रोग लुकाए ज्यान जान्छ : क्यान्सर विजेता

काठमाडौं। पाठेघरको मुखको क्यान्सर निको भएका बिरामीले रोग लुकाउन नहुने बताएका छन् । भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बुधबार यहाँ आयोजना गरेको पाठेघरको मुखको क्यान्सर विजेताहरुको जमघटमा सहभागी महिलाले सो कुरा बताएका हुन् । माडी नगरपालिका–७ कीर्तनपुर निवासी ४६ वर्षीया गोमालक्ष्मी आचार्यलाई विसं २०७२ माघमा पाठेघरको मुखको क्यान्सर देखिएको थियो तर अहिले उनलाई यो रोग निको भएको चिकित्सकले बताएका छन् । आफूमा रोग देखिँदै गर्दा महीनावारी हुने समयभन्दा अगाडि नै रगत आउने, पेट दुख्ने, पिसाब गन्हाउने भएपछि अस्पताल आएको आचार्यले बताइन्। समयमै अस्पताल आएकाले रोग पत्ता लागेर नियमित चिकित्सकको सल्लाहअनुसार उपचार गर्दै जाँदा अहिले पूरै निको भएको भन्दैे नयाँ जीवन पाएकोमा उनी खुशी छिन्। उपचारका क्रममा बाहिरी सेकाइ २३ पटक र भित्री सेकाइ तीन पटक गरेको बताउँदै आचार्यले समस्या लुकाएर बस्नुभन्दा चाँडो समाधान गर्दा जितिने बताइन्। पहिला आफूलाई क्यान्सरका बारेमा केही जानकारी नभए पनि रोग देखिएपछि हरेश नखाइ उपचार गर्दा निको भएको जानकारी दिँदै उनले भनिन्, “रोग लागेपछि लुकाएर बसेको भए म आज यहाँ हुन्थे कि हुन्थिनँ तर अहिले सबैका अगाडि छु।” रोग लागेको थाहा भएपछि परीक्षण गरे क्यान्सरजस्तो रोग पनि निको हुने उनको भनाइ थियो । भरतपुर महानगरपालिकाको फूलबारी निवासी ७० वर्षीया खुमाया आले समयमै यो रोगबार थाहा हुँदा आफू बच्न सकेको बताइन्। आलेलाई आजभन्दा चार वर्षअघि पाठेघरको मुखको क्यान्सर देखिएको थियो । शुरुमा त उनी डराइन्। अब मरिन्छ कि भन्ने पनि भयो तर उपचारका क्रममा निको हुँदै गएर अहिले आनन्द भएको उनले बताइन्। “रोग लुकाएको भए यो बूढी बाँच्थी की बाँच्थिन” उनले हाँस्दै भने, “समयमै उपचार पाएकाले मैले क्यान्सर जिते ।” शुरुमा सेतो पानी बग्ने, खानेकुरामा गन्ध आउने, आँखा तिरमिराउने, खुट्टा झमझमाउनेजस्ता लक्षण देखिए पनि अहिले त्यो नरहेको आलेले बताए। सुन्दा डर लाग्ने रोग भए पनि समयमै उपचार गरे निको हुँदोरहेछ भन्दै उनले आफ्नो समस्या लुकाएर नराख्न सबैलाई आग्रहसमेत गरिन्। गाउँ छिमेकमा पनि केही समस्या देखिए अस्पताल जान आफूले सुझाव दिँदै आएको जानकारी दिँदै उनले रोग लाग्यो भनेर चिन्ता लिने हो भने चितामा पुर्‍याउने हुँदा रोग लागेपछि उपचारमा लाग्नु उत्तम रहेको बताए। भरतपुर महानगरपालिका–१२ बसोबास गर्दै आउनुभएकी ४९ वर्षीया देवीकुमारी तामाङ अहिले पहिलेको जसरी नै घरमा काम गर्दै आएकी छिन्। उनलाई गत वर्ष भदौमा पाठेघरको मुखको क्यान्सर देखिएको थियो । अहिले रोग निको भएको छ । आफू बिरामी हुँदा गाउँलेले आश्वासन दिनुभन्दा पनि अब बाँचिदैन भन्ने गरेको सम्झिदै उनले भने, “समयमै रोग पहिचान भयो भने निको हुँदोरहेछ । कसैले पनि रोग लुकाएर नराख्नुस् । रोग लुकाएर राखे ज्यान गुमाउनुपर्छ ।” आफू बिरामी हुँदा घरपरिवारको सहयोग मिलेको बताउँदै उनले परिवार पनि सहयोगी भए जस्तोसुकै रोगबाट बच्न सकिने बताइन्। विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले पाठेघरको मुखको क्यान्सर निको हुने रोग भएकाले यसबारे जनचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको जानकारी दिए। महिलामा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर देखिए पनि समयमै उपचार गरे निको हुने उनको भनाइ थियो । समाजमा खतराको सम्भावना बोकेर बस्नु भएका दिदीबहिनीलाई चेतनाको खाँचो रहेको आचार्यले बताए। अस्पतालको क्यान्सर रोगथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख भोला सिवाकोटीले अस्पतालमा सन् २०१७ मा चार हजार ९७५ नयाँ क्यान्सरका बिरामी थपिएकामा ५४४ लाई पाठेघरको मुखको क्यान्सर देखिएको बताउनुभयो । उहाँका अनुसार सन् २०१६ मा चार हजार ७७५ मध्ये ६०५ मा यो समस्या देखिएको थियो भने सन् २०१५ मा चार हजार ५८१ बिरामीमध्ये ५४४ लाई क्यान्सर देखिएको थियो । विकासोन्मुख देशमा यो रोग बढ्दो छ । रासस

