रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पुरातत्व विभागले गर्ने
काठमाडौं, ५ कात्तिक । रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पुरातत्व विभागले गर्ने भएको छ । पुरातत्व विभागले दिएको नमूना डिजाइन अनुसारको काम काठमाडौं महानगरपालिकाले प्राविधिक कारणले गर्न कठिन परेकाले पुनर्निर्माणको जिम्मेवारी पुरातत्व विभागलाई दिने निर्णय भएको हो । निर्णय अनुसार पुरातत्व विभागकै नमूना डिजाइन अनुसार मन्दिरको पुनर्निर्माण हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतको कार्य टोली तथा पुरात्व विभागका महानिर्देशक भेषनारायण दाहाल, काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ सहित बसेको बैठकले सो निर्णय गरेको हो । महानगरपालिकाले निर्माण गरेको बालगोपलेश्वर मन्दिरको पुनर्निर्माण मापदण्ड अनुसार नभएको भन्दै पुरातत्व विभागले आपत्ति जनाएपछि केही समयदेखि मन्दिर पुनर्निर्माण प्रक्रिया अवरुद्ध भएको थियो । कार्तिक ३ गतेको निर्णयले रोकिएको कार्य पुनः सुरु हुने भएको हो । बैठकमा भएको सहमति अनुसार रानीपोखरी निर्माणका सम्बन्धमा बालगोपालेश्वर मन्दिर बाहेकका निर्माण गर्नुपर्ने सबै कामको निर्माण कार्य काठमाडौं महानगरपालिकाले यथाशीघ्र कार्यन्वयन गर्ने गराउने पूर्ववतः निर्णयलाई काठमाडौं महानगरपालिकाले प्राथमिकताका साथ कार्यान्वयन गर्नेछ । यस्तै भाई टिका एवं छठ पर्वका कार्यक्रमहरु सहज बनाउन काठमाडौं महानगरपालिकाले नेतृत्व लिई आवश्यक व्यवस्थापन गर्ने गराउने निर्णय भएको छ । काठमाडौं दरबार क्षेत्रलाई सुव्यवस्थित बनाउने सम्बन्धमा गुरु योजना तयार पार्नका लागि काठमाडौं महानगरपालिकाले अध्ययन गराउने कार्य अघि बढाउने तथा सो कार्यमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं महानगरपालिका र पुरातत्व विभाग लगायतका सम्बन्ध निकायसँग आवश्यक सहजीकरण एवं समन्वय गर्ने निर्णय पनि भएको छ । यस्तै काठमाडौं दरबार क्षेत्रमा बन्ने वा बन्दै गरेका मापदण्ड विपरितका निजी घरहरुका सम्बन्धमा महानगरपालिका एवं पुरातत्व विभागले अनुगमन गरी अनाधिकृत रुपमा बन्न लागेको पाइएमा तत्काल निर्माण कार्य रोकी सो को प्रतिवेदन प्राधिकरणमा पठाउने निर्णय भएको छ ।
निर्माण सम्पन्न नहुँदै भत्कन थाल्यो सडक, ठेकेदारले कमसल सामानको प्रयोग गर्दा सडक निर्माण कमजोर
काठमाडौं ५, कात्तिक । कन्ति लोकपथअन्तर्गतको लेले टिकाभैरव–भट्टेडाडा सडक खण्ड निर्माण सम्पन्न नहुदै भत्कन थालेको छ । पीआर निर्माण सेवाले निर्माण गरेको सडकको लप्से खण्डमा भत्कन थालेको हो । ‘ठेकेदारले सडक निर्माणकोक्रममा कमसल सामानको प्रयोग गरेको स्पष्ट देखिन्छ,’ उनले भने, ‘आवश्यक छानविन गरि दोषीलाई कारबाही गर्नुपर्यो ।’