सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने, यसरी प्रयोग गरिन्छ केमीकल

काठमाडौं । ओखलढुङ्गाको मोलुङ करिडोर सडक निर्माणमा हरिबोले भीरको चट्टान फोर्न केमीकलको प्रयोग गरिने भएको छ । लामो समयसम्म चट्टान फोर्न नसकेपछि, केमीकलको प्रयोग गर्नुपर्ने अवस्था भएको हो । सुनकोशी गाउँपालिका-६ काउसेदेखि वडा नं ८ भाल्दीप आँपस्वारासम्म तीन किलोमिटर नयाँ ट्रयाक निर्माण गर्नुपर्नेमा, हरिबोले भीरमा २०० मिटर चट्टान फोर्न नसक्दा सडक ट्रयाक खुल्न सकेको छैन । उक्त चट्टानलाई लामो समयसम्म ब्रेकर लगाउँदा पनि कटान गर्न नसकेकाले केमीकल प्रयोग गरी चट्टान फोर्ने तयारी गरिएको हो । कम्प्रेसर मेसिन ल्याइसकेकाले चट्टानलाई ड्रिल गरी केमीकल प्रयोग गरिने निर्माण कम्पनी महालक्ष्मी भुजेल जेभी निर्माण सेवाका प्रोपाइटर तेजबहादुर भुजेलले जानकारी दिए ।  यसरी प्रयोग गरिन्छ केमीकल ढुङ्गालाई कम्प्रेसर मेसिनले ड्रिल गरेर पाँचदेखि आठ फुटसम्मको प्वाल बनाइन्छ । ती प्वालमा साढे दुई लिटर र आठ फिटको प्वालमा साढे तीन लिटर केमिकल राखिन्छ । उक्त प्वालमा १२ घण्टादेखि ७२ घण्टासम्म केमीकल राखिन्छ । केमीकलले ढुङ्गालाई गलाएर चर्काउँछ र ढुङ्गा टुक्रिन्छ । चट्टानलाई कति गहिराईसम्म चर्काउने हो सोहीअनुसार प्वाल  बनाउने गरिन्छ । प्वालमा  नापअनुसारको केमिकल राखेर कम्तीमा १२ देखि बढीमा ७२ घण्टासम्म राख्नुपर्ने ब्लास्टर रामप्रसाद पन्थीले जानकारी दिए ।  सडक निर्माणमा यो प्रविधि जिल्लामै पहिलो पटक प्रयोग गर्न लागिएको हो । केमिकलबाट पनि चट्टान फुटाउन नसकेको खण्डमा ब्लास्टिङको प्रयोग गरिने प्रोपाइटर भुजेलले बताए । सडक निर्माण सम्झौतामा ‘ब्लास्टिङ आइटम’ नभएकाले केमिकल प्रयोग गर्न लागिएको उनको भनाइ छ । हर्कपुरदेखि करिब चार किलोमिटर मोलुङ दोभानसम्म कालोपत्र गर्ने र मोलुङ दोभानदेखि साढे दुई किलोमिटरसम्म कटिङ गर्न महालक्ष्मी भुजेल जेभी निर्माण सेवाले सम्झौता गरेको थियो । मिति २०७९ साल माघ २३ गते सम्झौता भई आगामी माघको २३ गते सम्पन्न गर्ने गरी रु २५ करोड लागतमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय हर्कपुरका इन्जिनियर दिपककुमार दासले जानकारी दिए ।  हरिबोले भीरको चट्टान ट्रयाक जोडिएपछि ओखलढुङ्गा सदरमुकामदेखि उदयपुरको घुर्मी जोडिने छोटो दुरीको सडक खुल्नेछ ।

पोखरा विमानस्थलको विषयले लेखा समितिमा हलचल, समितिको प्रभावकारितामा प्रश्न

