गाग्री बोकेर खोलातिर जानुपर्ने बाध्यता सकियो, घरमै आइपुग्यो पानी
देउखुरी । दङ्गीशरण गाउँपालिका-६ बागरकी जया चौधरीलाई एक वर्षअघिसम्म गाउँको साझा इनारमा पानीका लागि लाइन बस्नुपर्ने बाध्यता थियो । चैत, वैशाखको खडेरीमा इनार सुकेपछि बिहान ४ बजेदेखि लाइनमा बसेर दुईवटा गाग्रीमा पानी एकैपटक ल्याउनुपर्ने बाध्यता उनलाई अझै स्मरण छ । घरछेउमा बनेको ट्याङ्कीबाट घरघरमा पानी आउन थालेपछि चौधरीको दैनिकी अहिले फेरिएको छ । सहज रूपमा खानेपानी पाउन थालेपछि दैनिकी सहज बनेको भन्दै उनले खुसी व्यक्त गरिन् । 'धाराको पानी प्रयोग गर्न थालेपछि समयको बचत भएको छ । करेसाबारीमा तरकारीखेती गरेर घरमा खान पुग्ने उत्पादन भइरहेको छ', उनले भनिन् । सोही ठाउँकी बुधनी चौधरीले घरको आँगनमा खानेपानीको धारा निर्माण भएपछि दैनिक उपभोग गर्न र गाईवस्तुलाई खुवाउन सजिलो भएको बताइन् । ‘एक घर, एक धारा’ अभियानअन्तर्गत एक वर्षअघि खानेपानी योजना निर्माण सम्पन्न भएपछि घरघरमा पानीको सुविधा पुगेको हो । बुधनीले भनिन्, 'खानेपानीका लागि गाउँभरिमा एउटा इनार थियो, पानी थाप्दा कहिलेकाहीँ त तछाडमछाड भएर झगडा हुन्थ्यो । घरमा नयाँ धारा बनेसँगै अब यो समस्या सधैँलाई समाधान भएको छ । गर्मी मौसममा खानेपानीको मुहान सुक्ने र खानेपानीका लागि गाग्री बोकेर खोलाखोला हिँड्नुपर्ने सास्ती हटेको छ ।' दङ्गीशरण–६ बागर खानेपानी उपभोक्ता समितिका अध्यक्ष रेशम वलीले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको सहयोग र स्थानीयको जनसहभागितामा बोरिङ खनेर पाइप विस्तार गरी घरघरमा पानी वितरण भइरहेको जानकारी दिए । दैनिक दुई घण्टा पानी वितरण गर्दै आइएको भन्दै उनले पानी भण्डारण गर्ने ट्याङकी नहुँदा केही समस्या भएको बताए । 'दुई सय परिवारले पानीका लागि निवेदन दर्ता गरेका छन्, अहिले एक सय ८६ परिवारले सुविधा लिइरहेका छन् भने अरु प्रक्रियामा छन् । मिटर जडान नगरिएकाले मासिक रु दुई सय उपभोक्ताले महसुल तिर्ने गरेका छन्', अध्यक्ष वलीले भने । दङ्गीशरण–६ का वडाध्यक्ष रोशनजङ्ग शाहले बोरिङ पाइपमार्फत वडावासीलाई पानीको सुविधा पुर्‍याइएको बताए । 'चुनावमा एक घर एक धारा दिने भनी मत मागेका थियौँ, सोहीअनुरुप पानी पु¥याउन थालेका छौँ, पानीको सुविधा पुगे पनि पूर्वाधार नहुँदा समस्या भएको छ । पानीको ट्याङ्की छैन, पानी भण्डारणका समस्या छ', उनले भने । सङ्घ र प्रदेश सरकारले संरचना निर्माणमा सहयोग गरेमा स्थानीय सरकारलाई केही सहयोग हुने वडाध्यक्ष शाहको भनाइ छ । स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा काम गर्न समस्या भइरहेको भन्दै उनले सङ्घीय र प्रदेश सरकारले सहयोग गर्न आग्रह गरे । खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख तिलक न्यौपानेले खानेपानी मानिसको पहिलो आवश्यकता भएकाले सबै नागरिकलाई सहज पानी पुर्याउने पहल गरिएको बताए । 'केही खानेपानी आयोजना स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढाइएको र केहीमा बजेट अभावका कारण समयमा काम हुन सकेको छैन', उनले भने । बहुवर्षीय योजना निर्माणमा बढी समय, जनशक्ति लाग्ने भएकाले तत्काल सबैलाई पानी पुर्याउन नसकिएको न्यौपानेले बताए । ‘एक घर, एक धारा’ कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्दै सबैलाई स्वच्छ पानी पुर्याउने लक्ष्यसहित अघि बढेको उनको भनाइ छ । रासस
विद्युत विद्येयक एक महिनाभित्र संसदबाट पास गर्ने उर्जामन्त्री खड्काको घोषणा
