जग्गाको व्यवस्थापन नहुँदा बन्न सकेनन् भवन

बागलुङ । वर्षदिन लगाउँदा पनि गलकोट नगरपालिका–१ दुदिलाभाटीमा स्वास्थ्यचौकी र वडा नं–९ को वडा कार्यालय भवनका लागि जग्गा व्यवस्थापन हुन सकेको छैन । चालू आवमा सञ्चालित नगर गौरवका योजनामा दुवै भवन निर्माण गर्ने उल्लेख छ । नगरपालिकाका ती वडाभित्र सार्वजनिक जग्गा नहुँदा भवन निर्माणको लागि जग्गाको समस्या भएको हो । निजी जग्गा खरिदको प्रक्रिया अघि बढे पनि अझै टुङ्गिएको छैन । चालू आवभित्र जग्गा व्यवस्थापन नहुने देखिएको छ । जग्गा किन्न स्वास्थ्यचौकीलाई रु ४० लाख र वडा कार्यालयलाई रु ३५ लाख बजेट विनियोजन गरिएको थियो । “नगरभित्र सार्वजनिक जग्गै छैन” नगर प्रमुख भरत शर्मा गैरेले भने, “निजी जग्गा साह्रै महङ्गो छ, किन्नै सकिन्न ।” स्वास्थ्यचौकी र वडाका लागि निजी जग्गा किन्न खोज्दा पनि प्रक्रियागत झन्झटले ढिलो भएको उनको भनाइ छ । उनले आउँदो वर्ष जसरी पनि जग्गा व्यवस्थापन गर्ने बताएका छन् । भवन नहुँदा वडा कार्यालय भाडाको कोठामा बस्नुपर्ने बाध्यता छ भने स्वास्थ्यचौकीको सुविधायुक्त भवन बन्न सकेको छैन । स्वास्थ्यचौकीको जग्गा पनि अन्तिम टुङ्गो लाग्ने प्रक्रियामा छ । सार्वजनिक जग्गा नभएपछि महङ्गो मूल्यमा निजी जग्गा खरिद गर्नुपर्ने अवस्था आएको हो । नगरपालिका आफैँ अहिले भाडाको घरबाट सञ्चालित छ । आउँदो आवको बजेटमा नगरपालिका कार्यालयलाई जग्गा व्यवस्थापन गर्न रु दुई करोड बजेट विनियोजन गरिएको छ । हाल नगरपालिका बसेको मजुवा फाँटमा एक हात जग्गाको मूल्य पाँच÷छ लाख रुपैयाँसम्म पर्छ । पूर्वाधार र संरचना बनाउन योग्य सार्वजनिक जग्गा कतै छैन । “खोला किनारमा भएका सार्वजनिक जग्गासमेत मिचिएका छन्” वडा नं– २ का वडाध्यक्ष हिमबहादुर भण्डारीले भने । जङ्गल र पाखो छेउछाउ सार्वजनिक जग्गा भए पनि नगरको केन्द्रमा जग्गा अभाव रहेको उनको भनाइ छ । बढ्दो शहरीकरणले जग्गा झन् खुम्चदैँ गएको छ । कुनै ताका हराभरा देखिने मजुवाको फाँटमा अहिले धमाधम घर ठडिदैँछन् । सार्वजनिक जग्गा अभावमा बसपार्क, फोहर व्यवस्थापनलगायतमा पनि नगरपालिकालाई चुनौती छ । नगरपालिकाभित्र रहेको सार्वजनिक जग्गाको कुनै लिखत छैन । मध्यपहाडी लोकमार्ग आसपासमा मापदण्ड मिचेर घर टहरा बनाउने क्रम रोकिएको छैन । रासस