शुक्रबारको आजको कान्तिपुरमा समाचार छापिएको छ । उनका अनुसार उक्त बाटो भएर विद्यालय जाने बालबालिकासमेत मर्कामा परेका छन् । कान्ति लोकपथ सडक योजना प्रमुख दिपक केसीले मर्मतका लागि ठेकेदार कम्पनीलाई पत्र पठाइसकिएको बताए । ‘ठेकेदारले बर्खाको पानीको भेलले गर्दा भत्किएको भनी स्पष्टिकरण दिएको छ,’ उनले भने, ‘दसै र तिहारका बीचमा कामदार नपाएकाले काम रोकिएको हो ।’ उनले बर्खाका कारण निर्माणाधीन सडक भत्कनु सामान्य भएको बताए । ‘भट्टेडाडामा पनि भएको थियो,’ उनले भने, ‘त्यहाँ मर्मत भइसकेको छ ।’हेटौडालाई काठमाडौं जोड्ने छोटो, भरपर्दो वैकल्पिक लोकमार्गमा गत आर्थिक वर्षभित्र मालवाहक सवारी साधान गुड्न सक्ने गरि स्तरोन्नती गरिसक्ने सरकारी योजना थियो । तर मिनीबस पनि सञ्चालन हुन गाह्रो छ ।
जलविद्युत् आयोजना कम्पनी मोडल बनाइने, समयमानै विद्युत् आयोजना बनाउँन कम्पनी मोडल अपनाउँदै सरकार
काठमाडौं ५, कात्तिक । सरकारी लगानीमा निर्माण हुने आयोजनाहरू अब कम्पनी मोडलमा बन्ने भएका छन् । हालसम्म विकास समिति र नेपाल विद्युत् प्राधिकरणमार्फत जलविद्युत् आयोजनाहरू निर्माण गरिरहेको सरकार योभन्दा कम्पनी मोडलको अनुभव राम्रो रहेको निष्कर्षमा पुगेको हो । सरकारले अब छुट्टाछुट्टै कम्पनी बनाएर आयोजना अघि बढाउन लागेको हो । सार्वजनिक निजी साझेदारी (पीपीपी)मोडेलमा बनाइएका जलविद्युत् आयोजनाहरू समेत समयमै बन्ने अवस्था देखिएका छैनन् । ऊर्जामन्त्री जनार्दन शर्माका अनुसार प्राधिरकरणले अघि बढाएका आयोजनाहरूको समय र लागत दोब्बरभन्दा बढी भएपछि जनताको समेत सेयर हुने गरी कम्पनी मोडेलमा निर्माण गर्ने तयारी भएको छ । एक वर्ष अघिसम्म प्राधिकरणले सहायक कम्पनीको रूपमा जलविद्युत् आयोजनाहरू अघि बढाउँदा प्राधिकरण कर्मचारीको सेयर र प्राधिकरणले गर्ने विद्युत् खरिद सम्झौता ९पीपीए० बीच स्वार्थ साटासाट हुने भन्दै आलोचना हुने गरेको थियो । तर, अहिले त्यही ऊर्जा मन्त्रालयमा कम्पनी मोडेलमा जलविद्युत् आयोजना अघि बढाउन अग्रसर भएको छ । प्राधिकरणले अघि बढाएका ३० मेगावाटको चमेलिया, १४ मेगावाटको कुलेखानी तेस्रो, ६० मेगावाटको त्रिशूली ३ ए र ३२ मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको लागत र समय दुवै दोब्बरभन्दा बढी भइसकेको समाचार शुक्रबारको कारोबार दैनिकमा छापिएको छ । पीपीपी मोडेलमा अघि बढाइएका चमेलियाको सफलता र निर्माणाधीन माथिल्लो तामाकोसीको सकारात्मक प्रगतिको आधारमा कम्पनी मोडेलमा अघि बढाउन लागेको तर्क ऊर्जा मन्त्रालयका अधिकारीहरूको छ । मन्त्री शर्मा प्राधिकरणले समेत छुट्टाछुट्टै कम्पनी बनाएर जलाशययुक्त र नदी प्रवाहमा आधारित ९आरओआर० आयोजना अघि बढाउन लागेको र यसले जलविद्युत् क्षेत्रको उत्पादनमा धेरै ठूलो सहयोग पु¥याउने बताउँछन् । विज्ञहरू भने पीपीपी मोडेल सकारात्मक भए पनि अहिले तत्काल विद्युत् प्राधिकरणले कम्पनी मोडेलमा जानका लागि प्रक्रिया अघि बढाउनु अपरिपक्व कदम भएको बताउँछन् ।