नेपाललाई विश्व बैंकले १६ अर्ब दिने, कुन क्षेत्रमा हुँदैछ खर्च ?

काठमाडौं । नेपालको विकास निर्माणमा सघाउँदै आएको विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाको लागि १६ अर्ब ३७ करोड १३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाको लागि १३ अर्ब ६३ करोड (१२ करोड अमेरिकी डलर) सहयोग गर्न लागेको हो । विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनको लागि बैंकले २ अर्ब ७४ करोड १३ लाख सहयोग गर्न लागेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । भोलि बुधबार अर्थ मन्त्रालय र विश्व बैंकबीच सो सहायता रकम स्वीकार्ने सम्बन्धि सम्झौता हुँदैछ । हाल बैंकले नेपालमा करीब २ अर्ब ७० करोड डलर अर्थात २ खर्ब ७० अर्ब बराबरको लगानी विभिन्न परियोजनामा गरिरहेको छ । नेपालमा विश्व बैकको सहयोगमा करिब २ दर्जन परियोजना सञ्चालनमा छन् । नेपालको शिक्षा स्वास्थ्यदेखि पूर्वाधार निर्माणमा समेत सघाउँदै आएको विश्व बैंकले पछिल्लो समय नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बर बढाउने रणनीति बनाएको छ । विश्व बैंकले पाँच वर्षीय देशीय साझेदारी ढाँचाअन्तर्गत सहायता रकम बढाउन लागेको हो । सन् २०१९ देखि बैंकले नेपाललाई उपलब्ध गराउने सहयोग रकम चालु वर्षको भन्दा दोब्बर हुने अर्थमन्त्री डा. युवराज खतिवडाले यसअघि नै बताइ सकेका छन् । २०१९ देखि २०२३ सम्म हुने सहायता रणनीतिको खाकाअनुसार नेपालको प्राथमिकताअनुरूप कार्यक्रमहरू कार्यान्वयनमा सहयोग रकम आउने अर्थ मन्त्रालयले बताएको छ । पछिल्लो समय विश्व बैंकसँग नेपालले केही ठूला र बहुउद्देश्यीय परियोजनामा समेत लगानीको सुनिश्चितता खोजिरहेको छ । स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र र प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना र समग्र व्यावसायिक वातावरण सम्बन्धमा पनि नेपालले विश्व बैंकसँग छलफल गर्दै आएको छ ।

त्रिपुरेश्वरको युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा तिब्बत–नेपाल इकोनोमिकएन्ड ट्रेड फेयर शुरु