सिजनल फ्लुलाई स्वाइन फ्लु भनेर भ्रम नफैलाऔं : कृषि तथा पशुपन्छी विभाग

काठमाडौं। सिजनल फ्लुलाई स्वाईन फ्लु भनेर भ्रामक प्रचार नगरिदिन कृषि तथा पशुपन्छी विभागले आग्रह गरेको छ। विभागले बिहीवार सुचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो। सिजनल फ्लु ईन्फ्लुएन्जा ए (एच वान एन वान) भाईरसबाट लाग्ने गर्दछ। ईन्फ्लुएन्जा ए को नियमित सर्भिलेन्सबाट हाल सम्म नेपालको बुंगुरमा ईन्फ्लुएन्जा ए (एच वान एन वान) नदेखिएको र यो रोग सर्नमा बुंगुरको कुनै पनि भूमिका नरहेको बताएको छ। यो रोगलाई विश्वो स्वास्थ्य संगठनले समेत मानिसमा देखा पर्ने सिजनल फ्लु ईन्फ्लुएन्जा ए (एच वान एन वान पिडिएम ०९०) भनी नामकरण गरेको छ।

अस्पतालले सञ्चालन गरेको औषधि पसलबाट ६ महिनामा १ करोड नाफा

चितवन । भरतपुर अस्पतालले सञ्चालन गरेको औषधि पसलले गएको छ महिनामा एक करोड ८१ लाख ३० हजार नाफा गरेको छ । अस्पतालले सोही मूल्य बराबरको सहुलियत पनि सेवाग्राहीलाई उपलब्ध गराएको छ । अस्पतालको औषधालय प्रमुख रामहरि ढकालका अनुसार गएको छ महिनामा छ करोड १५ लाख ६० हजार बराबरको औषधि बिक्री गरिएको थियो । अस्पतालले गत आर्थिक वर्षमा नौ करोड ५० लाख २८ हजार बराबरको औषधि बिक्री गरी दुई करोड ६० लाख ८० हजार नाफा गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण पौडेलका अनुसार अस्पतालले बोलपत्र आह्वान गरी औषधि खरीद गर्दै आएकाले सेवाग्राहीलाई निजी क्षेत्रको औषधालयभन्दा सस्तो मूल्यमा औषधि उपलब्ध गराउन सकेको हो । उनले भने, “अस्पतालले जति नाफा राख्छ त्यतिनै बराबरको सेवाग्राहीको रकम बचत हुन्छ ।” बाहिरी औषधालयमा भन्दा ३० प्रतिशतसम्म छुटमा अस्पतालले औषधि बिक्री गर्दै आएको छ । बिरामीको चाप बढ्दै गएपछि अन्तरङ्ग विभागमा शल्यक्रिया, सघन उपचार कक्ष र पोष्टअपका लागि औषधालय थप गरिएको छ । अस्पतालले पछिल्लोसहित तीनवटा औषधालय सञ्चालनमा ल्याएको छ । सरकारले तीन वर्षअघि आफ्नै औषधालय सञ्चालन गर्न निर्देशन दिएसँगै भरतपुर अस्पतालले औषधालय सञ्चालन गरेको थियो । छ सय सैयाको उक्त अस्पतालमा दैनिक एक हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउने गर्छन् । रासस