वीरगञ्जमा ओभरहेड ट्याङ्कीको शिलान्यास, ३ हजार घरधुरी लाभान्वित हुने
वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताएका छन् । शनिबार वीरगञ्ज महानगरपालिका–१६ मा नागवा खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली जनतालाई शुद्ध र सुरक्षित खानेपानी वितरणका लागि प्रयाप्त बजेट विनियोजन गरिने बताए । उनले भने, 'नागरिकलाई शुद्ध सुरक्षित खानेपानी वितरण गर्नु मेरो प्रमुख लक्ष हो । खानेपानीका क्षेत्रमा प्रयाप्त वजेट विनियोजन हुन्छ । सबै नागरिकलाई सुरक्षित पानी वितरण गछौँ ।' आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गरिने मन्त्री यादवले बताए । उनले भने, 'आगामी वर्ष सबै तराई, मधेस, हिमाल र पहाडका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी पुर्याउने हेतुले सिङ्गो मन्त्रालय लागि परेको छ । खानेपानीको पहुँच वृद्धि गरी स्थानीय तह र उपभोक्ताको सहलगानीमा खानेपानी आयोजना एकीकृत रुपमा सञ्चालन गर्नेछौँ ।' नागवा खानेपानी ओभरहेड ट्याङ्की आयोजना १८ महिनाभित्र सम्पन्न गरिने लक्ष्य राखिएको र आफूले मन्त्रीको हैसियतले यथासमयमा काम सम्पन्न होस् भनेर नियमित अनुगमन गर्ने समेत मन्त्री यादवले आश्वासन दिए । उनले भने, 'मैले मेरो आफ्नै निर्वाचन क्षेत्रका जनतालाई प्रत्यक्ष रूपमा लाभ पुग्ने एउटा ऐतिहासिक आयोजनाको शिलान्यास गर्न पाउँदा गर्व महसुस गरिरहेको छु । गास, बास, कपडा जस्तै पानी पनि मानव जीवनको आधारभूत आवश्यकता हो र आज हामी त्यो आधारभूत हक सुरक्षित गर्न एक कदम अघि बढेका छौँ ।' यस आयोजनाबाट वडा नं १५ र १६ का करिब तीन हजार पाँचसय घरधुरी लाभान्वित हुने खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकालले जानकारी दिए । उनका अनुसार हालसम्म खानेपानीको अभावमा दैनिक जीवनमा कठिनाइ भोगिरहेका यहाँका नागरिकलाई उक्त आयोजना सम्पन्न पश्चात सहज, शुद्ध र पर्याप्त पानी आपूर्ति हुने बिश्वास लिइएको छ । आजको उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिका नगर प्रमुख राजेशमान सिंह, वडा नं–१६ का वडासदस्य लवङ्गी देवी, वीरगञ्ज–१५ का वडाअध्यक्ष रमेश यादव, वडा न.१६ का वडासदस्य प्रमोद यादव, जसपा जिल्ला अध्यक्ष तथा बहुदरमाईका नगर प्रमुख सिंघासन साह तेली, जिल्ला समन्वय समिति पर्साको प्रमुख अजय सर्राफ, जसपा केन्द्रीय सदस्य जन्नत अंसारी, जसपा केन्द्रीय सदस्य पुरषोत्तम लाल झा लगायको सहभागिता रहेको थियो ।
बागलुङमा ७ करोडमा बन्यो पुल, किसानलाई बजार पुग्न सहज
ढोरपाटन । जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठे र ९ को मालारानी जोड्ने गरी मोटरेवल पुल निर्माण भएको छ । पाँच वर्ष अगाडि निर्माण सुरु भएको उक्त पुल अघिल्लो महिनादेखि सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएपछि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गदेखि मालारानीसहित राजकुट, प्युठान र गुल्मी आउजाउ गर्न सहज भएको छ । विसं २०७७ कात्तिक २७ गते सडक डिभिजन कार्यालयले सात करोड ६६ लाख रुपैयाँमा निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । विसं २०७९ फागुनमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएकामा तीन वर्षपछि मात्र निर्माण सम्पन्न भएको हो । पर्याप्त बजेट प्राप्त नहुँदा समयमै काम सम्पन्न नभएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले राससलाई जानकारी दिए । नवनिर्मित पुल मालारानीबाट राजकुट–हर्पे–देवीस्थान रोल्पा–रुकुम–जाजरकोट आवागमन सहज भएको छ । स्थानीय प्रेमबहादुर केसीले बडिगाडखोलामा पुल बनेपछि गाउँमा उत्पादन बजारीकरण गर्न सहज भएको बताए । गाउँमा धेरै किसानले फलफूल र सागसब्जी उत्पादन गरे पनि अब डोकोमा बोकेर बजार पुर्याउनुपर्ने बाध्यता अन्त्य भएको उनले बताए । रासस
२३ वर्षपछि निर्माण सम्पन्न नेपालगञ्ज-बघौडा सडक, अब सहज छ नरैनापुर यात्रा
राँझा । बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदीपारी अवस्थित नरैनापुर गाउँपालिका हुलाकी सडक सञ्चालनमा आएपछि सुगम बन्दै गएको छ । हुलाकी सडक निर्माणसँगै अहिले नरैनापुरबाट करिब आधा घण्टामै सदरमुकाम नेपालगञ्ज पुग्न सकिने नरैनापुर गाउँपालिका–४ निवासी ताजमोहम्मद खानले बताए । ‘हुलाकी सडक निर्माण नहुँदा भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ’, खानले भने, ‘हुलाकी सडक नरैनापुरवासीको लाइफलाइन बनेको छ ।’ हुलाकी सडक निर्माण भएपछि अहिले नेपालगञ्जबाट नरैनापुरको सीमावर्ती क्षेत्र सुईया बघौडासम्म दैनिक रूपमा चार वटासम्म सार्वजनिक यात्रुवाहक बस सञ्चालन हुने गरेका छन् । हुलाकी सडक निर्माणपछि नरैनापुरवासीको स्वास्थ्य र शिक्षामा सहज पहुँच पुगेको नरैनापुर–६ का अगुवा सोहनलाल यादवको भनाइ छ । ‘पहिला बिरामीलाई अस्पताल पुर्याउन धेरै कठिन हुने गथ्र्यो, अहिले गाउँघरमै एम्बुलेन्स पुग्ने भएकाले बिरामीलाई सजिलै नेपालगञ्जका अस्पतालमा लैजान सकिन्छ’, यादवले भने, ‘नरैनापुरमा अहिलेसम्म उच्च शिक्षा अध्ययनको लागि क्याम्पस छैनन्, हुलाकी सडक बनेपछि विद्यार्थीलाई नेपालगञ्ज पढ्न जान आउन धेरै सजिलो भएको छ ।’ विगतमा सडक नहुँदा भारतीय बजारमा निर्भर रहेको नरैनापुरलाई हुलाकी सडकले सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको यादवले बताए । हुलाकी सडकदेखि भित्री गाउँसम्म पुग्ने सडक निर्माणमा अब गाउँपालिकाले ध्यान दिनुपर्ने उनको भनाइ छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले हुलाकी सडक निर्माण भएसँगै नरैनापुरवासीको जीवनयापनमा आमूल परिवर्तन आएको बताए । उनले गाउँपालिकाका छ वटै वडाका गाउँबस्तीसम्म पुग्ने सडक निर्माणलाई आफूले प्राथमिकता दिएको उल्लेख गरे । बहुप्रतीक्षित नेपालगञ्ज–बघौडा सडक निर्माण चर्चा सुरू भएको दुईदशक बढी समयपछि निर्माण सम्पन्न भएको हो । करिब २३ वर्ष अघिदेखि सडक निर्माण सुरू भए पनि पटकपटकको अवरोध र अनिश्चितताका बीच नरैनापुर गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने ४४ किलोमिटर सडक निर्माण सम्पन्न भएपछि आवागमनमा सहज भएको बाँके क्षेत्र नं १ का संघीय सांसद सूर्य ढकालले बताए । हुलाकी सडक निर्माण समयमै सम्पन्न गर्न आफूले आवश्यक समन्वय र चासो देखाएको बताउँदै उनले हुलाकी सडक निर्माणले यहाँका नागरिकलाई विकासको अनुभूति गराएको उल्लेख गरे । रासस