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले विद्युत विद्येयकलाई एक महिनाभित्र संसदबाट पास गर्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । निजी उर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालले सोमबार आयोजना गरेको ‘इप्पान डेभलोपर्स मिट-२०२५’ मा बोल्दै उनले विद्युत विद्येयकलाई चाँडो संसदबाट पास गर्ने गरी सरकारले काम गरिरहेको बताए । ‘निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्ने गरी ल्याउन लागिरहेको विद्युत विद्येयकलाई अगाडि बढाउन रातदिन नभनी काम गरिरहेका छौँ, एक महिनाभित्र संसदबाट पास हुन्छ,’ मन्त्री खड्काले भने । मन्त्री खड्काले मन्त्रालयले उर्जा उत्पादनका क्रममा देखिएका बाधा व्यवधानलाई चिरेर काम गर्न लागिरहेको बताए । ‘यो डेभलोपर्स मात्र समस्या होइन, मुलुककै समस्या हो, यो समस्याबाट माथि उठ्न सकिएन भने मुलुक नै समस्यामा पर्छ,’ उनले भने । सरकारले निजी क्षेत्रलाई साथमा लिएर उर्जा क्षेत्रको विकास गर्ने भनेर २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पुरा गर्न उर्जा उत्पादकको महत्वपूर्ण भूमिका रहेको बताए । उनले उर्जा उत्पादनका क्रममा आउन सक्ने विपत्तिका कारण हुने समस्या समाधान गर्न सरकार गम्भीर रहेको उल्लेख गरे । सरकारले ल्याएको उर्जा विकास मार्ग चित्रलाई कार्यान्वयन गर्नका लागि उर्जा मन्त्रालयका सचिवको नेतृत्वमा अर्थमन्त्रालय समिति र उपसमिति गठन गरिएको उनले स्पष्ट पारे । पुरानो मानसिकता र पुरानो कानूनलाई परिमार्जन गर्दै अगाडि बढिने उनको भनाइ छ । उनले निजी क्षेत्रको समस्यालाई सरकारले आफ्नो समस्याका रुपमा लिएको समेत बताए । प्रधानमन्त्रीले विकास निर्माणका क्रममा देखिएका अप्ठ्यारालाई लिएर आउन सबै मन्त्रीलाई स्पष्ट निर्देशन दिएको बताउँदै मन्त्री खड्काले भने, ‘यो व्यक्तिगत समस्या होइन, मुलुककै समस्या हो, यसलाई समाधान गर्न सरकार गम्भीर छ ।’ उर्जा सचिव सुरेश आचार्यले सरकारले ल्याएको उर्जा विकास मार्ग चित्रलाई कार्यान्वयन गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । उनले उक्त मार्ग चित्रलाई कार्यान्वयन गर्न मन्त्रालयले विभिन्न कार्यदल बनाएर अगाडि बढेको स्पष्ट पारे । सचिव आचार्यले सरकारले ल्याएको नीति तथा कार्यक्रममा जलाशय युक्त आयोजनालाई विशेष रुपमा अगाडि बढाएको बताए । विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंहले प्रसारण लाइन निर्माणमा समेत निजी क्षेत्रलाई समावेश गरिएकाले सरकारले राखेको उर्जा विकासको लक्ष्य पुरा गर्न सहज हुने धारणा राखे । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उर्जा विकास मार्ग चित्रलाई कार्यान्वयन गर्नका लागि सरकारले भर्खरै विद्युत खरिद सम्झौता (पीपीपी)लाई अगाडि बढाएको बताए । इप्पानका अध्यक्ष गणेश कार्कीले उर्जा विकास मार्ग चित्रलाई कार्यान्वयन गर्नका लागि शक्तिशाली निकाय आवश्यक रहेको बताए । उर्जा, वन र कानून मन्त्रालयबीच समन्वय नहुँदा नेपालको उर्जा क्षेत्रको विकासले गति लिन नसकेको उनको भनाइ छ ।
सान्भि इनर्जीको आईपीओ खरिद गर्ने आज अन्तिम मौका
काठमाडौं । सान्भि इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज जेठ १३ गते अन्तिम दिन रहेको छ । जेठ ९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आजसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको ४३ प्रतिशत अर्थात् ३७ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३७ लाख ९० हजार कित्ता आईपीओ जारी गरेको छ । जसमध्ये १० अर्थात् ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र बासिन्दा र १० प्रतिशत अर्थात् २ लाख ८१ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । बाँकी रहेको २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।