मेरियटको व्यवस्थापनमा फूलबारी रिसोर्ट नयाँ वर्षदेखि सञ्चालमा आउँदै

काठमाडौं । दक्षिण एशियाकै अब्बल होटलको रुपमा लिइएको फूलबारी रिसोर्ट अन्तर्राष्ट्रिय ख्यातीप्राप्त ब्राण्ड मेरियटको व्यवस्थापनमा नयाँ वर्षदेखि पुनः सञ्चालनमा आउँदैछ । ९० को दशकमा स्थापना भएको उक्त रिसोर्ट २ वर्षयता बन्द छ । आगामी नयाँ वर्ष अर्थात २०७७ वैशाख १ गतेदेखि होटल सञ्चालन गर्न नेपाल बैंकसँग फूलबारीले सम्झौता गरेको छ । नेपालीको गहनाको रुपमा ५० को दशकमा पोखरामा स्थापना गरिएको उक्त रिसोर्टमा नेपाल बैंकको ७० प्रतिशत ऋण लगानी र सञ्चालक पियुष अमात्यको ३० प्रतिशत लगानी रहेको थियो । नयाँ वर्ष वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने तयारीका साथ रिसार्ट सञ्चालन गर्न लागिएको सञ्चालक अमात्यले विकासन्युजलाई बताए । उक्त रिसोर्ट नयाँ व्यवस्थापन सहित आउन लागेको हो । हस्पिटालिटी क्षेत्रमा संसारमै अब्बल म्यानेजमेन्ट मानिएको अमेरिकन कम्पनी मेरियट इन्टरनेशनलले रिसोर्ट व्यवस्थापनको जिम्मा लिएको छ । मेरियट इन्टरनेशनल अमेरिकन चेन ब्राण्ड कम्पनी हो । यस अन्तर्गत संसारभर ७ हजार होटलहरू संचालनमा छन् । होटल सञ्चालनको जिम्मा मेरियटले लिएको कर्मचारीको सम्पूर्ण व्यवस्थापन पनि उसैले गर्ने सञ्चालक अमात्यले बताए । ‘होटल पुनःसञ्चालन गर्न लागेका छौं,’ उनले भने ‘मेरियट इन्टरनेशनल र होटलबीच ३० वर्षको सम्झौता भएको हो ।’ कर्मचारी ट्रेड युनियन, एक दशक लामो द्वन्द्व तथा इन्डियन एयरलाइन्स अपहरण परेपछि नेपालमा पर्यटन गतिविधि घट्न थाल्यो । रिसोर्टले लक्ष्य अनुरुपको आम्दानी गर्न सकेन र विस्तारै संकटतिर धकेलिदै गयो । २०५०/५१ मा फूलबारी रिसोर्टले नेपाल बैंकबाट करिब १ अर्ब ३० करोड कर्जा लिएको थियो । अहिले पेनाल ब्याज बाहेक रिसोर्टको साँवा ब्याज गरी ३ अर्ब ४६ करोड पुगेको छ । २ अर्ब १६ करोड ब्याज सहित सो कर्जा साढे ३ अर्ब पुगेको हो । हालै साधारण ब्याजलाई मूल साँवामै जोडेर कर्जाको एकमुष्ट संरचना गरिएको हो । नेपाल बैंक र फूलबारी रिसोर्टबीच गत कार्तिक १ मा भएकोे सम्झौताअनुसार रिसोर्ट सञ्चलानार्थ लिएको ऋणलाई दुई चरणमा विभाजन गरिएको छ । पहिलो चरण १० वर्षको हुनेछ भने दोस्रो चरण ८ गरी जम्मा १३ वर्षमा ऋणीले नेपाल बैंकको कर्जा चुक्ता गरिसक्नु पर्नेछ । पहिलो चरणको १० वर्षमा १ अर्ब ३० करोड ८९ लाख कर्जा होटल सञ्चालकले बैंकलाई बुझाइ सक्नुपर्नेछ भने पहिलो चरण शुरु भएको ६ वर्षमा दोस्रो चरण शुरु हुनेछ । ऋणीले दोस्रो चरणको यो अवधिमा २ अर्ब १५ करोड ४२ लाख ऋण भुक्तान गर्नुपर्ने हुन्छ । वैशाख १ सम्म रिसोर्ट सञ्चालन गर्ने शर्तमा नेपाल बैंकबाट लिएको ऋण पुनसंरचना गरिएको हो । होटल राम्रोसँग सञ्चालन भए बैंकले पेनाल ब्याज नलिने अर्थात त्यति बेलानै निर्णय गर्ने गरी सम्झौता भएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले बताए । होटल सञ्चालन गर्नको लागि अमात्यले आफ्नो निजी सम्पत्ति बेचेर ४० करोड रुपैयाँ नेपाल बैंकमा जम्मा गर्दैछन् । सोही रकममध्ये ३० करोड होटल सञ्चालनमा खर्च हुनेछ भने १० करोड साँवा ब्याज भुक्तानमा हुने सीईओ अधिकारीले बताए । ‘वान अफ दि ग्रेटेस्ट होटल इन द वल्ड’ भन्ने अवधारणा साथ दरबार निकट मानिएका पियुष अमात्यले ४ सय रोपनी जमिनमा उक्त होटल स्थापना गरेका हुन् । पर्यटन वर्ष १९९८ लाई लक्षित गरी स्थापना भएको उक्त रिसोर्टलाई नेपालको मात्र नभइ दक्षिण एशियाकै ठूलो र स्थापित रिसोर्टको रुपमा लिइन्थ्यो ।

