पुरिएन सडकका खाल्डाखुल्डी, दुई महीनाभित्र व्यवस्थित गर्ने प्रतिबद्धता
काठमाडौं। सरकारी उच्च निकायले पटकपटक निर्देशन गर्दासमेत उपत्यकाभित्रका सडकको खाल्डाखुल्डी पुर्न ढिलाइ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रालयका अधिकारीलाई बोलाएरै खाल्डाखुल्डी पुर्न दिएको निर्देशनसमेत प्रभावकारी कार्यान्वयन हुन नसकेको हो । उपत्यकाभित्रका सडक सुधारमा सुस्तता कायमै छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले विगतभन्दा समन्वयको पाटोमा केही सुधार आएको तर चाहेजति काम हुन नसकेको बताए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अगुवाइमा आज भएको काठमाडौं उपत्यकाभित्रको पूर्वाधार विकासमा देखिएको समस्या र समाधानसम्बन्धी समन्वयात्मक बैठकमा सम्बन्धित मन्त्रालयका सचिव तथा विभिन्न विभागका अधिकारीलेसमेत काम ढिलाइ भएको स्वीकार गरेका छन् । “पहिले सडकमा खाल्डो थियो, कार्यान्वयनको समन्वयमा पनि खाल्डो थियो”, सल्लाहकार रिमालले बैठकपछि पत्रकारसँग भन्नुभयो, “अहिले समन्वयमा सुधार भयो तर चाहेको जति अझै भएको छैन ।” विभिन्न मन्त्रालयका सचिव तथा सम्बन्धित विभागका अधिकारीले परिणाममुखी काम गर्न नसकेको स्वीकार गर्दै आउँदो दुई महीनाभित्र खाल्डाखुल्डी पुर्ने तथा नागढुङ्गासम्मको सडक व्यवस्थापन गर्र्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार रिमालका अनुसार दुई महीनाभित्र देखिएका समस्या समाधान गरी बाइपास तथा अण्डरपासमा समय लाग्ने भएकाले अस्थायी व्यवस्थापनका लागि काम गर्न मन्त्रालयका सचिव र विभागका अधिकारीले प्रतिबद्धता जनाएका हुन् । मन्त्रिपरिषद्को कार्यालयबाट नियमित अनुगमन गरिने जनाइएको छ । दण्ड र पुरस्कारको व्यवस्था प्रभावकारी बनाइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्री बिरामी हुँदासमेत अनौपचारिक ढङ्गमा मन्त्रिपरिषद्को बैठक बसिरहेको भन्दै सल्लाहकार रिमालले सर्वसाधारणका विषयमा प्रधानमन्त्री तथा मन्त्री चिन्तित रहेको बताए। जनताको उच्च आकाङ्क्षामा बल पु¥याउने काममा लाग्ने र प्रत्येक महीना नै समीक्षात्मक बैठक बस्ने गरी आजको बैठक टुङ्गिएको छ । प्रधानमन्त्रीको अस्वस्थताका कारण अहिले बैठक बस्न ढिलाइ भएको तर तिहारलगत्तै प्रधानमन्त्रीकै अध्यक्षतामा बैठक बसेर हरेक मन्त्रालयले गरेको कामको मूल्याङ्कन हुनेसमेत उहाँले जानकारी दिए। प्रधानमन्त्री कार्यालयका सचिव लालशङ्कर घिमिरेले सडक सुधारमा सुस्तता भएको, बहुपक्षीय आर्थिक तथा प्राविधिक विकासका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक)मा गरिएका काम जीर्ण भएको र ट्राफिक व्यवस्थापनमा समस्या देखिएकाले त्यसको व्यवस्थापन चुस्त पार्न समन्वय बैठक बोलाइएको जानकारी दिए। गत चैतमा बसेको बैठकले १५ बुँदे निर्देशन दिएको थियो । ठेकेदारका कारण ढिलाइ भएका कामको सूची तयार पार्ने, आवश्यक ठाउँमा चाँडै कालोपत्र गर्ने, खाल्डाखुल्डी पुर्ने, तारको व्यवस्थापन गर्ने, विभिन्न क्षेत्रमा