काठमाडौं । पोखरा विमानस्थलमा अनियमितता प्रकरणबारे समितिमा सभापतिले छलफल चलाउन आलटाल गरेको भन्दै सांसदहरूले सार्वजनिक लेखा समितिको प्रभावकारीतामाथि नै प्रश्न उठाएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे उपसमितिले बनाएको प्रतिवेदनमा छलफल गर्न बोलाइएको बैठकमा सांसद्हरूले समितिले समयमै निर्णय लिन नसेकको, भएका निर्देशनहरुलाई समेत कार्यान्वयन गराउन नसकेको, प्रधानमन्त्री-मुख्यसचिवलाई समितिमा डाकेर जवाफदेही बनाउन नसकेको भन्दै सांसदहरूले सभापति ऋषिकेश पोखरेलको आलोचना गरे । समितिको बैठकमा सांसद डा.अमरेशकुमार सिंहले संसदीय समितिको प्रभवकारीता घट्दै गएको बताए । लेखा समितिले प्रधानमन्त्री, मुख्यसचिव बोलाउन नसकेको भन्दै उनले सभापतिको आलोचना गरे ।  संसदको बैठक देखाएर समिति बैठक रोक्न नहुने उनको भनाइ छ । बेरुजु फर्छ्याैटका बेला जसरी रात दिन नभनी समिति बैठक बस्यो पोखरा विमानस्थलमा भएको अनियमितताका बारेमा त्यसरी नै छलफल हुनुपर्ने बताए । उनले भने, ‘डेडिकेट र ट्रंकलाइनको बक्यौतामा निर्देशन दियौं केही भएन, सिमेन्ट, डण्डीको मूल्य बढेको बढ्यै छ, एनसेल प्रतिवेदनमा लेखा समितिले दिएको निर्देशनमा केही भएन । लेखा समितिको प्रभावकारिता यही हो ? समिति सरकारको छायाँ भयो ।’ सांसद एवं पोखरा विमानस्थल अध्ययन उपसमितिका संयोजक राजेन्द्र लिङदेनले आयोजना स्थलमा पुगेर अध्ययन अनुसन्धान गरेको बताउँदै प्रतिवेदनमाथि शंका नगर्न आग्रह गरे । उनले भने, ‘सम्बन्धित आयोजनामा पुगेर अध्ययन गरिएको छ, पदाधिकारीसहित विज्ञहरूसँग छलफल गरिएको हो । यसमा प्रश्न उठाउनुको औचित्य छैन ।’ नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले पोखरा विमानस्थलमा भएको अनियमिततामा उपसमितिले तयार गरेको प्रतिवेदनमाथि प्रश्न उठाउनुभन्दा पनि छिटो कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले भने, ‘धन्यवाद दिनुपर्ने ठाउँमा प्रश्न उठाइएको छ । भ्रष्टाचारीको पक्षपोषण गर्नेहरूले प्रश्न उठाएका छन् । १४ अर्बको ठेक्कालाई २२ अर्ब पुर्‍याएको छ । यसमा भ्रष्टाचार भएको छ । यसबारे समितिले छिटो निर्णय लिनुपर्छ ।’ नेकपा (माओवादी केन्द्र) का सांसद अमललाल मोदीले उपसमितिले प्रतिवेदन दिइसकेपछि छलफल गरेर समितिले छिटो निर्देशन दिनुपर्ने बताए । उनले समिति न्यायिक नभएपनि निर्देशन लागू गराउन दबाब दिने तहमा रहेको बताए । उनले भने, ‘हामी न्यायिक होइन, हामीले दिएका निर्देशन कार्यान्वयन गर्न भन्न सक्छौं । कार्यान्वयन हुनुपर्छ । सरकारको छायाँका रूपमा लेखा समितिले काम गर्न हुँदैन ।’  समिति सभापति ऋषिकेश पोखरेलले सांसदहरूकै व्यवहारबाट समितिको ओज घटाउने काम भएको बताए । समिति न्यायधीश नभएको जनाउँदै उनले लेखा समितिलाई सांसदहरूको प्रस्तुति हेर्दा न्यायिक निकाय जस्तै हुनुपर्ने जस्तो देखिएको बताए । पोखराको सन्दर्भमा समितिमा चाँडो छलफल गरेर टुंग्याइने उनको भनाइ छ ।  उनले भने, ‘लेखा समिति न्यायिक निकाय होइन । हामी न्यायिक निकाय हो त ? सरकारलाई दिएको निर्देशन, सुझाव हो । हामी न्यायाधीश होइनौं ।’ भैरहवा विमानस्थल अध्ययन गर्न गठित समितिको प्रश्न उठेपछि एमाले सांसद योगेश भट्टराईले नबस्ने घोषणा गरेका छन् । उनको ठाउँमा अच्युत मैनालीलाई संयोजक तोकिएको समिति सभापति पोखरेलले बैठकलाई जानकारी दिए ।  तर अरू सांसदले मान्न तयार भएनन् । छिट्टै संयोजक तोकेर एक साताभित्रै प्रतिवेदन पेश गर्न निर्देशन दिए ।बैठकमा भट्टराईले भैरहवा विमानस्थलको सन्दर्भमा टीओआरका आधारमा प्रतिवेदन बनाइएको बताए । उनले भने, ‘टिओआरका आधारमा प्रतिवेदन बनाइएको छ । स्वार्थको द्वन्द्व भएको रिपोर्ट बरु पोखराका हकमा देखियो । ती प्रतिवेदनहरू शंकाको घेरामा छन । पोखराको प्रतिवेदन कसरी स्वार्थ रहित छ ?’ बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रश्न उठेका नेताहरूलाई समितिको संयोजक राख्न नहुने बताएका थिए । पोखरा विमानस्थलबारे अध्ययन गरिएको प्रतिवेदन समितिलाई नबुझाउँदै बाहिर ल्याइएको भन्दै उनले आलोचना गरे ।

लोडसेडिङ बढेसँगै इन्भर्टर र जेनेरेटरको माग दोब्बर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नेतृत्व परिवर्तनपछि बजारमा इन्भर्टर र जेनेरेटरको माग दोब्बरले वृद्धि भएको व्यवसायीहरूले बताएका छन् । प्राधिकरणको नेतृत्व परिवर्तनसँगै उद्योग क्षेत्रमा दैनिक १२ घण्टा लोडसेडिङ हुँदा सर्वसाधारणको घरमा अघोषित लोडसेडिङ भइरहेको छ ।  सरकारले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी दिएपछि एकातिर प्राधिकरण आर्थिक संकटमा परेको छ भने अर्कोतिर सर्वसाधारणको घरमा लोडसेडिङ ब्यूँतिएको छ ।  गत शुक्रबार प्राधिकरणमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले मूलतः लोडसेडिङ कै विषय उठाए । कार्यक्रममा सहभागी राजाराम तण्डुकारले पछिल्ला समय नियमित लोडसेडिङ भएकोमा आक्रोस पोखे । लोडसेडिङ गर्नै पर्ने अवस्था हो भने किन लोडसेडिङको तालिका सार्वजनिक नगरेको भनि प्रश्न गरे ।  तर प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पहिलाको तुलनामा बढी बिजुली जाने समस्या नरहेको दावी गरे । ‘विभिन्न कारणले समय-समयमा बत्ति जान सक्छ तर त्यसलाई लोडसेडिङ भएको भन्न मिल्दैन,’ उनले जवाफमा भने ।  लोडसेडिङ वृद्धि भएपछि इन्भर्टर तथा जेनेरेटरको व्यापार वृद्धि भएको छ । अशोक लेल्याण्डको आधिकारिक बिक्रेता आईएमई मोर्टसका सेल्स हेड सेचन ढकाल अहिले जेनेरेटर र इन्भर्टरको व्यापार दोब्बरले बढेको बताउँछन् । ‘आजभोलि जेनेरेटर र इन्भर्टरको माग बढिरहेको छ । दैनिक १०/१५ जना जेनेरेटर खरिदका लागि आउने गरेका छन्, विगतका महिनामा दैनिक औसतमा ५ जनासम्म आउँथे, इन्भर्टर किन्ने ग्राहक धेरै हुनुहुन्छ,’ उनले भने ।  