सामाखुशी–ग्रिनल्याण्ड सडकखण्ड कालोपत्र

काठमाडौं । सामाखुशी चोक मनोहर स्कूल हुँदै ग्रिनल्याण्डसम्मको सडकखण्ड कालोपत्र गरिएको छ । ढल व्यवस्थापन र मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउँदा लामो समयदेखि अस्तव्यस्त रहेको उक्त सडक शनिबारदेखि कालोपत्र गरिएको हो । टोखा नगरपालिकाको रु एक करोड ३२ लाख खर्चमा उक्त सडक कालोपत्र गरिएको हो । काठमाडौँको उत्तरी क्षेत्र टोखा, झोर, शिवपुरी, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल तथा नुवाकोटको त्रिशूली जाने बाटो बिग्रँदा लाखौँ यात्रुहरुले समस्या भोग्नु परेको थियो । उक्त बाटोमा सामाखुशी यातायात, शिवपुरी यातायात, नुवाकोट जाने सवारी साधन र माइक्रोबस सञ्चालन हुँदै आएको छ । सामाखुसी ग्रिनल्यान्डको बाटो मर्मतसम्भार हुँदा सवारी साधन सामाखुशी चोकबाट बसुन्धरा चौकी धापासी हाइट हुँदै ग्रिनल्यान्ड जानुपर्ने बाध्यता रहेको थियो । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक लोकबहादुर विष्ट बाटो कालोपत्र भएसँगै ट्राफिक व्यवस्थापनमा सहजता आउने बताउँछन् । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी ढल निर्माण र पानीको पाइप बिच्छ्याउँदा बाटोमा समस्या आए पनि बाटो कालोपत्रसँगै टोखाका जनतालाई आवतजावतमा सहजता आएको बताए । एक हप्तासम्म सबै सडक कालोपत्र गरिसक्ने नगरपालिकाले जनाएको छ । नगरप्रमुख अधिकारी नगरपालिकाले मोटरबाटोलाई विशेष प्राथमिकता दिएको बताएका छन् । रासस

स्थानीय तहले खोले ७९ किमी सडकको नयाँ ट्र्याक

दमौली । तनहुँ जिल्लाका स्थानीय तहले ७९ किमी सडकको नयाँ ट्र्याक खोलेका छन् । चार नगरपालिका र छ गाउँपालिका रहेको यहाँका स्थानीय तहले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७५/७६ मा सडकको नयाँ ट्र्याक खोलेका हुन् । भानु नगरपालिकाले १० किमी नयाँ ट्र्याक खोलेको छ भने ३० किमी सडक ग्राभेल गरेको छ । भीमाद नगरपालिकाले ११ किमी नयाँ ट्र्याक खोलेको छ भने १९ किमी कालोपत्र र तीन किमी सडक ग्राभेल गरेको छ । यसैगरी, शुक्लागण्डकी नगरपालिकाले १३.०५ किमी नयाँ ट्र्याक खोलेको छ भने ४.५२ किमी सडक कालोपत्र र २४.६८ किमी सडक ग्राभेल गरेको जनाएको छ । यस अवधिमा नयाँ ट्र्याक नखोलेको व्यास नगरपालिकाले भने ५.५९ किमी सडक कालोपत्र र २३.१० किमी सडक ग्राभेल गरेको छ । आँबुखैरेनी गाउँपालिकाले १४.५ किमी नयाँ ट्र्याक खोलेको छ भने ०.४ किमी सडक कालोपत्र र ०.४ किमी सडक ग्राभेल गरेको छ । म्याग्दे गाउँपालिकाले चार किमी नयाँ ट्र्याक खोलेको छ भने ३.८ किमी ग्राभेल र ४२ किमी सडकको विस्तार गरेको छ । त्यस्तै देवघाट गाउँपालिकाले २६.५ किमी नयाँ सडकको ट्र्याक खोलेको छ । घिरिङ, ऋषिङ र बन्दीपुर गाउँपालिकाले भने यस अवधिमा नयाँ ट्र्याक खोल्न नसकेको बताएका छन् । ऋषिङ गाउँपालिकाले भने चार किमी सडक कालोपत्र र १६८ मिटर सडक ग्राभेल गरेको छ । बन्दीपुर गाउँपालिकाले पनि दुई किमी सडक कालोपत्र गरेको छ । म्याग्दे गाउँपालिकाले सात वटै वडामा महत्वपूर्ण सडक पहिचान गरी उक्त सडकमा बाह्रै महिना सवारी सञ्चालन गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए। साथै, चालू आर्थिक वर्षमा चार महत्वपूर्ण सडकखण्डको डिपिआर तयार गरी पक्कीनाला र कालोपत्र शुरु गर्ने लक्ष्य राखिएको उनले जानकारी दिएका छन् । नागिलाका अनुसार नयाँ ट्र्याक खोल्दा अनिवार्य रूपमा सडक छ मिटर हुनुपर्ने मापदण्ड कायम गरिएको छ । रासस