना रहेको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका प्रमुख ई नारायणप्रसाद काफ्लेका अनुसार सर्वसाधारणकोमा पठाउने पानीमा क्लोरिन राखेर पठाउने गरिएको छ । स्रोतमा समस्या नभए पनि उपभोक्तासम्म पुग्दा पानी प्रदुषित नहोस् भन्न उच्च सावधानी अपनाइने गरेको उनले जानकारी दिए । दुषित पानी पिउन वा खाना बनाउन प्रयोग गरिएमा विभिन्न किसिमका ब्याक्टेरिया, प्रोटोजोवा, भाइरस तथा अन्य जीवाणुले मानव शरीरमा प्रवेश पाउँछन् र रोगहरू सार्दछन् । पानीको स्रोतमा जाँच गर्दा ‘कोलिफर्म’ ब्याक्टेरिया भेटिएमा उक्त पानी पिउनका लागि तथा खाना बनाउन उचित नहुने चिकित्सक बताउँछन् । रासस