कुनै बेलाका रुग्ण विद्युत् आयोजना धमाधम पूरा हुँदै

काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रमा यस साता सुखद खबर सार्वजनिक भयो । कुनै समय पार लगाउन नसकिने भनेर चिन्ता मात्रै व्यक्त गरिएका आयोजना धमाधम सम्पन्न भएका छन् । विगत ११ वर्षदेखि समस्यामा फसेको काबेली करिडोरको निर्माण सम्पन्न भयो । यस्तै विवादै विवादमा फसेर लामो समयदेखि अवरुद्ध रहेको माथिल्लो त्रिशूली थ्री ए को दोस्रो युनिट पनि सञ्चालनमा आयो । इमान्दार प्रयास भयो भने जतिसुकै समस्यामा फसेका आयोजना सम्पन्न हुन सक्छन् भन्ने तथ्यले स्थापित गरेको छ । रुग्ण बनेका आयोजना सफल बनाउन ठूलै मेहनत चाहिन्छ । राजनीतिक नेतृत्वदेखि कर्मचारीको समेत सकारात्मक प्रयासले काम गर्छ । सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा स्थापित गरेको छ । महत्वका हिसाबले अग्रपङ्क्तिमा रहेका आयोजनाको सानो सफलताले पनि ठूलो अर्थ राख्छ । सरकारले काम गरेन, गफ मात्रै लगाएर बस्यो भन्नेका लागि पनि पछिल्ला दिनका सुखद खबर राम्रै जवाफ हुन सक्छ । ऊर्जामा गरिएको लगानीले आजको भोलि प्रतिफल दिँदैन । त्यसका लागि केही समय लाग्छ । प्रसारण लाइनमा हरेक टावर एउटा आयोजना बनिदिन्छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्रसारण लाइन निर्माणको सबैभन्दा जटिलता भनेकै हरेक टावर एउटा आयोजना जस्तै कठिन बन्नु र बनाइनु नै हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको स्पष्ट मार्गदर्शन र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नियमित खटाइले रुग्ण आयोजना सम्पन्न भएका हुन् । कहिले क्षमता वृद्धि, कहिले गोरखा भूकम्प तथा कहिले निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण समस्यामा फसेकको र प्राधिकरणको समेत टाउको दुखाइको विषय बन्दै आएको माथिल्लो त्रिशूली थ्री ए को दोस्रो युनिट बुधबारदेखि परीक्षण उत्पादन शुरु गरेको छ । गत चैतको दोस्रो सातादेखि नै पहिलो युनिटबाट विद्युत् उत्पादन शुरु भएको सो आयोजनाको दोस्रो युनिटसमेत सञ्चालनमा आएको हो । दोस्रो युनिट सञ्चालनमा आएपछि त्रिशूली करिडोरबाट मात्रै ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप भएको छ । लामो प्रयासपछि प्राप्त भएको सफलताले प्राधिकरणको नेतृत्व र आयोजनालाई समेत हर्षित तुल्याएको छ । रुग्ण भएको आयोजनालाई मन्त्रालयको सार्थक नेतृत्व, प्राधिकरणको कामकारवाही परिचालन तथा आयोजना प्रमुखको निरन्तरको प्रयत्नपछि माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनामा सफलता मिलेको हो । रुग्ण आयोजनालाई लयमा ल्याउन सानो प्रयासले मात्रै सफल हुने अवस्था थिएन । हरेक दिनजसो प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजना प्रमुख फणीन्द्रराज जोशीसँग रिपोर्ट लिएका थिए । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनामा के भइरहेको छ भन्ने चासो व्यक्त गर्ने र विवरण खोजी गर्ने कामलाई निरन्तर अगाडि बढाएका छन् । निरन्तरको प्रयासपछि मात्रै सफलता हासिल हुन्छ भनेजस्तै मन्त्रालय, प्राधिकरण र सम्बन्धित आयोजनाको लामो प्रयत्नपछि माथिल्लो त्रिशुली थ्री ए सफल भएको छ । आयोजनास्थलबाट काठमाडौँको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण सकिएर विद्युत् प्रवाह भइरहेको छ । आयोजना प्रमुख फणिन्द्रराज जोशीका अनुसार ७२ घण्टासम्म परीक्षण उत्पादन गरेपछि आयोजनालाई बन्द गरि कसरी अगाडि बढाउने भन्ने निर्णय गरिनेछ । आयोजना पूर्णरूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा सो आयोजनाको करीब आठ प्रतिशतको योगदान रहने बताइएको छ । अनुमानित लागत रु १२ अर्ब ६० करोड (१२ करोड ५८ लाख डलर) रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्ने गरी चिनियाँ कम्पनी