काठमाडौं । काठमाडाैं त्रिपुरेश्वर स्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सोमबार चारदिने चीनतिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर शुरु भएको छ ।  जन गणतन्त्रचीनको वाणिज्य मन्त्रालय अन्तर्गतको ट्रेड डेभलपमेन्ट ब्युरो र चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको आयोजना तथा नेपाल–चीन उद्योग वाणिज्य संघको सहकार्यमा एकदेशीय व्यापार मेला शुरु भएको हो । आयोजक तिब्बत बोर्डर ट्रेड चेम्बरका अध्यक्ष लावा छिलेका अनुसार मेलामा चीनका५० भन्दाबढी प्रदर्शकले स्टल राखेका छन् । मंसिर १२ गतेसम्म चल्ने मेलामा जौबाट बनेका खाद्य सामग्री, दुग्धपदार्थ, मदिरा, वाइन, तिब्बती औषधी, हस्तकला, स्किन केयर सम्बन्धी उत्पादन, खेलकुद, कपडा, भवनका सामग्री, साइकल लगायतको स्टल राखिएको छ । नेपालमा लगानीको अवसर पहिचान गर्न चाहने चिनियाँ कम्पनीहरु पनि मेलामा सहभागी भएको अध्यक्ष छिलेले जानकारी दिए । यो मेलाले नेपाल र चीनबीचको व्यापार र आर्थिक सम्बन्ध अझ बलियो बनाउने विश्वास पनि उनले व्यक्त गरे । नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले मेलामा व्यवसायी–व्यवसायीबीच (बिटुबी) छलफल, समझदारीपत्रमा हस्ताक्षर लगायत कार्यक्रम रहेको बताए । मेलाको उद्देश्य उपभोक्तालाई वस्तु बिक्री गर्ने भन्दापनि चिनियाँ वस्तुको क्रेता (बायर)लक्षित प्रदर्शनी गर्नु रहेको उनले बताए । त्यसैले चिनियाँ व्यवसायीले नेपाली व्यवसायीसँग आयातनिर्यात अभिवृद्धि, लगानी लगायत विषयमा अन्तक्र्रिया गर्ने लक्ष्य लिएको तुलाधरको भनाइ छ । दुई चेम्बरबीच सन् २०१४ मा भएकोा समझदारी अनुसार दुवै मुलुकका उद्यमी, व्यवसायीले पालैपालो आफ्ना वस्तु अर्को मुलुकमा लगेर प्रदर्शन गरी दुईपक्षीय व्यापारको आकार बढाउन यसपालि चिनियाँ व्यवसायी नेपाल आएको बताइएको छ । आगामी अप्रिलतिर नेपाली व्यवसायीले तिब्बतमा आयोजनाहुने यस्तै प्रकारको प्रदर्शनीमा स्टल राख्ने योजना छ । यो मेलाले दुई देशबीचको व्यापारिक क्रियाकलाप वृद्धिहुने र सदियौं पुरानो आर्थिक, व्यापारिक तथा सामाजिक सम्बन्ध अझ प्रगाढ हुने आयोजक र सहयोगी संस्थाको विश्वास छ । मेलामा सहभागी चिनियाँ व्यवसायीले नेपालमा उत्पादन गरेर चीन निर्यात गर्न सकिने वस्तुबारे पनि अध्ययन गर्ने उद्देश्य राखेको तुलाधरले जानकारी गराए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल प्रमुख अतिथि रहेको उद्घाटन समारोहमा नेपालका लागि चिनियाँ दूतावासका वाणिज्य सचिव, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ लगायतको सहभागिता थियो ।

नुवाकोटमा पृथ्वीनारायण शाह सङ्ग्रहालय निर्माण

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–२ दरबार क्षेत्रको कुवापानीस्थित भगवती मन्दिर परिसरमा ‘पृथ्वीनारायण शाह सङ्ग्रहालय’ निर्माण थालिएको छ । नेपालको एकीकरणको शुरुवात नुवाकोटबाट गरेका शाहसँग सम्बन्धित सामग्री र जीवनसँग जोडिएका विषयवस्तुको सचित्र उतार्ने प्रयासस्वरुप सङ्ग्रहालय निर्माण शुरु गरिएको वडा नं २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार सात रोपनी जग्गामा पाँच करोड २८ लाख रुपैयाँ लगानीमा निर्माण थालिएको सङ्ग्रहालय दुई वर्षभित्र पूरा गर्न निर्माणको जिम्मेवारी शृङ्खला निर्माण सेवा बट्टारलाई दिइएको छ । शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धादिङमार्फत ठेक्का लगाएर निर्माण थालिएको सङ्ग्रहालय चारतलाको हुने छ जसमा नुवाकोट, रसुवा र धादिङमा रहेका नौ कोटसँग सम्बन्धित सबै विषयवस्तुलाई उतारेर प्रदर्शनीमा राखिने छ । भवन विभागमार्फत काम थालिएको र पुरातत्व विभागसँग सम्बन्धित नभए पनि काम सम्पन्न भएपछि समन्वय गरेर नुवाकोटसहित मुलुकभरमा रहेका शाहसँग जोडिएका र उनले प्रयोग गरेका तोप र हातहतियार, उनले दिएको दिव्योपदेश लगायतलाई सङ्ग्रहालयमा प्रदर्शनीका लागि राखिने जानकारी दिए । रासस