ढकालका घरायसी ग्राहकदेखि उद्योगी समेतले जेनेरेटर र इन्भर्टरको माग गरिरहेका छन् । डिपार्टमेन्टल स्टोर, हाउजिङ, होटल, कार्यालयलगायत अन्य प्रयोजनका लागि पनि जेनेरेटर र इन्भर्टरको माग भइरहेको उनले सुनाए ।  महिन्द्रा ग्रुपको आधिकारिक बिक्रेता अग्नि मोटो इंकका महाप्रबन्धक प्रत्युष श्रेष्ठ पछिल्लो समय अघोषित लोडसेडिङ बढ्दै गएपछि जेनेरेटर, इन्भर्टरलगायत ऊर्जाका वैकल्पिक साधनको माग ह्वात्तै बढेको बताए ।  ‘यसअघि महिनामा एउटा/दुइटा मात्रै जेनेटर बिक्री हुन्थ्यो । तर, अहिले हप्तामा ३/४ वटासम्म बिक्री हुन थालेको छ,’ उनले भने । नेपाली बजारमा अहिले महिन्द्रा, आइसर, क्रिलोस्कर, पारवल ब्राण्डका इन्भर्टर तथा जेनेरेटर खरिद बिक्री हुने गरेका छन् ।  कुलमान प्राधिकरणमा आउनुअघि सर्वसाधारणले दैनिक १८ घण्टाको लोडसेडिङको समस्या खेप्नुपरेको थियो । त्यतिबेला मासिक ७ अर्बभन्दा बढीको इन्भटर र जेनेरेटर आयात हुने गरेको भन्सार विभागको तथ्याङ्क छ । लोडसेडिङको अन्त्यसँगै यस्तो व्यापार नगन्य भएको थियो ।  ईभीलाई पनि समस्या बिजुली नियमित नहुँदा विद्युतीय गाडी (ईभी) धनीलाई पनि समस्या भएको छ ।  विद्युतीय माइक्रोबस व्यवसाय गर्दै आएको सिन्धुली दूधौली नगरपालिकाका अमर गुरुङले लोडसेडिङका कारण व्यवसाय गर्न कठिन भएको बताए ।  उनले काठमाडौंदेखि दुधौलीसम्मको रुटमा दुइटै विद्युतीय माइक्राे बस चलाउँदै आएका छन् । तर, पछिल्लो समयमा दैनिक रूपमा आधा घण्टादेखि दुई घण्टासम्म बिजुली अवरुद्ध हुन थालेपछि गाडी चार्ज गर्न समस्या भइरहेको दुखेसो उनले सुनाए ।  ‘पहिला उत्साही भएर गाडी खरिद गरियो, अहिले समयमै चार्ज गर्न पाइएको छैन । अघोषित लोडसेडिङले हाम्रो व्यवसाय चौपट पार्ने डर लागिरहेको छ,’ उनले भने ।  राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजन पनि प्राधिकरणमा कुलमान छँदा नगएको बत्ति अहिले दैनिक रूपमा जान थाल्नु स्वार्थसमूहको चलखेल भएको बताउँछन् । ‘कुलमान प्राधिकरणमा हुँदा लोडसेडिङ भएन तर अहिले नियमित बिजुली अवरुद्ध भइरहेको छ । यसमा व्यावसायिक राजनीति भइरहेको छ, जसका कारण उपभोक्ताहरू जेनेरेटर र इन्भर्टर खरिद गर्न बाध्य छन् । सरकारले जनतामाथि लोडसेडिङ गरेर आर्थिक भार थपिरहेको छ,’ उनले भने ।  लोडसेडिङ भएको छैन : प्राधिकरण  नेपाल विद्युत प्राधिकरणले भने हाल देशभर विद्युत आपूर्तिमा कुनै समस्या नभएको दाबी गर्दै आएको छ । प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले घरायसी ग्राहकका लागि २४ सै घण्टा विद्युत सेवा उपलब्ध रहेको र आगामी दिनमा पनि लोडसेडिङ नहुने जिकिर गरे । प्राधिकरणका अनुसार कुल विद्युत जडित क्षमता ३ हजार ५१२ मेगावाट भए पनि उत्पादन औसतमा १ हजार १७५ मेगावाट रहेको छ भने विद्युतको उच्च माग २ हजार ७७ मेगावाट पुगेको छ । बाँकी माग भारतबाट विद्युत आयात गरी पूर्ति गरिँदै आइएको छ ।