लोडसेडिङ बढेसँगै इन्भर्टर र जेनेरेटरको माग दोब्बर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नेतृत्व परिवर्तनपछि बजारमा इन्भर्टर र जेनेरेटरको माग दोब्बरले वृद्धि भएको व्यवसायीहरूले बताएका छन् । प्राधिकरणको नेतृत्व परिवर्तनसँगै उद्योग क्षेत्रमा दैनिक १२ घण्टा लोडसेडिङ हुँदा सर्वसाधारणको घरमा अघोषित लोडसेडिङ भइरहेको छ ।  सरकारले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी दिएपछि एकातिर प्राधिकरण आर्थिक संकटमा परेको छ भने अर्कोतिर सर्वसाधारणको घरमा लोडसेडिङ ब्यूँतिएको छ ।  गत शुक्रबार प्राधिकरणमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले मूलतः लोडसेडिङ कै विषय उठाए । कार्यक्रममा सहभागी राजाराम तण्डुकारले पछिल्ला समय नियमित लोडसेडिङ भएकोमा आक्रोस पोखे । लोडसेडिङ गर्नै पर्ने अवस्था हो भने किन लोडसेडिङको तालिका सार्वजनिक नगरेको भनि प्रश्न गरे ।  तर प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पहिलाको तुलनामा बढी बिजुली जाने समस्या नरहेको दावी गरे । ‘विभिन्न कारणले समय-समयमा बत्ति जान सक्छ तर त्यसलाई लोडसेडिङ भएको भन्न मिल्दैन,’ उनले जवाफमा भने ।  लोडसेडिङ वृद्धि भएपछि इन्भर्टर तथा जेनेरेटरको व्यापार वृद्धि भएको छ । अशोक लेल्याण्डको आधिकारिक बिक्रेता आईएमई मोर्टसका सेल्स हेड सेचन ढकाल अहिले जेनेरेटर र इन्भर्टरको व्यापार दोब्बरले बढेको बताउँछन् । ‘आजभोलि जेनेरेटर र इन्भर्टरको माग बढिरहेको छ । दैनिक १०/१५ जना जेनेरेटर खरिदका लागि आउने गरेका छन्, विगतका महिनामा दैनिक औसतमा ५ जनासम्म आउँथे, इन्भर्टर किन्ने ग्राहक धेरै हुनुहुन्छ,’ उनले भने ।  ढकालका घरायसी ग्राहकदेखि उद्योगी समेतले जेनेरेटर र इन्भर्टरको माग गरिरहेका छन् । डिपार्टमेन्टल स्टोर, हाउजिङ, होटल, कार्यालयलगायत अन्य प्रयोजनका लागि पनि जेनेरेटर र इन्भर्टरको माग भइरहेको उनले सुनाए ।  महिन्द्रा ग्रुपको आधिकारिक बिक्रेता अग्नि मोटो इंकका महाप्रबन्धक प्रत्युष श्रेष्ठ पछिल्लो समय अघोषित लोडसेडिङ बढ्दै गएपछि जेनेरेटर, इन्भर्टरलगायत ऊर्जाका वैकल्पिक साधनको माग ह्वात्तै बढेको बताए ।  ‘यसअघि महिनामा एउटा/दुइटा मात्रै जेनेटर बिक्री हुन्थ्यो । तर, अहिले हप्तामा ३/४ वटासम्म बिक्री हुन थालेको छ,’ उनले भने । नेपाली बजारमा अहिले महिन्द्रा, आइसर, क्रिलोस्कर, पारवल ब्राण्डका इन्भर्टर तथा जेनेरेटर खरिद बिक्री हुने गरेका छन् ।  कुलमान प्राधिकरणमा आउनुअघि सर्वसाधारणले दैनिक १८ घण्टाको लोडसेडिङको समस्या खेप्नुपरेको थियो । त्यतिबेला मासिक ७ अर्बभन्दा बढीको इन्भटर र जेनेरेटर आयात हुने गरेको भन्सार विभागको तथ्याङ्क छ । लोडसेडिङको अन्त्यसँगै यस्तो व्यापार नगन्य भएको थियो ।  ईभीलाई पनि समस्या बिजुली नियमित नहुँदा विद्युतीय गाडी (ईभी) धनीलाई पनि समस्या भएको छ ।  विद्युतीय माइक्रोबस व्यवसाय गर्दै आएको सिन्धुली दूधौली नगरपालिकाका अमर गुरुङले लोडसेडिङका कारण व्यवसाय गर्न कठिन भएको बताए ।  उनले काठमाडौंदेखि दुधौलीसम्मको रुटमा दुइटै विद्युतीय माइक्राे बस चलाउँदै आएका छन् । तर, पछिल्लो समयमा दैनिक रूपमा आधा घण्टादेखि दुई घण्टासम्म बिजुली अवरुद्ध हुन थालेपछि गाडी चार्ज गर्न समस्या भइरहेको दुखेसो उनले सुनाए ।  ‘पहिला उत्साही भएर गाडी खरिद गरियो, अहिले समयमै चार्ज गर्न पाइएको छैन । अघोषित लोडसेडिङले हाम्रो व्यवसाय चौपट पार्ने डर लागिरहेको छ,’ उनले भने ।  राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजन पनि प्राधिकरणमा कुलमान छँदा नगएको बत्ति अहिले दैनिक रूपमा जान थाल्नु स्वार्थसमूहको चलखेल भएको बताउँछन् । ‘कुलमान प्राधिकरणमा हुँदा लोडसेडिङ भएन तर अहिले नियमित बिजुली अवरुद्ध भइरहेको छ । यसमा व्यावसायिक राजनीति भइरहेको छ, जसका कारण उपभोक्ताहरू जेनेरेटर र इन्भर्टर खरिद गर्न बाध्य छन् । सरकारले जनतामाथि लोडसेडिङ गरेर आर्थिक भार थपिरहेको छ,’ उनले भने ।  लोडसेडिङ भएको छैन : प्राधिकरण  नेपाल विद्युत प्राधिकरणले भने हाल देशभर विद्युत आपूर्तिमा कुनै समस्या नभएको दाबी गर्दै आएको छ । प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले घरायसी ग्राहकका लागि २४ सै घण्टा विद्युत सेवा उपलब्ध रहेको र आगामी दिनमा पनि लोडसेडिङ नहुने जिकिर गरे । प्राधिकरणका अनुसार कुल विद्युत जडित क्षमता ३ हजार ५१२ मेगावाट भए पनि उत्पादन औसतमा १ हजार १७५ मेगावाट रहेको छ भने विद्युतको उच्च माग २ हजार ७७ मेगावाट पुगेको छ । बाँकी माग भारतबाट विद्युत आयात गरी पूर्ति गरिँदै आइएको छ ।

