लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हो, यथार्थमा छैन : ऊर्जामन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले  लोडसेडिङको  हल्ला सामाजिक सञ्जालको हल्ला मात्रै भएको बताएका छन् । बुधबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले बजारमा आएका हल्लाहरु सस्तो लोकप्रियताका लागि आएका बताए । उनले मर्मतसम्भारका लागि बाहेक अन्य कुनैपनि बहानामा लोडसेडिङ्ग नहुने बताए । बेला बखत विद्युत विच्छेद हुने अवस्था आजमात्रै नभइ यसअघिको वर्षहरुमा पनि भएको जानकारी दिए ।  उनले गत वर्षमा पनि वर्षमा ७ सय घण्टासम्म यसरी विभिन्न पटक विद्युत गएको दाबी गरे । कहिले हावाहुरी, कहिले ठूला ठूला पोल ढलेका कारण, कहिले मान्छेकै कारण पनि विद्युत आपूर्तिमा समस्या भएको उल्लेख गरे । मर्मत गरेको बेलामा विच्छेद हुने बाहेक लोडसेडिङको अवस्था नरहेको र आगामी वर्षहरुमा झनै नहुने दाबी गरे । मन्त्री खड्काले भने, ‘बजारमा केही चर्चा भएको छ । हामीले यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत आयात गर्यौँ । आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको विद्युत बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ । र थियो । अस्तिको दिनसम्म पनि हामी साढे ३ सय मेगावाट विद्युत आयात गरिरहेका थियौँ । तर आजको रेकर्डअनुसार १ सय ५० मेगावाट निर्यात गरेका छौँ । लोडसेङिको हल्ला यो सामाजिक सञ्जालको हल्ला मात्रै हो ।’ मन्त्री खड्काले मुलुकको भविष्य विद्युत क्षेत्रमा रहेको बताए ।  

५ करोडमा झेँदी पुल निर्माण सम्पन्न, स्थानीयवासी भए खुशी

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ । स्वीस सरकारबाट प्राप्त पाँच करोड १७ लाख ५० हजार ६६५ रुपैयाँमा निर्माणको काम सम्पन्न भएको हो ।  सडक पुल कार्यक्रमका इञ्जिनियर श्रीराम प्रजापतिका अनुसार ५६.३० मिटर लामो यो पुल लामो समयको प्रयासपछि पूरा भएको हो । पक्की बनाउन नसकिने स्थानमा यस्ता  निर्माण गरिने उनले बताए । यो पुल २०७६ र २०७७ साल वैशाखमा दुईपटक भाँचिएपछि प्रारुप परिवर्तन गरेर नयाँ बनाइएको हो । पुलका संरचना भाँचिदा राज्यलाई हानि भएको थियो ।  

बिर्तामोडमा एक अर्ब बढीको लागतमा १४ किलोमिटर सडक कालोपत्र

बिर्तामोड । संघ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ । सडक डिभिजन कार्यालयका सबइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी (प्याकुरेल चोक) सडक, गोकुल जोशी मार्ग र सहिदचन्द्र मार्ग सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । नगरका २, ३, ४, ६, ७ र ९ नम्बर वडालाई जोड्ने ती सडकको निर्माण लागत एक अर्बभन्दा बढी छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम कालोपत्र भइरहेको छ । विश्व बैंकको आर्थिक सहयोग रहेको वडा नम्बर ६, ७ र ८ जोड्ने छ किलोमिटर २५८ मिटर लामो सडकमा हाल कालोपत्र भइरहेको छ । जेठको तेस्रो सातासम्ममा निर्माण सम्पन्न हुने आरपी समता जेभीका मनोज उप्रेतीले बताए । यो सडक आरपी समता जेभीले ५८ करोडमा निर्माणको ठेक्का लिएको हो । बिर्तामोड नगरपालिकालाई हल्दिबारी गाउँपालिकासँग जोड्ने सहिद चन्द्रमार्गको दुई किलोमिटर सडक आगामी १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ तीन खण्डमा कालोपत्र भइरहेको छ । दुई किलोमिटर लामो उक्त सडकको पहिलो खण्डमा पाँच करोड ६० लाखको ठेक्का सिद्धीथुम्का एभरग्रिन जेभीले, दोस्रो खण्डमा ट्रस्ना निर्माण सेवाले ६८ लाखमा र तेस्रो खण्डमा नाम्लाक निर्माण सेवाले एक करोड पाँच लाखमा निर्माणको जिम्मा लिएको छ । वडा नम्बर २ देखि ३ हुँदै कनकाई नगरपालिका जोड्ने चारपाने–घैलाडुब्वा एक किलोमिटर सडकको छ करोडको ठेक्कामा शान्ति निर्माण सेवा प्रालिले धमाधम निर्माण गरिरहेको वडाध्यक्ष किशोर बुढाथोकीले बताए । रासस