भूकम्प प्रभावित लाभग्राहीहरूका लागि सहुलियतपूर्ण ऋणसम्बन्धी सचेतना

काठमाडौं । यूकेएड सक्षम एक्सेस टु फाइनान्सले भूकम्प प्रभावित लाभग्राहीहरूका लागि सहुलियतपूर्ण ऋणसम्बन्धी तीन दिने सचेतना कार्यक्रम सञ्चालन गरेको छ । वि.स २०७२ साल बैशाख १२ गते गएको भूकम्पले क्षति ग्रस्त व्यक्तिका लागि सो कार्यक्रम असार १६ देखि १८ सम्म क्रमशः गोरखा नगरपालिका, शहिद लखन गाउँपालिका तथा पालुङटार नगरपालिका गरी तीन स्थानहरूमा सञ्चालन गरिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वैदेशिक सहायता समन्वय शाखाका शाखा प्रमुख दिव्यराज पोख्रेल विशेष अतिथिका रूपमा र प्राधिकरणकी नमिता पौडेल बैङ्किङ समन्वय विशेषज्ञको रुपमा तीनवटै सचेतना कार्यक्रमहरूमा उपस्थिति भएका थिए । सो असार १६ मा सम्पन्न भएको कार्यक्रममा सभापतिको रुपमा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, गोरखाका प्रमुख रामशरण आचार्य थिए भने अतिथिका रूपमा गोरखा नगरपालिकाका उपमेयर विनाकुमारी श्रेष्ठ रहेका थिए । असार १७ को कार्यक्रममा सभापतिको रूपमा शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा अतिथिको रूपमा शहिद लखन गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी तथा शहिद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आले मगर र अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, गोरखाका प्रतिनिधि श्री शैलेन्द्र भट्टको उपस्थिति रहेको थियो । त्यस्तै असार १८ को कार्यक्रममा सभापतिको रुपमा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, गोरखाका प्रमुख रामशरण आचार्य रहेका थिए भने प्रमुख अतिथिका रूपमा पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेल थिए । त्यसैगरी पालुङटार नगरपालिकाकी उपमेयर पम्फा बसेले अतिथिको रुपमा कार्यक्रममा प्रतिनिधित्व गर्नु भएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पोख्रेलले सहुलियत ऋणको सम्बन्धमा प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा सक्षम एक्सेस टु फाइनान्सका आवास पुननिर्माण आयोजना प्रमुख विभुप्रसाद अर्यालले भूकम्प प्रभावित लाभग्राहीहरूलाई सहुलियतपूर्ण ऋण तथा वित्तीय साक्षरताको महत्वका बारेमा प्रकाश पारेका थिए । लाभग्राहीहरूले सहुलियत ऋण सम्वन्धमा राखेका ऋण रकम, ऋण अवधि, व्याजदर, आवश्यक कागजात लगायत विभिन्न विषयका जिज्ञासाहरुको अर्यालले उत्तर दिए । सक्षम एक्सेस टु फाइनान्स, यूकेएडबाट वित्तीय सहयोग प्राप्त कार्यक्रम हो जुन नेपाल सरकार र संयुक्त अधिराज्यबीचको सम्झौताको एउटा हिस्सा हो । यसलाई नेपालमा स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा डिएफआइडी नेपालका लागि लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ ।

पूर्वपश्चिम राजमार्ग पथलैया-कमला खण्ड चार लेनको बन्ने

काठमाडौँ । पूर्वपश्चिम राजमार्गको बाराको पथलैयादेखि सिरहाको कमलासम्मको खण्ड चार लेनमा विस्तार हुने भएको छ । बढ्दै गएको सवारी साधन र ट्राफिक जामले दशकअघि निर्माण भएको पूर्वपश्चिम राजमार्गको कैयौँ खण्ड साँघुरो बन्दै गएपछि सरकारले सडक विस्तार योजना अगाडि बढाएको हो । पूर्वपश्चिम राजमार्ग अहिले दुई लेनको मात्र छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले मेचीदेखि पश्चिम महाकालीसम्म पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने सरकारको योजनाअन्तर्गत बाराको पथलैयादेखि सिरहाको कमलासम्मको राजमार्गको सो खण्ड विस्तार गर्न प्रारम्भिक प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिए । राजमार्गको त्यस खण्डको विस्तारका लागि अहिले अध्ययन कार्य अन्तिम चरणमा रहेको बताउँदै उनले नयाँ आर्थिक वर्षको साउनदेखि नै राजमार्गको उक्त खण्डको डिजाइनको काम सुरु गरिने जानकारी दिए । डिजाइनको काम सम्पन्न भइसकेपछि विस्तारका लागि ठेक्कापट्टाको प्रक्रिया अगाडि बढाइने उनले बताए । सडक विभागका अनुसार राजमार्गको सो खण्डको विस्तारको कुल अनुमानित लागत ४० अर्ब रुपियाँ छ । राजमार्ग विस्तारसँगै सो खण्डमा नयाँ पुल निर्माण, अहिले भएका पुलहरूको स्तरोन्नति तथा विस्तारसमेत गरिने छ । बाराको पथलैयादेखि सिरहाको कमलासम्मको कुल लम्बाइ १३० किलोमिटर छ । एक हजार २८ किलोमिटर कुल लम्बाइ रहेको सो राजमार्गको विस्तार दुई चरणमा गरिने बताउँदै सचिव कार्कीका अनुसार पहिलो चरणमा बुटवलदेखि पूर्वको खण्ड विस्तार कार्य सुरु भइसकेको छ । बुटवलदेखि पश्चिमको खण्डलाई दोस्रो चरणअन्तर्गत विस्तार गरिने छ । पहिलो चरणअन्तर्गत अहिले बुटवलदेखि नारायणगढसम्मको विस्तार कार्य सुरु भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैतमा सो राजमार्गको विस्तार कार्यको शिलान्यास गरेका थिए । एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा राजमार्गको उक्त खण्डको विस्तार कार्य सुरु भएको हो । आगामी पाँच वर्षभित्र पूर्वपश्चिम राजमार्गको सम्पूर्ण खण्डको विस्तार कार्य सम्पन्न गर्ने लक्ष्य सरकारको छ । पहिलो चरणअन्तर्गत नै विस्तार भइरहेको सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मको विस्तारका लागि डिजाइन तथा अध्ययन कार्य पूरा भई एक महिनाभित्र ठेक्का लाग्ने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कार्कीले दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।