नागढुङ्गा-नौबिसे सडक ४ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । नौबिसे-नागढुङ्गा सडक १० दिनका लागि रातका समयमा बन्द गरिने भएको छ । सङ्घीय राजधानी काठमाडौं आवतजावत गर्ने मुख्य मार्ग मानिने सो सडक यही वैशाख २२ देखि वैशाख ३१ गतेसम्म राति ११ देखि बिहान ३ बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माणको काम गर्न लागिएको हो ।  त्रिभुवन राजपथको नागढुङ्गा-पिप्लामोड क्षेत्रमा सडक निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बच्न र तीव्रगतिमा काम अघि बढाउन रातिको समयमा सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेद्वारा सूचनामा उल्लेख गरिएको छ ।  काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनलाई राति नागढुङ्गा चेकपोष्टमा र  नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधनलाई खत्रीपौवा पुलमा रोकिने सूचनामा उल्लेख छ । त्यस समयमा सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न नागढुङ्गा-मुग्लिन सडक योजना कार्यालयले आग्रह गरेको छ । साना तथा मझौला सवारीसाधनले सीतापाइला-भीमढुङ्गा-रामकोट-धार्के सडक प्रयोग गर्न सक्नेछ । त्यस्तै वैकल्पिक बाटोका रूपमा सामाखुसी-टोखा-गुर्जेभञ्ज्याङ-छहरे-त्रिशूली-गल्छी सडक हुँदै जान सकिने छ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने रोकिने छैन । ओभरट्याक नगरी बन्दको समयमा नियमपालना गरिदिन कार्यालयले अनुरोध गरेको छ ।

सूर्यविनायक-साँगा सडकमा एकतर्फी सवारी सञ्चालन, गाडी चिप्लिएर सयौं फिट तल खस्ने जोखिम

काठमाडौं । गए रातिदेखिको वर्षाले अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक-जगाति सडकमा आवत जावत गर्न समस्या  भएको छ । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले वर्षाका कारण भक्तपुरको सूर्यविनायक-जगाति हुँदै काभ्रेपलाञ्चोक जाने निर्माणाधीन सडक एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए ।  भक्तपुर र काभ्रे जिल्ला जोड्ने राजमार्गमा छ लेनको सडक निर्माणमा ढिलाइ भएसँगै काभ्रेको साँगा र भक्तपुरतर्फ आउने सडकमध्ये भक्तपुर खण्ड वर्षाका कारण निकै जोखिम बढेसँगै अरनिको राजमार्ग एकतर्फी मात्र सञ्चालन गर्नुपरेको जनाइएको छ । सडकमा सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्र साँगाबाट आउन दिएको उनले जानकारी दिए । उनका अनुसार भक्तपुर हुँदै काभ्रे जाने दुई पाङ्ग्रे लगायत हल्का चार पाङ्ग्रे सवारीसाधन जगातिबाट च्याम्हसिं हुँदै ताथली-नाला सडकबाट बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ । भक्तपुरबाट काभ्रे जाने ठूला माल वाहक सवारीसाधनलाई भने सल्लाघारीको चौर र जगातिमै रोकिएको छ । सूर्यविनायक-धुलिखेल सडक खण्ड निर्माणाधीन अवस्थामा रहेका कारण साँगा खण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुने गरेको छ ।  गाडी चिप्लिएर सयौं फिट तल खस्ने जोखिम रहेपछि सवारीसाधनलाई एकतर्फी गरिएको हो । बाटो हिलाम्मे भएर चिप्लिन थालेपछि ठूला सवारीसाधन माथि उक्ल नै नसक्ने, सडकमै भासिने गरेका छन् भने साना सवारी चिप्लेर लड्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ । वर्षामा जोखिम बढे पनि समस्या समाधानका लागि तीव्र गतिमा काम हुन नसक्दा समस्या आएको छ ।