सरकारको लक्ष्य: आगामी वर्ष थप ८५० किलोमिटर सडक कालोपत्रे
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा थप ८५० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै हाल ग्राभेल वा कच्ची अवस्थामा रहेका ८५० किलोमिटर सडकहरू आगामी वर्ष कालोपत्रे गरिने जानकारी दिएका हुन्।
साझा यातायातका लागि थप १०० वटा विद्युतीय बस उपलब्ध गराउने सरकारको घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा साझा यातायातका लागि थप १०० वटा विद्युतीय बस उपलब्ध गराउने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। यसअघि पनि सरकारले साझा यातायातलाई सहयोग स्वरूप ४० वटा विद्युतीय बस खरीदका लागि अनुदान दिएको थियो ।
सडक, पुल र यातायात पूर्वाधार विस्तारका लागि १ खर्ब ५२ अर्ब बजेट
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १ खर्ब ५२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सडक र पुल यातायात पूर्वाधार विस्तारमा जोड दिएको घोषणा गरे ।