करिब पाँच अर्ब २८ करोडको लागतमा सम्पन्न माथिल्लो मादीको परीक्षण चाँडै हुने

पोखरा, १७ कात्तिक । कास्कीको निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिमतिर परीक्षण उत्पादन गर्ने भएको छ । मादी खोलावाट निकालिने २५ मेगावाट क्षमताको सो आयोजना निर्माणको ९९ प्रतिशत काम सकिएकाले परीक्षण उत्पादनको तयारीमा लागेको आयोजनाका संयोजक राजकुमार बरालले जानकारी दिए। विद्युत् गृहबाट उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तथा लेखनाथमा निर्माण गरिएको सव–स्टेसनमा जोडिएका उपकरणको समेत परीक्षण गरिने उनले बताए । परीक्षण उत्पादनपछि एक महिनासम्ममा मर्मत गर्ने र मङ्सिर अन्तिमदेखि व्यावसायिक रुपमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । आयोजनाको चार हजार २०० मिटर सुरुङभित्रको भागमा कङ्क्रिट लाइनिङ गर्ने काम पनि सकिएको छ । उक्त आयोजनाको लागत करिब रु पाँच अर्ब २८ करोड रहेको छ । विसं २०६९ पुसबाट आयोजना निर्माण सुरु गरिएको थियो । रासस

सांसद पोखरेलद्धारा पुलको शिलान्यास

चितवन, १३ कात्तिक । भरतपुर उपमहानगरपालिकालाई पहाडी गाविस दाहाखानीसँग जोड्ने उद्देश्यले दाहाखानीस्थित रानीखोलामा सडक पुल निर्माण हुने भएको छ । झन्डै एक करोड ७८ लाखको लागतमा निर्माण हुन लागेको स्थानीय सडक पुल कार्यक्रमअन्तर्गत उक्त पुल बन्न लागेको हो । उक्त पुलको सांसद कृष्णभक्त पोखरेलले शिलान्यास गर्दै पुल निर्माणपछि दाहाखानी गाविस र अन्य पहाडी भेगका बासिन्दाले पनि सहज रुपमा यातायात सुविधा पाउनेमा आफू विश्वस्त रहेको बताए । विसं २०७४ साउनभित्रमा सक्ने गरी अनिश निर्माण सेवा र लोहनी एन्ड सन्सको सहकार्यमा पुल निर्माण हुन लागेको हो । कुल ३२ दशमलव ४ मि लामो उक्त पुल ५ दशमलब ४५ मिटर चौडाइको हुने स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । रासस

गिरानचौरको एकीकृत नमुना बस्ती राष्ट्रपतिबाट हस्तान्तरण हुँदै

मेलम्ची, १२ कात्तिक । मेलम्ची नगरपालिका¬–८ स्थित गिरानचौरमा कलाकारद्वय धुर्मुस र सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्ती आज सम्बन्धित भूकम्पपीडितलाई हस्तान्तरण गर्न लागिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ६५ भवन, पाँच बालउद्यान र एउटा सामुदायिक भवन सहितको एकीकृत नमुना बस्ती आज हस्तान्तरण गर्दैछिन् । पाँच करोड १४ लाख ४९ हजार १८७ को लागतमा निर्माण भएका ती भवन ३५ रोपनी जग्गामा निर्माण गरिएको कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जानकारी दिए । स्वच्छ र हरियाली सहरको अवधारणासहित अपाङ्गमैत्री, बालमैत्री र वातावरणमैत्री भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका र भवन विभागसँग समन्वय गरी ती निर्माण गरिएका हुन् । आर्थिक अवस्था कमजोर भएका तामाङ सामुदायलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने गरी ६५ घरधुरीका एक÷एक तथा दैनिक ज्यालादारीमा काम गर्ने ३१ र विभिन्न सङ्घसंस्थाबाट गरी एक सयजनाको दैनिक श्रमबाट बस्ती निर्माण सम्पन्न गरिएको हो । हेलम्बु राजमार्गअन्तर्गतको सिन्धुखोलाबाट करिब ६ किमी उकालो लागेपछि उक्त बस्तीमा पुग्न सकिन्छ । सो बस्तीमा खानेपानीको व्यवस्थाका लागि सिन्धुखोलाबाट पानी ल्याउने प्रबन्धसमेत मिलाइएको बताइएको छ ।