ट्राफिक लाइट राख्ने, चक्रपथको सडक निर्माणमा देखिएको कमजोरी सुधार गर्ने, ठूला सवारी सञ्चालनमा पहल गर्ने र सवारी आवागमन चुस्त पार्नेलगायतका बुँदा समावेश छन् । निर्देशन कार्यान्वयनको अवस्था र साउन १ देखि नयाँ बजेट लागू भएपछिको कामको प्रकृतिको स्थिति के छ भनेरसमेत आजको बैठकमा समीक्षा भएको थियो । काठमाडाँै उपत्यकाका विभिन्न सडकका अहिले पनि ठूलाठूला खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम कायमै छ । कतै पाईप फुटेको र कतै पानी सतहमाथि बगेको छ । कतै भत्किएर ट्राफिक व्यवस्थापनमा समस्या देखिंदै आएको छ । मुख्य चोकचोकमा आकाशेपुल नहुँदा तथा भूमिगत मार्ग खुल्न नसक्दा एवं खाल्डाखुल्डीका कारण ट्राफिक व्यवस्थापनमा समस्या परिरहेको बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी गराए। रासस
क्षेत्रीय अन्तर्राष्ट्रिय केन्द्र बन्दै नेपालगञ्ज विमानस्थल, छिट्टै नेपालगञ्ज–दिल्ली उडान
काठमाडौं। सरकारले नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय उडानको केन्द्र बनाउने लक्ष्यसहित पूर्वाधार विकासलाई तीव्रता दिइएको छ । अन्तर्राष्ट्रिय उडानलाई मध्यनजर गर्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थलको स्तरोन्नतिसँगै पूर्वाधार र प्रविधियुक्त बनाइन लागेको हो । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय, विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो हवाई चाप न्यूनीकरण तथा क्षेत्रीय अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन विमानस्थलाई अन्तर्राष्ट्रिय उडान योग्य बनाउन लागिएको छ । नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय उडानयोग्य बनाउन आवश्यक पूर्वाधार बनाउन शुरु गरिएको विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । यो विमानस्थलबाट एटीआर–७२ बाटै भारतलगायत विभिन्न मुलुकका नजिकका गन्तब्यमा अन्तर्राष्ट्रिय उडान गर्ने योजना छ । पूर्वाधार निर्माणसँगै उपकरण थप्न लागिएको विमानस्थल प्रमुख ठाकुरले बताए। हाल रात्रिकालीन उडानसमेत भइरहेको यो विमानस्थलमा पार्किङ–बे विस्तारको काम शुरु गरिएको छ भने छिट्टै अन्तर्राष्ट्रियस्तरको टर्मिनल भवन बनाइनेछ । यो विमानस्थलबाट भारतको नयाँदिल्ली उडान भर्नका लागि बुद्ध एयरले अनुमति पाइसकेको छ । दिल्लीका लागि उठान अनुमति पाए पनि भारतीय पक्षबाट ‘स्लट’ व्यवस्थापनमा समस्या आएको छ । छ वटा पार्किङ–बे थपिँदै अन्तर्राष्ट्रिय उडान भर्ने उद्देश्यका साथ नेपालगञ्ज विमानस्थलमा छ वटा पार्किङ–बे थपिने भएको छ । आगामी १८ महीनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ उक्त पार्किङ–बेको बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्दै नेपालगञ्जलाई क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न स्तरोन्नतिको काम शुरु गरिएको उल्लेख गरे। क्षेत्रीय केन्द्रका रुपमा रहेको विमानस्थलमा पार्किङ नहुँदा धेरै समस्या आएको भन्दै सरकारको