निजी अस्पताललाई डेडिकेटिड फिडरबाट बिजुली नदिए आन्दोलन
काठमाडौं, २७ फागनु । निजी अस्पताललाई डेडिकेटिड फिडरबाट बिद्युत उपलब्ध नगराए निजी अस्पतालहरुले आन्दोलन गर्ने भएका छन् । निजी अस्पतालहरुको छाता संगठन एसोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल(अफिन)ले डेडिकेटिड फिडरबाट विद्युत नदिए कडा आन्दोलनको चेतावनी दिएको हो । अफिनले बिहिबार एक विज्ञप्ति प्रकाशित गर्दै मानविय स्वास्थ्यसँग जोडिएको सम्वेदनशिल बिषयमा सम्बन्धीत निकाय गम्भिर नभए कडा आन्दोलन गर्ने र त्यसले सर्वसाधारणमा पार्ने असरप्रति सरकार जिम्मेवार हुनु पर्ने पनि जनाएको छ । निजी अस्पतालहरुलाई डेडिकेटिड फिडरबाट विद्युत उपलब्ध गराउन पुनरावेदन अदालत हेटौडाले अन्तरिम आदेश दिएको थियो । अफिनले सो निर्णय कार्यान्वयन गराउनुका साटो उल्टै डेडिकेटिड फिडर काटेको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।
४० दिनलाई पुग्ने औषधी गोदाममा, एक महिनाभित्रै फास्टट्र्याकबाट औषधि खरिद
चितवन, २१ मङ्सिर । भारतको लामो नाका बन्दीका बावजुद ४० दिनलाई पुग्ने औषधी सरकारी गोदाममा रहेको बताउँदै स्वास्थ्य मन्त्रालयले एक महिना भित्रै थप औषधी खरिद गरिसक्ने तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले औषधिको अभाव हुन नदिन स्टक रहेको औषधी नसकिँदै थप औषधी खरिद गरिसक्ने बताएका हुन् । भरतपुरमा पत्रकारहरूसँग कुुराकानी गर्दै उनले गोदामहरूमा बढीमा ४० दिनका लागिमात्रै औषधि भएकाले अब पनि ढिलो भए जीवन सुरक्षाका लागि अत्यावश्यक औषधिको अभाव हुने बताए । उनले पुरानो खरिद प्रक्रियाबाट औषधि झिकाउन सम्भव नहुने भन्दै फास्टट्र्याकबाट औषधि खरिदका लागि कार्यविधि तयार भइसकेको उल्लेख गरे । एक दुई दिनभित्र टेन्डर आह्वान गरिने भन्दै मन्त्री चौधरीले गुणस्तर प्राप्त नेपाली कम्पनीलाई प्राथमिकता दिने बताए । उनले आपूर्तिकर्तालाई हवाई मार्गबाट भए पनि समयमै औषधि आपूर्ति गर्न लगाउने बताए । केही जीवनरक्षक औषधिहरू नेपालमा नबन्ने भएकाले ती औषधि हवाई मार्गबाट ल्याउने गरी फास्टट्र्याकबाटै खरिद गरिने मन्त्री चौधरीले जानकारी दिए । भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षणसमेत गरेका मन्त्री चौधरीले अस्पतालमा अत्यावश्यक उपकरणहरू लामो समयदेखि बिग्रँदासमेत मर्मत नगरी बाहिर महँगोमा परीक्षण गराउँदै आएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । क्यान्सर अस्पतालको सिटी स्क्यान, मेमोग्राम, ब्राकी थेरापीलगायतका महत्वपूर्ण उपकरण लामो समयदेखि बिग्रिएपछि बिरामीले चार गुणा महँगो शुल्क तिरेर निजी अस्पतालमा परीक्षण गराउँदै आएका छन् । मन्त्री चौधरीले ती उपकरण मर्मत गर्न सम्भव भए तत्काल गर्न र मर्मत हुन नसके फास्टट्र्याकबाटै तत्काल खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको बताए ।