गेजुवासँग २०६७ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो । शुरुमा विसं २०७१ जेठ १७ सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । शुरुमा चिनियाँ कम्पनीसँग रु आठ अर्ब ९१ करोड ७८ लाख (आठ करोड ९१ लाख ७८ हजार डलर) मा ठेक्का सम्झौता भएको थियो । शुरुमा विद्युत् गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएपछि २०७३ साल असार १६ सम्म म्याद थप भएको थियो । ‘गोरखा भूकम्प’ को कहरले आयोजनाको निर्माण तालिका झनै प्रभावित हुन पुग्यो । भूकम्प र पहिरोले काबु बाहिरको परिस्थिति उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद गत असार मसान्तसम्म थप गरेको थियो । लामो प्रयासपछि आयोजना सफल भएका कारण रुग्ण आयोजना मात्रै बोकेर प्राधिकरण बस्छ भन्ने आम गुनासोबाट समेत मुक्ति मिलेको छ । तोकिएको समयमा विद्युत् दिन नसकेपछि प्राधिकरणको पाँच प्रतिशत हर्जनामा परेको माउण्टेन हाइड्रो पावरले निर्माण गरेको २२ मेगावाट क्षमताको तल्लो हेवा जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन शुरु गरेको छ । यसले प्रदेश नं १ को विद्युत् व्यवस्थापनमा सहयोग पुग्ने प्राधिकरणको विश्वास छ । यस्तै पटकपटक आयोजना प्रमुख फेरिँदासमेत काम अगाडि नबढेको र समस्यै समस्याको उल्झनमा परेको १३२ केभी क्षमताको काबेली करिडोर प्रसारण लाइनकोसमेत निर्माण सम्पन्न भएको छ । आयोजना प्रमुख दीपेन्द्ररराज द्विवेदीका अनुसार प्रसारण लाइन निर्माण शतप्रतिशत सम्पन्न भएको छ । जग्गाप्राप्ति, वन क्षेत्रको जग्गा प्रयोग र स्थानीयवासीले गरेको अवरोधलाई विश्वासमा लिएर आयोजना सम्पन्न गराउनु ठूलै चुनौती थियो । आयोजना प्रमुख द्विवेदी भन्छन्, “मलाई त ठूलो काम सम्पन्न गरे जस्तो लागेको छ । असाध्यै खुशी पनि छु ।” उनले दुई दिनभित्र प्रसारण लाइनको परीक्षण गरिने बताए । कूल रु दुई अर्ब ७४ करोड लागतमा सम्पन्न भएको सो प्रसारण लाइनले पाँचथरमा उत्पादन भएको विद्यत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोडन सकिनेछ । दर्जनौँ पटकको छलफल, स्थानीयवासीको विश्वास तथा प्राधिकरणको उच्च नेतृत्वको मेहनत र आयोजना प्रमुखको मेहनतले रुग्ण जस्तै बनेको काबेली करिडोरले सफलता पाएको छ । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा कूल १४ वटा प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । कूल १३२ केभी लम्की–महेन्द्रनगर डबल सर्किट, मस्र्याङ्दी–मध्यमस्र्याङ्दी डबल सर्किट, भक्तपुर–चपली–बालाजु , कुसुम–हापुरे, चमेलिया–स्याउले–अत्तरीया, रक्सोल–परवानीपुर क्रस बोर्डर, कुशाहा–कटैयाँ क्रस बोर्डर, डुम्रे दमौली, लमही घोराही, गोदक–फिदिम, कुश्मा–तल्लो मोदी प्रसारण लाइन निर्माण सम्पन्न भएको प्राधिकरणको विवरणमा उल्लेख छ । यस्तै ४००÷२०० केभी क्षमताको ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर डबल सर्किट लाइन र खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । यस्तै ६६ केभी क्षमताको न्यू चाबहिल–लैनचौर लाइन भूमिगत गरिएको छ । प्राधिकरणले हाल प्रसारण लाइन र सबस्टेसन निर्माणलाई तीव्र पारेको छ । गुणस्तरीय र भरपर्दोरुपमा विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसनको निर्माण तथा स्तरोन्नतिलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्राधिकरणले चालू आर्थिक वर्षमा चार हजार चार हजार मेगावाट विद्युत् प्रसारण हुने गरी प्रसारण लाइन र सबस्टेसन बनाउने लक्ष्य राखेको छ । यस्ता महत्वाकाङ्क्षी लक्ष्यले सरकारको सोच र चाहनालाई मूर्त रुप दिई आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्नेछ । रासस