नीतिअनुरुप अब सबै एयरलाइन्सका विमान काठमाडौँ बाहेक नेपालगञ्ज, पोखरा र विराटनगर रहने वातावरण सिर्जना हुने उनको भनाइ थियो । छिट्टै नेपालगञ्ज–दिल्ली उडान पर्यटनमन्त्री अधिकारीले नेपालगञ्ज–नयाँदिल्ली उडान छिट्टै सञ्चालनका लागि आवश्यक पहल भइरहेको जानकारी दिनुभयो । उनले विमानस्थलाई अन्तर्राष्ट्रियरुपमा छिमेकी देशका नजिकका गन्तब्यमा उडान गर्ने विमानस्थलका रुपमा विकास गर्ने आफूको प्रतिबद्धता रहेको स्पष्ट परेका छन्। उनले भने, “अहिले अन्तर्राष्ट्रिय उडान नेपालगञ्जबाट गर्नका लागि बुद्ध एयरलाई अनुमति दिएका छौँ, अरु एयरलाइन्सले पनि त्यो अनुमति प्राप्त गर्न सक्छन् तर, नयाँदिल्लीमा ‘स्लट’ प्राप्न गर्न नसक्दा सञ्चालन हुन सकेको छैन । दुईपक्षीय सरकारी अधिकारीबीच कुरा भइरहेकाले छिट्टै नै सबै अवरोध छिचोलेर हामी सञ्चालनको अवस्थामा पु¥याउछौँ सोही विश्वासका साथ हामीले यहाँ निर्माणको काम अघि बढाएका हौँ ।” मन्त्री अधिकारीका अनुसार अबको तीन महीनाभित्र हालको टर्मिनल भवनको अगाडितर्फ नयाँ टर्मिनल भवनको डिजाइन भइसकेको छ । जहाँ अध्यागमनदेखि अन्तर्राष्ट्रिय विमान सञ्चालनका लागि आवश्यक सबै पूर्वाधार निर्माण सम्पन्न भइसक्नेछ । नेपालगञ्जलाई क्षेत्रीय अन्तर्राष्ट्रिय उडानको ठूलो केन्द्रका रुपमा विकास गर्ने गरी सरकारले पूर्वाधार विस्तारलाई तीव्रता दिएको उनले उल्लेख गरे। क्यानका अनुसार रु २८ करोड ५३ लाख ४० हजारको लागतमा कान्छाराम कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ । विमानस्थलमा हाल दुईवटा मात्र पार्किङ–मार्ग छन् । विस्तार गर्न लागिएको पार्किङ मार्ग ३१५ मिटर लम्बाइ र ६४ मिटर चौडाइको हो । यो निर्माण भएपछि थप छ वटा एटिआर–७२ विमान राख्न सकिन्छ । यो बनिसकेपछि आठ वटा ठूला र चार वटा साना गरी १२ वटा विमान पार्किङ गर्न सकिने क्यानले जनाएको छ । विमानस्थलमा क्यानेडियन सरकारको सहयोगमा सुविधा सम्पन्न ह्याङ्गर यसअघि नै निर्माण भइसकेको छ । हाल सीता एयरले यो ह्याङ्गर भाडामा प्रयोग गरिरहेको छ । नेपालगञ्जमा काठमाडौँबाट नेपाल एयरलाइन्स, बुद्ध एयर, यति एयरलाइन्स, श्रीएयरलाइन्स, सौर्य एयरलाइन्स, सीता एयरलाइन्स, तारा र गोमा एयरलाइन्सले उडान भर्दै आएका छन् । क्षेत्रीय उडानका रुपमा नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा, रारा, बाजुरा, सिमिकोट र भर्खरै सञ्चालनमा आएको अछामको साँफेबगरमा उडान हुँदै आएको छ । एक सय ६५ बिगाहा जग्गामा रहेको यो विमानस्थलको एक हजार ५०५ मिटर लामो धावनमार्ग (रनवे) छ । नेपालगञ्ज विमानस्थललाई विस्तारै अन्तर्राष्ट्रिय उडानयोग्य बनाउन लागिएको क्यानको एरोड्रोम इञ्जिनीयरिङ विभागका प्रमुख ध्रुवदास भोछीभोयाले बताउनुभयो । उनले यस्तै प्रकृतिका परियोजना (विमानस्थल स्तरोन्नति) जनकपुरमा चालू अवस्थामा छ भने झापाको चन्द्रगढी र धनगढीमा चाँडै शुरु हुने जानकारी दिए। क्यानका अनुसार मुलुकभर हाल छ वटा निर्माणाधीनसहित ५० वटा विमानस्थल छन् यीमध्ये ३२ वटा विमानस्थल कालोपत्र भइसकेका छन् । निर्माणाधीन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल अबको छ महीनामा सञ्चालनयोग्य हुने गरी यही कात्तिक १२ गतेबाट कालोपत्र गर्ने काम शुरु गरिएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि अघि बढेको छ भने बारामा दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई साकार तुल्याउन निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल चाँडो बन्नुपर्ने आवश्यकता छ । क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न लागिएका भद्रपुर, विराटनगर, जनकपुर, पोखरा, नेपालगञ्ज र धनगढीको स्तरोन्नतिको काम पनि उत्तिकै छिटो गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । रासस
बाह्रबिसे–तातोपानी सडक पुनःनिर्माणको तयारी
काठमाडौं। विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको छ । भूकम्प र विसं २०७३ असारको बाढीले बस्ती तथा सडक क्षतविक्षत भई पैदल हिँडनसमेत कठिनाइ परेको अवस्थामा चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी(१४) फोर्टिन व्यूरो सिआरसिसीले हालै तातोपानी बजारदेखि लिपिङ खोलासम्मको क्षतिग्रस्त स्थानको करीब २३० मिटर सडकको नयांँ ट्र्याक खोलेको छ । भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्र क्षेष्ठका अनुसार तातोपानी धाराभन्दा माथि २०० मिटर र कोदारीको कोप्लाङमा ३० मिटर ट्र्याक खोलिएको छ । त्यस्तै लिपिङ खोला नजिक सडकको तल्लो भागमा सिमेण्टेड टेवा पर्खाल लगाउने काम भइरहेको हुँदा लिपिङको बसपार्कसम्म साना गाडी सञ्चालन भएका छन् । सडक निर्माणका साथै नाका सञ्चालन गर्न गत भदौ १७ गते तिब्बत स्वशासित प्रदेशकी उपसचिव छुयाङलुको नेतृत्वमा आएको प्रतिनिधिमण्डल र नेपाल सरकारका विभिन मन्त्रालयका अधिकारी सम्मिलित टोलीले बाह्रबिसेदेखि तातोपानी सडकका साथै खासा क्षेत्रको समेत स्थलगत निरीक्षण गरेका थिए । उक्त सडक खण्डको साविक चौडाइ वृद्धि गरी १२ मिटर फराकिलो पारिने भएको छ । सडक चौडा गर्दा कसैको पूरै र कसैको आधा घर पर्ने सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक कृष्णगोपाल गुरुङले बताए। सडक निर्माणका लागि आवश्यक ठूला निर्माण सामग्री आइसकेको बताइएको छ । चीन सरकारले बनाइदिने मितेरी पुल पनि खासापट्टिको भागमा काम भइरहेको स्थानीयले बताएका छन् । राजधानीबाट छोटो दूरीमा रहेको सो नाका बन्द हँुदा वार्षिक रु छ अर्ब राजस्व गुम्नुका साथै हजाराँैको रोजीरोटी गुमेको छ । सोही कम्पनीले निर्माण गरिरहेको सुख्खा बन्दरगाहको काम पनि तीव्रगतिमा भइरहेको छ । गत वैशाख २० गते सम्झौता भएको उक्त बन्दरगाह आगामी मे महीनामा सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि छ महीनाकै अवधिमा हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको छ । भोटेकोशीमा बनाइने ११२ मिटर पक्की पुलको काम अबको तीन÷चार महीनामा सम्पन्न हुने बन्दरगाहमा कार्यरत मिलन शेर्पाले जानकारी दिए।