सम्झौताको कार्यान्वयन नहुँदै भारतीय पक्षले मूल्य बढाउने प्रस्ताव, नेपाली पक्ष अन्योलमा

काठमाडौं १७, असोज । भारतबाट १५० भेगावाट बिजुली आयात गर्ने सम्बन्धमा भएका सम्झौता अलपत्र परेको छ । सम्झौताको प्रारम्भिक कार्यान्वयन नहुँदै भारतीय पक्षले मूल्य बढाउने प्रस्ताव गरेपछि नेपाली पक्ष अन्योलमा परेको समाचार मंगलबारको दैनिकमा छापिएको छ। सन् २०१५ अप्रिलदेखि २५ वर्षका लागि सन् २०११ मा भएको सम्झौता नेपाल र भारत दुवै मुलुकको कमजोरीले अलपत्र परेको हो। नेपालले २२० केभीको प्रसारण लाइन निर्माण गरेर चार्ज गरेपछि तथा विद्युत दिने भारतले सर्त राखेको छ। एथेना प्लान्ट निर्माण सम्पन्न भएपछि आयात गर्ने सम्झौता भएको थियो । तर समयमै निर्माण नभएपछि अब के गर्ने भन्नेमा दुवै पक्ष अन्योलमा छन्। नेपाल विद्युत प्राधिकरणले डिसेम्बरभित्र २२० केभीको प्रशारण लाइन चार्ज गर्ने लक्ष्य राखेको छ भने एथेनाको समेत८५ प्रतिशत निर्माण कार्य पुरा भइसकेको छ। प्राधिकरणका उपकार्यकारी निर्देशक राजिव शर्माले समयमै प्रशारण लाइन चार्ज र एथेना प्लान्ट निर्माण नभएकाले सम्जौता कार्यान्वयनमा नआएको बताए।

सेनाको डुंगा खरिदमा बद्‌मासी, करोडकोमा १२ वटा डुंगा खरीद, आर्थिक चलखेलको आशंका

काठमाडौं १७, असोज । नेपाली सेनाले विपद् व्यवस्थापनमा प्रयोग हुने डुंगा खरिद गर्दा नियमविपरीत बदमासी गरिएको पाइएको छ। नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयले विपत बेला प्रयोग गर्नका लागि संभाररथी विभाग स्वदेश प्राप्तीले खरिद गरेको डुंगामा नियमविपरितको काम भएको पाइएको समाचार सोमबारको नेपाल समाचार पत्रमा छापिएको छ । संभाररथी विभागले सो निर्देशनालयलाई चाहिने सामाग्री भन्दै टेन्डर आव्हान गरेको भए पनि टेन्डरमा उल्लेख भएभन्दा बाहिर गएर डुंगा खरिद गरिएको पाइएको छ। विभागले टेन्डर आव्हान गर्दा टिकाउ र भरपर्दो हुनुपर्ने सर्त र प्रावधान राखेको थियो। नेपाली सेनालाई चाहिने डुंगा खरिदका लागि टेन्डर आव्हान गर्दा १० वटा कम्पनीले प्रतिश्पर्धा गरेको भए पनि स्टार इन्टरप्राइजेजले टेन्डर पाएको थियो। सो इन्टरप्राइजेजले अमेरिकी डुंगा कम्पनी एएनएसको स्पेक राखेर टेन्डर बिड गरेको थियो। एएनएस कम्पनीको स्पेक राखेर टेन्डर बिड गरेको भए पनि सो कम्पनीले चीनमा बनेको डुंगा खरिद गरेर सो निर्देशनालयलाई आइतबार हस्तान्तरण गरेको छ। २ करोडको लागतमा खरिद गरिएको १२ वटा डुंगा र त्यसमा प्रयोग हुने सामान खरिद गरेको उच्च सैनिक स्रोतले बतायो। प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई पनि जानकारी नदिई हतार हतार संभाररथी विभागको मिलेमतोमा कमसल खालको डुंगा खरिद गरेको र निर्देशनालायलाई जिम्मा लगाएको स्रोतले बतायो। अमेरिकामा बनेको डुंगाको ५ वर्षको ग्यारेन्टी र १० वर्षको वारेन्टी हुने भए पनि चीनमा बनेको डुंगाको कुनै वारेन्टी तथा ग्यारेन्टी नभएको स्रोतले बतायो।

काठमाडौंमा थप बिजुली ल्याउन समस्या, उपत्यकाभित्रको वितरण प्रणाली कमजोर

काठमाडौं १७, अजोज । काठमाडौं उपत्यकाभित्रको कमजोर वितरण प्रणालीले गर्दा यहाँ थप विद्युत् ल्याउन समस्या हुने देखिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाको अहिलेको प्रणालीले पाँच सय मेगावाटभन्दा बढी धान्न नसक्ने बताए। ‘पाँच सय मेगावाटभन्दा बढी विद्युत् ल्याऊँ भन्दा प्रणालीले धान्दैन,’ उनले भने, ‘त्यसैले काठमाडौं उपत्यकाको वितरण प्रणाली सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको समाचार सोमबारको नयाँ पत्रिका दैनिकमा छापिएको छ। काठमाडौं उपत्यकको पिक आवरको विद्युत् माग करिब पाँच सय मेगावाट छ । बढी मात्रमा घरायसी प्रयोजनका लागि प्रयोग हुने भएकाले राति विद्युत्को माग सयको हाराहारीमा झर्ने प्राधिकरणले जनाएको छ। काठमाडौं उपत्यकाको वितरण प्रणाली सुदृढीकरणका लागि थानकोट–चापागाउँ–भक्तपुर लाइन निर्माण गर्न लागिएको छ। ‘यो लाइन नबनेसम्म काठमाडौं उपत्यकामा विद्युत् आउन सक्छ, तर उपभोक्ताको घरसम्म प्रवाह हुन सक्दैन,’ आयोजना प्रमुख ताराप्रसाद प्रधानले भने। २६ किलोमिटर लाइनमध्ये अहिलेसम्म १२ किलोमिटर मात्रै बनेको छ। ललितपुरको चापागाउँमा स्थानीयको अवरोधले काम रोकिएको छ। गत वर्ष भारतीय नाकाबन्दीले खाना पकाउने ग्यासको अभाव हुँदा उपभोक्ताले खाना पकाउनका लागि विद्युतीय उपकरण प्रयोगमा ल्याएका थिए । ओभरलोड भएपछि ट्रान्सफर्मर पड्किएका थिए, तार जलेका थिए । प्रणालीले धान्न सक्नेभन्दा बढी विद्युत् प्रवाह भएमा गत वर्षजस्तै ट्रान्सफर्मर पड्किने र तार जल्ने सम्भावना रहेको प्राधिकरणका अधिकारी बताउँछन् ।