काठमाडौं महानगरपालिकाद्वारा वडा कार्यालय भवन निर्माण शुरु, आठ करोड विनियोजन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आवश्यकतानुसार वडा कार्यालयका भवन निर्माण गर्ने र तला थप्ने भएको छ । अहिले कामपा–६, ७, ८, १४ र २६ को भवन पुनर्निर्माण गर्न लागिएको हो । कामपाले वडा नं १५, ३२ लगायत अन्य वडा कार्यालयमा भने अहिले भइरहेको भवनमा तला थप्ने भएकोे छ । तला थप र नयाँ भवन निर्माणका लागि यस वर्षको बजेटमा ती वडामा रु चार करोडदेखि रु आठ करोडसम्म बजेट विनियोजन गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताएका छन् । नयाँ परिस्थितिमा वडा कार्यालयमा धेरै जिम्मेवारी थपिएकाले अहिले भइरहेका भवन अपर्याप्त हुँदा भवन निर्माणमा लागिएको उनले बताएका हुन् । कामपाका निर्माण हुन लागेका नयाँ वडा कार्यालयको नमूना शहरी योजना आयोगले बनाएको आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए । उनका अनुसार वडा कार्यालयका हेर्दा सुन्दर देखिने गरी नमूना बनाइएको छ । वडा कार्यालयको भवन निर्माण गरिरहे पनि कामपाले आफ्नै भवन भने अझै निर्माण गर्न सकेको छैन । पहिले कामपाको मुख्य कार्यालय रहेको बागदरबार नभत्काउन सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशका कारण काम अघि बढ्न सकेको थिएन । अहिले कामपाका कार्यालयहरु विभिन्न स्थानमा छरिएर रहेका छन् । रासस

राष्ट्रिय प्रशारणमा २२ मेगावाट विद्युत् थप, साउन ४ गतेदेखि परीक्षण उत्पादन

फिदिम । पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । काबेली कोरिडोर १३२ केभी प्रशारण लाइनको निर्माण पूरा भएसँगै साउन ४ गतेदेखि आयोजनाको परीक्षण उत्पादन भइरहेको छ । यहाँ उत्पादित विद्युत् अहिले केन्द्रीय प्रशारण लाइनमा प्रवाह भइरहेको छ । आयोजना निर्माण सम्पन्न भएर आम्दानी गर्ने अवस्थामा पुगेपछि आफूहरु हर्षित भएको आयोजना निर्देशक दीपेन्द्र आङ्बोले बताए । परीक्षणको १५ दिनपछि उत्पादित विद्युत् बिक्री गर्न थालिने छ । फिदिमस्थित थापाटारको काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजनाको सवस्टेशनबाट तल्लो हेवाको विद्युत् केन्द्रीय प्रशारण लाइनमा पठाउन थालिएको हो । यस आयोजनाबाट जेठदेखि मङ्सिरसम्म २२.३४ मेगावाट विद्युत् उत्पादन हुने सिनियर इलेक्ट्रिकल इञ्जिनीयर नामेश्वर यादवले बताए । खोलाको पानी घट्ने याम मङ्सिरदेखि वैशाखसम्म १० देखि १२ मेगावाटसम्म विद्युत् उत्पादन हुनेछ । यहाँका हेवा र फेमे दुई खोलाको पानी जोडेर तल्लो हेवा जलविद्युत् आयोजना निर्माण भएको हो । प्रतिसेकेण्ड १७ हजार लिटर प्रवाह हुने पानीको बहाबबाट २२.३४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । अहिले तल्लो हेवाबाट २४ मेगावाटसम्म उत्पादन गर्न सकिने पानी उपलब्ध रहेको इन्जिनीयर यादवले बताए । यहाँबाट प्रतिदिन उत्पादित पाँच लाख ७० हजार युनिट विद्युत्बाट रु २२ लाखसम्म आम्दानी हुने बताइएको छ । प्राधिकरणले प्रतियुनिट वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसामा विद्युत् खरीद गर्दै आएको छ । तल्लो हेवा ‘माउन्टेन हाइड्रो पावर लिमिडेट’ले निर्माण गरेको हो । विभिन्न व्यवधानका कारण तल्लो हेवाको काम ढिलो सम्पन्न भएको हो । यहाँ पाँच हजार ३०० मिटर दुरीको सुरुङ र ६०० मिटर पेनस्टक बनाइएको छ । हेवातर्फको इन्टेक फिदिम नगरपालिका–११, नांगीन सेजेपा र हिलिहाङ गाउँपालिका–७ भारपाको सीमामा बनेको छ । विद्युत् गृह फिदिम–४ को सारन्तामा छ । रु तीन अर्ब ६६ करोडमा सक्ने गरी बनाउन थालिएको तल्लो हेवाको लागत रु ७० करोड बढेको आयोजनाले जनाएको छ । “नाकाबन्दी, भूकम्प, आन्तरिक विवादका कारण लागत बढेको हो”, आयोजना प्रमुख गणेश सुब्बाले बताए । विसं २०७४ असारमा सक्ने सम्झौताका साथ २०७० मङ्सिरदेखि तल्लो हेवाको निर्माण थालिएको थियो । यो आयोजना निर्माणमा १२ राष्ट्रिय वाणिज्य बैंकहरुको ७० प्रतिशत लगानी रहेको छ । रासस